• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
झलक सुवेदी
२०७६ माघ २५ शनिबार १२:२२:००
सम्झना

छुटिजाने समयको गाथा

हामी पछि फर्केर बाँच्न सक्दैनौँ, हाम्रा पुर्खाले यहाँको माटोमा सिर्जना गरेका अनेकवली सांस्कृतिक मूल्य जोगाउन, तिनको गाथा गाउन भने सक्छौँ 

२०७६ माघ २५ शनिबार १२:२२:००
झलक सुवेदी

हुवो च्यान चीले निर्देशन गरेको एउटा चिनियाँ चलचित्र छ ‘पोस्टम्यान इन दी माउन्टेन्स ।’ सिनेमामा एउटा हुलाकी छ । ऊ वर्षौँदेखि गाउँलेका चिठीपत्र पु-याउने काम गर्छ । यस क्रममा कुन घरमा को–को बस्छन्, कसको घरबाट को–कति बिदेसिएका छन्, कसले नियमित पत्र पठाउँछ, कसले पैसा पठाउँछ, घरकाले के–के लेख्छन् भन्नेसमेत सूचना राख्छ । त्यति मात्र होइन, हुलाकी गाउँमा लामो समयसम्म आफन्तका पत्र पर्खेर बसेका अनेक दुःख–सुख व्यहोरेका परिवारका लागि वेदना साट्ने मित्र पनि बन्छ । कसैका घरमा पत्र पढ्ने मानिस छैन भने आफैँले पढेर सुनाइदिन्छ । लेख्ने मानिस छैन भने आफैँले लेखेर पत्रको जवाफ पठाइदिन्छ । हुलाकी र समाजका बीच गजबको आत्मीय सम्बन्ध छ । 

सिनेमामा एउटा कारुणिक दृश्य र सन्दर्भ छ । एकजना वृद्धा घरमा एक्लै छिन् । दृष्टिविहीन छिन्, पढ्न लेख्न सक्दिनन् । छोरो सहरमा गएको छ, पहिले–पहिले पत्र पठाउने गरे पनि अब बेपत्ता भएजस्तै छ । हरेकपटक हुलाकी आउँदा वृद्धाले आफूलाई छोराले पत्र या पैसा पठायो कि भनेर जिज्ञासा राख्छिन् । तर, छोराले केही पनि पठाएको हुँदैन । वृद्धाको मर्म बुझेर हुलाकीले पत्र आएको छ भन्दै आफैँले गुनेर वृद्धालाई केही सुनाइदिन्छन् । र थोरै–थोरै पैसा पनि नियमित रूपमा दिँदै जान्छ । आपूm बूढो भएर छोरालाई आफ्नो उत्तराधिकारी बनाउन गाउँ चिनाउँदै हिँडेको हुलाकीले छोरालाई पनि वृद्धाको अवस्था चित्रण गर्दै बताएका कुराले समाजका सम्बन्धको एउटा शोकधुनजस्तो मन चिर्ने दृश्य दिएर जान्छ । बजार अर्थतन्त्रमा प्रवेश गरेपछि छोराले आफ्नी एक्ली र वृद्धा आमालाई किन चिठीपत्र पठाउन छाड्यो, या बजारसँग तालमेल मिलाएर कमाएर आउँछु भनेको छोरो बजारबाटै पिल्सिएर आफ्नै आमासम्म आफ्नो अवस्था बताउन नसक्ने गरी थिचियो भन्ने अनुत्तरित प्रश्न छाडेर जान्छ । प्रश्न यस्तो पनि हुन सक्छ आमा–छोरा या परिवारका सदस्यका आपसी सम्बन्धको पवित्रतामा बजारले हस्तक्षेप गरेर कसरी सम्बन्धलाई नै निष्ठुरी बनाइदिएको छ । यो सन् १९८० तिर भर्खर बजार अर्थतन्त्रमा प्रवेश गर्दै गरेको चिनियाँ समाजको चित्र थियो । सिनेमाको कथामा पुराना परम्परा र संस्कृतिलाई आधार दिएको ग्रामीण अर्थतन्त्र र समाज छ । आधुनिकताको प्रवेशले कसरी त्यसलाई भत्काउन थालेको छ भन्ने प्रश्नको सांकेतिक उत्तर छ । एउटा सन्ध्याकालजस्तो अवस्था देखिन्छ, आउने समय र बित्दो सांस्कृतिक मूल्य र पारिवारिक सम्बन्धको । 

