• वि.सं २०७६ माघ ४ शनिबार
  • Saturday, 18 January, 2020

अछुत नर्स रहेछु : जुन गाउँमा स्वास्थ्य सेवा दिन्छु, त्यही गाउँमा कोठा पाइनँ

२०७६ पौष १९ शनिबार ०८:३९:००

पटकपटक भएका आन्दोलन, क्रान्ति र विद्रोहले मधेसी दलित महिलाको जीवन फेरियो कि उस्तै छ ? आजको परिवर्तित भनिएको समाजलाई उनीहरूले कसरी हेरिरहेका छन् ? ‘झन् नयाँ’को यो अंकमा ११ मधेसी दलित महिलाको जीवन–संघर्ष :

रूपा सदा

०४९ सालमा सिरहाको खिरौनामा जन्मिएँ । त्यही गाउँकै स्कुलमा कक्षा १ सम्म पढेँ । बुबाको जागिर वन कार्यालयमा भएकाले हामी सबै परिवार सुर्खेतको बुद्धपथमा बसाइँ स-यौँ । हामी नयाँ ठाउँमा, नयाँ गाउँमा पुग्यौँ । त्यहाँ पुगेपछि बुबाले मलाई नर्सरीमा भर्ना गरिदिनुभयो । 

म बोर्डिङ स्कुलमा पढ्न थालेँ । तर, त्यहाँको पढाइ एकदमै महँगो थियो । किनकि स्कुल जाने म मात्रै थिइनँ । मसहित दिदी र भाइलाई पनि बुबाले पढाउनुपर्ने थियो । बुबाको कमाइले हामी सबैजना बोर्डिङ स्कुलमा पढ्न सकेनौँ । घर खर्चदेखि पढाइ खर्च सबै बुबाको कमाइबाट चल्ने सम्भावना थिएन । त्यसपछि म उषा बालवाटिका माध्यमिक विद्यालयमा भर्ना भएँ । 

त्यहाँ पढ्दा कुनै पनि प्रकारको भेदभाव भोग्नुपरेन । साथीहरू, शिक्षकहरूका तर्फबाट कुनै पनि प्रकारको भेदभाव, दुव्र्यवहार भएन । स्कुल पढ्दा म दलित मुसहर भनेर हीनताबोध भएन । मिहिनेत गरेर पढेँ । उषा बालवाटिका माध्यमिक विद्यालयबाट २०६३ सालमा दोस्रो श्रेणीमा एसएलसी पास भएँ । त्यो क्षण मेरो जीवनमा सबैभन्दा खुसीको क्षण थियो । त्यसवेला आमाबुबा धेरै खुसी हुनुभएको थियो । 

१० वर्ष लामो बसाइपछि फेरि बुबाको सरुवा भयो । बुबाको सरुवा सुर्खेतबाट जनकपुरमा भयो । बुबाको सरुवा हुने कुराले मलाई निकै चिन्तित बनायो । जहाँ मैले बाल्यकाल गुजारेको थिएँ, त्यो ठाउँ छाड्नुपर्ने थियो । त्यहाँ मैले विभेद भोग्नु परेन । बुबाको सरुवा हुने कुरा मेरा लागि बज्रपातजस्तै भयो । सुर्खेतमा पाएको माया, प्रेम र स्नेहले त्यो ठाउँ छाड्न फिटिक्कै मन थिएन । तर, नचाहेर पनि त्यो ठाउँ छाड्नैपर्ने भयो । बाल्यकाल बिताएको गाउँ र स्कुल छाडेर हामी जनकपुर आयौँ । बुबाको त्यो सरुवादेखि नै मेरो जीवनमा दुःखको आगमन भयो । सानैदेखि सुर्खेतमा बसेकाले मलाई जनकपुरतिरको भाषा पनि त्यति राम्रो बोल्न आउँदैनथ्यो । त्यसपछि जनकपुरमा मेरा दिनहरू बित्न थाले । 

एसएलसी पास गरेपछि स्टाफ नर्स बन्ने सपना थियो । तर, पैसाको कारणले मैले पढ्न पाइनँ । मेरो सपनाविपरीत बुबाले मलाई शिक्षा संकायमा भर्ना गराइदिनुभयो । कलेज गएँ । पहिलो दिनमै मैले आफ्नो नाम रूपाकुमारी सदा भनेँ । साथीहरूले अचम्मित हुँदै सोधे, ‘कुन सदा ? साथीहरू अचम्मित भएको देखेर म अकमक्क भएँ । के भनूँ के भनूँ भएँ । साथीहरूले फेरि कुन जातिको हो भनेर सोधे । मैले मुसहर हुँ भनेँ । मुसहर शब्द सुन्नेबित्तिकै सबैको अनुहार एक्कासि परिवर्तन भयो । सबैजनाले छक्क पर्दै ‘ए ! मुसहर जाति पो’ भने । 

