• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ २५ शनिबार १०:४५:००
फिल्म

परजीवी गाथा

२०७६ माघ २५ शनिबार १०:४५:००

'प्यारासाइट’ अर्थात् परजीवी । अझ भनौँ, अर्को जीवलाई शोषण गरेर बाँच्ने प्राणी । परजीवी त प्रवृत्ति न हो, प्राणीमा मात्र होइन, मानिसमा पनि थुप्रै परजीवी भेटिन्छन् । चरम प्रतिस्पर्धाको यो समयमा परजीवी बनाउन निरन्तर लागि परेका छन् शक्तिराष्ट्रहरू । गहिरिँदो वर्ग विभाजनको मानव सभ्यतामा को परजीवी हो र को परोपकारी भन्ने बहस बनिरन्तर चलिरहेको छ ।  

कोरियाली निर्देशक बोङ जोन होको पछिल्लो सिनेमा ‘प्यारासाइट’ यही बहसमा केन्द्रित छ । सिनेमाको मुख्य कथा सम्पन्न र विपन्न दुई विपरीत परिवारबीचको सम्बन्धवरिपरि फन्को मार्छ । सँगै जोडिन्छ, अर्को आश्रित परिवारको गाथा पनि । दक्षिण कोरियामा बढ्दै गएको आर्थिक असमानता सतहमा ल्याएको छ ‘प्यारासाइट’ले, जहाँ हुने खाने र हुँदा खानेबीचको खाडल बढ्दो छ निरन्तर । सम्पत्तिको असमान वितरणले हरेक समाजलाई पूर्ण रूपमा दुई खेमामा विभाजित गरेको छ । त्यसैले त सतहमा दक्षिण कोरियाको कथा भए पनि यो विश्व अर्थतन्त्रकै वास्तविक गाथाजस्तो लाग्छ । 

सीमित मान्छेले अधिक साधनस्रोतमा कब्जा गरिरहेको छ, विगतदेखि नै । यसैले त वर्ग संघर्ष अविराम छ, विविध स्वरूपमा । यही द्वन्द्वको कथालाई यस सिनेमाले कलात्मक अनि उत्तिकै रहस्यात्मक ढंगले प्रस्तुत गरेको छ । एकातिर, थोरै आम्दानीमा दैनिक समस्यासँग लड्दैभिड्दै जीवन गुजारिरहेको किम परिवार छ । फ्री वाइफाईकै लागि मरिहत्ते गरिरहेछन्– घरभित्र किमका छोराछोरी । अर्कोतिर छ पार्क परिवार जो आलिसान महलमा सुविधासम्पन्न जीवन बिताइरहेको छ । जर्मनी, अमेरिकालगायत बाहिरी देशका आयातीत सामान मात्र प्रयोग हुन्छन् त्यहाँ । पार्क परिवार भोकविलास र सम्पत्ति आर्जनमा तल्लीन छ । अनि किम परिवार पेट भर्नकै लागि अनेक तिकडमबाजी गर्न बाध्य छ । जोन होले घुमाउरो ढंगले मान्छेको अस्तित्व र त्यो अस्तित्व जोगाउन गरिने मानव व्यवहारलाई पर्दामा देखाएका छन् । 

