• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तुल्सीदास महर्जन
२०७६ माघ २५ शनिबार १२:०६:००
रिपाेर्ट

विज्ञानको कसीमा बुद्ध र मार्क्स

२०७६ माघ २५ शनिबार १२:०६:००
तुल्सीदास महर्जन

निर्देशक सुनील पोखरेलले हालै काठमाडौंमा ‘माक्र्स फर्किए’ नाटक प्रस्तुत गरे । नाटकमा सुनीलजी झन्डै एक सय ३७ वर्षअगाडि बितेका महान् क्रान्तिकारी दार्शनिक कार्लमाक्र्सको भूमिकामा देखा परे । कालमार्क्स फर्केको दृश्य साँच्चै रोमाञ्चक थियो । उनले धर्मलाई अफिम भनेको प्रसङ्ग नाटकमा उठाइएको थियो । 

विश्वमा कम्युनिस्टहरूले कालमार्क्सलाई भगवान्जस्तै मान्दछन् । इसाको २०औँ शताब्दीको पूर्वाद्र्धको अन्त्यतिरबाट सुरु भएको नेपाली कम्युनिस्ट आन्दोलनका नेता÷कार्यकर्ताले पनि उनलाई त्यसरी मान्नु वा स्विकार्नु अनौठो कुरा रहेन । उनीहरूले कार्लमाक्र्सको ‘धर्म अफिम हो’ भन्ने भनाइलाई दिव्य उपदेशका रूपमा मान्नु स्वाभाविक हो । 

अफिम त लागुपदार्थ हो । त्यसले त मानिसमा नराम्रो असर पार्छ । स्वास्थ बिगार्छ । धन नाश गर्छ । मति भ्रष्ट पार्दछ । घर झगडा निम्त्याउँछ । नैतिकता नाश बनाउँछ । तसर्थ, धर्म अफिम भएकाले त्यसलाई त छुन, सुन्न र हेर्न पनि मिलेन । त्यसबाट टाढै रहनुपर्दछ । आन्दोलन सुरु भएको ७० वर्षसम्म पनि कालमार्क्सले धर्मबारे ब्यक्त गरेकाे भनाई सम्बन्धमा गलत बुझाईको कारणले धर्मलाई कम्युनिस्टहरुले छि:छि र दुरदुर गर्दै आए ।

के धर्म अफिम नै हो त ? 
के कालमार्क्सले धर्म अफिम हो भन्नु ठीक थियो ? कार्लमाक्र्सलाई मान्नु र नमान्नु आ-आफ्नो विचार होला । तर, वास्तविकता केलाउने हो भने कार्लमाक्र्सको भनाइमा असत्य भेटिन कठिन छ । यति हुँदाहुँदै पनि यदि कालमार्क्सलाई राम्ररी केलाउने हो भने उनले ‘धर्म अफिम हो’ भन्नुको तात्पर्यमा धर्मलाई नकारात्मक रूपमा प्रस्तुत गर्न वा त्यसलाई छिःछिः र दुर्दुर् गर्न सिकाएको भेटिन्न । 

उनले धर्म अफिम हो भन्नुको अर्थ के रहेको बुझिन्छ भने ‘मानव समाजमा शोषित श्रमिक वर्गमा दुःख छ, त्यो दुःखको कारण के र त्यसलाई निरोधको मार्ग के भन्नेमा उनीहरू अनभिज्ञ छन्, त्यो अनभिज्ञतालाई ज्युँका त्युँ राखिराख्न धर्मले काम गरिरहन्छ । किनकि धर्मले मानिसलाई झुलाउँछ, दुःख निरोध होइन, त्यसलाई भुलाउन मद्दत गर्दछ, दुःखभित्र पनि आनन्द दिने काम गर्दछ, जसरी अफिम खाएर झुमेको मान्छे फोहोरको डुङ्गुरमा लडिबुडी गरेको अवस्थामा पनि आफू कहाँ छु भन्ने चाल पाउँदैन र आनन्दित नै भइरहन्छ ।’ 
नाटक ‘माक्र्स फर्किए’मा कालमार्क्स भन्छन्, ‘धर्मले मानिसको दुःखको उपचार त गर्दैन, तर एकछिनका लागि भुल्न सक्ने औषधिको काम भने गर्दछ ।’ यदि धर्म र धार्मिक आस्था नहुँदो हो त हजारौँ वर्षदेखि निर्मम वर्गीय शोषणमा परेका जनताले दुःखकै कारण आम रूपमा नै आत्महत्याको बाटो लिँदा हुन् ।

