• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डा. देवेन्द्रराज पाण्डे
२०७६ पौष २६ शनिबार ०८:२०:००
सम्झना

न्युयोर्क सहरमा मेरो पकेट मारियो

ट्राभल टक

२०७६ पौष २६ शनिबार ०८:२०:००
डा. देवेन्द्रराज पाण्डे

तपाईंलाई यात्रा गरिरहन मन लाग्ने देश भारत हो भन्छन्, किन ? 
हो, मैले घुमेका अनेक देशमध्ये भारतको यात्रा बढी रोमाञ्चक र यादगार छ । म हरेक वर्ष भारत भ्रमणमा निस्कने गर्छु ।

भारत घुम्न गहिरो आकर्षण हुनुको कारण के होला ?
हाम्रो यात्राको प्रसिद्धि भारतसँग जोडिन्छ । हामी भारतसँग नजिक छौँ । युवाकालमा भारत भ्रमण नै ठूलो यात्रा हुन्थ्यो । धार्मिक, आध्यात्मिक र व्यापारिक हिसाबले पनि भारत गइन्छ । भारतीयले पनि नेपाल भ्रमणलाई पहिलो प्राथमिकतामा राख्छन् होला । जसरी कतिपय नेपालीले भारत भ्रमणलाई प्राथमिकतामा राख्छन् । 

के उद्देश्यले भारत भ्रमण दोहोरिरहन्छ ? 
मुख्य उद्देश्य धार्मिक शक्तिपीठ घुम्ने नै हो । म पहिलोपटक आमाको काखमा बसेर भारत गएको रहेछु । त्यसवेला दुई महिनाको थिएँ रे । मामाहरू पनि जानुभएको थियो रे ! त्यसवेला मेरो परिवार तीन धाम द्वारिकानाथ, केदारनाथ, रामेश्वरम् पुग्नु भएको रहेछ । म अमरनाथबाहेक सबै धाम पुगेको छु । म जति धार्मिक भए पनि पूजाआजा गर्दिनँ । तर, धार्मिकस्थल जान मन लागिरहन्छ । मेरो परिवार हरेक शक्तिपीठमा पूजा गर्न रुचाउँछन् । कुनै धार्मिकस्थलमा त चारपटकसम्म पुगेको छु । १२ वटा ज्योर्तिलिंगमध्ये मैले आठवटा घुमिसकेँ । पहिलो यात्राले नै होला मलाई यसरी निरन्तर यात्रा गरिरहन मन लाग्छ । 

भारतको कुन–कुन ठाउँ पुग्नु भएको छ ? 
बनारस, दिल्ली, गुजरात, पन्जाब, कलकत्ता, दार्जिलिङ, सिक्किम, साउथ इन्डियाका सबै ठूला सहर, उत्तराञ्चलका सबै धार्मिक पीठमा पुगेको छु । अहिले अलि उमेरका कारण हिँडडुल गर्न गाह्रो हुन्छ । पहिला त खुबै यात्रा गर्थेँ । हिजोआज ट्रेनमा मा यात्रा गर्न गाह्रो मान्छु । 

ट्रेनमा यात्रा गर्दाको कुनै सम्झना छ ?
ट्रेनको अनेक क्लासमा बसेर यात्रा गरेको छु । १९९० को दशकअगाडिको ट्रेन अलि स्तरीय थिए । अहिलेको ट्रेन र स्टेसन निकै फोहोर पाएँ । अघिल्लो वर्ष केरला जाँदा चल्दै गरेको ट्रेनको ट्वाइलेटमा बस्दा निकै डराएँ । ट्रेनको ट्वाइलेटमा समाउने ठाउँ पनि हुँदैन, सायद त्यसैले डराएँ । अब त उमेरले पनि होला । भारत जान गत सालदेखि प्लेन चढ्न थालेको छु । नत्र ट्रेन नै चढिन्थ्यो । ट्रेनमा रमाइलो हुन्थ्यो । धेरै कुरा बुझ्न पाइन्छ । इन्दिरा गान्धीको पालादेखि म यस्तै यात्रा गर्थेँ ।

