• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण १७ शनिबार ०८:४६:००
यात्रा

मुलुक छिचोलेका (फोटोग्राफर)

देश–दर्शन

२०७६ फाल्गुण १७ शनिबार ०८:४६:००

फोटोग्राफर भरतबन्धु थापा पूर्वको ओलाङचुङगोलादेखि पश्चिमको खप्तड, बडिमालिकासम्म पुगे । माथिल्लो डोल्पोदेखि लुम्बिनी र रामजानकीलाई क्यामेरामा कैद गर्न भ्याए । कहिले कञ्चनपुरको झोलुंगे पुलमा घन्टौँ झुला खेले । राराको गहिराइ निर्निमेष नियालेर पलौँपल हराए त कहिले कालापत्थरको चिसो सिरेटो तापेर मग्न बने । भरतबन्धु त्यस्ता थोरैमध्येका फोटोग्राफर हुन्, जो देश डुल्छन्, लोभलाग्दा तस्बिर सँगालेर पुस्तकाकार रूप दिन्छन् । 

अचेल क्यामेराको लेन्स मिलाउँदै देशका दृश्य कैद गर्दै हिँड्ने भरतबन्धु कुनै समय भक्तपुरको वाशु उच्च माविमा गणितका शिक्षक थिए । तस्बिरप्रतिको लगावकै कारण उनले ७२ जिल्ला डुले । जिल्ला टेक्ने मात्र होइन, उनले त्यहाँको जीवन, कला, संस्कृति, इतिहास, दृश्य, प्राकृतिक सुन्दरता, वाइल्ड लाइफसम्म आफ्नो क्यामराको लेन्समा कैद गरेर ‘वाइल्ड बेस्ट नेपाल (२०१३)’ निकाले । जसमा समेटेका छन्, तत्कालीन सुदूर र मध्यपश्चिमका क्षेत्रको जीवन, जगत, संस्कार, संस्कृति र प्रकृति । वाइल्ड बेस्ट नेपालमा उनले शैपाल, अपि, दूधकुण्डली, गुरिल्ला ट्रेल, यार्सागुम्बा ट्रेल , डोल्पो, हुम्ला, खप्तड, शुक्लाफाँटा, दैलेखको अखण्ड ज्वाला, रारा, स्वर्गद्वारीलगायतका तस्बिर समेटेका छन् । 

उनले ‘गन्तव्य कर्णाली (२०१९)’ फोटो पुस्तक निकाले । जसमा तत्कालीन मध्यपश्चिमको पर्यटकीय स्थल, संस्कृति, संस्कार, वेशभूषा र प्राकृतिक दृश्य समावेश गरिएको थियो । उनी कैयौँपटक बर्दिया पुगे । बर्दिया राष्ट्रिय निकुञ्जको वाइल्ड लाइफ अवलोकन गर्न ३० वर्षदेखि विदेशी पर्यटक आइरहे पनि यहाँको पर्यटकीय नक्सा बनेको पाएनन् । ‘मैले आँट गरेँ र बर्दियाको पर्यटकीय नक्सा तयार गरेँ (२०१५),’ थापाले भने । नक्साको पछाडि उनले मध्यपश्चिमका १५ जिल्लाको सानोसानो तस्बिरसहित संक्षिप्त परिचय पनि लेखिदिए । 
दैलेखमा जन्मिएका थापाका बुबा पे्रेमबहादुर थापा सरकारी जागिरे । भरतबन्धुको रुचिबारे आमा चन्द्रादेवीले बुबालाई भनिदिइन् । ‘अनि त के मेरो हातमा ०५४ मै क्यामेरा प¥यो, त्यसदिनदेखि मैले क्यामेरा छाडिनँ, बरु शिक्षक पेसा त्यागिदिएँ,’ उनले भने । 

देश दर्शन गर्दै यसरी लिएका तस्बिर सँगालेर उनी पुनः अर्को फोटो पुस्तकको तयारीमा जुटेका छन् । पश्चिम नेपालका तीन प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र, कला, संस्कृतिको तस्बिर उक्त पुस्तकमा समेटिने उनले बताए । त्योसँगै उनी अर्को योजना पनि सँगै अघि बढाइरहेका छन्, त्यो हो– कर्णाली प्रदेशको पर्यटकीय नक्सा निर्माणको काम ।

 उनी देशभर डुल्छन्, हरेक क्षेत्र, प्रकृति, वेशभूषा र संस्कृति नियाल्छन्, तर पश्चिम नेपालप्रति मात्रै किन केन्द्रित छन् ? ‘सम्भावना र सम्पदाले सिंगो नेपाल भरिपूर्ण छ,’ उनले भने, ‘तर, फोकस भनेको जहाँ अँध्यारो छ, त्यहीँ गर्ने हो जस्तो लाग्छ ।’ पश्चिम नेपालमा पर्यटकीय सम्भावना अथाह र अवसर भए पनि ओझेल परेकाले त्यो क्षेत्रलाई बढी फोकस गरेको उनी दाबी गर्छन् । पश्चिम नेपालको भए र देखेजति सम्भावना उजागर नै नभएको उनको भनाइ छ । 

