• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विभा महरा
२०७६ पौष १९ शनिबार ०८:५१:००
सम्झना

सिनो फाल्ने जाति भन्दा दुःख लाग्छ

२०७६ पौष १९ शनिबार ०८:५१:००
विभा महरा

म गोलबजार निपनिया गाउँमा बस्छु । मेरो बुबाको नाम शम्भु महरा हो । म अहिले १५ वर्षकी भएँ । गोलबजारको श्री जनता माध्यमिक प्राविधिक विद्यालयमा कक्षा ९ मा पढ्दै छु । स्कुल सधैँ आउन नै पाउँदिनँ । घरमै काम गर्नुपर्ने भएको हुनाले यसपटक अर्धवार्षिक परीक्षा पनि दिन पाइनँ । अरू साथीहरू पास भए रे । आफू परीक्षामा सहभागी हुन नपाउँदा दुःख लागिरहेको छ । अरू साथीहरूले परीक्षा दिइरहँदा म आमाबुबासँग गाउँमै इँटा बोकिरहेको थिएँ ।

परीक्षा चलिरहेका वेला बुबाले काम गराउन लैजानुभयो मलाई । अर्धवार्षिक परीक्षा भएकाले अहिले पासफेलले केही पनि हुँदैन भन्नुभयो बुबाले । त्यसपछि म काममा लागेँ । हुन त म परिवारकी एक्ली छोरी हुँ । हाम्रो परिवार त्यति शिक्षित परिवार होइन । गाउँमा हाम्रो समुदायबाट अरू परिवारमा पनि खासै पढ्ने वातावरण छैन । छोरीहरूलाई पढाइ–लेखाइमा प्रोत्साहन दिइँदैन । मेरो दाजु सरोज महरा कक्षा १० मा पढ्नुहुन्छ । फुर्सदमा दाजु पनि बुबाआमासँगै काममा जानुहुन्छ । काम नगरी कापी–कलम किन्न पाइन्न । 

मेरो परिवारमा हजुरबा, हजुरआमा, बुबा, आमा, दाजु, भाइ, बहिनीहरू, काकाकाकी गरी १५ जना छ । परिवारलाई थरीथरीको खाना पकाउनुपर्छ । ८० वर्षका हजुरआमा–हजुरबालाई एक किसिमको खाना चाहिन्छ । ससाना भाइ–बहिनीलाई अर्कै किसिमको खाना पकाउनुपर्छ । बुबा र काकाकाकीका लागि बेग्लै प्रकारको खाना तयार हुनुपर्छ ।

बोर्डिङ स्कुल पढ्दा पनि साथीहरूले मलाई तल्लो जातको भनेर हेप्थे । सरहरूलाई पिरमर्का बताउँदा अरू जातजातिका विद्यार्थीलाई वास्ता गर्थे, हामीलाई वास्तै गर्दैनथे ।

बुबा राज मिस्त्री हुनुहुन्छ । उहाँका लागि बिहान सबेरै खाना तयार हुनुपर्छ । दिउँसो काम गरेको ठाउँमा खाना पु-याउनुपर्छ । घरमा गाई–भैंसी, बाख्रापाठा पनि छन् । तिनीहरूको दैनिक हेरचाह गर्नुपर्छ । यी सबै काममा मैले पनि सघाउनुपर्छ । त्यसैले पनि पढ्न पाउँदिनँ ।

म सानो छँदा बुबा विदेशमा हुनुहुन्थ्यो । पैसा कमाउनुहुन्थ्यो । म माउन्ट बोर्डिङ स्कुलमा पढ्थेँ । खर्च गर्न सक्ने अवस्था थियो । मेरो पढाइ पनि राम्रो थियो । खाना–लाउन गाह्रो नै थियो । बुबा नेपाल आउनुभएपछि मैले बोर्डिङ स्कुल पढ्न पाइनँ । मेरो पढाइ सरकारी स्कुलमा स-यो । अहिले काममा जान सक्ने भएँ । काममा जाँदा स्कुल नै छुट्छ । 

