• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण मुकारुङ
२०७६ माघ १८ शनिबार ०७:३२:००
इतिहास

हुँगेली साइँलाको रेडियो

त्यसपछि राजा त्रिभुवनको रेडियो गाउँ पस्यो

२०७६ माघ १८ शनिबार ०७:३२:००
श्रवण मुकारुङ

रेडियोको इतिहास खोज्दै जाँदा जर्मन वैज्ञानिक हेनरिक हटसम्म पुगिन्छ । जसले सन् १८८६ मा रेडियो तरंग (धबखभक) पत्ता लगाएका थिए । तर, यसको निर्माण र प्रसारणको श्रेय भने इटालियन वैज्ञानिक जी. मार्कोनीलाई दिइन्छ । उनले सन् १८९५–१८९९ मा ताररहित रेडियो बनाएका थिए । र यो विभिन्न चरणमा विकास हुँदै सन् १९२० मा औपचारिक रूपमै अमेरिकाको पिटर्सबर्ग, पेन्सिलभेनियाबाट प्रसारण भयो ।

तत्कालीन राष्ट्रपतिको चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको उक्त रेडियोको प्रसारण भने नियमित थिएन । यद्यपि यसैलाई जनतामाझ व्यावसायिक रूपमा प्रयोग गरिएको पहिलो रेडियो मानिन्छ । जसले प्रथम विश्वयुद्ध (सन् १९१४) मा आम मानिसमाथि थोपरेको निराशा वा घाउहरूलाई पन्छाउन सूचना तथा मनोरञ्जनका माध्यमद्वारा महत्वपूर्ण भूमिका खेलेको थियो । तर, दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५)मा त्यही रेडियोलाई युद्ध उन्मादी शासकहरूले कसरी र कुन रूपमा प्रयोग गरे ? आकलन गर्न सकिन्छ ।

यसरी पहिलोपल्ट विश्व इतिहासमा रेडियो प्रसारण भएको मितिदेखि लगभग ३० वर्षपछि वि.सं. २००७ चैत २० गते हाम्रो देशमा पनि रेडियो नेपालको स्थापना भयो । जसको श्रेय ००७ सालको परिवर्तन वा क्रान्तिलाई जान्छ । उक्त क्रान्तिताकै मुक्ति सेनाका कमान्डरद्वय रामप्रसाद राई र नारदमुनि थुलुङको अगुवाइमा भोजपुर जिल्लाको सदरमुकामबाट रेडियोको प्रसारण प्रारम्भ भएको हो भनेर दाबी गर्ने विद्वान् पनि छन् । ‘होइन, यो त विराटनगरबाट भएको हो’ भन्ने पनि छन् । तर, आधिकारिक रूपमा चाहिँ सिंहदरबारमा स्थापित अहिलेको रेडियो नेपाललाई नै मान्नुपर्ने हुन्छ । जसको संस्थापक तारिणीप्रसाद कोइराला थिए । 

रेडियो स्थापना हुनु र रेडियो सुन्ने संस्कृति निर्माण हुनु दुई फरक अवस्था हुन् । ००७ सालबाट रेडियो प्रसारण हुन थाले पनि त्यसलाई सुन्ने संस्कृतिको निर्माण हुन त समय लाग्ने नै भयो । पहिलो कुरा त रेडियो के हो, यो सुनेर के हुन्छ वा जनतासित रेडियो खरिद गर्ने हैसियत पनि हुनुपर्‍यो । तसर्थ सहजै अनुमान गर्न सकिन्छ कि त्यसवेला काठमाडौंका सीमित कुलीन दरबारिया शासक वर्गले नै पहिले रेडियो सुने । र यो बिस्तारै जनताको पहुँचमा पुग्यो । 

