• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
धनकुमारी सुनार
२०७६ माघ ४ शनिबार ०९:०८:००
समाज

हीरादेवी दासहरूका सपना जिउँदै छन्

२०७६ माघ ४ शनिबार ०९:०८:००
धनकुमारी सुनार

पुसमाघको जाडो । मध्य तराईको यो धर्तीको छेउकुनासँग सूर्यको प्रकाशले हप्तौँदेखि सम्बन्धविच्छेद गरेको छ । धनुषा जिल्लाको दक्षिण पर्ने रघुनाथपुरलाई हुस्सुले डम्म ढाकेको छ । रघुनाथपुरको बीचैमा छ– बंगाल टोल । लहरै साना–ठूला र कच्ची अनि पक्की घर छन् । यो मधेसी बस्तीमा जो भेटिँदा पनि मधेसी नै लाग्यो मलाई, किनकि सबैको वेशभूषा, लबज, बसाइ, खुवाइ एकैनास छ । 

रघुनाथपुरचोकबाट अलिक दक्षिणतिर अगाडि बढेपछि तराईकै बान्कीमा बनेका गुजुमुज्ज घर भेटिन्छन् । त्यही घरका हारमा हीरादेवी दासको एकतले पक्की घर छ । तीन कट्ठा जग्गासँगै जोडिएको चौडा र फराकिलो करेसाबारी छ । आँगनसहितको घर सफा र चिटिक्क देखिन्छ । यो बस्तीसँग हीराको परिवारको नाता डेढ–दुई सय वर्ष पुरानो हो ।

शताब्दी पुरानो बसाइ भए पनि उनका बाजे–ससुरा र ससुरा सबै सुकमबासी भएरै बिते ! हीराको परिवार पनि लामो समय सुकमबासी भएरै बस्यो । आठ वर्षअघि मात्र हीरादेवीका श्रीमान् दीपनारायण दासले साउदीमा आठ वर्ष गरेको संघर्षले पक्की घर बनाउन सम्भव भयो । उनका श्रीमान् तत्कालीन ‘चौम कम्युनिस्ट पार्टी’मा ०४० सालदेखि संगठित हुँदै लामो समय पूर्णकालीन कार्यकर्ता थिए ।

हीरादेवीको पनि कम्युनिस्ट राजनीतिको तीन दशक लामो इतिहास छ । चौम, जनमोर्चा र एकता केन्द्र हुँदै माओवादीसम्मको राजनीतिक, सांगठनिक संघर्ष र पार्टी जिम्मेवारीको अनुभव छ । विडम्बना जात व्यवस्था प्रधान हुने नेपाली राजनीतिमा कम्युनिस्ट पार्टीमा पनि अछुत भएकैले हीरा र उनका श्रीमान्को राजनीतिक वर्चस्व हुन सम्भव भएन । पटक–पटक सत्ता र सम्पत्तिको भोग गर्ने अवसर कथित कम्युनिस्ट र उच्च भनिएका जातमा रहेका व्यक्तिले पाए । हीरा र उनका श्रीमान्जस्ता हजारांँले हिजो र आज पनि सामाजिक, आर्थिक र सामाजिक रूपमा साक्षी किनारामै बस्नुपर्ने नियती भोगिरहेका छन् । 
०००
दास समुदायको परम्परागत पेसा खादीको कपडा बुन्ने हो । तराईमा सबै कथित उपल्लो जातिको सेवा गर्ने जातको दर्जा पाएको दास समुदायले आजभोलि कपडा बुन्ने काम गर्दैन । खेतीकिसानी गर्छ । झन्डै ३५ वर्षको राजनीतिक यात्रा भए पनि पटक–पटकको परिवर्तनपछि यो दास परिवारले राजनीतिक रूपमा सत्तामा भागीदार हुन पाएन । अन्त्यमा दुई छाक खान र छोराछोरीको आङ ढाक्न हीराका श्रीमान् दीपनारायण दास खाडीमुलुक नगई सुख पाएनन् । 

