• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बलिउड फिल्म निर्देशक
२०७६ फाल्गुण ३ शनिबार ०८:०६:००
फिल्म

डराइडराई सिनेमा बनाइरहेछु : प्रकाश झा

२०७६ फाल्गुण ३ शनिबार ०८:०६:००

लिउड फिल्म निर्माता, निर्देशक तथा स्क्रिन राइटर प्रकाश झा ‘नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल–२०२०’ (निफ)मा सहभागी हुन काठमाडौं आएका छन् । ‘दामुल’, ‘गंगाजल’, ‘आरक्षण’, ‘चक्रव्यूह’, ‘सत्याग्रह’जस्ता राजनीतिक र सामाजिक फिल्म बनाएका उनले आठपटक नेसनल फिल्म अवार्डसमेत जितिसकेका छन् । फेस्टिभलमा  मुख्य निर्णायकका रूपमा नेपाल आएका झासँग नरेश ज्ञवाली र राज सरगमले कुराकानी गरेका छन् :

दक्षिण एसियाली समाजमा गरिबी, अशिक्षा, भोकमरी र छुवाछुतजस्ता कैयौँ यथार्थहरू विद्यमान छन्, तर सिनेमाको पर्दामा यस्ता विषय निकै कम झल्किन्छन्, किन ?
यस्तो किन हुन्छ ? ठ्याक्कै भन्न सक्दिनँ । किनभने यसमा मैले कुनै अनुसन्धान गरेको छैन । मानिसले जति सोच्न भ्याएका छन् त्यो अनुपातमा काम गरिरहेका छन् । समाजलाई केही भन्न सिनेमामा कैयौँ प्रयोगहरू हुन्छन् । तपाईं हामीले पढ्ने साहित्यजस्तै त हो सिनेमा पनि । यतिवेला पनि धेरै फिल्म बनिरहेका छन्, ‘न्युटन’, ‘मसान’, ‘आँखोदेखी’ त तपाईंले हेर्नुभएकै छ । यी विषयमा सिनेमा बन्दै नबनेको चाहिँ होइन । मूलधारको सिनेमा उद्योगमा केही मनोरञ्जन प्रधान सिनेमा धेरै बने होलान्, तर क्षेत्रीय स्तरमा त यस विषयमा धेरै नै सिनेमा बनेका छन् । 

हाम्रै समाजका प्रवृत्ति, पात्र र घटनामाथि बनेका सिनेमामा दर्शकको रुचि कम रहेको पाइन्छ । आफ्नो जीवनभन्दा परको औलौकिक संसारबारे देखाइने फिल्ममा मानिसको ज्यादा रुचि हुन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
मानिसले घर, सुख, केटाकेटी, खानपिन आदिका लागि दिनको ९५ प्रतिशत समय खर्च गरिरहेको हुन्छ । त्यसबाट निस्किएको पाँच प्रतिशत समय मात्र हामीले सामाजिक कर्ममा खर्च गर्ने गर्छौँ । मलाई लाग्छ तपाईंले सोधेको प्रश्नको जवाफ पाइसक्नुभयो । तपाईं कुनै पुस्तक पसलमा जानुभयो भने सबैभन्दा अगाडि चेतन भगत, ड्यान ब्राउन, जेके रोलिङजस्ताको ‘बेस्ट सेलर’ भनिएको पुस्तक पाउनुहुन्छ । किनभने ती पुस्तकहरू नै सबैभन्दा धेरै बिक्री हुन्छन् । त्यसबाट अलिक भित्र छिर्नुभयो भने अरुन्धती रोय, जोन पिल्जर, जोसेफ स्टिगलिजका सामाजिक विषयवस्तुमा लेखिएका पुस्तक पाउनुहुन्छ । त्यसबाट पनि भित्र छिर्नुभयो भने तपाईंले इतिहास, राजनीतिशास्त्र, दर्शनका पुस्तक पाउनुहुन्छ । यसलाई मानवीय गुण मान्नु पर्ला । 

