• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मनीषा पौडेल
२०७६ फाल्गुण २४ शनिबार ०८:५२:००
अनुवाद

महिला जागेका वेला

त्यसपछि बनाए बलात्कृत महिलाले छुट्टै गाउँ

२०७६ फाल्गुण २४ शनिबार ०८:५२:००
मनीषा पौडेल

महिला भएकै कारण आफूमाथि भएका उत्पीडनविरुद्ध विश्वभर महिलाकै नेतृत्वमा धेरै आन्दोलन भएका छन् । पितृसत्ताले अथ्र्याएजसरी महिला घरभित्रको दासी मात्रै भएर बसेनन् । विभेदविरुद्ध महिला सडकमा उत्रिए । उनीहरू गोली खानसमेत पछि परेनन् । उनीहरूले गरेका आन्दोलन लैंगिक समानताका लागि मात्रै थिएन, महिलाले गरेका आन्दोलनले वर्गीय, जातीय समानता र राजनीतिक परिवर्तनका लागि समेत महत्वपूर्ण ठहरिए । ती आन्दोलनहरूले सामाजिक संरचना बदल्नसमेत उत्तिकै भूमिका खेल्यो । मार्च महिना भर श्रमजीवी महिलाले गरेको बलिदानको स्मरण गर्दै विभिन्न कार्यक्रम गरिरहँदा महिलाले विभिन्न समयमा विश्वका कुना–कुनामा गरेका संघर्ष र क्रान्तिलाई पुनः स्मरण गर्नु सान्दर्भिक हुनेछ ।

कुर्दिस महिला र रोजभा क्रान्ति 
उत्तरी सिरियामा रहेका कुर्दिस महिलाले नागरिकतासहितका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर आन्दोलन गरे । कुर्द भएकै कारण उनीहरू आधारभूत अधिकारबाट समेत वञ्चित थिए । सन् २०११ मा ‘कुर्दिस फ्रिडम मुभमेन्ट’को घोषणा गर्दै आन्दोलनमा उत्रिए । रोजभा र उत्तरी सिरियामा प्रदर्शनको नेतृत्व महिलाले गरेका थिए । 

सन् २००५ मा महिलाले स्थापना गरेको ‘यिकितिया स्टार’ भन्ने संस्थाले यो आन्दोलनलाई सहयोग पुर्‍यायो । यसमा धेरै महिला सहभागी भए । महिला मुक्ति संग्रामको पहिलो चरणमा ‘यिकितिया स्टार’ बिस्तारै राजनीतिक, सैनिक, सामाजिक, कूटनीतिक क्षेत्रमा नयाँ तहको संगठन बन्न पुग्यो । रोजभा क्रान्तिपछि त्यहाँ फेबु्रअरी २०१४ मा हेभी इब्राहिम प्रधानमन्त्री भइन् । 

पछिल्लो समय त्यहाँका धेरै महिला नेतृत्वदायी पदमा छन् । राजनीतिक परिवर्तनसँगै सुरक्षा र सैन्य क्षेत्रमा पनि महिलाको सक्रिय सहभागिता छ ।  सन् २०१२ मा पिपुल्स प्रोटेक्स युनिटले कोबानी र मानबिजजस्ता सहरमा महिला स्वतन्त्रताका लागि लडेका थिए । सेप्टेम्बर २०१४ देखि सिरियामा कुर्दिस महिला आतंकवादी समूह इस्लामिक स्टेटविरुद्ध लडिरहेका छन् । लडाकु महिलाका लागि उनीहरूले जिनोलोजी (महिला विज्ञान)को विकास पनि गरे । 

