• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सुकन्या वाइबा 
२०७६ माघ २५ शनिबार १०:५६:००
सम्झना

‘पारिजात, दुःख भाग लगा !’

२०७६ माघ २५ शनिबार १०:५६:००
सुकन्या वाइबा 

अपराजिता,
माघ ३ गते तिम्री अन्तरंग मित्र दया सिंहको वार्षिकी । उनले यस संसारबाट बिदा लिएकी हिजै जस्तो लाग्छ, तर एक साल बितिसकेछ । मन अतासिन्छ, के गरुँ, कसो गरुँ, छट्पटी हुन्छ । सोचेँ, तिमीले उनीप्रति पोखेका उद्गार बटुलेर श्रद्धाको फूलमाला चढाउन सके यादगार रहला । उनी नै हुन् जसले तिम्रो अवसानपछि भएको स्मृतिसभामा प्रमुख अतिथि बनेर तिम्रो स्मृतिलाई अर्थपूर्ण बनाएकी । त्यही स्मृतिसभामा राममाया नेपालीलाई सम्मान गरिएको थियो, जसले ०९७ सालका सहिदहरूले सघाएर इतिहास रचेकी थिइन् ।

०००
विभिन्न लेखमा समेटिएका उनीप्रतिको तिम्रा उद्गार, तिम्रै शब्दमा :
‘यो मेरो रुमानी सम्झना हो दया सिंहसँगको । उसको र मेरो मित्रता र केंवराको फूलको सुवाससँग एउटा गहिरो सम्बन्ध छ । आजपर्यन्त केंवराको सुवास मेरो नाकमा पर्न आयो भने म एउटी गोरी, हँसिली र फस्र्याइली महिलाको अनुहार सम्झन्छु र केहीबेर अतीतमा पछारिन पुग्छु ।’

‘अब म नागार्जुनको जंगलभित्र र भण्डारखालको जंगलभित्र गएर फाल्तु किताब पढ्नमा जीवनको अतिरिक्त आनन्द अनुभव गर्न थालेकी छु । त्यसैताका पुतलीसडकको आफ्नो घरैको नजिक बस्ने एउटी उज्याली र हँसिली केटीसँग मेरो मित्रता सुरु हुन्छ । दया सिंह हो उसको नाउँ । ऊ    सँगको मित्रता मेरो जीवनको अभिन्न अंग भइदिन्छ । काटेर फाले भरिदिने अवस्था यसो भनुँ अधुरो हुन्छ । म ऊसँग कतै पनि लुकेकी छैन । अझसम्म प्रत्येक भोगाइहरूमा ऊ साथ छे, प्रत्येक आँसुमा, प्रत्येक हाँसोमा, शून्यतामा, निस्सारतामा, मृत्युको मुखमा परेका वेलामा, प्रसिद्घि पाएको र लोकप्रिय भएका वेलामा एकनास । ऊ मलाई महान् ठानी सम्मान गर्छे । निरीहभन्दा निरीह ठानी माया गर्छे, गाली गर्छे, सुझाब दिन्छे । मायाको हकमा म एकदम केटाकेटी उसको अघि । मेरो भोको दिनलाई ऊ चिन्छे, मेरो अनिँदो रातलाई ऊ चिन्छे । ऊ त्यो स्वास्नीमान्छे हो, जसले मैले लेख्न थालेपछि आफ्नो संवेगलाई थामिदिई, जसले मेरो पहिलो उपन्यास ‘संघर्ष’ लेख्दा आफ्नो भागको दूध ल्याएर मलाई खुवाइदिई र जसले मेरो आजको विक्षिप्त अवस्थालाई भरपूर संवेदनाले छोपिदिएकी छ । मेरो मृत्युपश्चात् ऊ मात्र मलाई सिंगै उतारेर टाँगिदिन सक्छे, मलाई जस्ताको तस्तै कापीभरि–भरि लेखिदिनसक्छे ।’

‘दया सिंह नमी राणाकी (कलेज पढ्दाका साथी) सकेत फुपूकी छोरी थिई । त्यसैले एकदिन उसले हामी सबैलाई (कलेजका केही साथी) आफ्नी फुपूको घर लिएर गई । त्यसदिन हाम्रो साधारण परिचय भयो र एक–अर्कालाई माया नमार्ने अठोट गर्दै छुट्टियौँ ।’