मेरो गाउँ नेपालको सुदूरपूर्व भोजपुरको दिल्पामा चाहिँ रेडियो सुन्ने संस्कृति कसले निर्माण गर्‍यो त ? निसन्देहः भन्न सकिन्छ– विश्वयुद्ध भोगेर फर्केका वा त्यसपछिका लाहुरेहरूले नै निर्माण गरे । किनभने त्यसवेला रेडियोप्रतिको चेतना र पहुँच नै उनीहरूको थियो । विज्ञान र प्रविधिको विश्व चेतनालाई सुदूर गाउँसम्म पुर्‍याउने भरपर्दो संवाहक नै त्यतिवेला लाहुरेहरू भए । तर, मेरोे गाउँमा पुगेको पहिलो रेडियोको कथा भने अर्कै छ । 

कथा 
पूर्व चार नम्बर भोजपुर, माझकिराँत, दिल्पा गाउँका पर्शुराम राई (वि.सं. १९५१–२०५०) राणाकालको नेपाली सेनामा भर्ती भए । अग्ला र बलिया सैनिक राईका पल्टनका अनेकौँ साहसिक कार्यमध्ये एक थियो, जंगली हात्ती पक्रनु । पक्रने मात्र होइन, हात्तीलाई यिनी कुशलतापूर्वक कज्याउँथे । यही वीरता देखेर श्री ३ महाराज चन्द्रशमशेर जबराका आँखामा यी लर्के राई परे । तर, हात्ती पक्रेबापत महाराजले कबोलेका दर्जा र रकम नपाएपछि सेनाको जागिर नै छाडेर यिनी गाउँ फर्किए । राईले सेनाको जागिर छोड्यो भन्ने खबर दरबारमा पुग्यो । तब उनलाई तुरुन्तै झिकाई कबोलेको रकम र दर्जा सोधभर्ना गर्नू भन्ने महाराजबाट आदेश भयो । राई दरबार झिकाइए । ‘यतै बस्छस् कि’ भनेर महाराजबाट सोधनी हुँदा ‘यस्तो दिउँसै फ्याउरो कराउने ठाउँमा बस्दिनँ सरकार’ भनी उनी गाउँ फर्किए ।

 अब राई गाउँको पुख्र्यौली विरासत जिम्मुवाल, जेठा राई भए । रकमकलम, तिरोभरो उठाई सरकारलाई बुझाउनु, गाउँका मुद्दामामिला मिलाउनु यिनको दैनिकी बन्यो । दरबारसित निकट रहेर राजा महाराजाका ऐसआराम, रइस देखेका यिनले नौवटी श्रीमती भित्र्रयाए । भक्तपुरबाट कालिगढ झिकाई ५२ वटा झ्यालढोका भएको घर बनाए । तर, राजा–महाराजहरूसित कुम जुधाउन राईले ५२ ढोके दरबार बनायो भन्ने पोल दरबार पुग्यो । राईले मुद्दा खेप्नुपर्‍यो ।

बनाएको हो कि होइन ? बुझ्न सरकारी टोली गाउँ आयो । उक्त टोलीले तीन दिन लगाएर गणना गर्दा पनि ५१ वटा मात्रै झ्यालढोका फेला पार्‍यो । तर, ती गणक कर्मचारी फर्किँदा तिनका मुख तीन सय पाइला परै घिउ, दूध र खसीको मासु गन्हाउने भयो । बाटामा हिँड्दा मुजुरा बाँधिएका नर्तकीझैँ गोजीमा टक(धातुका पैसा) छन्द्रङ–छन्द्रङ बजाउँदै तिनले पिखुवा खोला तरे । तब पर्शुराम राई ‘राई’मै कायम रहे । अब त झनै दरबारसित राईको सम्बन्ध गहिरियो । हिमचिम बढ्यो । दश दिन लगाएर आइपुगिने भए पनि नेपाल खाल्डो यिनका लागि परदेश भएन । यस्तै वेला राजा त्रिभुवनले यिनलाई दोस्रो विश्वयुद्धताका बेलायती सेनाका लागि निर्माण गरिएको मर्फी (murphy) रेडियो बक्सिस दिए । जुन रेडियो भिरेर घोडा हाँक्दै यी फेरि गाउँ फर्किए । 