‘डोटीका पर्यटन व्यवसायी अमरबहादुर शाही काठमाडौंमा बसेर पनि आफ्नो जन्मस्थानप्रति सधैँ स्नेही रहे, आफ्नो क्षेत्रका लागि केही न केही गरिरहे,’ भरतबन्धुले भने, ‘उहाँहरूकै प्रेरणाले पनि मलाई पहिला ओझेल परेको आफ्नै क्षेत्रका लागि केही गर्न उत्पे्ररणा मिल्यो ।’पुस्तकमा पश्चिम नेपाललाई अटाए पनि उनले प्रदर्शनीमा भने सिंगो देशलाई समेट्ने कोसिस गरेका छन् । धनगढी, बाँके, सुर्खेत, दैलेख, काठमाडौं, भक्तपुर गरी उनले १० पटक देशका तस्बिरहरूको प्रदर्शनी गरिसकेका छन् । 

देशलाई क्यामेरामा कैद गर्ने क्रममा उनले लामालामा पदयात्रा गरेका छन् । ती यात्रा जति स्मरणीय छन्, त्यति कठिन पनि थिए । उनले खप्तडदेखि रारासम्मको १९ दिने पदयात्रा गरे । सुदूर र मध्यपश्चिमलाई नजोडेसम्म एक्लै पर्यटकीय गन्तव्य बन्न सक्दैन भन्ने उद्देश्यले पश्चिम नेपालका पर्यटन व्यवसायीले यो पदयात्राको डिजाइन गरेका थिए ।  त्यस्तै उनले खप्तड–बडिमालिका–रामारोसन (फारवेस्ट हेरिटेज ट्रेल) २ साता लगाएर यात्रा गरे । हुम्लादेखि रारासम्मको दुई साता लामो पदयात्रा पनि कम स्मरणीय थिएन । जति धेरै सम्भावना उनले पश्चिम नेपालको पर्यटनमा देखेका छन्, त्यति नै विदीर्ण अवस्था उनले अनुभव पनि गरेका छन् । प्रकृति, संस्कृति र संस्कारका हिसाबले अथाह भण्डार भए पनि पहुँचका हिसाबले निकै कमजोर पश्चिमको पर्यटन रहेको भनाइ भरतबन्धुको छ । 

ठूलो अवार्ड त मैले देश छाम्न सकेको छु । देशभरको माया पाएको छु । देशका हरेक कुना नियालेको छु, जहाँ धेरै आफन्त कमाएको छु ।

उनी सन् २०११ तिरको यात्रा सम्झन्छन्, डोटीबाट खप्तड जाँदा झिङरानामा बाटो हराएको दिन र भन्छन्, ‘हामी यस्तो गोठमा पुग्यौँ, जहाँ पिउने पानीसम्म पाएनौँ, ३ हजार मिटर उचाइमा पानी नपाएपछि लाग्यो यो नै अन्तिम रात हो !’अर्को पश्चिम नेपालको धनगढी र नेपालगन्जको हवाई फेयर नै धान्नै नसकिने महँगो भएको उनी बताउँछन् । ‘विदेशी पर्यटकले धनगढी वा नेपालगन्ज प्लेन चढेर जाने पैसाले एभरेस्ट घुमेर पोखरा, चितवन हुँदै काठमाडौ पुग्नसक्ने बताउँछन् ।’ नेपाली यात्रुलाई लिनेजत्तिकै पैसा विदेशीलाई नलिएसम्म पश्चिम नेपालको पर्यटन उँभो नलाग्ने उनी दाबी गर्छन् । यसका लागि त्यस क्षेत्रका पर्यटन व्यवसायी र स्थानीय सरकारले पहल गर्नुपर्ने सुझाब भरतबन्धुको छ । 

अर्को कुरा रारामा नेस्केफ, टुबोर्ग बियर, मःमः, पिज्जा होइन त्यहीँको कोदो, फापर, सिस्नो, वा बोडीको परिकार पस्कनसक्ने क्षमताको विकास राज्यले गर्नुपर्ने उनको सुझाब छ । नेपालमा विदेशी पर्यटक यहाँको मौलिकताको स्वाद लिन आउने भएकाले उनीहरूलाई यहीँको माटो सुहाउँदो आतिथ्यता दिन सके मात्रै पर्यटन प्रवद्र्धन हुनेमा उनी पनि सहमत छन् । 

रारामा पहिलोपटक पुग्दा भरतबन्धुले तस्बिर मात्र लिएनन् । रारालाई एकसुरले यसरी नियालेकी मिनेटौँसम्म उनी रारा किनारमा बसेर सिंगो रारालाई आँखाबाटै धीत मरुन्जेल पिए । कालापत्थरको ढुंगोमा बसेर उनले शरीर नकापुञ्जेल चिसो सिरेटोको आनन्द उठाए । त्यो मात्र होइन, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानवबस्तीका रूपमा प्रख्यात माथिल्लो डोल्पा (द्यो)को पदयात्रा गरेर यार्साको फोटो स्टोरी गरेबापत उनलाई नेपाल टेलिभिजनले ‘हेम सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार ०७४’ प्रदान ग-यो । ‘टान सगरमाथा जर्नालिजम अवार्ड’, नेपाल पर्वतारोेहण संघको ‘दावानोर्बु माउन्टनेरिङ जर्नालिजम अवार्ड’ उनले हात पारिसके । भन्छन्– ‘त्योभन्दा ठूलो अवार्ड त मैले देश छाम्न सकेको छु । देशभरको माया पाएको छु । देशका हरेक कुना नियालेको छु ।’