‘दोस्रोपल्ट पनि त्यसरी त्यहाँ गयौँ, तर दोस्रोपल्ट भने अरूहरूलाई बिदा दिइसकेपछि उसले मेरो हात समातेर ‘तपाईँ एकछिनपछि जानुस् न, घर त्यहीँ त हो,’ आग्रह टाल्न नसकेर म बसेँ । धेरैबेर कुराकानी भयो । यसरी हामी एकअर्कासँग नजिक हुँदै आयौँ र हाम्रो मित्रता ‘तपाईँ’बाट ‘तँ’मा ओर्लियो र हामी अभिन्न साथी भयौँ । म दिनदिन कलेज सिद्घिनासाथ उहीँ पुग्थेँ । त्यसवेला ऊ आफ्नो एसएलसीको तयारीमा थिई । हाम्रो मित्रताले कतिसम्म जरा गाडिदियो भने हाम्रो मनको संसारमा पनि कुनै भिन्नता रहेन । हुँदा–हुँदा दुःखसुख पनि एउटै भयो, आँसु एउटै, हाँसो एउटै भइदियो । उसलाई अँध्यारो देखेमा म कुरै नबुझी अँध्यारिन्थेँ, त्यस्तै म प्रफुल्ल देखिए ऊ त्यसै प्रफुल्ल हुन्थी । कतिसम्म भने हामी एकअर्कादेखि टाढा नै रहन नसक्ने भयौँ । मीठो गाँस खाँदा हामीले एकले अर्कालाई सम्झनेसम्म भयौँ ।’

‘अध्यात्मवादमा तर्क दिन सक्ने अथवा भनौँ प्रत्येक चिजलाई तार्किक दृष्टिकोणले हेर्ने यस अतिबहिर्मुखी तथा ममतामयी महिलाको मेरो जीवनमा धेरै असर परेको छ । म अति संकोचशील र अन्तर्मुखी थिएँ । क्रमशः उसको बहिर्मुखी स्वभाव ममा पनि संक्रमण हुँदै गयो । आज म जति कुराकानी गर्छु, त्यो परिवर्तनीय क्षेत्रको कारण दया सिंहलाई मान्न कति पनि हिचकिचाउँदिनँ । ऊ कविता लेख्थी र उसको कविता अत्यन्त गहिरो हुन्थ्यो । मेरो कविता सफल भएकोमा ऊ कति खुसी हुन्थी, अरू कोही सायद भएको छैन आजसम्म । एकातिर ऊ सधैँ मेरो सफलताको कामना गर्थी भने म ऊ एउटी पर्दासिन महिलालाई स्वतन्त्र जीवनको आभासले सुमसुम्याइरहन्थेँ, झकझक्याइरहन्थेँ । म बराबर उसलाई आफ्नो शैलानी रहरको लोभ देखाइरहन्थेँ । स्वतन्त्रता तथा आत्मविश्वासतर्पm आकृष्ट गराइरहन्थेँ ।’