गर्भवती भएकाले स्वास्थ्यचौकीनजिकै कोठा लिएर बस्ने विचार गरेँ । गाउँमा कोठा खोज्न थालेँ । धेरै ठाउँमा गएर कोठा खोजेँ, तर मलाई कसैले कोठा दिएन । गाउँका मानिसले म मुसहर जातिको भएको थाहा पाइसकेका रहेछन् । उनीहरूले देवता रिसाउँछन् भन्दै मलाई कोठा दिएनन् । त्यसपछि म अस्पतालकै अँध्यारो कोठामा बस्न थालेँ ।

मैले बोल्ने गरेको नेपाली भाषा मेरो बाध्यता थियो । सुर्खेत बसाइका कारण मेरो नेपाली भाषा अरूको तुलनामा प्रस्ट थियो । एउटी मुसहरकी छोरीको प्रस्ट नेपाली बोलेको अरूलाई मन परेन । त्यसपछि मलाई भनियो, ‘नेपालीमा बढ्ता नबोल, नेपाली आफू मात्रै बोल्न सक्छु भनेर देखाउने काम नगर ।’ विद्यार्थी साथीहरूले मात्रै होइन, सरको तर्फबाट त्यही कुरा आयो । यसमा मेरो कुनै दोष थिएन । म जुन ठाउँमा हुर्केकी थिएँ, त्यहीँ सिकेकी थिएँ मैले भाषा । त्यही बस्दाबस्दै मेरो लवज अरूभन्दा राम्रो भएको मात्रै थियो । मेरो केही पनि गल्ती थिएन । म मुसहर जाति भएको र मैले प्रस्ट नेपाली भाषा बोलेकै कारण साथीहरू मबाट टाढा हुन थाले । कलेजमा मैले मिल्ने साथी पाइनँ । सबैजना मबाट टाढा जान्थे । मलाई हेप्थे । जुन व्यवहार मैले सुर्खेतमा कहिल्यै भोग्नु परेन । 

हेप्ने व्यवहार भोगेपछि मैले आमाबुबालाई सुनाएँ । त्यसपछि बुबाले भन्नुभयो, ‘हामी तल्लो दलित जातिका हौँ, हामी अछुत जाति हौँ । हामीलाई अरूले छुनु हुँदैन ।’ बुबाको कुरा सुन्दा म झस्किएँ । एकदमै दुःख लाग्यो । त्यसपछि बुबाले छुवाछुतको लामो वृत्तान्त सुनाउनुभयो । उहाँको कुरा सुनिरहँदा म पटकपटक झस्किएँ । डाँको छाडेर रुन मन लाग्यो । भित्रभित्रै आक्रोशित भएँ । अनि मस्तिष्कमा सुर्खेतमा बिताएको बाल्यकाल झलझली सम्झिरहेँ। बाल्यकालका साथीहरू, सरहरू सम्झिएँ । त्यहाँको माया, प्रेम धेरै सम्झिएँ । 

मलाई नेपाली भाषा बोल्न र पढ्न गाह्रो भएन । सजिलै बोल्न र बुझ्न सक्थेँ । तर, जनकपुरमा पढाउने क्रममा प्रयोग हुने मैथली भाषा मैले बुझिनँ । त्यसपछि मलाई पढ्न एकदमै गाह्रो भयो । तथापि मैले हिम्मत हारिनँ । निकै मिहिनेत गरी गणित विषय लिएर कक्षा १२ पास गरेँ । लगत्तै स्नातक तहमा भर्ना भएँ । सगँसँगै सिटिइभिटीबाट दलित, मुस्लिम महिलाहरूलाई निःशुल्क पढाउने सूचना थाहा पाएँ । त्यसमा पनि फर्म भरेँ । परीक्षा दिएँ । नाम पनि निकाल्न सफल भएँ ।

मेरो स्टाफ नर्स बन्ने सपना अब पूरा गर्नु थियो । स्टाफ नर्समा भर्ना हुने क्रममा प्रशासनले विभिन्न किसिमका नियमहरू सुनायो । त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने वाचा गरायो । त्यही वेला स्टाफ नर्स पढ्ने दुईवटा समूह भर्ना गरियो । एउटा निःशुल्क पढ्ने, अर्को सशुल्क पढ्ने । सशुल्क पढ्नेहरूका लागि केही पनि नियम बनाइएन । उनीहरूले जे गरे पनि केही गरिँदैनथ्यो । तर, दलित र मुस्लिम विद्यार्थीहरूका लागि विभिन्न नियम बनाइयो । हामीलाई दबाउने, हेपेर राख्ने र विभिन्न किसिमको तनाव दिइयो । उनीहरूलाई नरम तरिकाले पढाउने, नरम तरिकाले बोल्ने गरिन्थ्यो । तर, दलित र मुस्लिम विद्यार्थीहरूलाई नराम्रो व्यवहार गरिन्थ्यो । 

