• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेशकुमार राई
२०७६ माघ १८ शनिबार ११:२७:००
समाज

मेटिए गल्ली पुरिए चौतारा

गाउँतिर

२०७६ माघ १८ शनिबार ११:२७:००
गणेशकुमार राई

मधुरो सम्झना छ, घरछेउको गल्ली पछ्याएर कात्तिक–मंसिरतिर आलु बोकेका शेर्पाहरू आइपुग्थे । उनीहरूले ल्याएको आलुबापत ‘पापा’हरू अन्न भरिदिन्थे वा पछि दिने गरी सहमति गर्थे । व्यापारको विनिमयदर प्रायः ‘तीन खुट’को हुन्थ्यो, अर्थात् एक पाथी अन्न बराबर तीन पाथी आलु । गाउँमा यसरी लेकाली आलु खान पाउनु दौँतरीमाझ सानको विषय हुन्थ्यो । 

यही गल्लीले कहिलेकाहीँ त्रास पनि ल्याइपुर्‍याउँथ्यो । गाउँमा पूर्वप्रधानपञ्च थिए । ती प्रधानपञ्चलाई बोकेर वेला–वेला एउटा अजंगको घोडा यही गल्लीमा घडक्घडक् गरी कुद्थ्यो । गाउँका मानिस प्रधानपञ्चसँग आजित र आक्रोशित थिए । गाउँमा उनलाई ‘पर्धान’ भनिन्थ्यो । घरीघरी यही गल्लीमा प्रहरी पनि ओहोरदोहोर गर्थे । प्रहरीलाई ‘डोर’ भनिन्थ्यो । गाउँमा प्रहरी आतंक यस्तो थियो कि पापाहरू डोरलाई देख्नेबित्तिकै विनाकसुर परैबाट छलिन्थे । जनयुद्धको प्रभाव विस्तारसँगै ‘पर्धान’ र ‘डोर’ विस्थापित भए ।

०५६÷०५७ सालतिर यही गल्लीले पापा र जेठादाइलाई हिरासतमा पुर्‍यायो, राजद्रोहको कसुरमा । पापाले कहिल्यै राजनीति गरेनन् । दाइहरू पनि राजनीतिज्ञ थिएनन् । बाटोका घर धेरै थरी मान्छेको आउजाउ हुने । ०५७ को उत्तराद्र्धदेखि त घरमा अबेर राति माओवादीले सेल्टर लिन थाले । माओवादी सेल्टरको अर्थ हुन्थ्यो, जुनसुकै समय युद्ध हुनु । 

पहिले–पहिले यो गल्ली भएर विदेशीहरू पनि हिँड्थे रे ! यो गल्लीलाई पछ्याउँदा मेरापिक पुगिन्छ । तर, मेरो सम्झनामा यहाँबाट विदेशी पर्यटकको दल हिँडेको घटना छैन । कारण के भने, ५० को दशकताका वाकुमा क्याम्प बसेका पर्यटकको जुत्ता चोरी भयो । त्यसैकारण पर्यटनको सम्भावना भएर पनि यो रुट ‘ब्ल्याक लिस्टेड’ छ ।

यो गल्लीको अस्तित्वमा ०५८ सालदेखि सामान्य संकट सुरु भयो । गाउँलेहरू कुवामा पानी लिन यही गल्ली भएर धाउँथे । ०५८ सालमा गाउँमा सर्वप्रथम खानेपानीको धारा आइपुग्यो । घरैछेउ धारा भएपछि हरेक दिन गल्लीमा खिइने पाइताला कम हुन थाल्यो । 

चौताराको सम्झना
दिमरामा करिब दुई किलोमिटरको गल्लीमा चारवटा चौतारा पनि थिए । घाँस–दाउरा, गोठाला, मेलापातबाट फर्कँदा मानिस तिनै चौतारामा बात मारिरहेका वा खाजा–पानी खाइरहेका हुन्थे । हामी रमिते हुन्थ्यौँ । चौतारा कसैको सम्झनामा बनाइएका थिए । कोही मानिसको मृत्युपछि मृतकको सम्झनामा चौतारा बनाइन्छ । यी चारैवटा चौतारा कसैको सम्झनामा बनेका थिए । तर, कसको सम्झनामा ? सम्झनुपर्ने ती मानिसको नाम सम्झनामै राखिन्छु । यी चौताराले आफ्नो आँठोमा बिसाउने कति मानिसका अरू सम्झना पनि बुनिदियो होला ।