लगानीका हिसाबले पनि निकै कम लगानीमा निर्माण गरिएका विश्वका कैयौँ सिनेमा ओस्कार, कान्स, बर्लिन फिल्म फेस्टिबलमा पुगिरहेका हुन्छन्, तर दक्षिण एसियाका सिनेमा त्यहाँ पुग्न सक्दैनन् । त्यहाँ नपुग्नुको कारण के हाम्रो कलापक्ष कमजोर भएर हो ?
मलाई लाग्छ हाम्रो सोच सकारात्मक हुनुपर्छ । हामीले गर्न सकेनौँ होइन कि गरिरहेका छौँ भनेर भन्नुपर्ने हुन्छ । यो क्षेत्रमा निकै राम्रो प्रयास भइरहेका छन् । नेपालमै पनि राम्रा सिनेमा बन्न थालेका छन् । त्यसको अर्थ यो होइन कि हामी ओस्कार, कान्समै पुग्नुपर्छ । नेपालमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल हुँदै छ, यो निकै सकारात्मक कुरा हो । हाम्रा सिनेमा ओस्कारमा पुग्दैनन् भने के भयो त ? त्यसले के फरक पार्छ ? श्रीलंकामा नयाँ सोच बोकेका कैयौँ फिल्ममेकरहरू आइरहेका छन् । तिनले फिल्म उद्योगलाई नयाँ सोच दिन खोजिरहेका छन् भने के यो सकारात्मक होइन ? हलिउडकै कुरा गर्ने हो भने त्यहाँ ९० प्रतिशतभन्दा धेरै ‘कचरा’ उत्पादन हुने गर्छ । कसैले पनि एउटै सोचका साथ सिनेमा बनाइरहेको हुँदैन । सबैका आ–आफ्नै सोच हुन्छन् । जस्तै, कसैले पैसा कमाउन, कसैले ग्ल्यामरका लागि भने कसैले समाजलाई केही भन्नुपर्नेछ भनेर सिनेमा बनाइरहेका हुन्छन् । भन्नुको अर्थ सबैको धरातल भिन्न–भिन्न हुन्छ । म आफ्नो प्यासनले सिनेमा निर्माण गर्छु । त्यसैले मेरो सोच मेरा सिनेमाहरूमा झल्किन्छन् । 

हामी जुन समाजमा बाँचिरहेका छौँ त्यसलाई बुझ्न चाहनु मेरो पनि त दायित्व हो त्यसैले म सिनेमा बनाउँछु र यस्ता घटनालाई पस्कने गर्छु, तर हाम्रो समाज यस्तो सिनेमा हेर्नै चाहँदैन

तपाईंका सिनेमाको आधार के हो ?
हाम्रो छेउछाउमा जुन कारणले घटना घट्छन्, त्यस्ता घटनाबाट जन्मिएका प्रश्नलाई बुझ्ने चेष्टा गर्नु मेरो प्रयास हो । उदाहरणका लागि नेपालमा भूकम्प आयो, त्यसले सबैमा ठूलो त्रासदी निम्त्यायो । त्यसको सामाजिक पराकम्पन कस्तो रह्यो भन्ने बुझ्नु मेरो रुचिको विषय हो । भूकम्पले पक्कै पनि नेपाली समाजमा कसैलाई झन् गरिबीको रेखामुनि पु¥याइदियो होला भने कसैलाई रातारात धनी बनाइदियो होला । कोही भूकम्पकै कारणले झन् शक्तिशाली भएर उदाए होलान् । यस्तो अवस्था कसरी निर्माण भयो भन्ने मेरो अध्ययन र रुचिको विषय हो । यस्तै सामाजिक पराकम्पन्नहरू बुझ्ने र त्यसलाई सिनेमामार्फत देखाउने मेरो निरन्तरको प्रयास हो । 

‘गंगाजल’ किन बन्यो भन्दा भागलपुरमा एउटा घटना घट्यो । घटनामा संलग्नलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर एसिड छ्यापेर अन्धो बनाइदियो । एसिड छ्याप्ने प्रहरीहरू कानुनी दायरामा तानिए । प्रहरीबाट त्यस्तो काम हुनु पक्कै पनि राम्रो थिएन, तर भागलपुरका मानिस सडकमा उत्रिएर ती एसिड छ्याप्ने प्रहरीको समर्थन गर्न थाले । यो कुरा त ठ्याक्कै कस्तो हुन गयो भने कानुनले जुन व्यक्तिलाई अपराधी ठान्छ जनता उसैको पक्षमा प्रदर्शन गरिरहेका छन् । मोहम्मद सहाबुद्दिन जेलबाट निस्कँदा उनलाई चार सय गाडीले स्किर्टिङ गरेर लगे । यस्तो कसरी सम्भव भयो ? मेरा सिनेमाको आधार यिनै समाजका प्रश्नहरू हुन्, जसको जवाफ म सिनेमामार्फत खोज्न चाहन्छु । 