एक कान दुई कान मैदान हुँदै यो घटना वल्लो गाउँ, पल्लो गाउँ फैलियो । रेडियो हेर्ने, सुन्ने वा रेडियोप्रतिको जिज्ञासा बोकेर वारिपारिका मानिसहरू पर्शुराम राईका घरमा ओइरिन थाले । ५२ ढोके घरको झिँगटीको छानोमा रेडियोको एरियल राखियो । तर, स्टेसन टिप्नै हम्मे । घ्यार्र–घ्यार्र गर्दै मुस्किलले बज्ने रेडियो कति सुन्नु, कति बुझ्नु ! बरु एरियल मिलाउन छानोमा पसेका विश्वयुद्ध सकेर भर्खरै आइपुगेका जेठा राईका लाहुरे छोरा भीमप्रसाद राईको ढुंग्रे (पल्टने) हाफ पाइन्टभित्र अलग्गै देखिएको फलफुलले मानिसहरूलाई मनोरञ्जन दियो । जेठा राईको घरको फराकिलो आँगन हासोले गुञ्जायमान भयो । आँगनका डिलमा पहेँलै पाकिरहेका सुन्तला र केरा सर्माए । मग्मगाइरहेका कनकचम्पाहरू लजाए । 

अर्को कथा 
‘जेठा राईले सहरबाट मान्छे बोल्ने बाकस ल्या’का छन् रे’ भन्ने सुनेर माथ्लो गाउँ (ओख्राङ)बाट कर्मी काइँला बनाइरहेको छिमेकीको नयाँ घर त्यत्तिकै छोडेर हामफाल्दै झरे । सिकुवाभरि सबै चिनेजानेका मान्छेहरू रहेछन् । पल्लो छेउमा खाटमाथि जेठा राई हुक्का तानिरहेका छन् । उनी आगन्तुकहरूका लहरमा छिरे । साइनोअनुसार ढोगभेट चल्यो । त्यसपछि उनका आँखा नजिकै राखिएको रेडियोमा परिहाल्यो । तर, रेडियो ससुरालीमा नयाँ ज्वाइँझैँ मौन थियो । उनले रेडियोछेउ हुक्का तानिरहेका काका पर्शुराम राईतिर प्रश्नसूचक मुद्रामा हेरे । दिन धुम्मिएको थियो, काकाले मौसमलाई दोष दिए । यद्यपि रेडियो र रेडियो ल्याइपु¥याउँदाका सास्तीबारे धाराप्रवाह प्रवचन दिए । सुनेजति सबैले घरि रेडियो, घरि जेठा राईका अनुहारको रापमा आँखा डुलाइरहे । यत्तिकैमा उपस्थितजनलाई जाँड आइपुग्यो ।

जेठा राईको प्रवचन पनि बन्द भयो । केहीबेरको मौनता तोड्दै डबकाको बाँकी जाँड स्वाट्टै पारेर कर्मी काइँलाले छेउको भित्तामा उभ्याइएको सामानलाई कोदोका दानासरिको ओँठले देखाउँदै लेघ्रो ताने, ‘देवाकाका), अरूसित त चिनापर्ची (ढोगभेट) भयो, तर वहाँ नातालाई चाहिँ चिन्न सकिएन, को पर्नुभो होला ? आम्नो खिम खाडा हजुर (तपाईंको घर कता हजुर )? पहिले कतै देखेको जस्तो त लाग्दैछ, मैले नै पो बिर्सेँ कि ?’ उपस्थित सबै अलमलमा परे । किनभने कर्मी काइँलाले देखाएको ठाउँमा रेडियोसँगै ल्याइएको ठूलो साइजको ऐना थियो । सबैले कर्मी काइँलाले देखाएको ठाउँमा हेरे । त्यहाँ अरू कोही नभएर उनै काइँलाको निर्दोष प्रतिविम्ब थियो । सिकुवा ठूलो हासोले उचालियो । 

