• वि.सं २०७७ जेठ २४ शनिबार
  • Saturday, 06 June, 2020
कमल थापा
२०७६ फाल्गुण ३ शनिबार १२:४८:००
यात्रा

सरकारभन्दा जेठो ढावा शेरपा

हिमालतिर

२०७६ फाल्गुण ३ शनिबार १२:४८:००
कमल थापा

कामको सिलसिलामा ०५५ सालतिर घोडेपानीदेखि मनाङको निस्याङ क्षेत्रमा पुगेँ । निस्याङको मनाङ गाउँका दिदीबहिनीले घाँस हसियाले काट्नुको सट्टा हातले उखेलेको देखेँ । मलाई अचम्म लाग्यो । सोधेँ, ‘मसँग चक्कु छ, चक्कुले घाँस काट्नुहोस् ।’ तर, उनीहरूले हाँस्दै जवाफ दिए, ‘चक्कु वा हँसियाले घाँस काटे टो चोमले दण्ड–जरिवाना गर्छ ।’ मलाई खुल्दुली भयो, के हो यो टो चोम ? 

भोलिपल्ट हिउँ चितुवा र नाउरको अध्ययन अनुसन्धान गर्न मनाङको याकखर्कमा जानुपर्ने थियो । याक खर्क जाने क्रममा माथि टंकी गाउँमा पुग्दा त्यहाँका स्थानीय मानिस भनिरहेका थिए– ‘पाङजे आसेतो (हिउँ चितुवा नमार) ।’ यसो भन्नुको कारण मनाङ गाउँका याक होटेल सञ्चालक ढाक्पा गुरुङ दाइले अथ्र्याउनुभएको थियो, ‘यदि यो क्षेत्रमा पाङजेको उपस्थिति भए कृषि बालीको रखबारीको काम गर्छ ।’ हिउँ चितुवा आउने भएपछि गोठालाले आफ्नो चौपाया छाडा नछाड्दा रहेछन् । अर्को कुरा पाङजे अर्थात् हिउँ चितुवालाई मारेमा पापजति पाङजे मार्नेलाई सर्ने विश्वास रहेछ । त्यसैले पाङजेलाई मारेमा त्यो मार्ने व्यक्ति र उसको दरसन्तानसम्म पाप सर्छ भन्ने विश्वास रहेछ । त्यस कारण ‘पाङजे आसेतो’ भन्दा रहेछन् । 

मनाङका अधिकांश बासिन्दाले पाङजे संरक्षणप्रति देखाएको समर्पण गर्व गर्नलायक छ । किनकि, म संरक्षणका क्षेत्रमा काम गर्ने क्रममा नेपालका अधिकांश उच्च हिमाली क्षेत्र (सुदूरपूर्वदेखि पश्चिमसम्म) हरूमा हिउँ चितुवासम्बन्धी अध्ययन–अनुसन्धान गर्न पुगेको छ । निस्याङ क्षेत्रबाहेक अन्य ठाउँमा हिँउ चितुवालाई अलच्छिन भन्ने गरिएको पाएको छु ।  
 
०००
मनाङ जिल्लालाई सामाजिक, सांस्कृतिक तथा जातीय समूहका आधारमा तीनवटा भौगोलिक क्षेत्रमा सदीयाँैदेखि त्यहाँका आदिवासीले साँधसिमानाले निर्धारण गरेको पाइन्छ । मनाङको उपल्लो भेग जसलाई निस्याङ (चामे सदरमुकामभन्दा माथिल्लो ७ गाउँहरू पिसाङ, म्यारु, ङावल, भ्राका, मनाङ, टंकी र खाङसार गाउँहरू) र त्यहाँका बासिन्दालाई निस्याङ्वा भनिन्छ । त्यस्तै, चामे सदरमुकामदेखि उत्तरी क्षेत्रलाई नारपा भूमि (नार र फु) भनेर भनिन्छ भने चामेलगायत तल्लो भौगोलिक क्षेत्रलाई ग्यालसुम्दो (कोतो, थानचोक, लाटामराङ, टांचे बगरछाप, ओडार, थोँचे, तिल्चे, धारापानी, नाचे, ताल र धेराङ) क्षेत्र भनेर परम्परागत रूपमा चिनिन्छ ।    

तिनवटै भूगोलमा त्यहाँको प्राकृतिक स्रोतहरूको उपलब्धता, सामाजिक बनोट, वातावरणीय विषमता तथा भौगोलिक  सहजताका आधारमा आफ्नै खालको जीवनशैली, परम्परागत नियम, प्रथा, वेशभूषा, मौलिकता केही न केही रूपमा पृथक् छन् । यहाँ निस्याङ क्षेत्रमा सदीयौँदेखि चल्दै आएको, तर संकटासन्न प्रथा ढावा शेरपा प्रणालीबारे प्रस्ट्याउने कोसिस गरेको छु ।  