मलाई लाग्ने के हो भने समाजले कानुन त बनाउँछ, तर कानुनको रक्षा गर्ने शक्ति ऊसँग छैन । त्यसैले ऊ कानुनको रक्षा गर्ने नाममा गैरकानुनी तरिका अपनाउँछ । एउटा कानुन अपराधीलाई पक्रन्छ, अर्को कानुन अपराधीलाई छोड भन्छ । यसैगरी एउटा अपराधी कानुनकै सहारा लिएर गरिब, अल्पसंख्यकमाथि आफ्नो हैकम कायम गरिरहन्छ । डरलाग्दो अपराधीको विपक्षमा कानुन जहिले पनि फितलो पर्छ, किनभने कानुनले विट्नेस माग्छ, तर विट्नेस डरको अघिल्तिर उभिन सक्दैन ।

अन्ततः कानुन मिच्ने अपराधी छुट्छ र न्याय माग्ने थप किनाराकृत हुन्छ । यसले एउटा यस्तो सामाजिक मनोवृत्तिको विकास गर्छ जुन तपाईं–हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो । यहीकारण हो कि आममानिसको नजरमा कानुन बकवास लाग्न थाल्छ । यहीकारण हो हैदराबादमा बलात्कारमा संलग्न चारजनालाई पुलिसले दिउँसै इन्काउन्टर गरेर मारिदियो र समाजका ठूला–ठूला मान्छेले त्यसको समर्थन गरे । समाज यस्तो कसरी हुन गयो कि एउटा अपराधीलाई सजायँ दिने नाममा अर्को अपराधलाई हामीले सहजै समर्थन ग¥यौँ । यो मेरो रुचिको विषय हो । आखिर हामी जुन समाजमा बाँचिरहेका छौँ त्यसलाई बुझ्न चाहनु मेरो पनि त दायित्व हो । त्यसैले म सिनेमा बनाउँछु र यस्ता घटनालाई पस्कने गर्छु, तर हाम्रो समाज यस्तो सिनेमा हेर्नै चाहँदैन ।

सिनेमा बनाउँदा कत्तिको चुनौती महसुस गर्नुहुन्छ ?
यस्ता सिनेमा बनाउन चुनौती लिइरहेको छु, त्यसैले त बनाई पनि रहेको छु । हो– नढाँटी भन्दा डराइ–डराइ बनाइरहेको छु । समाजले यस्ता सिनेमा पनि हेरुन् भनेर बनाउँछु । यस्ता सिनेमाको स्क्रिप्ट लेख्न सधैँ चुनौती मोल्नुपर्ने हुन्छ । मलाई थाहा छ समाज सामाजिक विषयवस्तुमा बनेका सिनेमा हेर्न चाहँदैन । फेरि पनि म देखाउन चाहन्छु । दर्शकलाई पैसा तिराएरै यस्ता सिनेमा हेर्न लगाउनु आफैँमा सजिलो काम होइन । तपाईंले ‘न्युटन’ हेर्नुभयो होला । निकै राम्रो सिनेमा छ । त्यसले हाम्रोे डेमोक्रेसीको केस्रा–केस्रा उधिनिदिएको छ ।