रोजभा क्रान्तिले राजनीतिमा महिलाको उच्च सहभागिता, बालविवाहको अन्त्य, यौन उत्पीडन वा हिंसाको सामना गर्ने महिलाका लागि सुरक्षित घर र जिनोलोजीको अध्ययनलाई बढी जोड दियो र यसले तुलनात्मक रूपमा धेरै सामाजिक, राजनीतिक परिवर्तन पनि गर्‍यो ।  सिरियामा जनविद्रोहबाट कुर्दिस महिलाले पुरुषसँगै हतियार उठाए र उत्तरी सिरियालाई नियन्त्रणमा लिए र सैन्य तथा राजनीतिमा आफ्नो प्रभुत्व कायम गरे, यसलाई नै रोजभा नाम दिइएको छ । महिला जनसुरक्षा तथा महिला संरक्षण एकाइमा पुरुषसँगै काम गर्छन् । पूरै कुर्दिस सेनाको अनुमानित ३५ प्रतिशत महिला सैनिक छन् । 

उमोजा गाउँ
सन् ९० को दशकमा बेलायती सेनाबाट केन्याका धेरै महिला बलात्कृत भए । त्यस समयमा १४०० भन्दा बढी महिला बलात्कृत भएका थिए । हिंसामा परेका महिलाले रोग सार्न सक्ने भन्दै उनीहरूलाई घरबाट निकालियो र धेरै महिला घरविहीन भए ।  धेरै संख्यामा महिला  घरविहीन भएपछि रेबेका लोलोसोलीसहित १५ जना महिलाले सन् १९९० मा केन्याको उत्तरी क्षेत्रमा उमोजा गाउँ निर्माण गरे । उमोजामा बसोवास गर्ने महिलाको संख्या ४८ र बालबालिका २०० भन्दा बढी छ । यो पूर्ण रूपमा पुरुष निषेधित गाउँ हो । यहाँ पुरुषहरूलाई बस्न अनुमति छैन । हस्तकला उद्योग चलाएर आर्थिक उपार्जन गर्ने यहाँका महिलाले आफ्नै सक्रियतामा गाउँमा स्कुल, सांस्कृतिक केन्द्र, स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । 

जिन्वार बस्ती
सिरियामा पनि महिलाले मात्र बनाएको बस्ती छ । सिरियाका द्वन्द्वपीडित महिलाले १० मार्च २०१७ मा बनाएको जिन्वारमा ३० घर छन् । सबै घर महिलाले मात्रै बनाएका हुन् । आफ्नै सशस्त्र महिला सैनिक छन्, उनीहरूले नै गाउँमा सुरक्षा दिन्छन् । 

रसियन क्रान्ति 
‘ठूला सामाजिक क्रान्ति महिलाविना असम्भव छ ।’ कार्ल माक्र्सको भनाइजस्तै रसियामा पनि सन् १९१७ मा भएको समाजवादी क्रान्तिमा महिलाको भूमिका महत्वपूर्ण रह्यो । सन् १९१७ मा पेट्रोगार्डका महिला कामदारले मार्च ८ देखि हडताल गर्ने योजना बनाए । त्यहाँका कारखानामा काम गर्ने मजदुरहरू बढ्दो मूल्य र कम ज्यालाका कारण जीवनयापनमा कठिनाइ भएपछि मालिकविरुद्ध विरोधमा उत्रिए । त्यो दिन सयौँ महिलाले रोटीको माग गर्दै कारखानाको झ्यालमा ढुंगा र हिउँका डल्ला हान्न थाले । आर्थिक मन्दीले खासगरी मजदुर वर्गीय महिलालाई बढी प्रभाव पारेको थियो । दिनभरको श्रमपछि थकित कामदारहरू एक टुक्रा रोटीका लागि घन्टौँ लाइनमा बस्थे । 

सिरियामा जिन्वार बस्ती निर्माण गर्दै महिला

प्रदर्शनको नेतृत्व हजारौँ महिला कामदारले गरेका थिए र कारखानाका पुरुष श्रमिकलाई पनि आन्दोलनमा सहभागी हुन आग्रह गरे । यो आन्दोलनमा दुई लाखभन्दा बढी मजदुर सहभागी थिए । महिला बच्चा बोकेरै प्रहरी कार्यालय र बेकरी पसल आक्रमण गरे । लियोन ट्रोस्टकीले लेखेका छन् ‘ती महिलाले सेनाको राइफल समाते, तपाईंहरूको हतियार तल राख्नुहोस् र हामीसँगै आन्दोलनमा सहभागी हुनुहोस् भने ।’ यसको पाँच दिनभित्र शताब्दियौँ पुरानो रसियाको तानाशाही सरकारको पतन भयो । 