‘एकदिन दया कुरा घुमाएर सोध्छे, ‘तिमीहरूको दसैँमा लुगा हाल्ने चलन छैन ?’ ‘छ त्यसो त, तर अब हामी ठूला पनि त भइसक्यौँ, हामीलाई दसैँको लुगासँग के अर्थ !’ म झ्यालतिरबाट टाढा कतै हेरिदिन्छु । ऊ अचानक रिसाउँछे, ‘हो हो, मलाई थाहा छ, तेरो त फेर्ने लुगा पनि छैन । भैगो कसैको अघि दाँत ङिच्याउनुपर्दैन ।’ ऊ कसलाई क्रोध गरिरहेकी छ, त्यो म स्पष्ट बुझ्छु । रिसाउनासाथ ऊ मलाई छलेर आँखाहरू पुछ्ने बहाना गर्छे । त्यसको केही दिनपछि ऊ मलाई दुईजोडा धोती र एक जोडा पेटीकोट उपहारस्वरूप दिन्छे । लुगाभन्दा ममता सम्झेर म त्यसलाई स्वीकार गर्छु । एउटी स्वास्नीमान्छे जसको छातीभित्र पवित्र पानी सिवाय मैले केही पनि पाइनँ, जति खोज्दा पनि । आजपर्यन्त मकहाँ आएर ऊ मेरो कुर्ता सुरुवालमा खिप लगाइदिन्छे, फाटेको सिलाइदिन्छे र मलाई सधैँ केटाकेटी बनाएर छोडिदिन्छे । हामी दुईजनामा प्रशस्त विरोधाभास छन् विशेष वैचारिकतालाई लिएर । दुःख, सुख, तनाव, प्रत्येक स्थितिमा उसलाई गीता चाहिन्छ, म गीताबाट धेरै अघि भागिसकेँ । उक्त अवस्थामा मलाई राता किताबहरू चाहिन्छ । गीताबाट भागी क्रमशः रंग फेर्दै गएका परिवर्तनलाई उसले कहिले रोक्न सकिन यसो भनौँ रोक्ने कोसिस पनि गरिन । तर, मैले उसलाई गीतादेखि निकाल्न सकिनँ कोसिस गरेर पनि सकिनँ ।’ 

 ‘म बिए प्रथम वषर््ाकी छात्रा हुँदा हाम्रो परिवार बानेश्वर सर्ने भयो, त्यतिखेर एक हप्ताजति अर्थात् डेरा नसरुन्ज्यालसम्म हामी दुईजना रोई मात्र रह्यौँ । उदार र विशाल मन भएकी यस महिलाले मेरो जीवनमा यति धेरै गुण र सहयोग गरेकी छ, अगाध माया गरेकी छ, जसलाई कलमबद्घ गर्दै जाँदा एउटा सिंगो उपन्यास बन्न जान्छ । ऊसँग मेरा असंख्य सम्झनाहरूको सँगालो लुकेको छ ।’

‘बानेश्वरको डेरा सरेको थोरै समयपछि नै पारिवारिक विघटन अर्थात् छुट्नुको स्थितिभन्दा अर्को विकल्प हामीसँग थिएन । सुकन्या जागिर खान थालेकी थिई अति थोरै तलबमा । त्यसवेला मैले दाजुको अन्न खान छोडिदिएँ र भोकै बस्न थालेँ । म संकोचशील दुःख पोख्न नसक्ने, यसमाथि चाहिनेभन्दा बढी अभिमानी, दयाले मेरो मनस्थितिको भाषा स्वयं बुझेर मलाई माया गर्थी र ‘दुःख भाग लगा’ भनी आग्रह गर्थी । यसरी म दाजुको घरमा भोकहडताल गरेर बसेका वेला एक साँझ दयाको घरको एकजना केटो एउटा ठूलो पोको बोकेर मेरो कोठामा आयो । त्यो पोकोभित्र पिठो, चामल, कपडा अरू चाहिने सामान साथै केही रकम पनि आएको थियो । आँसु र हाँसोको सम्मिश्रणमा तरङ्गित हुँदै मैले त्यो सामान स्वीकार गरेँ । भोलिपल्टदेखि चुलोमा म आफ्नो खानेकुरा आपँैm पकाएर खान थालेँ । कसैले मलाई किन यसो गरेकी भनी सोध्ने साहस गरेनन् ।’

‘त्यस दिनदेखि मेरो सुख–दुःख यहाँ भाग लाग्छ ऊ मेरो निम्ति माइल स्टोन बन्छे, जसको अघि सारा संकोचका लुगा उतारेर म नाङ्गी भइदिन्छु, जसलाई म आफ्ना सारा आँसुहरूले निथ्रुक्क नुहाइदिन्छु । ऊ मेरो अनुहारमा सक्कली हाँसो हेर्न चाहन्छे र भन्छे, ‘तेरो ओठमा आन्तरिक सुखको हाँसो हेर्ने रहर छ ।’ तर, दया, अझ पनि त आन्तरिक सुख, मृगतृष्णाजस्तै बालुवामाथि नै छ जुन दिन यो बलौटे यात्राको समाप्ति हुनेछ, त्यस दिन आन्तरिक सुख स्वतः हराउनेछ मेरो आँखादेखि, म समागम हुनेछु हरियालीमा ।’