आजको दिनमा डेमोक्रेसी संसारमै असफल भइसकेको छ । डेमोक्रेसी विश्वका अधिकांश देशमा चुनौतीको संघारमा उभिएको छ । किनभने डेमोक्रेसीको नाममा बहुसंख्यकवादले रजाइँ गरिरहेको छ । अमेरिकादेखि अस्ट्रेलियासम्म, अफ्रिकादेखि एसियासम्म बहुसंख्यकवाद हाबी छ र हामी त्यसलाई समर्थन गरिरहेका छौँ । अल्पसंख्यक झन्–झन् पिँधमा पुगिरहेका छन् भने यो डेमोक्रेसी कसरी भयो ? डेमोक्रेसी त अल्पसंख्यक, कमजोर, महिला, दलित, आदिवासीका लागि बनेको हो । सबैलाई मान–सम्मान मिलोस् भनेर बनेको हो, तर वर्तमान समयमा यो सबैका लागि हुँदै होइन । त्यसैले डेमोक्रेसीको सिद्धान्त नै गलत सावित हुन पुगेको छ । अब पक्कै पनि कुनै नयाँ परिभाषा र सिद्धान्त जन्मेला, कति समय लाग्ला त्यो भन्न सकिन्न । 

एउटा निर्देशक अथवा कलाकार समाजबाटै उठेर माथि आइपुग्छ, माथि उठेपछि ऊ समाजका ज्वलन्त सवालबारे बोल्न छाड्छ । के समाजलाई अघि बढाउन अथवा सही–गलतबारे बोल्नु उसको दायित्व हुँदैन ?
यो आ–आफ्नो छनोटको कुरा हो । कोही बोलेर अघि आउला कसैले आफ्नो काममार्फत आफ्नो कुरा भन्ला । म मेरा सिनेमामार्फत नै आफ्नो कुरा राख्ने गर्छु । आजको भारतीय समाजको मुद्दामा अनुराग कश्यप जसरी बोल्छन् अरू नबोल्न सक्छन् । त्यसमा उनले बोलेको सही अथवा गलत भन्नुपर्ने छैन । त्यो उनको सोच हो । म विगत चार दशकदेखि सिनेमा बनाइरहेको छु । ‘दामुल’, ‘परिणति’, ‘मृत्युदण्ड’, ‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रव्युह’, ‘सत्याग्रह’ के मैले यसमार्फत केही बोलिनँ होला र ? के मलाई कुनै सरकारले पुरस्कृत गरेको सुन्नुभएको छ ? म स्थायी विपक्षी हुँ ।

जब कंग्रेसको सरकार थियो म उसको पनि विपक्षमा थिएँ । मलाई अझै पनि सम्झना छ म मेरो अधिकांश सिनेमाका कारण अदालत जानुपथ्र्यो । स्थिति आज पनि उस्तै छ । मजस्ता मानिस, जसको सरकार आए पनि स्थायी विपक्षमा हुन्छन् । त्यसैले यसको परिणाम भोग्न हामी तयार हुन्छौँ । यो सबैको आ–आफ्नो चयनको विषय हो । तर, यति हुँदाहुँदै पनि मैले सिनेमा बनाउन छाडेको छैन र सिनेमामार्फत बोलिरहेको छु ।

भर्खरै एउटा सिनेमामा काम गरेर सिध्याएको छु– ‘मठ्ठुका साइकल’ । मठ्ठुको भूमिकामा म आफैँ छु । एकजना मजदुर र उसको साइकलसँगको जीवनलाई सिनेमामा देखाएको छु । तर, त्यतिमै समग्र देश, त्यहाँको व्यवस्था र राजनीतिलाई त्यसले छरपस्ट पारिदिएको छ । भन्नुको अर्थ हाम्रो र अनुराग कश्यपको कुरा गर्ने शैली भिन्न छ । फेरि पनि म के ठान्छु भने तपाईंले मलाई गाली गर्नुभयो, दुव्र्यवहार गर्नुभयो र अपमानित गर्नुभयो भने त्यसको प्रतिरोध म तपाईंकै शैलीमा गर्दिनँ । किनभने म तपाईंको चरित्रको ऐना होइन । 

मेरा सिनेमाका आधार यिनै समाजका प्रश्न हुन्, जसको जवाफ म सिनेमामार्फत खोज्न चाहन्छु