यो घटना घट्नु किन स्वाभाविक हो भने त्यो समय गाउँमा ऐना आएकै थिएन । मानिसहरू आफ्नो अनुहार हेर्न गाउँका कुवा, पँधेरी, दह आदिको प्रयोग गर्थे । यसरी हाम्रो गाउँमा पहिलोपल्ट रेडियो, ऐना, क्यामेरा आदि ल्याउने श्रेय जेठा राई र जेठा राईका लाहुरे सन्तानलाई जान्छ । फेरि तिनैले केही वर्षपछि ग्रामोफोन ल्याए । डिक्स हालेर गीत बजाउने उक्त ग्रामोफोन गाउँका अनेकौँ बिहेबटुलो र जाग्रामहरूमा घुम्यो । गाउँलेहरूले मित्रसेन, मेलवादेवी र धर्मराज थापाका गीतहरू त्यही डिक्सबाट सुन्न र गुनगुनाउन कोसिस गरे । खासगरी मित्रसेनको ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले’, ‘लाहुरेको रेलिमाइ’ मेलवादेवीको ‘सवारी मेरो रेलैमा’ धर्मराज थापाको ‘गोरखपुर रेलैमा’ आदि गीतहरू यसरी गाउँठाउँमा पुग्यो । 

हुँगेली साइँलाको रेडियो 
यो त धेरैपछिको कुरा हो । ०३३/३४ साल वा अझ पछिको कुरा हुनुपर्छ । जतिवेला गाउँमा प्रशस्तै रेडियो आइसकेको थियो । बेलायती, इन्डियन, जापानिज ब्रान्डका थरीथरीका रेडियो गाउँघरमा घन्किन थालिसकेका थिए । नेपाली, हिन्दी गीतसंगीत, भजन, धार्मिक, बाल र युवालक्षित कार्यक्रमहरू सुनेर मनोरञ्जन लिने, समाचार सुनेर सुसूचित हुने समयको सुरुवात भइसकेको थियो । गाउँका पढेलेखेका जान्ने सुन्ने शिक्षक, कर्मचारी आदि त ‘बिबिसी’, ‘अल इन्डिया’, ‘खस्र्याङ’ आदि स्टेसनबाट प्रसारण हुने सामग्रीहरू बढी सुन्थे ।

विशेष रूपले ‘अल इन्डिया’ रेडियोबाट प्रसारित हुने भारतीय गोर्खा सेनामा कार्यरत नेपाली दाजुभाइले आफ्नो परिवारलाई पठाएका सन्देशहरूको कार्यक्रम गाउँमा प्रिय थियो । खोटाङ जिल्ला बुइपा–बसेरीको लाहुरेले आफ्नी श्रीमतीलाई ‘पूजनीय श्रीमतीज्यू’ भनेर सम्बोधन ग¥यो रे भन्ने किस्सा नै बनेको थियो । सत्य हो वा होइन, तर यो किस्सा कार्यक्रमको लोकप्रियताको एउटा सूचक हो । तर, यता रेडियो नेपालले भने देशमा घटेका घटना, दुर्घटनादेखि पञ्चायती व्यवस्थाको पृष्ठपोषण गरिएका सामग्रीहरू प्रसारण गथ्र्यो । राजाको लोकप्रियताको बखानदेखि देशभक्तिपूर्र्ण भावले भरिएका गीतसंगीत यसले महत्वका साथ बजाउँथ्यो ।

रेडियो सुन्न थालेपछि मानिसहरूले आकाश, घडीपला, दैलोको संघारमा आफ्नै छाया वा रूखको हाँगामा अल्झेको घाम हेर्दै कति बज्यो भनेर अड्कल काट्न छाडे । हेर्दाहेर्दै काँधमा रेडियो भिरी ससुराली जाने जमाना आयो । यही वेला बेलायती लाहुरे नरबहादुर राई (हुँगेली साइँला) पल्टनबाट कुनै नयाँ ब्रान्डको रेडियो घन्काउँदै गाउँ आइपुगे । उनले आफ्नो घरको दलानमा झुन्डाएर चर्को स्वरमा रेडियो बजाउन थाले । तर, गाउँमा पहिले नै अनेक किसिमका रेडियो आइसकेका थिए । त्यसैले उनको रेडियोले अघिल्लो छुट्टीमा ल्याएको रेडियोले जस्तो महत्व पाएन । पछि उनी घरबारी सबै बेचबिखन गरेर तराईतिर झरे । यत्तिकैमा अचानक हाम्रो घरमा पनि पहिलोपल्ट रेडियो आइपुग्यो । तर, यो नयाँ रेडियो थिएन । 