इतिहासमा ज्ञानको अभावमा दुःख निवारणको उपाय खोज्दा धर्मको सुरुवात हुन पुग्यो । अज्ञानताको जगमा धर्मले अन्धतालाई बलियो बनायो । त्यो अन्धतालाई चिर्न धर्मभित्रै नछिरीकन सम्भव हुँदैन । धर्म र परम्पराभित्रको अज्ञानता भत्काउनै २६ सय वर्षअगाडि जन्मेका शाक्यमुनि सिद्धार्थ गौतमले ध्यान विधि प्रयोग गरेर ज्ञानको खोज गरे । उनले ध्यान विधिद्वारा कठोर मिहिनेत गरी एकनिष्ठ चिन्तनको माध्यमबाट मानिसको जीवनमा रहेको दुःखको कारणबारे खोज गरे, अनुसन्धान गरे । ६ वर्षसम्म परम्परागत दुष्करचर्या (निराहार भई शरीरलाई दुःख कष्ट दिई) ध्यान गरेर सही ज्ञान प्राप्त नहुँदा पछि अन्त्यमा उनले मध्यमार्गका रूपमा शरीरलाई आवश्यक न्यूनतम आहार दिई ध्यान गरे । त्यही मार्गबाट उनलाई वोधीज्ञान प्राप्त भयो । वोधी ज्ञान प्राप्त भएपछि उनी सम्यक सम्बुद्ध अर्थात् भगवान् बुद्ध बने ।

चलनचल्तीमा ‘भगवान्’ शब्दले ईश्वरलाई जनाउँछ । तर, पाली साहित्यमा ‘भगवान्’ शब्द ‘तथागत’ शब्दको पर्याय हो । ‘तथागत’को अर्थ आफैँले अनुभव गरेर जानेको भन्ने हो । भगवान् गौतम बुद्ध अनिश्वरवादी र अनात्मवादी थिए । उनी ईश्वरको अस्तित्वलाई स्विकार्दैनथे र आत्मालाई मान्दैनथे । बुद्ध पछिका दुई हजार पाँच सय वर्षको समयावधिमा बुद्धको शिक्षा, दर्शन र अभ्यास एवं व्यवहारहरूलाई बौद्ध धर्मावलम्बीले विभिन्न रूपमा जसरी परिमार्जन गरे, मान्यताहरू निर्माण गरे, विश्वासहरूलाई जन्म दिए र भक्तिमार्गको निर्माण गरे त्यसले स्वयम् बुद्धलाई बुद्धवादी बन्न दिन्छ या दिँदैन ? प्रश्न गर्ने ठाउँहरू देखिन्छन् ।

पूर्वका प्राचीन वैदिक एवं बौद्ध साहित्यमा ‘विज्ञान’ शब्दले चेतना, मन या मनसँग सम्बन्धित पक्षलाई बुझाउँदछ । तर, आधुनिक जमानामा विज्ञानलाई पाश्चात्य शब्द ‘साइन्स’को पर्यायका रूपमा प्रयोग गरिन्छ । यस अर्थमा आधुनिक विज्ञान युगमा भगवान् बुद्धका कतिपय सिद्धान्तलाई आलोचनात्मक दृष्टिमा हेर्न सकिने कैयौँ पक्षहरू होलान्, छन् । दुई हजार पाँच सय वर्षअगाडि संसारमा विज्ञान (साइन्स) थिएन । त्यसैले भगवान् बुद्धका सिद्धान्तहरूलाई आधुनिक विज्ञानको आँखाबाट हेर्दा त्यसका सीमाहरू देखिनु स्वाभाविक छ । भगवान् बुद्धका आधारभूत सिद्धान्त विज्ञाननजिक देखिन्छन् । विज्ञानसँग मेल खाने सिद्धान्त ‘अनित्यता’को सिद्धान्त पनि हो ।

अनित्यता र अनित्यताको सिद्धान्त
अनित्य भनेको नित्य नहुनु हो । नित्य भनेको स्थिर, जड, अविनाशी वा अमर हो । अनित्यता भनेको अस्थिर, गतिवान्, नाशवान् या मरणशील हुनु हो । अनित्यताको सिद्धान्तले संसारको कुनै पनि कुरा, वस्तु या धर्म स्थिर छैन, गतिवान् छ भन्छ । यस सिद्धान्तले हरेक चिज नाशवान् भएको वकालत गर्दछ । यस सिद्धान्तअनुसार निर्जीव होस् या सजीव हरेक वस्तु निरन्तर परिवर्तनशील हुनु र अन्त्यमा त्यसको नाश हुनु वस्तुको स्वभाव हो । 