मलाई हाम्रो गाउँ–घरमा पत्र पु¥याउन आउने सबैले हुलाकी बूढा भनेर चिन्ने गरेका तोगीका खनाल थरका एकजना हुलाकी वृद्धको सम्झना हुन्छ, त्यो सिनेमाको प्रसंग आउँदा । भारतीय सेनामा या सिभिलमा बम्बैतिर काम गर्न जाने दाइहरूले पठाएका पत्र फाटेर पुराना हुँदै गर्दा हप्तौँपछि गाउँमा पुग्थे । त्यस्ता पत्र पढिदिने जिम्मेवारी आउँथ्यो कहिले र कहिले आउँथ्यो उत्तर लेखिदिने कामको जिम्मेवारी पनि । मलाई आफू हुर्कँदाको आफ्नो समाजको केही कुराको सम्झना हुन्छ । समय ढिलो–ढिलो हिँड्थ्यो । समाज एक–आपसमा सम्बन्धले जेलिएको थियो । अर्मपर्म, मेलापात, झारा–टन्टा, सघाउ–पघाउ, गोठाला–खेताला, जात्रा पर्व, बिहे व्रतबन्ध या भोजभतेर, जन्तेबाख्रो सबै सामूहिक जीवनका अभिन्न अंग थिए । गाउँमा भतेर पकाउने ताउलो या पानी भर्ने रोचा एकाध घरमा मात्र हुन्थे । जसकहाँ पनि प्रयोग गर्ने उही हो । हिउँदका वेला साँझको खानापछि आमाहरू दुना–टपरी गाँस्न या हत्यौरी बाट्न भेला हुन्थे । आफ्ना दुःख–सुखका कुरा र कथा–कहानी सुनाउँथे । बाहरूको समूह कुनै घरमा जम्मा हुन्थ्यो र कक्कड तान्दै देश–विदेशका घटना व्यक्तिमाथि चर्चा गथ्र्र्यो । ठिटाहरू ओल्लो–पल्लो गाउँसम्म पुग्थे र रोधी बस्थे या गीत भजन गाएर तरुनीसँग रमाइलो गर्थे । मित र सैनी (मितिनी) लाउने चलन थियो । यस्ता मितेरी साइनो परिवार र समुदायलाई जोड्ने गजबका पुलहरू थिए । विद्यालय जनश्रमले नै बन्थ्यो । नाटक या सांस्कृतिक कार्यक्रम लिएर गाउँ–गाउँ डुल्थे र पैसा संकलन गर्थे । गुरुङ गाउँका सबै बुढापाका, युवायुवती, रिमे म्हुुइमेहरू मादीमा दुवाली थुनेर दुई–तीन दिन लगाएर भंगालो फर्काउँथे र माछा मार्थे । समूहमै मृगको सिकार गर्थे, बाँडेर खान्थे । भोट या ठोरीतिर नुनतेल गर्न जाँदा गाउँलेहरू समूह बनाएर जाने–आउने गर्थे । 

दाउरा बोक्ने पर्म चल्थ्यो । आठ–दशजनाभन्दा बढी मिलेर गरिने यस्तो अर्म–पर्मको कामलाई हुरी लाउने भन्ने गरिन्थ्यो । दाइँ हाल्दा होस् या मल बोक्दा, कागुनो गोड्दा होस् या दाउरा मार्दा, खेत गोड्दा होस् या कोदो रोप्दा समूहमा काम गरिन्थे । लेकमा चोया काढ्न जाँदा होस् या बनमा घाँस काट्न जाँदा समूहमा हिँड्ने चलन थियो । सामूहिक चेतना निर्माण गर्ने यी अनेक अवस्था बिस्तारै विलोप हुँदै गएका छन् । सामूहिक श्रमले सिर्जना गर्ने सामूहिक हित र चेतना, मनोरञ्जन र सिर्जना हराउँदै गएको छ ।

परिवारको जीवनको अर्को पाटो पनि थियोे, आर्थिक स्वार्थ थिए, झगडा मुद्दा मामिला र हानाहान काटाकाट पनि हुन्थ्यो । त्यसको निरुपण पनि पञ्च भलाद्मीसहित समूहले नै गथ्र्यो । मूलतः जीवन समूहमा चल्थ्यो । हेर्दा–हेर्दै धेरै कुरा बदलिए । यी सबै मानिसका अहिलेको जस्तो बसाइँ–सराइ नहँुदैका थिए, विद्यालय छ्याप्छ्याप्ती नखुल्दैका थिए । छोरीहरूले कम पढ्ने या नपढ्ने समयका थिए, सुविधा र कामको खोजीमा मानिस सहर झरेर गाउँ रित्तिनुअघिका थिए, विश्वयुद्ध लडेर पनि या भारतीय सहरमा काम गरेर पनि गाउँ नै फर्कने समयका थिए । टेलिभिजन आउनुअघिका थिए । हातहातमा स्मार्ट फोन आउनुअघिका थिए । 