खाद्य दंगा 
इपी थम्पसनको लेख ‘द मोरल इकोनोमी अफ द इङलिस क्राउड इन द एटिन्थ सेन्चुरी’मा महिलाले खाद्य दंगामा महिलाको भूमिका उल्लेख गरेका छन् । यी विद्रोहमा पुरुषभन्दा महिला बढी सक्रिय थिए । सरकारले विभिन्न किसिमका कर लगाएर खानेकुराको अभाव सिर्जना गरेपछि महिला विद्रोहमा उत्रिएका थिए । सन् १६१६ मा भएको करविरुद्धको विद्रोहलाई ‘डेल्फ्टको महिला विद्रोह’का रूपमा चिनिन्छ ।

अमेरिकी विद्रोह भएकै समयमा त्यहाँ महिलाले तीनपटकसम्म खाद्य दंगा गरेका थिए । अमेरिकामा महिला मतदानबाट वञ्चित थिए, अदालतमा न्यायाधीशको रूपमा काम गर्न बन्देज थियो र राजनीतिमा असक्षम भएको आरोप लगाइन्थ्यो, यसपछि १८४८ मा मताधिकारका लागि पनि आन्दोलन गरेका थिए । यसले महिलाप्रति हेर्ने दृष्टिकोणमा नै परिवर्तन ल्यायो । 

१८औँ शताब्दिमा बोस्टनमा खानाको हाहाकार र मूल्यवृद्धिका वेला भएको दंगामा पुरुषभन्दा महिला बढी सहभागी भएको र १० जना महिलाले प्रदर्शनको नेतृत्व गरेका थिए । खाद्य अभाव एवं मूल्यवृद्धिविरुद्ध महिलाले नै प्रदर्शनको सुरु गर्थे । त्यस्ता दंगा र क्रान्तिले धेरै महिलालाई राजनीतिक कदम अघि बढाउन अवसर दिएको थियो । त्यसपछि क्रमशः सामन्तवाद घटेर बजार सम्बन्ध स्थापित हुन थालेपछि महिलामाथि पितृसत्तात्मक नियन्त्रण घटेको थोमसनले उल्लेख गरेका छन् । बेल्जियम, नेदरल्यान्ड, आयरल्यान्ड र जर्मनीलगायतका देशमा भएका खाद्य दंगामा पनि महिलाको सहभागिता उल्लेख्य थियो । 

सत्रौँ र अठारौँ शताब्दीतिर बढेको करविरुद्ध भएको डच दंगामा मध्य र न्यूनवर्गीय महिलाको व्यापक सहभागिता थियो । यो विद्रोहले पनि उग्र रूप लिएको थियो । त्यस समयमा खाद्य दंगाविरुद्ध सडकमा प्रदर्शन गर्न न्यून वर्गीय महिला मात्र आउँथे । सन् १७१७ मा ‘महिला विद्रोह’का रूपमा सयजना महिलाले सडक प्रदर्शन गरेका थिए । सन् २००८ मा पनि १ हजारजना महिलाले खाद्य संकट भएपछि पेरुभियन सरकारविरुद्ध विद्रोह गरेका थिए । यस्तै, अमेरिकामा १९१७ मा पनि आप्रवासी महिलाले खाद्य दंगा गरेका थिए ।
 
अमेरिकी गार्मेन्ट आन्दोलन 
विश्वमा आर्थिक उत्पादन प्रणाली विकास हुँदै जाँदा महिलाले विभिन्न उद्योग तथा कलकारखानामा काम गर्ने मौका पाए, तर काम गर्न कुनै नियम–कानुन थिएन । दैनिक १५/१६ घन्टा मेसिनको दाँजोमा काम गर्नुपर्ने बाध्यता महिलालाई थियो । उनीहरूको मानवीय पक्षको पनि वास्ता गरिएको थिएन । यस्तै, अवस्थामा सन् १९१० को वरिपरि महिलाले अमेरिकाका विभिन्न कपडा उद्योगमा हडताल सुरु गरे । अमानवीय नीति–नियम र शोषणविरुद्ध सडकमा उत्रिए । समान ज्याला, कामका लागि निश्चित समय र स्वतन्त्रताका लागि उनीहरूले आन्दोलन गरेका थिए । 