ढावा शेरपा प्रणाली
ढावा शेरपा प्रणाली वा संस्था सदीयौँदेखि निस्याङवाहरूले सञ्चालन गर्दै आएको संस्था हो । यसको मुख्य उद्देश्य निस्याङ क्षेत्रमा सांस्कृतिक, सामाजिक तथा प्राकृतिक स्रोतहरूको उपभोग, संरक्षण तथा संवद्र्धन एक प्रकारको सरकारजस्तै भूमिका निर्वाह गर्ने थियो । पञ्चायती व्यवस्थाको प्रवेश ०३४ सालपछि मात्र निस्याङ क्षेत्रमा गराइएको जिकिर स्थानीय कर्मातारा गुरुङ गर्छन् । जब कि राणा  तथा सोभन्दा अगाडिका सरकारको प्रभाव निस्याङ क्षेत्रमा पर्ने त झन् कुरै भएन । त्यसैले ढावा शेरपा प्रणाली समष्टिगत रूपमा निस्याङ क्षेत्रको स्थानीय÷परम्परागत सरकार थियो । 

ढावा शेरपा प्रणाली सञ्चालन गर्न २ वर्षको अन्तराल खासगरी मेठा (तिर हान्ने पर्व)मा कार्यकारी पदाधिकारीहरू सम्पूर्ण गाउँलेको उपस्थितिमा प्रजातान्त्रिक रूपमा चयन गर्ने चलन छ । ती कार्यकारी पदाधिकारीहरूको भूमिकामा गाउँमा रहेका सम्पूर्ण घरधुरीले पालैपालो (घर लौरी प्रणाली) अनिवार्य रूपमा पालना गर्ने चलन थियो ।  कार्यकारी पदाधिकारीहरू एकजना खम्वा (जसको भूमिका प्रमुख हुन्छ), ङेर्वा (जसको भूमिका चौकीदार हुन्छ),   फलासिन (न्यायाधीश वा मुद्दा छिन्ने वा सचिव),  मिटी (कटवाल/पिउन) गरेर चारजना चयन गरिन्छ । ढावा शेरपा प्रणालीलाई मजबुत र सहज बनाउन अन्य थप आठजना पदाधिकारीहरू मनोनयन खम्बाले गर्ने गर्दछ । सम्पूर्ण पदाधिकारीलाई भिन्न–भिन्न कामको जिम्मेवारी दिइन्छ । घाँस काट्दा हँसिया प्रयोग गरेमा टो चोमले कारबाही गर्ने आदि । खासमा ढावा शेरपा प्रणालीअन्तर्गत विभिन्न समूहमध्ये एउटा प्रमुख समूह हो– टो चोम । टो चोम समूहले कृषिप्रणाली, पशुचौपयाको घुम्ती चरन, खर्क उपभोग तथा व्यवस्थापन आदि पर्दछन् ।

 निस्याङ क्षेत्रमा टो चोमले घाँस काट्न हँसिया प्रयोग गर्ने समय (भदौ महिनाको अन्तिम २ देखि ५ दिनसम्म) तोकेको हुन्छ । त्यो निजी खेतबारीमा पनि लागू हुन्छ ।   तोकेको  समयबाहेक अन्य दिनमा हँसिया प्रयोग गरेमा उक्त व्यक्तिलाई कसुदार ठह-याई दण्ड–जरिवाना गरिन्छ । तर, गाउँमा घोडाहरू प्रयोग गर्नुपर्ने हुँदा हँसिया प्रयोग नगरी हातले घाँस उखेली घोडालाई आहार दिन भने मनाही हुँदैन । उच्च हिमाली क्षेत्र जहाँ वनस्पतिका स्रोतहरू पातला र कम उत्पादनमूलक छन्, त्यहाँ यस्तो परम्परागत चलनले सकारात्मक वातावरणमैत्री ज्ञानलाई उजागर गर्दछ । 

अन्य समूहले गाउँको रीतिथिति, सांस्कृतिक पर्वको व्यवस्थापन, दाउरा तथा पत्कर संकलन, काठ, दारको प्रबन्ध, बालीनाली लगाउने र थन्क्याउने, वन्यजन्तु तथा जडीबुटीहरूको  चोरीसिकारी नियन्त्रण गर्न गस्ती गर्ने, डढेलो नियन्त्रण र अवैध कसुरदारलाई दण्ड–जरिवाना गर्ने गर्दछन् ।  निस्याङको प्रत्येक गाउँ (सात गाउँ)मा आ–आफ्नै ढावा शेरपा प्रणाली लागू हुन्छ । यदि विवाद भएर गाउँमा विवाद मिलाउन नसके मात्र अन्तिम निर्णयको लागि निस्याङ क्षेत्रको मनाङ गाउँको खम्वा ङेर्वासमक्ष पेस गरिन्छ र त्यो निर्णय नै अन्तिम हुन्छ ।