किम र पार्क परिवारबीच एउटा समानता छ– त्यो हो अस्तित्व संकट । अस्तित्वको प्रश्नले दुवै खेमामा उत्तिकै घोचिरहेको छ । जर्जर वर्तमानमा अल्झिबसेको छ किम परिवार । उता, सम्पन्न पार्क परिवारमा पनि अस्तित्व संकट गहिरिँदो छ । उनीहरूको जीवन पनि सकसपूर्ण छ । भौतिक सुखको पछाडि कुद्दाकुद्दै जीवन निस्सार र नितान्त एक्लो छ । फगत बनावटी छ जीवन, एक प्रकारको कैदी जिन्दगी । चाहे सम्पन्न हुन् वा विपन्न, अहिलेको मान्छेमा एक किसिमको छटपटी छ, चाहेको कुरा पूरा हुँदा पनि बेचैनीले गाँजिरहेको छ । यही विषयलाई जोन होले पारिवारिक संघर्षको स्वरूपमा पस्केका छन् । गोल्डेन ग्लोब कार्यक्रममा ‘प्यारासाइट’ले विदेशी भाषाको उत्कृष्ट पुरस्कार जित्दा निर्देशक होले भनेका थिए, ‘यदि हामीले सब–टाइटलको एक इन्च अग्लो पर्खाल नाघ्ने हो भने धेरै राम्रा सिनेमासँग साक्षात्कार गर्न पाउँछौँ ।’ साँच्चै प्यारासाइटजस्ता अनेकौँ सिनेमा हामीलाई आफ्नो अस्तित्वप्रति अनुत्तरित प्रश्नहरू गर्न तयार भइबसेका पाउँछौँ । 

सिनेमामा थुप्रै प्रतीक र बिम्बको सघन प्रयोग भेटिन्छ । सिँढी यस्तै अर्थपूर्ण बिम्ब हो । किम परिवारको घर जान सिँढीबाट तल झर्नुपर्छ । पार्क परिवारको बेसमेन्ट (जमिनमुनिको कोठा)मा जान पनि सिँढीबाट तल झर्नुपर्छ । यही बेसमेन्टमा सिनेमाका मुख्य घटनाहरू घट्छन् । त्यसको विपरीत पार्क परिवारको घर अग्लो ठाउँमा छ जहाँ पुग्न सिँढी उक्लिनुपर्छ । गरिब र धनीको वर्गीय हैसियत देखाउने यो बिम्बात्मक प्रयोग अलग छ । गरिब वस्तीका किम परिवारका चारै सदस्य केही समयको लागि त सिँढी चढेर पार्क परिवारकोमा काम गर्न पुग्छन्– विभिन्न भूमिकामा । तर, अन्ततः ओरालै लाग्छन्, आफ्नै पूर्ववत् हैसियतमा बजारिन्छन् । 

यतिखेर सिनेसंसारमा चर्चा छ- ‘प्यारासाइट’ फिल्मलाई ओस्कारको आवश्यकता छैन । बरु ओस्कारलाई प्यारासाइटजस्ता सिनेमाको आवश्यकता छ । 
 

दृश्य संसारमा प्रकाशको अलग भूमिका हुने नै भयो । निर्देशकले उज्यालो र अँध्यारो रंगसँग सचेततापूर्वक खेलेका छन् । किम परिवार बस्ने छिँडीको घर र पार्क परिवारको बेसमेन्टमा कहिल्यै घाम लाग्दैन । अँध्यारो, नीरस र चिसो जिन्दगीको पर्याय बनेका छन् ती स्थल । अर्कातर्फ, पार्क परिवारको घर आँगनमा सूर्यका किरण छरिएको दृश्य देखिन्छ प्रायः । छोरा किम कामको लागि पार्क परिवारको घरमा प्रवेश गर्न लाग्दा घामको दृश्य देखाइएको छ । अर्थात्, आशाको किरण, वर्गीय उत्थानको लालसा । 

सिनेमामा सबैभन्दा बलियो बिम्ब हो– गन्ध । गरिब बस्तीमा रहेका किम परिवारका सदस्यको शरीरबाट आउने गन्ध बाबु पार्कले घरीघरी बहसमा ल्याउँछ र बाबु किमलाई हियाउँछ पनि । गरिबीको गन्धको यही अपमान सहन नसकेर अन्तिममा बाबु किमले बाबु पार्कको हत्या गरिदिन्छ । गन्धको बिम्बको क्रमागत प्रयोगबाट सिनेमाको गतिलो क्लाइमेक्स तयार हुन्छ । क्लाइमेक्स दृश्यमा मुसलधारे वर्षाले गरिब बस्ती डुबाएर बिचल्ली भएको देखाइएको छ । किम परिवार पनि वर्षाले बडारिन्छ । तर, पार्क परिवारका लागि त्यो वर्षाले अतिरिक्त आनन्द दिन्छ । एउटै पानीका दुई प्रभावले पनि वर्ग भिडन्तको आसन्न परिवेश सिर्जना गरेको छ । 