सिकागोमा भएको आन्दोलनमा १७ वर्षीय हान्नज सापिरोको नेतृत्वमा १६ महिलाले आन्दोलन सुरु गरेका थिए । पछिसम्म ४१ हजार कामदारहरू आन्दोलनमा सहभागी भए । सन् १९११ मा मजदुर नेता सिड्नी हिलम्यान र कारखाना पक्षबीच कामदारको अवस्था सुधार गर्ने विषयमा सम्झौता भएपछि आन्दोलन सकिएको थियो । 

करविरुद्धको आन्दोलन 
बेलायती उपनिवेशको समयमा पनि नाइजेरियाका महिलाले सरकारविरुद्ध गरेको आन्दोलनलाई उपनिवेश अवधिको सबैभन्दा सशक्त महिला आन्दोलनका रूपमा लिइन्छ । यसलाई अझ आन्दोलनमा भन्दा पनि महिला युद्धका रूपमा इतिहासकारले बढी व्याख्या गरेका छन् । उपनिवेश तथा पूर्वउपनिवेशका समयमा महिलाले विभिन्न विद्रोहको नेतृत्व गरेका थिए । सन् १९२९ ताका ब्रिटिस सरकारले स्थानीय वस्तुमा कर लगाइरहेको थियो । त्यसमाथि विद्यालयमा शुल्क वृद्धि, भ्रष्टाचार र बाध्यात्मक श्रमबाट असन्तुष्ट थिए । सरकारले स्थानीय तहदेखि नै अप्रत्यक्ष कर लागू गर्‍यो र महिलालाई सरकारमा जान रोक लगाउन नियम बनायो । यसबाट रुष्ट भएका त्यहाँका महिलाले आन्दोलनको घोषणा गरे ।

दक्षिण–पश्चिमी नाइजेरियामा लागोस मार्केट महिला संघ, नाइजेरियाली महिला पार्टी र अबोकुटा महिला संघ थियो । त्यहाँ महिला नेटवर्कको विस्तृत प्रणाली सञ्चालमा थियो, यसैबाट महिलाले आन्दोलनसम्बन्धी सूचना सञ्चार गर्न सक्थे । उनीहरू लामो समयसम्म सरकारविरुद्ध संघर्ष गरिरहे । नोभेम्बरदेखि डिसेम्बरसम्म ओबरीबाट कालाबारसम्म महिलाले कारखाना लुटेर स्थानीय अदालतका सदस्यको सम्पत्ति खोसे र १६ वटा अदालतसहित अन्य सरकारी भवन ध्वस्त पारे । महिला आन्दोलनकै कारण धेरै सैन्य प्रमुखले राजीनामा दिए । यो आन्दोलनले महिलाको सामाजिक र राजनीतिक स्थितिमा परिवर्तन ल्यायो । सरकारमा उनीहरूको सहभागिता सुनिश्चित भयो । 

१९३० मा सरकारले महिला आन्दोलनलाई सम्बोधन गर्दै स्थानीय अदालतमा महिला सदस्य नियुक्त गर्‍यो । यो परिवर्तन नै अफ्रिकामा महिला परिवर्तनको सुरुवातीका रूपमा हेरिन्छ । र, यो अफ्रिकी महिलाले गरेको पहिलो एन्टी–कोलोनियल आन्दोलन पनि थियो । 