भारत यात्राका क्रममा कसैले पाकेट मारेको याद छ ? 
यात्रा गर्दा भारतमा बदमासले पकेट मारिदिन्छन् भन्ने हल्ला सुनेको थिएँ । तर, मेरो पकेट कहिल्यै कसैले मारेन । नेपाल होस् या हिन्दुस्तान ! कहाँ कस्ता मान्छे भेटिन्छन्, थाहा हुँदैन । कोही दयालु हुन्छन् भने कोही सहयोगी । कति विश्वास गर्ने भन्ने हो । बरु न्युयोर्कमा एकपटक मेरो पकेट मारिदिएको याद छ । पाकेटमारलाई हप्काएको त, उल्टो कुटुलाझैँ गर्‍यो । केही बोलिनँ । यस्तै, बिपी कोइरालाको मलामी गएका वेला पशुपतिमा मेरो पकेट मारिदिएका थिए । 

भारत भ्रमणमा जाँदा कुनै होटेल दोहोर्‍याउनु भएको छ ? 
गत वर्ष बनारस पुग्दा थाहा भयो २५ वर्षदेखि एउटै होटेलमा बस्दै आइरहेको रहेछु । त्यो होटेलवालाले पनि राम्ररी चिनिसकेछन् । सुरुमा एक सय १० भारतीय रुपैयाँमा कोठा लिएर बसेको थिएँ । अहिले तीन हजार रुपैयाँ भएछ । ती होटेलवालालाई गत वर्ष होटेल धेरै फोहोर बनायौ भनेर हप्काएँ ।  

यात्राको क्रममा सडक किनारका ‘ढाबा’मा बसेर खाना खानु भएको छ ? 
हामी आफू सहज भयौँ भने जहाँ पनि सहज हुन्छ । मलाई बाटामा हिँड्दै गर्दा भेटिने ढाबामा खाना खान खुब मनपथ्र्यो । सफा ढाबाहरूमा खाना खाएको छु । पाँचतारे होटेल पनि पुगेकै हुन्छु । स्वादिलो र आनन्द त सडक किनारका ढाबामै हुन्छ । 

दिल्लीको कुन ठाउँमा गइरहनुहुन्छ ?
‘दिल्ली हरेक वर्ष किन जान्छौ’ भन्छन् मलाई चिन्नेहरूले । त्यहाँ मेरो लगाब छ र आकर्षण पनि । धेरैपछि परार दिल्लीको चाँदनीचोक गएँ । त्यहाँ फेमस जलेबी पसल छ । दिल्ली जाँदा त्यो पसलमा पुगिन्थ्यो । त्यहाँ थुप्रै गल्ली छन् । फुटपाथ पसल पनि अस्त–व्यस्त छन्, काठमाडौं र बनारसकै जस्तो । नयाँदिल्ली पुग्दा अर्कै सहर पुगेझैँ लाग्छ ।  

साउथ इन्डियामा केराको पातमा भात खानुको मजा गज्जब थियो । त्यहाँ काँचो नरिवलको पानी पिइन्थ्यो ।

अबको यात्रा कहाँ गर्दै हुनुुहुन्छ ?
यसपालि यही जनवरीमा भैरहवाको टिकट बुक गरिसकेँ । परिवारले नमाने पनि मलाई ट्रेन चढ्नै मजा लाग्छ । त्यहाँबाट हामी बनारसको खुसीनगर जान मन छ । अनि पटना । पटना नगएको धेरै भयो ।

 बनारस हुँदै दिल्ली त पुग्नुहुन्न ?
बनारस पुगेपछि दिल्ली जान मन लागिहाल्छ । मान्छेले ‘के रहेछ दिल्लीमा यसको’ भन्छन् । तर त्यस्तो केही छैन । साउथ एसियन मिटिङको सन्दर्भमा म दिल्ली जान थालेको हुँ । पहिला नागरिक कर्मचारीको हैसियतले जान्थेँ । ‘इन्डियन इन्टरनेसनल सेन्टर’को मेम्बर छु । वर्षमा एकाध दिन बस्छु त्यहाँ । तर, अहिले मेरा उमेरका साथी भेटिन्नन् । ती माथि गइसके । त्यहाँबाट बनारस नै फर्किने हो । 