निकै पुरानो डिजाइनको फिलिप्स रेडियो थियो । अग्रभाग सेतो र बाँकी भाग रातो रङको यो रेडियोको साइज पनि निकै ठूलो थियो । तर, माथिल्लोपट्टिको दाहिने छेउ नराम्ररी फुटेको थियो । ६ थान ब्याट्री लाग्ने यो रेडियो हत्तपत्त नबज्ने, हातले बिस्तारै ठोकठाक गरेपछि भने आँगनका परेवा, कुखुरा, भँगेरा भाग्नेगरी बज्ने । एसएलसी उत्तीर्ण गरेर काकाद्वय डिल्ली किराँत र बुलु मुकारुङले घर छाडेपछि मात्रै यो रेडियो मेरो भयो । यसलाई असाध्यै जतन गरेर सुनेँ । ब्याट्री अड्याउन बाँसका छेस्किनी बनाएँ । बादुङ्गे फुपाजुकहाँ लगेर भोटो सिलाइदिएँ । फुटेको छेउमा तामाको तारले मोहरेर टाँका लगाइदिएँ । र यो मेरो अनन्य मित्र भयो । स्कुलमा जाँदाबाहेक घाँस काट्दा, गोठालो जाँदा, राति सुत्ने वेला, दिउँसो कोदालो खन्दा पलपलको साथी भयो । 

एकदिन बिहान घरमाथिको बारीको डिलमा घाँस काट्दै रेडियो सुनिरहेको थिएँ । माथिबाट बूढो खसीझैँ घुद्रुक–घुद्रुक हामफाल्दै राते डोटेल बा रेडियोछेउ आइपुग्नुभो । जातले खतिवडा जैसी हुन् । उहाँको पुर्खाहरू पश्चिम डोटीबाट आएको कथा छ । त्यता नजाऔँ । रेडियोछेउ उहाँ उभिनेबित्तिकै रेडियोले समाचार भन्न थाल्यो । हामी नाति–बाजेले ध्यान दिएर सुन्यौँ । समाचार सकिएपछि मौसमसम्बन्धी जानकारी दिँदै रेडियोले भन्यो, ‘नेपालको पूर्वी पहाडी भागमा मौसम बदली भई केहीबेर वर्षात् हुने सम्भावना छ ।’ त्यसपछि मैले रेडियो बन्द गरेँ ।

बसेको ठाउँबाट उठेर डोटेल बाले दौराको फेर टकटकाउँदै भन्नुभयो, ‘नाति एउटा कुरा भन्छु, नरिसा है ।’ मैले भनेँ, ‘भन्नुस् न बा, त्यस्तो के कुरा हो र रिसाउनु ।’ उनले बारीको अर्को छेउतिर फर्केर खकार फाल्दै भने, ‘तेरो यो रेडियो काम लाग्दैन, नक्कली हुनुपर्छ । हेर् त, यस्तरी घाम लागेका छन्, पानी पर्ने सुरै छैन । तर, तेरो रेडियोले चाहिँ पानी पर्छ भन्दै छ ।’ म वाल्ल परेँ । उहाँले माथ्लो कान्लाको अम्लिसोको बुटो समाउँदै फेरि थप्नुभो, ‘हुँगेली साइँलाको रेडियोजस्तो पक्का यो गाउँमा कसैको छैन । त्यल्ले पानी पर्छ भनेपछि परेरै छाड्छ, घाम लाग्छ भनेपछि लागेरै छोड्छ । के गर्नु, गाउँ नै छाडेर गइगयो बजिया । त्यो नन्दे नेवारको रेडियोको त झन् के कुरो गर्नु, इन्डियन हो, दम लागेको मान्छेजस्तो स्वाँ–स्वाँ मात्रै गरिबस्छ । बोलेको पटक्कै बुझिँदैन ।’ मैले सही थाप्न नपाउँदै उहाँ चार कान्लामाथि पुगिसक्नुभएको थियो । 