दक्षिण अफ्रिकाको आन्दोलन 
दक्षिण अफ्रिकामा रंगभेदी शासन मुख्य समस्या थियो । उपनिवेशको वेलामा काला जातिका पुरुषलाई विनाअनुमति देशभित्र हिँडडुल गर्न निषेध गर्ने गरी कानुन पारित भयो । सन् १९५२ मा सरकारले महिलालाई पनि प्रतिबन्ध लगाउने गरी कानुन पारित गर्न कदम चाल्यो । यसैको विरोध गर्दै अगस्ट ९, १९५६ मा प्रिटोरियामा धेरै जातिका २० हजार महिला विरोधमा उत्रिए । देशकै इतिहासमा यसरी महिला जम्मा भएको पहिलोपटक थियो । यही आन्दोलनपछि ‘तपाइ महिलालाई प्रहार गर्नुभनेको चट्टानलाई हान्नुजत्तिकै हुन्छ’ जस्ता अभिव्यक्ति सुरु भएका थिए र अगस्ट ९ लाई दक्षिण अफ्रिकाले महिला दिवसका रूपमा मनाउन थाल्यो ।

आतंकवादी समूह आइएसविरुद्ध लडिरहेका सिरियाका कुर्दिस महिला

भारतमा महिला क्रान्ति 
गत वर्षको डिसेम्बरमा भारतले नयाँ नागरिकतासम्बन्धी कानुन पारित गरेपछि देशभर यसको विरोध भइरहेको छ । मुस्लिम समुदायलाई विभेद गरेको भन्दै भइरहेको प्रदर्शन हिंसात्मक भएका छन् । दिल्ली र नोएडाको सिमानामा रहेको साहिनबागमा मुस्लिम महिला दुई महिनाभन्दा लामो समयदेखि आन्दोलनरत छन् । साहिनबागमा स्थानीय महिलाकै नेतृत्वमा शान्तिपूर्ण रूपले मैनबत्ती बालेर प्रदर्शन सुरु गरेका थिए ।

उनीहरूले नागरिकता मुद्दाको विरोध मात्र होइन, प्रहरीको क्रुरता, वस्तुको मूल्यवृद्धि, बेरोजगारी, गरिबी र महिला सुरक्षाका विषयमा पनि विरोध गरिरहेका छन् ।  १०/१५ जना महिलाले सुरु गरेको प्रदर्शनले डिसेम्बर १५ देखि नोएडा र अर्को सहर जोड्ने राजमार्ग अवरुद्ध गरेका छन् । हिजाब र बुर्कासहित वृद्ध महिला पनि प्रदर्शनमा सहभागी छन् ।

सहरभरिका लगभग २० हजार प्रदर्शनकारीहरू त्यहाँ हरेक साँझ जम्मा हुन्छन् । बिस्तारै ‘साहिनबाग आन्दोलन’ले अन्तर्राष्ट्रिय ध्यान खिचिरहेको छ । सरकारले आन्दोलन दबाउन प्रयास गरे पनि सकिरहेको छैन, ती महिलालाई त्यहाँबाट पटक–पटक हट्न भने पनि उनीहरूले बेवास्ता गर्दै प्रदर्शन गरिरहेका छन् ।

भारतमा १९८५ मा भएको ‘नर्मदा बचाओ आन्दोलन’ विश्वकै इतिहासमा महिलाले गरेको सबैभन्दा लामो शान्तिपूर्ण आन्दोलन मानिन्छ । नर्मदा नदीमा तीनवटा राज्यलाई समेटेर बाँध बनाउने सरकारी योजनाविरुद्ध महिलाले आन्दोलन गरेका थिए । बाँधकै कारण ४० हजार परिवार बाढीले डुब्ने अवस्था भएको र आधारभूत पर्यावरणीय मापदण्ड पूरा नगरेको र महत्वपूर्ण अध्ययन र योजनाको अभावमा रहेको भन्दै मेधा पटकरको नेतृत्वमा आन्दोलन सुरु भएको थियो । उनीहरूले गत वर्ष सेप्टेम्बरमा पनि नौ दिनसम्म भोक हडताल गरे । पछिल्लो नोभेम्बरमा उनीहरूले बाँधमा पानीको सतह घटाउन माग गरिरहेका थिए । सरकारले विस्थापित हुने परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