सिनेमामा नयाँ पात्रको प्रवेश र दुई परिवारका सदस्यबीचको संवादमा उनीहरूको उपस्थितिको दिशाले विशेष अर्थ बोकेको छ । गरिब परिवारका सदस्यलाई देखाउँदा प्रायः देब्रेभागमा देखाइएको अनि धनीलाई दाहिने भागमा देखाइएको छ । वर्ग विभाजनलाई अझ प्रस्ट पार्ने बिल्कुलै नौलो प्रयोग उत्तिकै अर्थपूर्ण पनि लाग्छ । 

सिनेमाको सुरुमा किमको पारिवारिक वासस्थानको बाहिर एउटा मान्छे पिसाब गरिरहेको हुन्छ, खाँदाखाँदै उनीहरू उठ्छन् र झ्यालबाट चियाउँछन् । किम परिवारको वर्गीय हैसियतको साक्षी बनेको छ त्यो झ्याल । पछि, किम परिवारका चारैजना पार्क परिवारमा जागिरे बनेपछि परिदृश्य बदलिन्छ । पार्क परिवारको अनुपस्थितिमा भोजमा मग्न भइरहँदा झ्यालबाहिरको दृश्यमा किम परिवार केन्द्रित हुन्छ । हरियाली र खुला संसारले उनीहरूको सम्पन्नताप्रतिको आशक्ति र सपना झल्काउँछ । यस्ता अनेक बिम्बको सफल प्रयोगले ‘प्यारासाइट’ले मनग्गे ‘दृश्यात्मक न्याय’ गरेको छ ।

अमेरिकी सहयोगले चम्केको दक्षिण कोरिया अलग अस्तित्व र मौलिक पहिचानबाट टाढिँदो छ । कुनै समय बुद्व धर्मको बाहुल्य रहेको कोरियामा पश्चिमी वर्चस्व छ । होली वाइनसँग सम्बद्व जिससपुत्रीको देशमा चर्चको विस्तार नौलो विषय रहेन । सिनेमामा पनि किम सन्ततिका नयाँ नाम केभिन, जेसिकाले कोरियाली जीवनमा परेको अमेरिकी प्रभावको स्पष्ट संकेत दिन्छ । कोरियाली पहिचानको संकटापन्न अवस्था पनि उजागर गर्छ । योजनामुताबिक हरेक पाइला चाल्ने बाबु किम अन्त्यतिर छोरालाई सुनाउँछ, ‘विनायोजना नै सबैभन्दा उत्कृष्ट योजना रहेछ ।’ यो संवादले निराशासँगै भत्किँदो कोरियाली पहिचानतर्फ इंगित गरेको भान हुन्छ । अनि प्रश्नहरू सलबलाउँछन्– परजीवी अनुहारबाट मुखुन्डो निस्कने कहिले ? साँच्चिकै परजीवी को ? 

‘प्यारासाइट’ सिनेमाको जरा खोज्न जोन होकै निर्देशनमा बनेको ‘स्नोपियर्सर’सम्म पुग्नु जरुरी हुन्छ । विज्ञान कथामा आधारित यो सिनेमाबाटै उनले वर्ग संघर्षको जग बसालेका थिए । फ्रान्सेली ग्राफिक उपन्यासमा आधारित यो सिनेमामा पृथ्वीलाई हिउँले पूरै ढाकेको हुन्छ । केवल एक मात्र रेल सञ्चालनमा हुन्छ । त्यही रेलबाट विश्व अर्थव्यवस्था देखाउन खोजेका छन् उनले । रेलको पुछारको डिब्बामा गरिब, शोषित, निरीह मजदुर सवार छन् । उनीहरू भोक र अभावले छट्पटिँदै छन्, मान्छेकै मासु खान विवश छन् । उनीहरू घरीघरी रेलको अघिल्लो भागमा बस्ने मालिकविरुद्ध जाइलाग्न खोज्छन्, तर सफलता हात पर्दैन । रेललाई शक्तिशाली विम्बका रूपमा देखाएर मानव सभ्यताको लामो कालखण्डमा पनि सीमित व्यक्तिहरूले असीमित स्रोतसाधनमाथि कब्जा गरिबसेको यथार्थ झल्काउन खोजेका छन् उनले । ‘प्यारासाइट’मा भने अझ व्यापक बन्यो यो वर्गीय परिवेश ।