०४४ सालमै चौमको संगठित सदस्य बनेकी हीरादेवी धनुषा जिल्लाको पार्टी सदस्य र अखिल नेपाल महिला संघको जिल्ला सदस्य हुँदै दुई वर्षअघिसम्म एनेकपा सम्बद्घ दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य बनिन् । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य थिइन् । अहिले पनि रघुनाथपुरको राजनीतिक र उत्पीडित आन्दोलनकी सशक्त अगुवा हुन् । र, दलित र गरिबको भरोसाकी केन्द्र हुन् । 

चौम र जनमोर्चाका शीर्ष नेता हीरादेवीको घरमा नपुगेको कोही छैन । सबैले उनको नुन खाएका छन् । अहिले मन्त्री र पार्टीका ठूलो पदमा पुगेका नेतागणलाई गन्जी, गम्छा र थुप्रैपटक गाडी भाडाको व्यवस्था उनले गरेकी छिन् । निर्मल लामा, गिरिराजमणि पोखरेल, शशी श्रेष्ठलगायत कम्युनिस्ट नेताको बलियो र भरपर्दो सेल्टर थियो उनको घर । 

उनी नेपाली बुझ्छिन्, तर फर्काउन सक्दिनन् । कुरैकुरामा हीरादेवी भन्छिन्, ‘हमरा घरमे जनमोर्चाके नेता सब गोटे आएलछै और बैठलछे ।’ गिरिराजमणिले त यस जिल्लामा पार्टीको काम नै यही घरबाट सुरु गरेका हुन् ।  धेरै कम्युनिस्ट नेताले हीरादेवीलाई जनवादी क्रान्ति गर्दै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने सपना देखाए । नेताहरू पटक–पटक सांसद र मन्त्री भए । हीरादेवी दासको घरमा रुक्खा–सुक्खा खाएर उनकै खर्चमा वेला–वेला जिल्ला र सदरमुकाम गरेका गिरिराजमणि तीनपटक स्वास्थ्य र शिक्षामन्त्री भए तर हीरादेवीको जीवनमा तात्विक भिन्नता आएन । न समग्र रूपमा तराईका हीरादेवी दासजस्तै मुसहर, दास, चमार र पासवानको जीवनमा परिवर्तन आयो । 

धेरै कम्युनिस्ट नेताले हीरादेवीलाई जनवादी क्रान्ति गर्दै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने सपना देखाए । नेताहरू पटक–पटक सांसद र मन्त्री भए । तर हीरादेवीको जीवनमा तात्विक भिन्नता आएन । 

यो गाउँमा केही परिवर्तन भने भएको छ । त्यो हो मधेसी दलित युवा–युवती र प्रौढहरू हजारौँको संख्यामा रोजीरोटीका लागि खाडीमुलुक हानिएका छन् । हीरादेवीको जेठो छोरो पनि पाँच, छ वर्षदेखि खाडीमै छन् । हीरादेवीहरूको सपनामा कुल्चेर सत्ताको भर्‍याङ चढेका पहाडिया खस उच्च जातका नेता हीरादेवी र उनीजस्तैका मुक्तिका इन्द्रेणी सपनाबारे आजभोलि बेखबर छन् । 
०००