मानिस जन्मेको क्षणदेखि नै उसको मृत्युको प्रक्रिया सुरु हुने र जीवनको खास कालखण्डपछि मृत्यु अवश्यम्भावी रहेको अनित्यताको सिद्धान्तले बताउँदछ । जन्ममा नै मृत्यु जोडिएर आउने यस सिद्धान्तको मूल घोषणा हो । त्यसैले नाशवान् शरीरको मृत्युमा शोक र सन्तापको कुनै तुक नभएको भगवान् बुद्ध बताउँदछन् । हाम्रो शरीर अनित्य छ । त्यसैले युवा अवस्थामा सुन्दर र बलिष्ठ देखिँदा घमण्डी हुनु र बुढा या बुढी अवस्थामा कुरूप र कमजोर हुँदा दुःखी भई निराश हुनुको तुक नभएको अनित्यताको सिद्धान्तले सिकाउँछ । 

अनित्यताको सिद्धान्तले कुनै पनि कुरा सदासर्वदा यथास्थितिमा रहँदैन, भन्दछ । कुनै चिज आज छ भने त्यो भोलि हुँदैन भन्ने मान्यता यस सिद्धान्तको छ । त्यो वस्तुभित्रको अन्योन्याश्रित गुण हो । अविनाशी र अमर चिज केही छैन । यो विचार अनित्यताको मूल मन्त्र हो । यो सद्धान्तले ईश्वरको अवधारणालाई खारेज गरिदिन्छ ।

गति र अनित्यता
आधुनिक विज्ञानले विश्वब्रह्माण्डका हरेक वस्तु गतिवान्, परिवर्तनशील र नाशवान् भएको पुष्टि गरेको छ । विज्ञानको मुख्य चरित्र भनेकै यसले दर्शनले जस्तै विचार मात्र दिँदैन, यसले वस्तुनिष्ठ तर्क र तथ्य प्रस्तुत गर्छ । अनुसन्धान, खोज, प्रयोग र परीक्षणद्वारा पुष्टि पनि गर्दछ । यस क्रममा विज्ञानले संसार भनेको प्रकृति र प्रकृतिको मूल चरित्र गति भएको पुष्टि गर्दछ । यस अर्थमा प्रकृति नै गति र गति नै प्रकृति भएको विज्ञानले पुष्टि गर्दछ । प्रकृतिको अर्थ स्वसिर्जित हो । अर्थात् प्रकृतिका लागि यसबाट अलग्गै कुनै बाह्य शक्ति या प्रयत्नको कुनै गुञ्जायश हुन्न । यो आफूमा निहित स्वःसिर्जित नियममा सञ्चालित छ, गतिवान् छ । प्रकृतिमा पदार्थ छ र पदार्थमा निहित नियमका कारण घटना घटिरहन्छ । समग्रमा पदार्थ र घटनाको सँगालो नै प्रकृति हो । महान वैज्ञानिक स्टेफेन विलियम हकिङ्स भन्छन्, ‘यो विश्व ब्रह्माण्ड सञ्चालनका लागि प्रकृतिको नियम नै पर्याप्त छ ।’ 

सामान्य बुझाइमा पदार्थ भन्नाले दृश्यमा आउने ठोस, तरल र ग्यास अवस्थामा रहेका वस्तु हुन् । तर, पदार्थलाई यसरी मात्र बुझ्नु परम्परागत व्याख्या हो । यो विश्व जगत् चेतना र पदार्थ गरी दुई खेमामा विभाजित छ । वर्तमान व्याख्याअनुसार चेतनाभन्दा बाहिर र स्वतन्त्र रहेका सबै चिज पदार्थ हुन् । यो विश्वब्रह्माण्ड आजभन्दा १३ अर्ब वर्षपहिले महाविस्फोट (बिगब्याङ्ग)बाट निर्मित भएको पछिल्लो वैज्ञानिक निष्कर्ष छ । महाविस्फोटको समयमा पदार्थ ठोस, तरल वा ग्यास कुनै पनि अवस्थामा थिएन । त्यो केवल ऊर्जाको थुप्रो या शक्तिपुञ्जका रूपमा थियो । ठोस, तरल वा ग्यास अवस्थामा रहेको पदार्थ परमाणु र अणुहरूको संयोजनबाट निर्मित हुन्छ । तर, महाविस्फोटको समयमा परमाणु र अणु दुवैको अस्तित्व थिएन । महाविस्फोटपछि ब्रह्माण्ड विस्तारको क्रममा सुरुमा विस्तारित ऊर्जाबाट सह–पारमाणविक कण क्वार्क र पछि ती क्वार्कहरू मिली प्रोटोन र न्युट्रोन कण बन्दै बिस्तारै सुरुमा हलुका परमाणु हाइड्रोजन बन्यो ।