‘एक सय ३५ रुपैयाँमा धान्नुपर्ने तीनजनाको पेट, आङ, घरबहाल, बत्ती खर्च, कलेज शुल्क, कपी, किताब अरू के–के बढ्दो महँगीमा । समस्या छ मात्र समस्या । कुपनको चामल खेदो गर्नुपर्छ । उफ् चुरोट कति चाहिन्छ यस्तो वेला जब पैसा हुँदैन । यति सब भोगेर पनि हाँसिदिनु, पचाइदिनु, छलिदिनु, चुनौती दिनु दुःखहरूलाई स्वभाव भएको छ ती दिनहरूको । एउटै मान्छेको अघि मैले छल्न सकिनँ त्यो हो दया । ‘तैँले आज खाएकी छैनस्’ भनी कडा स्वरमा सोधेपछि म निरुत्तर भएर उभिरहन्थेँ उसको अघि ।
‘एकातिर चुनौती र संघर्ष थियो भने अर्कातिर साथीहरू थिए, अध्ययनको सिलसिला थियो, लेखन थियो, विशेष दया थिई । आँसु मात्र थिएन, हाँसो पनि थियो ।’ 

पारिजातले आफ्नो साथी दया सिंहबारे भनेकी थिइन्, ‘उदार र विशाल मन भएकी यस महिलाले मेरो जीवनमा यति धेरै सहयोग र माया दिएकी छिन्, जसलाई कलमबद्घ गर्दै जाँदा एउटा सिंगो उपन्यास बन्न जान्छ ।’

०००
अपराजिता,
अब मेरो सम्झनामा रहेका केही पल फुकाउँछु है ।
दया दिज्यु र तिम्रो मायाको साक्षीद्वय दया दिज्युकी बहिनी ज्यानु र म अझै बाँचेका छौँ । ज्यानु कलम चलाउँदिनन्, तर उनको हृदयमा ती दिनका सम्झना जीवित कथा बनेर बसेका छन् । म वेलामौका अलिअलि पोख्ने गर्छु र हलुको महसुस गर्छु । 

यसै सन्दर्भमा मैले दया दिज्युलाई तिमीले दूध पिई कि पिइन भनेर चियाउन आएकी देखेकी छु । रोगले ग्रस्त हुँदा तिमीलाई दूध रुच्थेन । दिज्यु आपैmँ एक दुई सीप पिएर मिठो मान्दै, जिब्रो पड्काउँदै ‘यसरी पिएर हेर त, कति मिठो हुन्छ,’ भन्दै तिमीलाई बच्चालाई जस्तै सम्झाएकी देखेकी छु । अनारका एक–एक दाना आफ्नो बुढीऔँलाले थिचेर रस बनाई तिमीलाई पिलाएकी पनि देखेकी छु । उनका घरबाट आँखामा लाउने गाजलदेखि लिएर सिसीका अचारसमेत हाम्रो घर आइपुग्थ्यो । अरू त अरू कसैसँग हत्तपत्त सम्पर्क राख्न नचाहने हाम्रा बाबुलाई समेत दिज्यु र ज्यानुले मनले जितिसकेका थिए । 

यो पनि सम्झना छ, दिव्य खालिङ दाइले तिमीहरू दुवैका कविता पढेर यस्तो कमेन्ट गरेका थिए, ‘दया गुडेर लेख्छिन्, पारिजात उडेर लेख्छिन् !’ कति सटिक ! 

कसै कसैले भन्ने गर्छन्, आत्मा कहिल्यै मर्दैन, आत्मा अमर छ । आज मलाई यस कथन सत्य होस् जस्तो पो लागिरहेछ । यदि यस कथन सत्य भए मेरो भावुकताले तिमीहरू दुवैलाई ठूलो अन्तरालपश्चात् साथसाथै देखिरहेको छ । र भन्न मन लागिरहेछ, दुःख भाग लगाउने दया र पारिजातको प्रेम अमर रहोस् ।