• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सलमा खातुन
२०७६ माघ ४ शनिबार ११:३१:००
समाज

नेतृत्व भनेको पुरुष मात्रै हो र ?

मधेस आन्दोलनको अग्रमोर्चामा पुरुषसरह महिला पनि खटिएका थिए । तर, महिलालाई नेतृत्वका रूपमा भने कतै स्थापित गरिएन । महिलालाई नेतृत्वका रूपमा स्वीकार नै गरिएन ।

२०७६ माघ ४ शनिबार ११:३१:००

पहिलो मधेस आन्दोलन सुरु हुँदा म भर्खर वीरगन्जमा बिएड पढ्दै थिएँ । त्यतिखेरसम्म मलाई राजनीतिमा चासो थिएन । अधिकांश युवाजस्तै म पनि राजनीतिलाई ‘फोहोरी खेल’ भन्थेँ । मधेस आन्दोलन सुरु हुँदै थियो, आन्दोलनमा सहभागी हुनुपर्‍यो भन्दै मान्छेहरू कलेजमा आउँथे ।  मधेसको माहोल ठीक थिएन । यस्तो माहोलमा छोरीलाई घरभन्दा बाहिर राखेर पढाउँदा छोरी बिग्रन्छ कि भन्ने पिर परिवारलाई थियो । मधेसी समाज बन्द समाज हो । बन्द समाजमा हुर्केका कारण होला, म बोल्न पनि डराउँथेँ । तर, आन्दोलनमा सहभागी हुन आउनुस् भन्नेहरूले मधेसमाथि भएका विभेद सुनाउँथे ।

मधेसीमाथिका विभेदबारे मैले बाजे, बुबाबाट पनि सुनेकी थिएँ । काठमाडौंमा भोग्नुपरेको विभेद सुनाउनुहुन्थ्यो बाजे । ‘काठमाडौंमा त हामीलाई मस्र्या भन्छन्,’ बाजे भन्ने गर्नुहुन्थ्यो । सानैदेखि यस्ता कुरा सुनेकाले होला पहाडी मूलको मान्छे देख्दा बोल्न पनि डर लाग्थ्यो । पहाडी मूलका आफ्नै साथीसँग पनि बोल्ने हिम्मत हुँदैनथ्यो । 

आफ्ना लागि आफैँ लड्नुपर्छ भनियो । त्यसपछि मलाई पनि लाग्यो नबोल्दासम्म हाम्रो आवाज कसैले सुन्दैन । आफ्नो आवाज सुनाउन आन्दोलनमा लागेकी मेरै आवाज बन्द गर्ने प्रयास भयो । आन्दोलनमा लाग्दा परिवार सहयोगी भए पनि समाज सकारात्मक भएन । ‘राजनीतिमा लागेर छोरी बिग्रने भई’ भन्दै कुरा लगाउँथे । समाजका कुरा सुनेर बुबाआमा पनि वेलावेला चिन्ता गर्नुहुन्थ्यो । तर, पनि मध्यमवर्गीय मुस्लिम परिवारका बुबाआमाले मलाई गरेको सहयोग सानोतिनो क्रान्ति नै हो ।

समाजमा विशेषगरी मेरो चरित्रको विषयमा टिप्पणी गरिन्थ्यो । आन्दोलनकै क्रममा मान्छेले मलाई ‘अभैलेभल’ महिलाको रूपमा लिए । मेरो चरित्रको विषय उठाउँदै परिवारलाई कुरा लगाए । महिलाहरू सार्वजनिक जीवनमा आएपछि चरित्रमा प्रश्न उठाउने मधेसको पुरानै सोच हो । अझै मधेसमा यस्तो सोच कामय छ । 
आन्दोलनमा लागेदेखि मेरो चरित्रहत्या गर्न लागिपरेको एकजनाले लामो समयसम्म दुःख दियो । आन्दोलनका क्रममा त जसो–तसो पचाएकी थिएँ । आन्दोलन सकिएपछि पनि मेरो चरित्रमाथि बारम्बार प्रहार भयो । चरित्रमाथि बारम्बार प्रहार हुन थालेपछि आफन्त र परिवारले मेरो विवाह भारतमा गराउने सोच पनि बनाए । तर, मैले मानिनँ । 

मेरो चरित्रहत्या गर्न लागिपरेको त्यो व्यक्तिले ममाथि एसिड हान्ने तयारी नै गरेको थियो । म नेपाल वान टेलिभिजनमा काम गर्थेँ । मधेस आन्दोलनदेखि नै त्यो मान्छेले मलाई अप्ठेरोमा पारेको थियो । ०६४ तिर, म त्यही मान्छेबाट छुटकारा पाइएला भनेर काठमाडौं आएँ । त्यो मान्छे त मेरो पिछा गर्दै काठमाडौंसम्म आइपुगेको रहेछ । 

अति नै दुःख दिएपछि अफिसका साथीहरूसँग सल्लाह गरेर प्रहरीमा खबर गर्‍यौँ । प्रहरी र साथीहरूको सल्लाहमा त्यो मान्छेलाई काठमाडौंको गौशालामा भेट्ने योजना बनायौँ । गौशालाको मूल रोडमा त्यो मान्छे र म केही मिटरको दूरीमा मात्रै थियौँ, प्रहरीले उसलाई पक्राउ गर्‍यो । खानतलासी गर्दा त उसको साथमा एसिड भेटियो । म स्तब्ध भएँ । प्रहरीले नसमातेको भए त्यसले एसिड हान्थ्यो होला ! 