चौतारामा कहिले भरिया भारी बिसाइरहेका हुन्थे, कहिले बटुवा पसिना सुकाइरहेका हुन्थे, कहिले जन्ती हिँडेका मानिस सगुनी पिउँदै नाचिरहेका हुन्थे, कहिले गाउँले भेला भएर सुख–दुःख बिसाइरहेका हुन्थे । जेहोस्, चौतारामा सम्झना बुनिइरहेकै हुन्थे । जन्ती जाँदा यिनै चौतारामा आयोसा (खालिङ राई समुदायमा गाइने लोक जुहारी) गाएर कति बाजेबजुले माया–पिरती गाँसेका मात्रै होइन, कतिको घरबारै बसेको जिउँदो सम्झना होला । कतिसँग धित मरून्जेल आयोसा गाउन नपाएको खिन्नता होला । कतिले बेयोङ्, मुक्चम, धजुरा, पेचुरी, फुर्का, रुमाल उपहार दिएर प्रेम साटेका सम्झना होलान् । 

मलाई राम्ररी याद छ, हामीभन्दा अघिल्लो छिमलका तरुनी–तन्नेरी पर्म खेलेर वा मेला भरेर फर्कँदा लाक्पा खेलेको सम्झना तिनै चौतारामा थिए । चौतारामा बिछ्याइएका ढुंगाको ठूलो पातामा राजनीतिक दलको प्रचारसमेत गरिएका हुन्थे । कयौँपटक ती चौतारामा सहयोद्धासँग स्वयं मैले बन्दुक बिसाएको छु । अफसोस् ! चौतारामा लेखिएका कसैको सम्झनापत्रको शिलालेख स्वयं आज सम्झना बनेका छन् । सानो छँदा हिउँदका तुषाराले फुटेका र ठिहि¥याएका खाली पाइतालालाई तिनै चौताराको झुल्केघामले सेकाउँथ्यौँ । वर्षामा हिलो लागेर चिलाएका कलिला खुट्टा तिनै चौतारामा कन्याउँथ्यौँ । सकिनसकी थाप्लोमा अडिएका घाँस–दाउराका भारी तिनै चौतारामा बिसाउँथ्यौँ । चौतारामा खेलेर दौँतरीसँग साँझ छुट्टिन्थ्यौँ । 

०७४ को उधौली । यो उधौलीमा ती सम्झनालाई ताजा बनाइराख्ने गल्ली–चौतारा पुरियो । स्थानीय तहमा पुगेको बजेटले गाउँका कुना–कुनासम्म सडक सञ्जाल विस्तार गरिँदा ती सम्झना पुरिए । अजंगको स्काभेटरले सडक बनाएको देखेर गाउँले दंग परे । स्काभेटरले गल्ली–चौतारा भत्काउँदा अचम्मको रमाइलो मान्दै रमिता हेर्नेको भिड लाग्यो । तर, विकास भन्नु यति हो ? यसप्रकारका विकासले प्रकृति र संस्कृतिमा कस्तो असर पर्छ ? गाउँलाई के थाहा ? विकासले त गाउँको गल्ली र चौतारालाई भत्काउँदै कच्ची सडक बिछ्याइदियो ।
 
गल्ली हराएपछि 
धुलो उडाउँदै र हिलो छ्याप्दै जिप दगुर्छन् । गाउँका तन्देरीसँग लाक्पा खेल्न छाडेर तरुनी ड्राइभरसँग इत्रिन्छन् । छेम्छेम् पिएर जाने शेर्पा आच्युहरूले उतै बियर पिएपछि आमाको हातमा छ्याङको हिसाब पर्दैन । ग्यास–चुल्होमा खाना पाक्छ । आगोको बिउ निभ्न नहुने राईहरूको सांस्कृतिक चुल्हो (अगेना)मा चिसो खरानी मात्रै छ । खरका छाना धुलोले ढाकिएका छन् । आफन्तहरू जिपबाटै बाटो काट्छन् । गफ गर्दै हिँड्ने मानिसका हुद्दा हरायो । गल्लीबाटै सन्चो–बिसन्चो सोध्ने चलन हरायो । यसरी बिरानो भएर एउटा गल्ली हरायो र हराइरहेछ एउटा सुमधुर सम्बन्ध । 
 
चौतारा हराएपछि

सगुनी पिउने जन्ती भेटिँदैनन् चौतारीमा । आयोसा गाउनेहरू भेटिँदैनन् । माया पिरती साट्ने चलन पनि भेटिँदैन । रूखमुनिको शीतल हावा अनि चिसो बतास बोलाउने सुसेलीको भाका हरायो । दिल्लगी गर्दै मायाको चिनो साट्ने समय हरायो । र रिक्तता थोपरेर हराए, चौताराहरू । पुरिएका गल्ली–चौताराजस्तै स्वयं गल्ली–चौताराको सम्झना पनि एक दिन हराउनेछ, जुन दिन ती गल्ली–चौतारासँग हुर्किएको पुस्ता पृथ्वीबाट हराउनेछ । र सम्पूर्णतामा सकिनेछ, गल्ली–चौताराको सम्झना ।