पोलिटिकल थ्रिलर, ब्ल्याक कमेडी, फ्यामिली ड्रामाजस्ता कुनै एक विधामा सीमित राख्न सकिन्न ‘प्यारासाइट’लाई । खण्डखण्डमा यी सबै विधाजस्तो देखिने यो सिनेमा जोन होको छुट्टै नौलो विधा मान्न भने सकिन्छ । ‘दि गार्डियन’लाई दिएको एउटा अन्तर्वार्तामा जोन होले भनेका छन्, ‘बाहिरबाट हेर्दा कोरिया निकै नै सम्पन्न देखिन्छ, तर धनी र गरिबबीचको खाडल बढ्दो छ । खासगरी युवापुस्ता चरम निराशाबाट गुज्रिरहेको छ ।’ नेपाललगायत थुप्रै एसियाली देशका कामदारहरूको आकर्षक गन्तव्य त बनेको छ– दक्षिण कोरिया । तर, उनीहरूकै जीवन कति सहज छ ? जोन होले अन्तर्वार्तामा आफूले ‘प्यारासाइट’मा तटस्थ रहेर कोरियाली यथार्थता देखाउन प्रयास गरेको जिकिर गरे पनि यसका थुप्रै दृश्यलाई पुँजीवादप्रतिको कटाक्ष भनी अथ्र्याउन सकिन्छ । 

उत्तर र दक्षिण कोरियाबीचको युद्धका वेला सुरक्षाका लागि बनाइएका बेसमेन्टले सिनेमाको महŒवपूर्ण हिस्सा ओगटेको छ । वर्गीय सोपानमा माथि पुग्ने सपना सजाएर बसेका अर्बौँ मान्छेको आधारभूमि पनि हो– बेसमेन्ट । आधारभूमि अशान्त भयो भने उपरि संरचना पनि भताभुंग हुुन पुग्छ भन्ने तथ्य सिनेमाको क्लाइमेक्सले देखाउँछ जहाँ किम परिवारमा आएको असन्तुलनले पार्क परिवार पनि तहसनहस हुन जान्छ । मौलिक कथाबाट विश्व परिवेशलाई झल्काउन सफल यो सिनेमा सम्भवतः वर्तमान विश्वकै साझा गाथा हो ।

यतिका धेरै पुरस्कार र प्रशंसा बटुल्न सफल हुनुमा मौलिकतामा टेकेर देखाइएको गाथाको गुरुत्व पक्कै छ । लेखक मार्टी रुविनको प्रसिद्ध भनाइ छ, ‘अरूको पीडामा आनन्द लिने त प्यारासाइट भइगए । आफ्नै पीडालाई भजाउनेचाहिँ कलाकार बन्छन् ।’ परजीवी कथाका सर्जक जोन होको कलाकारिताको खास परीक्षण हुँदै छ, आउँदो हप्ता ओस्कारमार्फत । यतिखेर सिनेसंसारमा चाहिँ एउटा गाइँगुइँ व्याप्त छ–‘प्यारासाइटलाई ओस्कारको आवश्यकता छैन । बरु ओस्कारलाई प्यारासाइटजस्ता सिनेमाको आवश्यकता छ ।’ नतिजा जे–जस्तो निक्लोस्, कलाजगत्ले अनुमोदन गरिसकेको छ प्यारासाइटलाई ।