०००

समाज जहिले एउटा सन्ध्याकाल र एउटा उषाकालको बिम्ब लिएर हिँड्छ । हामीलाई सन्ध्याकालका स्मृति प्रियजस्ता लाग्छन् । उषाकालले एउटा आशा र भय सँग–सँगै लिएर आउँछ । नयाँपनप्रतिको अनन्त आशा नै मानव समाजको उन्नतिको स्रोत हो । तर, आरम्भमा यस्तो नयाँपनले एउटा भय पनि दिन्छ, कुनै सुदूर गाउँमा आधा जीवन बिताएको मानिस एक्कासी सहरमा पुग्दा उत्पन्न हुने भयजस्तो । नचिनेको ठाउँमा पढ्न पठाइएको बालकका जस्तो । यही आगतप्रतिको आशा र भय तथा विगतप्रतिको मोहका बीच झुल्दै व्यक्ति, समय र समाजको यात्रा अघि बढिरहन्छ । सामाजिक रीतिथिति, चालचलन, रहनसहन, वेशभूषा, सांस्कृतिक चेतना र तिनका भौतिक बिम्ब, वास्तुकला, संगीत र साहित्य, लोकधुनका अनेकवली आयामहरूको जरो आर्थिक सम्बन्धहरूको जगमा अडिएको हुन्छ । उत्पादनका साधन र सम्बन्धमा आउने फेरबदलले बिस्तारै–बिस्तारै पहिले बनेका लोकधुन, लोक–सुस्केरा, लोक–व्यवहार र मानिसको वैयक्तिक सामाजिक सम्बन्धमा पनि फेरबदल ल्याइदिन्छ ।

हामी त्यही आर्थिक जगमा तीव्र परिवर्तन आउँदै गरेको समयका साक्षी हौँ । मेरा आमा र बाका पुस्ताले यो तीव्र परिवर्तनको बेगसँग तालमेल मिलाउन मुस्किल परेको थियो, अझै परिरहेको छ । हाम्रो पुस्ता अलि–अलि यससँग पाइला मिलाउने प्रयास गरिरहेको छ । मानिस र तिनले स्याहारेका पशुका संयुक्त पाइलाले खोपेका गोरेटोमा हिँड्न बानी परेका पाइतालाले माटोसँग जे सम्बन्ध अनुभूति गर्छ डोजरले खनेको बाटोमा बसबाट यात्रा गर्नेले त्यही अनुभूति गर्ने सम्भावनै रहँदैन । जब यात्रु बसमा चढ्न थाल्छ अनि माटोको सुगन्ध पनि छुट्छ, हरेक चार कोसमा फेरिने पानीको स्वाद र आठ कोसमा फेरिने भाषाको स्वाद बसमा यात्रा गर्नेले अनुभव गर्नै पाउँदैन । त्यसमाथि समरूपीकरणको तीव्र बेग चलेको समय जो छ ।

पहिले यात्रुहरू आफ्ना लागि खानपिनको सामान र ओढ्ने ओछ्याउनेसँगै लिएर हिँड्थे । मनकारीले बाटोमा राम्रा ठाँटी बनाइदिन्थे । पानीको स्रोतनजिक बन्ने यस्ता ठाँटी नै यात्रुका लागि वास बस्ने लज हुन्थे । बाटोमा हिँड्नेले पिउन भनेर उकालीमा माटाका गाग्रामा पानी राखिदिएर सेवा गर्ने धर्मभिरुहरू थिए । कुवा खनिदिनेहरू थिए । बाटोमा हिँड्ने बटुवाका लागि भनेर फलफूलका ठूला बगैँचा बनाइदिने दानीहरू थिए । यस्ता बगैँचा मासिँदै गए । फलपूmल अब दिएर खाने होइन किनेर खाने वस्तु बन्यो । ठाँटी र पाटी–पौवाका ठाउँ भट्टी हुँदै होटेलहरूले लिए । पोखराबाट मुस्ताङ जाने बाटोमा नयाँपुलबाट पश्चिम लागेपछि पाइन्छन् यस्ता अनेक ठाँटीहरू । वीरेठाँटी, नाङेगेठाँटी, आँधीखोलामा छन् रंगेठाँटी, चिलाउने भाटी, यता काठमाडाैं वरपर भेटिन्छन् जहरसिंपौवा, रानीपौवा आदि । यी सबै समयका आवश्यकताले बनेका थिए । अब तिनलाई लज र होटेलले विस्थापित गरेका छन् । गाउँ–गाउँमा घरमा को हुनुुहुन्छ ? आज वास पाइन्थ्यो कि ? घर कहाँ होला ? कसमा हुनुहुन्छ ? भन्ने संवादका बीच धुलिखेलका भाँडा व्यापारी, मुस्ताङका जिम्मु व्यापारी, बन्दीपुरका घरबुना कपडाका व्यापारी जाने र वास माग्ने, खाने र बस्ने चलन सकिएको छ । अब होमस्टेले पाहुना स्वागत गर्ने चलन सुरु भएको छ । घरकै इष्टमित्रबाहेक त पाहुना लाग्ने अवस्था पनि गुज्रिएको देखिन्छ ।