मधेस आन्दोलनको सुरुवातमा महिला–पुरुष भन्दा पनि समग्र मधेसको मुक्तिको कुरा थियो । मधेसलाई आर्थिक, सामाजिक र राजनीतिक अधिकारसम्पन्न गराउन संघीयता चाहिन्छ भन्ने हाम्रो मूल माग थियो । मधेसले अधिकार पायो भने हामीले अरूलाई गुहारिरहनुपर्दैन । अल्पसंख्यक, पिछडा, सीमान्तकृत, महिला, दलितको उत्थान होला भन्ने अपेक्षा थियो ।

हामीले काठमाडौंसँग अझ विशेषगरी खस समुदायका व्यक्तिबाट अधिकार माग्नुपरेको थियो । मधेसी समाज बुझेका, भोगेका मधेसी नै राज्य सञ्चालमा पुगे भने उनीहरूले हाम्रो हितमा काम गर्लान् भन्ने अपेक्षा थियो । यही अपेक्षासहित हामी आन्दोलनमा लागेका थियौँ । मधेस आन्दोलनले केही परिवर्तन भएको छैन भन्न मिल्दैन ।

संघीयता मधेस आन्दोलनकै उपलब्धि हो । विगतभन्दा मधेसमा तुलनात्मक सुधार भएको छ । तर, अपेक्षाकृत सुधार र उपलब्धि भने अझै भएको छैन । सदियौँदेखि पछाडि पारिएको समुदाय र भूगोलमा एकपैटक परिवर्तन सम्भव छैन । तर, १२ वर्ष लामो यात्रामा हामीले सन्तोषजनक नतिजा पाएनौँ । १२ वर्षमा बगेको खोला मधेसको हकमा फर्किएन । यो १२ वर्षमा सबैजसो सरकारमा मधेसी दल र मधेसका मान्छे पुगेका छन् । तर, उनीहरूले मधेसका लागि केही गरेनन् ।

सरकारमा मधेसीको प्रतिनिधित्व भयो भने मधेस र मधेसका महिलाको उत्थान होला भन्ने अपेक्षा आन्दोलनको मर्म थियो । तर, आन्दोलनको मर्म अहिले आएर कतै ‘डाइभर्ट’ भएजस्तो लाग्छ । आन्दोलनको मूल मन्त्र अहिले बिथोलिएजस्तो छ । काठमाडौंकेन्द्रित राजनीतिको रोगले मधेसलाई पनि संक्रमणमा पारेजस्तो लाग्छ । 

मधेस आन्दोलनमा महिलाको सहभागिता अपेक्षा गरेभन्दा बढी थियो । घरबाट बजारसम्म नजाने महिला पनि आन्दोलनमा थिए । सन्तानको भविष्य राम्रो हुन्छ भन्दै उनीहरू आन्दोलनमा सहभागी भए । तर, कैयौँ आमाको अपेक्षा पूरा भएको छैन ।मधेसकेन्द्रित दलले नै महिलालाई पार्टीमा स्थान दिन सकेनन् । पार्टीमा प्रत्यक्ष सहभागी नभए पनि आन्दोलनका कारण महिला बोल्न सक्ने भएका छन् । आफ्ना अधिकार थाहा पाएका छन् ।

मधेस आन्दोलनको अग्रमोर्चामा पुरुषसरह महिला पनि खटिएका थिए । तर, महिलालाई नेतृत्वको रूपमा भने कतै स्थापित गरिएन । महिलालाई नेतृत्वको रूपमा स्वीकार नै गरिएन । नेतृत्व स्वीकार नगरे पनि संघर्ष भने निरन्तर गर्नुपर्छ । हामीभन्दा अघिल्लो पुस्ताका केही महिलाले संघर्ष गरेकै कारण आज हामी यहाँसम्म पुगेका हौँ ।

हिजो महिलालाई सार्वजनिक र राजनीतिक जीवनमा प्रवेश पाउनै कठिन थियो । तर, आज स्थानीय तहमा दोस्रो तहको नेतृत्वसम्म पुगेका छन् । स्थान नै नपाउनुभन्दा सानै भए पनि स्थान पाएका छन् । महिलाहरूले बाध्यात्मक व्यवस्थाका कारण स्थानीय तहमा स्थान पाएका हुन् भन्ने टिप्पणी गरिन्छ । यही कारणले उनीहरूको क्षमतामाथि प्रश्न पनि गरिन्छ । महिलालाई कमजोर, अक्षम देख्ने सोच हटाउन त अझै केही समय लाग्छ ।

नेतृत्व भनेको पुरुष मात्रै हो भन्ने बुझाइ छ । महिलाको नेतृत्वलाई समाजले सहजै स्विकार्न सकेको छैन । महिला नेतृत्व स्वीकार्न अझै केही समय लाग्न सक्छ । सार्वजनिक जीवनमा उनीहरूलाई कसरी लामो समय टिकाइराख्ने भन्ने आजको चुनौती हो । आन्दोलन संस्थागत गर्ने समयमा महिलालाई नेतृत्वमा राख्नैपर्छ । महिलालाई निर्णायक भूमिकामा पु¥याउनैपर्छ । मधेसी महिलाले राजनीतिमा लाग्नु, आन्दोलन गर्नु आज पनि नराम्रा मानिन्छ मधेसमा । त्यसमाथि मुस्लिम परिवारका महिलालाई झन् कठिन छ । यी तमाम कठिनाइसँग जुधेर आन्दोलनमा लागेकै कारण मैले मधेसमाथि राज्यले गरेको विभेद बुझेँ  । आन्दोलनपछिका केही वर्ष पत्रकारिता गर्दा मधेसी समाजलाई महसुस गर्न सकेँ । त्यसैले आजकी सलमा मधेस आन्दोलनले नै बनाएकी सलमा हो ।

(पोखरिया नगरपालिका पर्साकीउपमेयर खातुनसँग सागर चन्दले गरेको कुराकानी)