उमोजामा बसोवास गर्ने महिलाको संख्या ४८ र बालबालिका २०० भन्दा बढी छ । यो पूर्ण रूपमा पुरुष निषेधित गाउँ हो । यहाँ पुरुषलाई बस्न अनुमति छैन ।

भारत मै सन् १९७३ मा वनजंगल जोगाउन महिलाले ‘चिप्को आन्दोलन’ सुरु गरेका थिए । यो आन्दोलन जंगलको विनाशको एक संगठिन प्रतिरोधका रूपमा भारतभर फैलियो । उत्तर प्रदेशमा चिप्को आन्दोलनले १५ वर्ष रूख काट्न प्रतिबन्ध लगाउन सफल भयो । जंगलमा रूख काट्न जाँदा त्यहाँका महिलाले चार दिनसम्म रूख काट्न नदिन दिनभर अँगालो हालेरबसेका थिए । दक्षिण भारतीय राज्य तमिलनाडुमा सरकारले न्युक्लियर प्लान्ट निर्माण गर्ने योजना बनाएपछि यहाँका महिला आन्दोलनमा उत्रिएका थिए । त्यहाँ प्लान्ट निर्माण २००१ मा सुरु र २०१३ बाट सञ्चालनमा छ । अहिलेसम्म पनि महिलाले त्यहाँ विरोध गरिरहेका छन् । 

नेपालमा महिला आन्दोलन
विश्वका महिलाले गरेजस्तै आन्दोलन नेपालका महिलाले पनि गरेका छन् नेपालको इतिहासमा महिलाले गरेको आन्दोलनलाई सम्झिँदा योगमायालाई सशक्त उदाहरणका रूपमा लिन सकिन्छ । कठोर सामाजिक तथा राजनीतिक व्यवस्थाका बीच योगमायाले जातीय, धार्मिक समानता र आर्थिक, न्यायिक र सामाजिक सुधारका लागि उत्कृष्ट भूमिका खेलिन् । विसं. १९२४ मा भोजपुरको दिङ्लामा जन्मेकी योगमाया बालविधवा थिइन् । विधवा भएपछि समाजले उनलाई धेरै लाञ्छना लगाउन थाल्यो । उनले दोस्रो विवाह गरिन् र केही समय उनी भारतको असम गएर बसिन् । उनी १९७४ मा भोजपुर फर्केपछि समाजका कुरीतीविरुद्ध लड्न थालिन् । 

काठमाडौंमा श्री ३ जुद्धशमशेरसँग देशमा व्याप्त कुरीति, वर्गीय असमानता, भ्रष्टाचारजस्ता विकृति हटाउन आग्रह गरिन् । राणा प्रधानमन्त्रीले उनको कुरा सुन्यो मात्रै । योगमायाले त्यसको विरोध गर्दै अनुयायीलाई ठूलो अग्निकुण्डमा हामफाल्ने उद्देश्यले होम लगाउन लगाइन् । यो खबर दरबारसम्म पुगेपछि सेना लगाएर अग्निकुण्डलाई नियन्त्रणमा लियो र योगमायासहितलाई जेल हालियो । छोरीको बिहेपछि आफू भोजपुरकै जन्मघर सिम्लेभन्दा तल मझुवाबेँसी अरुणको छेउमा कुटी बनाएर बसिन् । त्यही कठोर योगसाधना गर्दै आफ्ना ६८ सहयोगीसहित विसं. १९९८ असारमा जलसमाधि लिइन् । 