वास्तवमा, राते डोटेल बालेजस्तै रेडियोलाई गम्भीरताका साथ सुन्नेहरूमाझ रेडियोले त्यतिवेलैदेखि आफ्नो विश्वसनीयता गुमाउँदै थिएछ । देशमा एकातिर पञ्चायती व्यवस्था अलोकप्रिय भइरहेको थियो, अर्कातिर रेडियो भने त्यही व्यवस्थाको गुणगानमा मग्न थियो । यद्यपि, त्यसले बजाउने गीतसंगीतले सबैलाई मनोरञ्जन दिइरहेको थियो । मजस्तो रेडियोको लतीलाई त झन् कला, साहित्य र संगीतको क्षेत्रमा आउने उत्प्रेरणा दिइरहेको थियो । अझ आफ्नै गाउँठाउँका अग्रजहरूको नयाँनयाँ सिर्जनाहरू सुन्न थालेपछि त झन् मेरा लागि रेडियो परिवारको सदस्यजस्तो बनेर आयो । यस्तैवेला ‘पत्रमित्रता कार्यक्रम’, ‘परदेशीको सन्देश’, ‘चौतारी’जस्ता कार्यक्रम बज्न थाले । यसले अझ आमश्रोतालाई जोड्यो । धेरैले रेडियोको पत्रमित्रता कार्यक्रमको माध्यमबाटै प्रेम गरे, विवाह गरे । सम्बन्धको भूगोल फराकिलो बनेर गयो । 

यत्तिकैमा एकदिन बार्दलीबाट मेरो रेडियो अचानक आँगनमा बजारियो । र कहिल्यै नबोल्ने गरी ध्यानस्थ भयो । त्यसपछि निकै लामो समयसम्म मैले रेडियो सुनिनँ । फेरि नयाँ लाहुरे उद्दिम किराँती नयाँ डिजाइनको रेडियोमा चलचित्र ‘कुुसुमे रुमाल’को गीत घन्काउँदै छुट्टी मनाउन गाउँ आइपुगे । वास्तवमा त्यो क्यासेटप्लेयर थियो । जहाँ रेडियो पनि बज्थ्यो र नयाँ विशेषताचाहिँ क्यासेट पनि बज्थ्यो । रिवाइन्ड गर्दै मनपरेका गीतहरू पटक–पटक सुन्न मिल्ने यस्तो रेडियो अब गाउँगाउँमा घन्कन थाल्यो । जसले नारायण गोपाल, कुमार बस्नेत, माइकल ज्याक्सन, किशोर कुमार, लता मंगेस्कर आदिका गीतलाई हामीसित परिचित गरायो । त्यस्तै, रामेश, रायनका जागरण गीतदेखि महजोडीका प्रहसनहरू यस्तै प्लेयरमार्फत गाउँमा लोकप्रिय हुन थाले । लौ, यसले त सामाजिक, राजनीतिक जागरणको भाका पो सिकाउन थाल्यो । 

देशमा जब ०४६ सालको राजनीतिक परिवर्तन भयो । त्यसपछि पो थाहा पाएँ कि मैले बच्चालाई झैँ स्याहार्दै सुनेको त्यो रेडियो त तत्कालीन पञ्चायती व्यवस्थाको प्रवद्र्धनका लागि गाउँपञ्चायतलाई दिइएको रेडियो रहेछ ।