त्यहाँ अरूलाई गरिने व्यवहार र मसहित मुस्लिम विद्यार्थीहरूमाथि गरिने व्यवहार फरक थियो । केही बोल्यो भने प्रयोगात्मक परीक्षामा फेल गराइदिने धम्कीसमेत दिने गरिन्थ्यो । त्यहाँ पढ्ने क्रममा जातपात, छुवाछुत, को ठुलो जात, को सानो जात भन्ने राम्रैसँग थाहा भयो । बिदाको दिन अरू सबै नर्सहरूले बिदा पाउँथे । तर, हाम्रो समूहमा कसैले पनि बिदा पाउँदैनथे । जस्तैः जाडोको बिदा, दसैँको बिदाहरूमा सबैको बिदा हुन्थ्यो, तर हामीलाई त्यहीँ राखेर ड्युटीमा खटाइन्थ्यो । जति आवाज उठाए पनि हाम्रो केही पनि सुनवाइ हुँदैनथ्यो । हामीले जसरी भए पनि ड्युटी गर्नुपथ्र्यो । ड्युटीमा पनि दलित भएको कारणले हेपेर बोल्ने गरिन्थ्यो । त्यस्तो समस्या हुँदा पनि मैले पढाइ जारी राखेँ । कहिल्यै हिम्मत हारिनँ । मलाई जसरी भए पनि मेरो सपना पूरा गर्नु थियो । हौसला जारी राखेर पढिरहेँ ।

०००
सन् २०१३ मा फाइनल रिजल्ट आयो । म पहिलो श्रेणीमा पास भएर स्टाफ नर्स बनेँ । वर्षौंंदेखि सोचेको सपना पूरा भयो । बुबाआमाको पनि सपना पूरा भयो । म स्टाफ नर्स बनेको दिन आमाबुबा धेरै खुसी हुनुभयो । परिवारमा खुसियाली छायो । एनएनसीमा दर्ता गराएँ । त्यसपछि कामको खोजी लागेँ । जनकपुरका सबै अस्पतालमा जागिरका लागि निवेदन दिएँ । तर, कुनैमा पनि काम पाइनँ । किनकि मेरो भनसुन गरिदिने मान्छे कोही पनि भएन ।

धेरै संघर्ष गरेर स्टार्फ नर्स बनेँ । तर, कतै काम पाइनँ । सबैतिर आफ्नो मान्छे हेरेर मात्रै जागिर दिइँदो रहेछ । मेरा लागि बोलिदिने मान्छे कोही पनि भएन । एनएनसी नम्बर नभएकालाई नोकरी दिइयो, तर एनएनसी नम्बर भएर पनि मलाई नोकरी दिइएन ।

म त मुसहर जातिकी थिएँ । मेरो आफन्त यस क्षेत्रमा कोही पनि थिएनन् र छैनन् । त्यही कारणले मैले काम पाइनँ । जनकपुरका नाम चलेकोदेखि भर्खरै खुलेका सबै अस्पताल, क्लिनिकहरूमा धाएँ, तर कतै पनि काम पाइनँ । जानकी हेल्थ केयर, अञ्चल अस्पताल, सिटी अस्पताललगायतमा कामका लागि धेरै भौँतारिएँ, तर कतै पनि पाइनँ । कामको खोजीमा हिँड्दा म धेरैपटक निराश पनि भएँ । तर, हिम्मतचाहिँ हारिनँ ।

कतै पनि काम नपाएपछि परिवार नियोजनमा गएर भोलिन्टियर बनी फ्रीमा काम गर्न थालेँ । सबैतिर आफ्नो मान्छे हेरेर मात्रै नोकरीमा राखिँदो रहेछ । त्यो देखेर धेरै दुःख लाग्यो । एनएनसी नम्बर नभएकालाई नोकरी दिइयो, तर मसित एनएनसी नम्बर भए पनि मलाई नोकरी दिइएन । अन्त्यमा म हारेँ । जागिर खोज्दै भौँतारिन छाडिदिएँ । 

०००
अब मेरो लक्ष्य फेरियो । प्रतिस्पर्धाबाट नाम निकालेर सरकारी नोकरी गर्छु भनेर लोकसेवाको तयारी गर्न थालेँ । अस्पतालमा काम खोज्दाखोज्दै मेरो बिहे भइसकेको थियो । लोकसेवा आयोग तयारी गर्नेवेला मेरो नानी पनि भइसकेको थियो । नानीको रेखदेखसँगै लोकसेवाको तयारी गरेँ । ओम कोचिङ सेन्टरका फाउन्डर अभय सिंह सरले हौसला दिनुभयो । कसरी पास हुने भनेर उहाँले सिकाउनुभयो । अलि मिहिनेत गरियो भने समावेशीतर्फ महिला र दलित कोटामा एकैपटकमा नाम निकाल्न सक्छौ भनेर हौसला दिइरहनुहुन्थ्यो । 