साउथ इन्डियाको यात्रामा बढी सम्झना आउने कुरा के हो ? 
नेपालीहरू नर्थ इन्डिया बढी जान्छन् । साउथ जान मन गर्दैनथे, अहिले जान्छन् । साउथमा केराको पातमा भात खानुको मजा गज्जब थियो । त्यहाँ काँचो नरिवलको पानी पिइन्थ्यो । इड्ली–डोसा खाइयो । त्यहाँको खानामा पनि नरिवल हालिएको हुन्छ । टेम्पल ठुल्ठूला छन् । साउथमा भाषादेखि खानासम्म फरक छ । केरला र तमिलनाडुमा पनि फरक छ । तेलगु भाषा र तमिल भाषा पनि फरक छ । परार केरलाको व्याकवाटरमा डुंगा लिएर सयर गरेँ । 

सुरुवातीतिर भारत जाँदाको कुनै स्मरणीय क्षण छ ? 
आइए पढ्दै थिएँ । एउटा नेपालको स्टुडेन्ट डेलिगेसनले इन्डियाको निम्तामा त्यहाँ जान मौका पाउँथ्यो । तर, टर्मिनल जाँच हुन्थ्यो । त्यो वेला मैले पनि राम्रो नम्बर ल्याएछु । सातजना विद्यार्थीसँगै म पनि परेछु । १७ वर्षे ठिटोको इन्डिया जाँदा राम्रो लुगा पनि थिएन । जाने कसरी भन्ने पनि थाहा थिएन । तर, लाने वेलामा भारतीय सैनिकले बनाउँदै गरेको त्रिभुवन राजपथबाट लिएर गए । त्यही मिल्ट्रीको ट्रकमा बोरागुन्टा राखेर हामी गएका थियौँ ।

हाम्रा प्रोफेसर पनि थिए । दिनभरि मोटर चढ्दा पनि बाटो पार भएन । सायद लामीडाँडा भएर लगेको थियो । अनि वास बसालियो मिल्ट्री क्याम्पमा । त्यहाँ भात खाएको सम्झन्छु । भोलिपल्ट अमलेखगन्ज रक्सौल पुगियो । अनि ट्रेन चढेर दिल्ली गइयो । प्रसंगवश अहिले धेरै फरक भयो । जवाहरलाल नेहरूलाई देखेको थिएँ, त्यसवेला । राजेन्द्र प्रसादलाई भेटेँ । मुगल गार्डमा चिया खाइन्थ्यो । अब्दुल कलाम शिक्षामन्त्री थिए । मैले सबैलाई देखेँ, तर केही बोल्न सकिनँ । 

६० वर्षदेखि भारत यात्रा गरिरहनुभएको छ, यात्राको सुरुवाती दिनमा भारतीय जीवनशैली देखेर के लाग्थ्यो ?
इन्डिया स्वतन्त्र भएको सात आठ वर्ष भएको थियो । त्यतिखेरदेखि नै मैले भारत देखेको हुँ । सुरुवातीतिर देखेको भारतीय जीवनशैली हेर्दा इन्डिया र पाकिस्तानको झगडाको आगो निभेको थिएन । यसको धङ्गधङ्गीमा समाज निकै अस्तव्यस्त देखिन्थ्यो । केही बौद्धिकहरू, प्राज्ञिक, पूर्वकर्मचारी, सिनियर पत्रकारजस्ता युवाहरू मानवअधिकारका लागि काम गर्न चाहिरहेका थिए । साउथ एसियन रिजनल डायलग भन्ने सुरु भइरहेको थियो । रिजनल रुपमा हामी के गर्न सक्छौँ भन्ने सोच थियो । ‘डेभलपमेन्ट सेक्युरिटी’जस्ता जान्नेसुन्ने मानिसकहाँ म जान्थेँ । पछि बिजेपी आएपछि के–के भयो भयो ।