यिनमा कुन राम्रो र कुन परम्परा नराम्रो भनेर छुट्याउन खोज्नु कसै मनासिब देखिन्न ।

बाल्यकाललाई निरन्तरता दिन सकिन्न, सधँै युवा हुन सकिन्न र वृद्धकालमा आँगन नै परदेश हुने अवस्थाबाट मुक्त हुन सकिन्न त्यसरी नै समाजमा आउने परिवर्तन रोक्न सकिन्न । हाम्रा पुर्खाहरू यस्तै परिवर्तनका झन्झावात व्यहोरेर आएका हुन् । हामीले व्यहो¥यौँ । अहिले एकदम स्मार्ट देखिएका हाम्रा सन्तानका पुस्ता पनि ५० वर्ष ६० वर्ष नहुँदै पुरानो, अमिल्दो र समयसँग तालमेल मिलाउन नसकेर सिमान्तमा धकेलिएको पुस्ता बन्ने निश्चित छ । मध्ययुगबाट अहिलेको युगमा फड्किन जति लामो समय लाग्यो अब त्यस्तो हुनेछैन । प्रविधिले ल्याउँदै गरेको अजंगको क्रान्ति झनपछि झन् तीव्र हुनेछ ।

सयौँ वर्षसम्म मध्ययुगीन पिछडापन र संसारबाट अलग–अलग निर्वाहमुखी जीवन बिताएको नेपाली समाजले गएको ५० वर्षमा यसका जरा हल्लाउने परिवर्तनका केही धक्का महसुस गरेको छ । यसका केही कारक छन् ।

० विद्यालयमा दिइने औपचारिक शिक्षाको विस्तार आधुनिक न्यायशास्त्र र शासकीय प्रणाली, 
० आन्तरिक र बाह्य बसाइँ सराइ तथा पर्यटन
० सुस्त गतिमा भए पनि हुँदै गरेको औद्योगिक विकास
० अन्तराष्ट्रिय व्यापारिक सम्बन्धमा आएको परिवर्तन
० प्रविधिमा आइरहेको तीव्र विकास र त्यसमा आमनागरिकको पहुँच
० अर्थतन्त्रको व्यापक मौद्रिकीकरण

यी यस्ता परिवर्तन हुन् जसले मानिसका बीच व्यापक अन्तत्र्रिmया सिर्जना गरेको छ । माक्र्सले कम्युनिस्ट घोषणपत्रमा भनेका छन्– नाफाका लागि पुँजीवादले संसारका सबै सीमा भत्काउँदै सिङ घुुसार्दै हिँड्ने छ । विश्वव्यापीकरण तीव्र हुनेछ र आज पवित्र मानिएका संसारका सबै कुराको बजारमूल्य निर्धारित हुनेछ । सबै खाले सेवा खरिद–बिक्रीका वस्तु हुनेछन् । त्यस्तै, देखिन्छ अहिले हेर्दा । कला मात्रको त के कुरा रह्यो आमा र सन्तानका बीचको सम्बन्ध पनि कहीँ न कहीँ विनिमयमा आधारित हुँदो छ । केही वर्षपहिले चिनियाँ रेस्टुरेन्टमा आमाको दूध खान पाइने व्यवस्था थियो (पछि प्रतिबन्ध लगाइयो) । अर्थात् आमा आफ्ना सन्तान र आफ्नै जीविकाका लागि सन्तानले खान पाउनुपर्ने दूध बिक्री गर्थे र धनाढ्य सुत्केरी महिलाको स्तनबाट दूध चुस्न पैसा तिर्थे । आमाको कोख बिक्रीमा राख्ने चलन त विश्वभर फैलँदै गएको छ ।