०७४ सालको स्थानीय तहको निर्वाचन आयो । हीराले पनि पार्टीसँग उपमेयरको टिकटको दाबी गरिन् । १४ हजार चार सय जनसंख्या भएको रघुनाथपुर सबैला नगरपालिकामा–१६ दलित समुदाय छन् । आफू उत्पीडित र दलित समुदाय भएको कारण पनि तत्कालीन एनेकपामा उनको उपमेयरको दाबीमा सहीछाप लाग्ला भन्ने उनको विश्वास थियो, तर त्यसो भएन । पार्टीमा उनको अनुरोधको वास्ता भएन । उनले स्वतन्त्र उम्मेदवारी दिइन् र प्रचार–प्रसारमा नहिँडीकनै, पैसा खर्च नगरेरै पाँच सय ६९ भोट प्राप्त गरिन् । हाल उनी पुरानो पार्टीसँग सम्बन्ध तोडेर नयाँ मुक्तिको यात्रामा छिन् । 
०००
साँझको प्रहर । अँध्यारो र चिसो सिरेटोमा आँगनको बीचमा गोबर र परालको घुर (आगो) पुत्ताउँदो छ । हीरादेवी भुसको भित्र–भित्रै सल्केको आगोको लप्कालाई अझै दन्काउन पटक–पटक झोसिरहन्छिन् । हीराका अनुहारमा जति उमेर र संघर्षले कोरेका चाउरी छन्, त्यत्ति नै कठोर दृढता सलबलाइरहेझैँ देखिन्छ । उनी मैथिली मिसिएको लबजमा थप्छिन्– ‘दिदी हम आठ मार्चके कार्यक्रम केलेल हजारौँ महिलाके जम्मा करब मनाएब ।’ उनीसँग कार्यक्रम सम्पन्न गर्ने आवश्यक आर्थिक, राजनीतिक र सामाजिक योजना छन् । ४५ काट्दै गरेकी हीरादेवी फुर्तिली देखिन्छिन् । तीन सन्तानकी आमा उनी अहिले चार नाति–नातिनीकी धनी छिन् । 

उनले एकसरो गाउँ घुमेपछि गाउँका हुनेखाने महिलालाई सयौँको सँख्यामा एकाध घन्टामै भेला पार्न सक्छिन् । रघुनाथपुरमा उनी पत्याइएकी सामाजिक र राजनीतिक नेता हुन् । दलित, उत्पीडित समुदायकी भरपर्दी सहयोद्घा हुन् । अथक देखिन्छिन् । रातो वर्णको अनुहारमा मुक्तिका संकल्प भेटिन्छन् । अझ तहगत रूपमा जातीय, क्षेत्रीय, भाषिक, लैंगिक र वर्गीय पाँच तहको उत्पीडन खेपिरहेकी हीरा किस्तामा होइन, थोकमा मुक्तिको सपना देखिरहेकी छिन् । 

हीरादेवीको संघर्षको इतिहास हेर्दा उनी र संघर्ष एक–अर्काको पर्यायवाचीजस्तै लाग्छन् । पाँच वर्षअघिको कुरा हो, यही बंगाल टोलमा सुढी जातिको घरमा बिहेभोजको निम्ता मान्न हीरादेवी गइन्, साथमा सानो नाति पनि थियो । बिहेघरको एक व्यक्तिले आफूसँग गएको नातिलाई छोइछिटो गरेपछि उनी भोज नखाई फर्किइन् । श्रीमान्सँगको सल्लाहपछि सिडिओ कार्यालयमा जातीय विभेदसम्बन्धी उजुरी दिइन् । आरोपित महिला पक्राउ परिन् । 

यस घटनाले गाउँमा चर्चा पायो । यस मुद्दामा गाउँलेहरू दुई ध्रुवमा बाँडिए । दलित समुदाय एकातिर, उपल्ला र खासगरी सुढी जाति अर्कोतिर भए । हीरा, उनका श्रीमान् र सहयोगीले आठ जिल्लाका दलित नेता भेला पारे । रघुनाथपुरचोकमै जातीय विभेदसम्बन्धी भव्य कार्यक्रम भयो । सुढी समुदायका केही व्यक्तिले कार्यक्रम बिथोल्न खोजे, झडप भयो । आक्रमण गर्न आएका केही व्यक्ति घाइते भए । हीराको पक्षमा मत बलियो देखियो । छुवाछूत गर्ने महिला सात दिन थुनामा बसिन् । पछि सिडिओ कार्यालयमा पीडकले माफी मागेर ‘आइन्दा यस्तो नगर्ने’ सर्तमा मिलापत्र गरियो । त्यसयता रघुनाथपुरमा प्रत्यक्ष रूपमा कसैले पनि छुवाछूत गरेको घटना बाहिर आएको छैन ।