• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामरिझन यादव
२०७६ माघ ४ शनिबार ११:१०:००
समाज

त्यो भैँसी जुलुस...

भैंसी र गधा जुलुसभित्र केही अन्तर्निहित सन्देश थियो– यत्रो दिनदेखि आन्दोलन गरिरहेका जनताको कुरा नसुन्ने सरकार भैँसीजस्तै छ । जति कुटे पनि आफ्नो बानी छाड्दैन भन्ने सन्देश थियो ।

२०७६ माघ ४ शनिबार ११:१०:००
रामरिझन यादव

मधेस विद्रोहमा थरीथरीका जुलुस प्रदर्शन गर्दा त्यसमा राष्ट्रिय राज्यको अवधारणा दृष्टिगोचर भएको थियो । त्यसैले पृथ्वीनारायणले सूत्रपात गरेको कथित दिव्योपदेशका आधारमा उनका सन्ततिबाट वेलामौकामा प्रतिपादित विधिविधान अद्यावधि कायम रहेको तथ्यलाई देखाउनु हो । एकथरीले पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् भन्ने नारा सिंहदरबारको मुख्य द्वारमा घन्काइरहेको अवस्थामा त्यसको एक सातापश्चात् तराई–मधेसमा बलिदान दिवस मनाइन्छ । यो मूलतः ०६४ सालको माघे मधेस जनविद्रोह दिवस हो । त्यसमा गुञ्जायमान हुने नारा ‘मधेसी समुदाय एक राष्ट्र हुन्’ भन्ने कुरा सरकारको मुखियालाई सुपाच्य नहुने अवस्थामा राजा रहेकै वेला शासकले पचाउने कुनै गुन्जायस थिएन । 

त्यसैले सचेत मधेस समुदायले वि.सं. ००८ सालअघिदेखि माग्दै आएको मूलभूत मागलाई खस पहाडी शासकवर्गले नसुनेझैँ गरे । मधेस विद्रोहताका मात्र होइन, त्यसपछि पनि सम्पन्न विभिन्न आन्दोलनका वेला विविध प्रकारका रंगीबिरंगी जुलुस र नारा लगाएर शासकवर्गलाई ध्यानाकर्षण गराउने काम हुँदै आएका छन् । वर्तमान संविधान निर्माणका वेला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुलाकी सडकमा प्रदर्शन गरिएको ऐतिहासिक ‘हातेमालो कार्यक्रम’ विश्वकै सबैभन्दा ठूलो जुलुसको रूपमा अंकित देखिन्छ । 

मधेस संघर्षको समयमा प्रदर्शन गरिएको जुलुस, लगाइएको नारा, छरिएका पर्चापम्पलेट, गाइएका गीत, लेखिएका कथा, कोरिएका कविता र टाँसिएका ठुल्ठूला ब्यानरलाई अध्ययन, अन्वेषण तथा अनुसन्धान गर्ने हो भने बेजोड किसिमको साहित्य सिर्जना भएको देखिन्छ । मैथिली, भोजपुरी, अवधि, थारू, नेपाली, हिन्दी, अंग्रेजी, सन्थाल भाषामा सिर्जित मधेसी साहित्य कति समृद्ध र उन्नत छ भन्ने कुराको आभास त्यसले दिन्छ ।  

०००

०६४ सालको मधेस विद्रोहको समकालीन नेपालको इतिहासमा अपूर्व स्थान छ । यो एउटा यस्तो विद्रोह थियो, जसले नेपालीको ठूलो तप्कालाई ‘उनी को हुन्’ (पहिचान) भन्ने सूत्र स्थापित गर्न भूमिका खेलेको देखिन्छ । नेपाल पहाडैपहाडले भरिएको मुलुक हो भन्ने शासक वर्गको मान्यतालाई विद्रोहले गलत सावित गरेको छ । भौगोलिक रूपमा एक लाख ४७ हजार एक सय ८१ वर्ग किलोमिटरमा फैलिएको नेपाली भूभाग कुनै खास एउटा सीमित वर्गको मात्र होइन भन्ने कुराको उठान जसरी माओवादी जनयुद्धले गरेको थियो, ठीक त्यसरी नै मधेस विद्रोहले नेपाल कुनै विशेष जात र परिवारको मात्र नभएर सयौँ, हजारौँ वर्षदेखि बसोवास गरिरहेका विभिन्न शोषितपीडित जातजातिको पनि हो, जो आफैँमा एक राष्ट्र हुन् भन्ने निक्र्योलमा पुगेको देखिन्छ । 

मौलिक रूपमा यिनै विषयवस्तुलाई आधार बनाएर गरिएको मधेस जनविद्रोहले यो तथ्यलाई पुष्टि गरेको छ । संघर्षकालमा मधेसभरि जुन जुलुस प्रदर्शन गरियो, नारा लगाइयो, त्यसको भावार्थ पनि यही हो । विद्रोहका क्रममा भैँसी जुलुस, गधा जुलुस, कुकुर जुलुस, झाडु जुलुस, लाठी जुलुस, मलामी जुलुस, जन्जिर जुलुस, बैलगाडी जुलुस, अर्धनग्न जुलुस, धोती जुलुस, कफन जुलुस, कालोपट्टी जुलुस, घोडा जुलुस प्रमुख थिए । 