ब्रह्माण्ड विस्तारबाट अगाडि बढेको समयले क्रमशः हलुका परमाणुबाट एकपछि अर्को गह्रौँ परमाणुहरू निर्माण गर्दै गयो । झन्डै ५ अर्ब वर्षअगाडि मात्र हाम्रो सौर्यमण्डल बन्न थाल्यो भने झन्डै साढे ४ अर्ब वर्षपहिले हाम्रो पृथ्वी बनेको वैज्ञानिकहरूले खगोलीय घटनाहरूको सूक्ष्म विश्लेषणबाट निष्कर्ष निकालेका छन् ।

पृथ्वी आफ्नो सुरुकालदेखि निरन्तर परिवर्तनमा छ । त्यही क्रममा अनुकूल पर्यावरणको स्थिति बन्दा आजभन्दा साढे ३ अर्ब वर्षपहिले पृथ्वीमा जीवनको सुरुवात भएको तथ्य वैज्ञानिकहरूले जीवावशेषहरूको अध्ययनबाट पत्ता लगाएका छन् । एककोषीय जीवबाट सुरु भएको जीवन उद्विकास (इभोलुसन)को प्रक्रियाबाट करिब डेढ करोड वर्षअगाडि आदिमानव पुर्खा र त्यसबाट पनि विभिन्न चरणका आदिमानव पुर्खाहरू हुँदै अन्त्यमा करिब २ लाख वर्षपहिले मात्र हामी मानव होमो स्यापियन्सको उद्विकास भएको वैज्ञानिकहरू बताउँछन् ।

यो पृथ्वीमा मानव उद्विकासको क्रममा नै मानवमा चेतनाको जन्म भयो । पृथ्वीमा जसरी निर्जीव पदार्थबाट एककोषीय जीव बन्नु पदार्थ विकासको छलाङ थियो, त्यसरी नै मानव उद्विकासको क्रममा चेतनाको सुरुवात हुनु अर्को छलाङ थियो । यी दुइटै घटना प्राकृतिक नियमअनुरूप नै भएको वैज्ञानिकहरूको निष्कर्ष छ । त्यसैले वैज्ञानिकहरू पृथ्वीजस्तै आकार र स्वरूप भएका र यहाँजस्तै वातावरण भएका खगोलीय पिण्डहरूमा पक्कै जीवन हुनुपर्छ भनी पृथ्वीइतरको जीवन खोजीमा निरन्तर लागिपरेका छन् ।

पृथ्वीमा जीवहरूको उद्विकासले जीवहरूको कुनै पनि प्रजाति नित्य अवस्थामा छैन, अर्थात् तिनीहरू अनित्यताको सिद्धान्तमा अगाडि बढिरहेछन् भन्ने बुझिन्छ । यो भन्नुको अर्थ जीव विकास निरन्तर गतिमा छ । पृथ्वी स्वयं सुरु अवस्थादेखि निरन्तर अनित्यका रूपमा अर्थात् गतिमा रहेर अहिलेको अवस्थामा आएको छ । यही क्रममा सुरुको जीवनरहित अवस्थाबाट अगाडि बढ्दै अहिलेको लाखौँ प्रकारका थरीथरी जीवहरूसहितको अवस्थामा यो आइपुगेको छ । बदल्दै जाने क्रम रोकिएको छैन ।

अर्थात्, अनित्यता या गति निरन्तर छ । अनित्यता अर्थात् गति सबैमा, सधैँ र सर्वत्र छ । यो शाश्वत सत्य छ । अहिलेसम्ममा विज्ञानले पत्ता लगाएको र पुष्टि एवम् प्रमाणित गरेको आधारभूत सत्य हो । यो सत्यलाई दुई हजार पाँच सय वर्षअगाडि नै भगवान् गौतम बुद्धले पत्ता लगाइसकेका थिए । उनले आफूले सूक्ष्म रूपमा जे अनुभव गरे त्यही कुरालाई निष्कर्ष दिई सत्यको अनुभूत गरे र तथागत बने, भगवान् बने, ईश्वरचाहिँ होइनन् ।