एउटा भनाइ छ नि– आज हामी उनीहरूको पक्षमा उभिएनौँ भने भोलि हाम्रो पक्षमा उभिने कोही हुने छैनन् । 
तपाईं कसैको पक्षमा उभिने भनेको व्यक्तिको पक्षमा मात्रै कहाँ हो र ? तपाईं कुनै विचारको पक्षमा उभिनुहुन्छ । व्यक्ति मात्रैको कुनै मूल्य हुँदैन । व्यक्तिको मूल्य उसको विचारले बोक्छ । हामी प्रायःजसो व्यक्तिलाई प्रधान ठानेर कमजोरी गरिरहेका हुन्छौँ । र, कसैलाई महिमामण्डित गरेर उसको पूजा गरिरहेका हुन्छौँ । फेरि पनि यो कुरा खुट्याउनु निकै गारो कुरा हो । तर, के कुरा स्पष्ट शब्दमा भन्न सकिन्छ भने जोसुकै सत्तामा आए पनि उसले अत्याचार गर्छ । हामी त्यसको विपक्षमा उभिनुपर्नेछ । जुनसुकै मूल्यमा किन नहोस् हामी उभिनै पर्छ । म आफूलाई त्यहीँ उभिएको पाउँछु ।

 पछिल्लो समय कुनै नेपाली सिनेमा हेर्नुभयो ?
‘बुलबुल’ राम्रो लाग्यो । निकै राम्रो सिनेमा बनाइएको छ, हेरेर सन्तुष्ट भएँ । ‘बुलबुल’ निकै कमालको सिनेमा रहेछ भन्ने होइन, तर पक्कै राम्रो सिनेमा हो । ‘मिस बर्दिया’ पनि हेरेँ । जसरी नेपाली सिनेमामा विभिन्न व्यक्तिहरू जोडिँदै गएका छन् यहाँको भविष्य सुन्दर छ । हेर्दै जानुहोला नयाँ विचार बोकेका युवा साथीहरूले कसै न कसैगरी राम्रो सिनेमा बनाइछाड्नेछन् । 

नेपालको भूकम्पका सामाजिक पराकम्पन्नलाई लिएर कुनै सिनेमा बनाउने सोच छ र ?
इमानदार भएर भन्दा त्यस्तो कुनै सोच छैन । हिजो मात्रै नीर शाह सहाबसँग कुरा गर्दा उहाँले सहकार्यमा कुनै सिनेमा बनाउन सकिन्छ कि भन्ने जिज्ञासा राख्दै हुनुहुन्थ्यो । बिहारी भएको हुनाले हामी आफूलाई नेपालसँग निकै नजिक पाउँछौँ । त्यसैले कुनै कथा तयार भयो भने हामी साथमा काम गर्न सक्छौँ नि । यहाँ जुन परिमाणमा सिनेमा बनिरहेका छन् र यहाँको अर्थतन्त्र जसरी विकास हुँदै छ, त्यस हिसाबले पनि हामी कुनै सिनेमा जसले वैश्विक अर्थ बोक्छ त्यसलाई नेपाल र भारतमा एकैचोटि रिलिज गरेर पनि अघि बढ्न सक्छौँ । केही तयार भयो भने पक्कै पनि बन्नेछ । 

अन्त्यमा राजनीति र फिल्मबीचको अन्तरसम्बन्धलाई कसरी केलाउनुहुन्छ ?
राजनीति प्रत्येक कुरामा गाँसिएको हुन्छ । पति–पत्नीको सम्बन्धमा, युवायुवतीको प्रेममा, विद्यालयको पाठ्यक्रममा र तपाईंले मसँग गर्दै गरेको अन्तरवार्तामा पनि । तपाईंलाई अन्तर्वार्ता दिँदै गर्दा म के प्रयास गरिरहेको हुन्छु भने त्यस्तो कुरा भनौँ जसले तपाईंलाई प्रभावित पारोस् । अनिवार्य छैन कि म सबै सही नै बोलिरहेको छु । जतिवेला हामीले सत्यलाई लुकाएर लोभ्याउनेखाले कुरा गरिरहेका हुन्छौँ राजनीति गरिरहेका हुन्छौँ ।