मनाङमा अदालत छ मुद्दा छैन, जेल छ कैदी छैनन्, खोला छ माछा छैन । चरन छ तर भैँसी छैन । 


निस्याङ क्षेत्रको मनाङ गाउँ (ढावा शेरपा) लाई बा र भ्राका गाउँलाई आमा मान्ने चलन अद्यापि छँदै छ । मलाई सम्झना छ– तत्कालीन मनाङ गाविसका अध्यक्ष कर्मा गुरुङ दाइले भनेको ‘मनाङ जिल्लामा अदालत छ मुद्दा छैन, जेल छ कैदीहरू छैनन्, खोला (पानी) छ माछा छैन र चरन प्रशस्त छ, तर भैँसी छैन ।’ निस्याङ क्षेत्रमा ढावा शेरपा प्रणालीले आ–आफ्नै मौलिक परम्परागत प्रथाहरू सक्रिय थिए र हाल आंशिक विद्यमान छन् । 

ढावा शेरपा प्रणाली लोपोन्मुख हुनुमा मुख्य कारण– ०३४ सालपछि   पञ्चायती व्यवस्थाको विस्तार नै हो । पञ्चायत विस्तार भइसकेपछि प्रत्येक गाउँलाई पञ्चायतको नामकरण गरियो । त्यसै व्यवस्थाअन्तर्गत पञ्चहरू छान्ने क्रम भयो । ढावा शेरपा प्रणालीको केही अधिकार र जिम्मेवारी पञ्चभलाद्मीमा सर्दै गयो । मनाङको कर्मातारा गुरुङको भनाइअनुसार ०३४ सालमा उहाँको बुबा सोनाम टाप्के (सिंह) गुरुङले पञ्चायत छिराउन पहल गरेको र ढावा शेरपा प्रणाली पनि पञ्चायतमा विलीन भयो ।  तत्कालीन मनाङ गाविसका अध्यक्ष कर्मा गुरुङको भनाइ थियो– गाविस र जिविस भनेको केन्द्रको बजेट गाउँमा लिनका लागि मात्रै मानिरहेको हो । गाउँठाउँको रीतिथिति हेर्ने त ढावा शेरपाले नै हो । अहिले ढावा शेरपा प्रणाली आंशिक सञ्चालनमा छ भने केही प्रणाली लोप भइसकेको छ ।  

अन्त्यमा 
निस्याङ क्षेत्रजस्तै देशकै अन्य भू–भागका आदिवासीसँग पनि आ–आफ्नो परम्परागत  प्रथा, ज्ञान, सीप र औजार मौलिक रूपमा थिए । कहीँकतै आंशिक रूपमा सञ्चालनमा छन् । उदाहरणका लागि निस्याङ क्षेत्रमा नाउर र हिउँ चितुवाको घनत्व नेपालकै दोस्रो नम्बरमा छ । नारपा भूमि पछि, जहाँ ५ देखि ७ नाउर प्रति वर्गकिलोमिटर र ४ देखि ६ हिउँ चितुवा प्रति १०० वर्गकिलोमिटर भएको अनुसन्धानले पुष्टि गर्दछ । 

यो देन ढावा शेरपा प्रणालीको हो भन्न सकिन्छ । हुन त यसलाई बल पुर्‍याउन आजभन्दा लगभग १०० वर्ष अगाडि मारकाट गर्न नहुने भनेर सचेतना फैलाउने स्याङवो रिम्पोचे र लामा ग्याल्वो हुन् । यी र यस्ता प्रणाली देशका अन्य भू–भागमा मौलिक परम्परा, प्रथा, ज्ञान र सीपका रूपमा छन् । जुन अलिखित रूपमा क्रियाशील थिए र छन् । यस्ता प्रथा र परम्परा हाम्रो प्राकृतिक तथा सांस्कृतिक सम्पदाको दिगो संरक्षण तथा संवद्र्धन गर्न विज्ञानमा आधारित जैविक विविधता संरक्षण र व्यवस्थापन नीतिभन्दा कम छैनन् ।  हामीलाई मौका आएको छ कि विगतका गल्ती र कमजोरीलाई सच्याउने । अब राज्यले यी र यस्ता परम्परागत प्रथा, ज्ञान, सीप तथा औजारलाई पहिचान गर्ने, पुनरुत्थान गरी पुनर्जीवन दिने र भावी पुस्तामा हस्तान्तरण गर्न ढिला गर्नु हुँदैन ।
(लेखक जीवविज्ञानसम्बन्धी पिएचडी अध्ययनरत छन् ।)