सरको साथ र सहयोगमा लोकसेवाको तयारी गरिरहेँ । २०७३ जेठमा बुटवलबाट अनमीको परीक्षा दिएँ । फागुनमा रिजल्ट आयो । लोक सेवाको खुला, महिला, दलित, मधेसी गरी चारवटैमा मेरो नाम निस्कियो । परिवारमा फेरि खुसियाली छायो । रिजल्ट आएको रातभरि हामी परिवारका कोही पनि निदाएनौँ । एकदमै खुसीको क्षण थियो त्यो रात । त्यसपछि अन्तर्वार्ताका लागि तयारी गर्न थालेँ । मनमा कौतूहल थियो, अलिअलि डर पनि । अन्ततः अन्तर्वार्तामा पनि पास भएँ । त्यसपछि मैले थाहा पाएँ, म मुसहर समुदायकै पहिलो महिला निजामती कर्मचारी बनेछु । अब मेरो काम सुरु भयो । नवलपरासीको सोमनी स्वास्थ्यचौकीमा मेरो पहिलो दरबन्दी तोकियो । 

०००
दरबन्दी तोकिएको ठाउँमा पुगी १८ महिना अनमी पदमा काम गरेँ । त्यहाँ जातपात छुवाछुतको केही महसुुस भएन । १८ महिनापछि प्रदेश नं. २ को अञ्चल अस्पताल, जनकपुरमा मेरो सरुवा भयो । आफ्नो ठाउँमा सरुवा भएकाले खुसी भएँ । अफिसमा ड्युटी सुरु गरेँ । तर, जनकपुर आएपछि फेरि विगतको जस्तै व्यवहार भोग्न थालेँ । म फेरि त्यहीँ आइपुगेँ । जति नै मिहिनेत गरेर जेसुकै बने पनि मलाई फेरि उही मुसहरका रूपमा हेर्न थालियो । फेरि सुरु भयो विभेद । 

मलाई बस्नका लागि क्वार्टर दिइएन । क्वार्टर चाहियो भनेर जति नै निवेदन दिए पनि सुनवाइ भएन । थाहा पाएँ, भित्रभित्रै आफ्ना मान्छेलाई क्वार्टर दिएर मलाई नदिइएको रहेछ । तालिमका लागी स्थायी कर्मचारी हुँदाहुँदै पनि आफ्नो मान्छेलाई अस्थायी कर्मचारी बनाएर राखियो । भेदभाव, छुवाछुतलाई सामना गर्दै आफ्नो ड्युटीमा खटिरहेँ ।

०००
कर्मचारी समायोजनका क्रममा म कमला नगरपालिकाअन्तर्गत दुबरकोट स्वास्थ्यचौकीमा पुगेँ । जनकपुरबाट धाउन सम्भव थिएन । म आफैँ पनि गर्भवती भएकाले स्वास्थ्यचौकीनजिकै कोठा लिएर बस्ने विचार गरेँ । गाउँमा कोठा खोज्न थालेँ । धेरै ठाउँमा गएर कोठा खोजेँ, तर मलाई कसैले कोठा दिएन । गाउँका मानिसहरूले म मुसहर जातिको भएको थाहा पाइसकेका रहेछन् । उनीहरूले देवता रिसाउँछन् भन्दै मलाई कोठा दिएनन् । जुन गाउँमा म स्वास्थ्य सेवा दिन्छु, त्यही गाउँमा मैले कोठा पाइनँ ।

अन्त्यमा स्वास्थ्यचौकीकै एउटा सानो कोठा सफा गरी बस्ने निर्णय गरेँ । त्यो कोठामा न पानी छ, न झ्याल छ, न ढोका छ, न बिजुलीबत्ती छ, केही पनि छैन । म त्यस्तै कोठामा बसेर भए पनि गाउँका मानिसलाई स्वास्थ्य सेवा दिने निर्णयमा पुगेँ । म आज नि त्यही अँध्यारो कोठामा बसी गाउँका मानिसहरूलाई स्वास्थ्य सेवा प्रदान गरिरहेकी छु । म सरकारी जागिरे हुँ, तर मैले अझै छुवाछुतको घटना भोगिरहेकी छु । पढ्न नपाएका दलित समुदायले झन् कति दुःख भोगिरहेको होला ? अन्त्यमा यो भन्न चाहन्छु कि आफूले अरूका लागि केही नगरे पनि अरूको मनोबल घटाउने कामचाहिँ कहिल्यै नगर्नु । सबैलाई समान रूपले व्यवहार गर्नु ।

 

प्रतिकृया दिनुहोस