नेपालको इतिहासमा सामाजिक न्याय र समानताको माग गर्दै महिलाले गरेको यो सबैभन्दा सशक्त बलिदानीपूर्ण संघर्ष थियो । नेपालमा संगठित रूपमा महिला आन्दोलनको पुरानो इतिहास नभए पनि १९९० को दशकदेखि राजनीतिमा महिला सक्रिय हुन थालेको पाइन्छ । पछि आएर १० वर्षको सशस्त्र माओवादी युद्धमा भएको महिला सहभागितालाई इतिहासमै सबैभन्दा ठूलो महिला जागरण भनेर व्याख्या गरिएको छ । जनयुद्धमा महिलाको सहभागिता, युद्धमा उनीहरूले देखाएको कौशल, साहस, बलिदान आश्चर्यजनक थियो । जनयुद्धको अन्त्यसम्म महिला लडाकुको संख्या करिब ४० प्रतिशत थियो । युद्ध अवधिमा उनीहरूले बहादुरीका धेरै कथा रचे । जनयुद्धको समयमा महिलाकै जत्थाले ०५७ सालमा गोरखाजेल ब्रेक गरे । युद्धमा वीरता र कुशलता प्रदर्शन गरेर महिला ब्रिगेड कमान्डरसम्म भए । 

केन्यामा महिलाले निर्माण गरेको उमोजा गाउँमा हस्तकलाका सामान बनाउँदै महिला ।

मिटू आन्दोलन 
यौनजन्य हिंसाविरुद्ध ‘मिटु’ आन्दोलन महिला आन्दोलनको आधुनिक संस्करण हो । पितृसत्तात्मक सामाजिक संरचनालाई ध्वस्त पार्न विश्वभरका महिलालाई एकजुट हुने गरी सुरु भएको आन्दोलन हो । नेपालमा यसले त्यति प्रभाव पार्न नसके पनि अमेरिका, भारतलगायत शक्ति राष्ट्रमा ठूलै हलचल ल्यायो । राजनीति, चलचित्र, पत्रकारिता क्षेत्रमा बढी प्रभाव पार्‍यो । महिलाले यसलाई पुरुषतन्त्रविरुद्धको लडाईंका रूपमा स्वीकारे । वर्षौँदेखि भोगेका दुर्व्यवहारका बारेमा धेरै महिलाले खुलेरै बोले । अहिले महिला आफूले भोगेका पीडालाई संस्थागत गरी सामाजिक परिवर्तनतर्फ उन्मुख छन् । अफ्रिकी मूलकी अमेरिकी अधिकारकर्मी तारान बुर्केले सन् २००६ मा यौनशोषणविरुद्ध खुलेर बोल्न भन्दै यो अभियान सुरु गरेकी थिइन् । सन् २०१७ पछि विश्वभर यसले तीव्र गति लिएको थियो । 

मिटुले समाजमा एक तहसम्म नसोचेको परिवर्तन ल्याएको छ । पुरुष दमन तथा शोषणविरुद्ध बोल्नु अपराध होइन भन्ने आत्मविश्वास महिलामा बढाएको छ । समाजको असमान लैंगिक शक्ति संरचनालाई हल्लाएको छ र महिला हिंसाप्रति हाबी हुने पुरुष मानसिकतालाई बदल्दिएको छ । आफ्नो सुरक्षा र अधिकारका लागि अहिले पनि महिला लडिरहेका छन्, आफूमाथि दमन गर्ने शक्तिविरुद्ध संघर्ष गरिरहेका छन् ।

पोल्यान्डमा गर्भपतनसम्बन्धी कानुनविरुद्ध भएको सन् २०१६ को आन्दोलन, २०१७ मा अमेरिकामा भएको एन्टी ट्रम्प महिला मार्च, भारत, बंगलादेशमा भएका बलात्कारविरुद्धका आन्दोलन, मेक्सिकोमा हालै भइरहेको महिला हिंसाविरुद्धको आन्दोलन, असमानताविरुद्ध स्विट्जरल्यान्डमा भएको २०१९ को आन्दोलन, २०१८ मा बंगलादेशका गार्मेन्टका मजदुर महिलाले गरेको आन्दोलन आदि समाजमा विद्यमान रहेको शोषण, संरचनागत हिंसा, वर्गीय असमानताका परिदृश्य हुन् र संसारकै शक्तिविरुद्ध गरेका यी विरोध र विद्रोह महिला साहस र शक्तिको बिम्ब पनि हुन् । 

तस्बिरहरू : एजेन्सी