मधेस विद्रोहकालमा प्रदर्शन गरिएका विविध जुलुसको आफ्नै महत्व छ । नेपालको इतिहासमा सायदै कुनै संघर्ष, आन्दोलन तथा क्रान्ति होला, जहाँ जुलुस यतिको विविधतायुक्त होस् । जुलुस प्रदर्शनमा प्रदर्शित भौतिक चिजभित्र अन्तर्निहित जुन भावात्मक विषयवस्तु हुन्छन्, त्यसले शासक वर्गमाथि मनोवैज्ञानिक प्रभाव पार्न ठूलो भूमिका खेलेको हुन्छ । यिनै तथ्यलाई हृदयंगम गर्दै आन्दोलनकारीले करिब महिना दिन लामो संघर्षमा आफ्नो क्षमता र दक्षताको परिचय दिएको देखिन्छ । महात्मा गान्धीले शान्तिपूर्ण रूपमा अंग्रेजलाई धम्क्याउन सत्याग्रहको सहारा लिए । तर, मधेसीले शान्तिपूर्ण रूपमा गान्धीको सहअस्तित्वकारी आन्दोलनलाई जुलुसको रूपमा जुन रंग भर्ने प्रयास गरे, त्यो आफैँमा नवीन सोचको उत्पादन हो ।

भैँसी जुलुस होस् वा गधा जुलुस वा कुकुर जुलुस सबै ध्यानाकर्षणका माध्यम थिए । तर, भैँसी–गधा जुलुसभित्र अन्तर्निहित प्रश्न थियो । यत्रो दिनदेखि जायज माग राखेर आन्दोलन गरिरहेका जनताको कुरा नसुन्ने सरकार भैँसीजस्तै छ । जति कुटे पनि आफ्नो बानी छाड्दैन भन्ने सन्देश थियो । गधा जुलुसको भावार्थ सयौँ वर्षदेखि मधेसीलाई जसरी गधा बनाएर जोत्ने काम गरिएको छ, त्यो दिन अब गयो भन्ने थियो । अब मधेसीलाई संघीयता, स्वायत्तता, स्वशासन र आत्मनिर्णयको अधिकार चाहिन्छ । दिएनौ भने हामी शान्तिपूर्ण आन्दोलनको विकल्प पनि खोज्न सक्छौँ । त्यसको धम्कीस्वरूप लाठी जुलुस प्रदर्शन गरिएको हो । 

आन्दोलनमा विभिन्न जुलुसमध्ये जन्जिरले बा“धिएका र लास बोकेका मधेसीको जुलुसले धेरैलाई भावविह्वल बनायो । झ्वाट्ट हेर्दा धेरैले अथ्र्याउन सकेनन् । कतिपय मधेसी नै असमञ्जसमा परे । वास्तवमा अढाई सय वर्षको शाहवंशीय शासनकालमा मधेसीले आन्तरिक औपनिवेशीकरणको(nternal colonization_ मार झेल्नुपर्‍यो । दासका रूपमा जीवन व्यतीत गर्नुपर्‍यो । मल्लकालमा जसको भाषा र साहित्यले राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको थियो, त्यसलाई शाहवंशीय राजाहरूले मटियामेट पारे । जसलाई नेपाली बोल्न र लेख्न आउँछ, ऊ मात्र नेपाली भन्ने उर्दी जारी गरे । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा ‘एउटै भाषा एउटै भेष’को नीति थोपरे ।

 राज्यधर्म घोषणा गरे । एउटै जातले राज्यको अंगप्रत्यंगमा संरचनागत रूपमा वर्चस्व स्थापित गरे । मधेसीलाई क्रमबद्ध रूपमा दास बनाइयो । त्यसको शान्तिपूर्ण प्रतिवाद गर्दा शासकवर्गले दर्जनौँको हत्या गर्‍यो । त्यही दासत्व जीवनलाई बिम्बको रूपमा जन्जिरले बाँधिएको र खुलेआम नरसंहार मच्चाएकोमा मलामी जुलुस प्रदर्शन गरिएको थियो । शासकवर्गले त्यसमा पनि रत्तिभर ध्यान नदिएपछि कुकुर जुलुस निकालियो । दर्जनाैँ कुकुरको घाँटीमा प्रधानमन्त्रीको ट्याग बाँधेर प्रदर्शन गरियो । टाउकोमा कालो फेटा बाँधेर आन्दोलनकारीले बजार परिक्रमा गरे ।

यतिसम्म कि मधेसी कर्मचारीले कार्यालयमा पनि कालो फेटामै काम गरे । शान्तिपूर्ण जुलुसमध्ये अर्धनग्न जुलुस, धोती जुलुस, बैलगाडी जुलुस, मोटर साइकल जुलुस तथा महिलाको झाडु जुलुस विशेष चर्चा–परिचर्चाको विषय बन्यो । धोती जुलुसले यस्तो बिम्बको निर्माण गर्‍यो, जसले मधेसी समुदायलाई आफ्नो पहिचान स्थापित गर्न सजिलो भयो । वर्षौंवर्षदेखि ‘धोती’ भनेर गाली खाँदै आएका मधेसी समाजका लागि योभन्दा ठूलो पहिचान के हुन सक्छ ? यसैलाई विषयवस्तु बनाएर बिम्बको रूपमा धोती जुलुस प्रदर्शन गरिएको थियो । यसप्रकार ०६३ साल माघको पहिलो सातादेखि सुरु भएको आन्दोलन अन्तिम सातासम्म चलेको थियो । संघीय शासन व्यवस्था यही मधेस जनविद्रोहको देन हो ।