यसपछि म काठमाडौं आएँ । र काठमाडौं उत्रिएको भोलिपल्टदेखि नै रेडियो नेपालको प्रांगण मेरा लागि आफ्नै घरको आँगनजस्तो भयो । मैले ‘चौतारी’ कार्यक्रममा गीत गाएँ । कविता, मुक्तक वाचन गरेँ र गीतकार पनि भएँ । देशमा जब ०४६ सालको राजनीतिक परिवर्तन भयो । त्यसपछि पो थाहा पाएँ कि मैले बच्चालाई झैँ स्याहार्दै सुनेको त्यो रेडियो त तत्कालीन पञ्चायती व्यवस्थाको प्रवद्र्धनका लागि गाउँपञ्चायतलाई दिइएको रेडियो रहेछ । जुन रेडियोलाई काकाहरूले खोइ कसरी ल्याए । उनीहरू व्यवस्थाविरोधी राजनीतिमा सक्रिय हुँदै थिए । 

००७ सालदेखि ०७६ सालसम्म आइपुग्दा सरकारको प्रत्यक्ष निगरानी र लगानीमा स्थापित एक मात्र श्रव्य सञ्चार रेडियो नेपाल प्रत्येक परिवर्तनसँगै आफ्नो भाका फेर्दै सत्ताको गुणगान गाउन बाध्य भए पनि सूचना, मनोरञ्जन र न्यूनतम वैश्विक ज्ञान, विज्ञान जनतालाई हस्तान्तरण गर्ने माध्यम बनेको छ । यद्यपि, ०४६ सालको परिवर्तनपछि लोकतान्त्रिक सरकारले लिएको स्वतन्त्र सञ्चार नीतिसँगै अनेकौँ एफएम र टिभी खुले । यहाँसम्म कि आफ्नो उद्देश्य प्राप्त गर्न माओवादीले पनि जनयुद्धकालमा जंगलबाटै एफएम रेडियो सञ्चालन गरे । प्रविधिमा आएको तीव्र विकास र प्रतिस्पर्धाले अहिले रेडियो नेपाल रक्षात्मक अवस्थामा आइपुगेको छ । मानिसहरूका हातमा स्मार्टफोन छन् । सूचना र मनोरञ्जनका लागि छनोटका अनगिन्ती माध्यम र विषय छन् । त्यसैले अब रेडियोले चाहेर पनि हिजोजस्तो कुनै नयाँ राष्ट्रगान कण्ठ गराउन सक्दैन । स्वरसम्राट, लोकसम्राट, संगीत शिरोमणि आदि जन्माउन सक्दैन । यस्तो प्रयत्न गरे, त्यो तथाकथित प्रयत्न हुनेछ । 

००९ सालमा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा चढे । र जनकवि केशरी धर्मराज थापाले ०१२ सालमा ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ भन्ने गीत रेकर्ड गरे । रेडियो नेपालले यसलाई उच्च महत्वका साथ बजायो । शेर्पाले सगरमाथा चढेको जनताले थाहा पाए । तर, तेन्जिङ त नेपाली रहेनन् । फेरि रेडियोको विश्वसनीयता घट्यो । आज प्रधानमन्त्रीले केबलकारबाट चन्द्रागिरि चढेको समाचार रेडियो नेपालले सम्पादन गर्न नपाउँदै सामाजिक सञ्जालले भनिसक्छ । यसो भन्दैमा रेडियो नेपालको सान्दर्भिकता सकिएकै हो त ? अवश्य होइन । 

इतिहासमा यसले नेपाली जातिको वैशिष्ट्यलाई जसरी प्रसार गर्‍यो र नेपाली जातिको राष्ट्रिय संवेदनालाई जोड्न मद्दत पुर्‍यायो, त्यो अविस्मरणीय छ । त्यसरी नै यसले आजको समय, समाज, सभ्यता र मानिसको सुदूर आकांक्षालाई सम्बोधन गर्न छोडेन भने अथवा सधैँ शासकहरूको हतियार मात्रै होइन, जनताको आवाजलाई मुखरित गर्ने हतियार भयो भने गाउँको कुनै कुनामा कुनै नवयुवाले आफ्नो बाबुको ओछ्याननजिकै ध्यानस्थ रेडियोमा लागेको माकुरोको जालो पुछ्नेछ र बिजुलीमा प्लक घुसार्नेछ । किनभने सूचना र मनोरञ्जन नै आजको युगको पहिलो ज्ञान, शक्ति वा सत्ता हो ।