यस्ता परिवर्तन न सधैँ खराब हुन्छन् न पूरै असल मात्र । एक रुपैयाँ ठेडीमा वर्षौं एउटै घरमा मुजुरीमा हली बस्ने हलीका लागि नगदमा ज्याला लिने ज्यालादारी श्रम प्रगतिशील अवस्था हो । कमैया कम्लरी बस्नुभन्दा सडकमा अनिश्चित ज्यालादारी श्रममा जानु कैयन गुणा राम्रो हो । तर, हली लगाएर सस्तो श्रममा कमाइ गरेको मध्यम या धनी किसानका लागि, कमैया कम्लरी राखेर श्रम शोषण गरिरहेको धनी किसान र जमिन्दारका लागि यो चलन तोडिँदा समय नै आफ्नाविरुद्ध गएजस्तो न्यास्रो लाग्दो हो । बालीघरे प्रथाभन्दा नगद लिएर काम गर्ने चलन धेरै राम्रो हो । एउटासँग मित लगाएर मितेरी साइनोले सम्बन्ध विस्तार गर्ने कुनै समय गजबको कुरा लाग्थ्यो, अहिले विद्यालय शिक्षाले, राजनीतिक दलसँगको आबद्धताले, सामाजिक क्रियाकलापमा आएका परिवर्तनले मितहरू होइन मित्रहरू बनाएको छ । मित्र कैयन संख्यामा हुन्छन् र तिनको सामाजिक सम्बन्धको तन्तु पनि मितभन्दा कम हुँदैन । मर्दा–पर्दा आउ–जाउ सहयोग आदान–प्रदानको एउटा शृंखला यसले पनि जोडेको छ । उपभोक्ता समूह छन्, विद्यालय या मन्दिर या हाटबजार व्यवस्थापनका समिति छन् । यसमार्फत मानिस एक–आपसमा जोडिएका छन् । 

‘झन् नयाँ’को गत हप्ताको अंकमा विस्मृतिमा जाँदै गरेका भरियाका कथा छन् । गल्ली, चौतारी र छायाँ या प्रेम र समाजका अनेकवली रैथाने ज्ञान र परम्पराका बिथोलिँदा चित्र छन् । हाम्रो भनेर गर्व गर्न मिल्ने आफ्नोपन झल्कने, तर अहिले हराएका वेशभूषा र तिनको उत्पादनको ज्ञानका कुरा छन् । समाजमा प्रविधिले ल्याउने परिवर्तनका सुक्ष्म केस्रा छन् । विकासे संस्कृतिको आलोकाँचो प्रयोगले बिग्रेका वातावरणीय विनाशका कथा छन् । छुट्दै गएका लोकधुन र सुस्केराका बिम्ब छन् । यो अंकले पुरानो समाजसँग नयाँ पुस्ताको सम्बन्ध जोड्न, त्यसबारे ज्ञान लिन र आफ्नो भविष्यबारे अनुमान लगाउन सहयोग गर्नेछ । 

हरेक समाजको परिचय र अस्तित्वको एउटा सर्त यस्तै सामाजिक परम्परा, त्यसलाई अभिव्यक्त गर्ने लोकधुन र सुस्केरा, विविधतायुक्त समाजमा एउटा र अर्को समुदायका बीचका अन्तरसम्बन्धका रेशाहरू हुन् । भाषा हो, आर्किटेक्ट हो, बाजा–गाजा र धुन हुन् । हाम्रो नेपाली समाजले पनि अनेकवली सम्पदाको विकास गरेर आफ्नोपन जोगाएर राखेको छ । केही पक्ष हुन्छन् समयले तिनलाई छाडेर हिँड्छ । समाजको पिँधमा पारिएका समुदाय र लिंगका प्रतिका विभेदकारी परम्परा जोगाउन हुन्न, मास्नुपर्छ । केही पक्ष हुन्छन् समयले तिनको बचाउ गर्छ स्याहार गर्छ र आउने समयका लागि हाम्रो चिनो जोगाएर राख्छ । हामी पछि फर्केर बाँच्न सक्दैनौँ, तर हाम्रा पुर्खाले यहाँको माटोमा सिर्जना गरेका अनेकवली सांस्कृतिक सामाजिक मूल्य जोगाउन, तिनको गाथा गाउन भने सक्छौँ । आखिर अहिलेको विश्वमा हाम्रो आफ्नो भन्नु पनि यही हो । हामीले विश्वसँग साझा गर्न सक्ने मूल्य पनि यही हो ।