राजनीतिज्ञले पनि त्यही गरिरहेको हुन्छ, जुन तपाईंले सुन्न चाहनुहुन्छ । अनिवार्य छैन कि त्यो सही नै छ । मैले माथि भनिरहेको थिएँ– डेमोक्रेसीले प्रत्येक देशमा चुनौतीको सामना गरिरहको छ । के कारणले भन्दा डेमोक्रेसी आजको दिनमा अंकको खेलमा सीमित हुन पुग्यो । संसदीय राजनीतिमा कुनै पनि राजनीतिज्ञलाई जसरी भए पनि अंक चाहिएको छ । अंक ल्याउने सबैभन्दा सजिलो उपाय, जसलाई जे भनेर गोलबद्ध गर्न सकिन्छ त्यसरी नै गोलबद्ध गर्ने हो । त्यसो भएपछि कहिले धर्मका नाममा, कहिले पैसाका नाममा, कहिले जातका नाममा, कहिले नश्लका नाममा, कहिले क्षेत्रका नाममा, कहिले सम्प्रदायका नाममा त कहिले लौरोको भरमा गोलबद्ध गर्ने काम गरिन्छ । 

२०औँ शताब्दीको सन् १९८० देखि २००० सम्म संसारका झन्डै १४६ मुलुक डेमाक्रेटिक भए, किनभने त्यो नै हाम्रो जागरणकाल थियो । रुसी साम्यवादको बिघटन, अफ्रिकन, ल्याटिन अमेरिकन हुँदै पूर्वी एसियाका मुलुकबाट राजतन्त्र र तानाशाहलाई फालियो र डेमोक्रेसीलाई अँगालियो । डेमोक्रेसीलाई अँगाल्नुको अर्थ थिचिएका, कुल्चिएका, गरिबलाई अधिकार दिइनेछ भन्ने थियो । यसको अर्थ कसैमाथि धर्मका आधारमा, जातका आधारमा, रंगका आधारमा भेदभाव गरिनेछैन भन्ने थियो ।

यही नै डेमाक्रेसीको पहिलो स्तम्भ थियो । त्यतिवेला यस्तो लाग्थ्यो मानौँ सबै समानभाव बोक्ने मानिस हुनेछन् । तर, यति नै वेला शताब्दीको आखिरी २० वर्षमा संसारभर विभिन्न फन्डामेन्टलिस्ट र आतंकवादी संगठनहरूको जन्म भयो । सन् ८० को दशकभन्दा अघि हामीले जुन कुरा सुनेका थिएनौँ त्यही हामीले भोग्नुपर्ने भयो । कसरी हुन गयो त यस्तो ? यसको मूल कारण डेमोक्रेसीलाई हामीले अंकमा परिणत गरिदियाैँ । खेल अंकमा सीमित भएपछि त्यही गर्नुपर्ने हुन्छ जे गर्दा राजनीतिज्ञलाई फाइदा हुन्छ । 

परिणामतः डेमोक्रेसी फेल हुनै थियो, भयो । आज हेर्नुस् त अमेरिका, फ्रान्समा कस्तोखाले डेमाक्रेसी छ ? पोल्यान्ड हेर्नुस् त लेख बलान्जा र उनको पिपुल्स पार्टी जसले त्यहाँको तानाशाहीलाई फालेर डेमोक्रेसीलाई स्थापित ग-यो आज त्यहाँ के हुँदै छ ? टर्कीमा एर्दोगान र फिलिपिन्समा रोड्रिगो डुटर्टे के गरिरहेका छन् ? फिलिपिन्समा मोटरसाइकलमा बसेर ड्रग डिलरको नाममा हत्या गरिँदै छ र जनता ताली बजाइरहेका छन् ।

चाइनामा आजीवन राष्ट्रपति बन्ने बाटो सीले खोलिसकेका छन् । उता रुसमा पुटिनले फेरि संविधान संशोधन गरेका छन् । र, हामी जनताको हैसियतमा थपडी पिटिरहेका छौँ । मूल रूपमा मानवताको एउटा इकाइ अर्थात् व्यक्ति पूर्ण रूपमा भ्रष्ट भइसकेको छ । ऊ आफ्नो स्वार्थभन्दा माथि केही पनि देख्दैन । स्वार्थ सिद्ध भयो भने उसले अपराधीलाई पनि सत्तामा चढाइदिन्छ र स्वार्थ सिद्ध हुन्छ भन्ने देख्यो भने उसले साधुलाई पनि नालामा खसालिदिन्छ ।