एक दिन मैले हामी चमार जातका मान्छे हौँ भनेको सुनेँ । चमार जातिले मरेका जनावरको छाला काढ्ने, ढोलक, मादल बनाउने, चाडपर्वमा गाउँ–गाउँ ढोलक बजाउँदै चहार्ने र सिदा उठाउने गर्थे रे । अहिले त्यस्तो केही गर्दैनन् । मान्छेहरू अहिले पनि हामीलाई सिनो फाल्ने जात भन्छन् । त्यो सुन्दा मलाई दुःख लाग्छ । 
एकपटक गुरधाम गाउँमा काम गर्न गएकी थिएँ । चर्को गर्मी थियो । घरबाट लगेको पानी सिद्धिएको थियो । यताउता चारैतिर पानी खोजेँ, कतै पाइनँ । त्यहाँ कुनै घरमा पनि पानी तान्ने कल थिएन । सबैका घर–घरमा पानी तान्ने मोटर थियो । मैले कतै पानी खान पाइनँ । 

एक दिन मैले हामी चमार जातका मान्छे हौँ भनेको सुनेँ । चमार जातिले मरेका जनावरको छाला काढ्ने, ढोलक–मादल बनाउने, चाडपर्वमा गाउँ–गाउँ  ढोलक बजाउँदै चहार्ने र सिदा उठाउने गर्थे रे ।

एउटा घरमा पुगेर बूढीआमालाई पानी मागेँ । बूढीआमाले ‘हेर्दा काली छेस्, तल्लो जातकी जस्ती देखिन्छेस्, धुलोमैलोले पुरिएकी छेस् । कसकी छोरी होस् तँ ?’ भनिन् । बूढीआमैले पानी दिनुको साटो बाबुआमाको नाम पो सोधिन् । म शम्भु महराकी छोरी हुँ, भनेँ । त्यसपछि बूढीआमाले मलाई पानी दिइनन् । त्यस गाउँमा कतै पानी खाने कल भेटिएन । मैले फेरि पानी दिनु न भनेँ । उनले भनिन्, ‘महरा, सहरा म जान्दिनँ । तँ चमारकी छोरी रहिछस् । म पानी दिन्नँ । तुरुन्तै यहाँबाट बाहिर गइहाल् ।’ 

उनले मलाई घोँचाले हानुँलाजस्तो गरिन् । म निराश भएर गेटबाहिर आएँ । त्यत्तिखेरै अर्की अधबैँसे महिला भित्र छिरिन् । उनले पानी दिन्छिन्जस्तो लाग्यो । तर, उनीसँग माग्ने हिम्मत आएन । वरपर अरू घर पनि थिएन । ढिलो भइसकेको थियो । ठेकेदारले गाली गर्ने वेला भइसकेको थियो । त्यत्तिकैमा ती महिलाले पानीको जग र गिलास लिएर आइन् ।

उनीसँगै रिसाउँदै बूढीआमा पनि आइन् । बूढीआमैले मलाई फेरि गाली गरिन् । मैले अलग्गै गिलासमा पानी थापेर पिएँ । पानी पिएर हिँड्न लाग्दा बूढीआमाले फेरि मलाई गाली गरिन् । मैले बूढीआमाको कुरा धेरै सुनिनँ । पानी पिएर काममा आएँ । बोर्डिङ स्कुल पढ्दा पनि साथीहरूले मलाई तल्लो जातको भनेर हेप्थे । सरहरूलाई पिर–मर्का बताउँदा अरू जातजातिका विद्यार्थीलाई वास्ता गर्थे, हामीलाई वास्तै गर्दैनथे ।म धेरै पढेर शिक्षक बन्न चाहन्छु । यसका लागि मेरो परिवारले मलाई सहयोग गर्नुपर्छ । तर, परिवारले मलाई पढाउन सकिरहेको छैन । रातदिन पेट भर्न काम गर्नुपर्ने हाम्रो परिवारको बाध्यता छ । 

नन्दलाल आचार्यसँगको कुराकानीमा आधारित