• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अम्बिका पौडेल
२०७६ फाल्गुण २४ शनिबार ०८:५२:००
सम्झना

जो ‘एस म्यान’ उही पार्टीको रोजाइमा : सुशीला श्रेष्ठ

२०७६ फाल्गुण २४ शनिबार ०८:५२:००
अम्बिका पौडेल

झापा विद्रोहबाट प्रभावित भएर कम्युनिस्ट आन्दोलनमा होमिएकी नेतृ सुशीला श्रेष्ठ हाल समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य छिन् । उनका राजनीतिक यात्राबारे अम्बिका पौडेलले कुराकानी गरेकी छिन् :

आफ्नो राजनीतिक जीवनमा रत्नकुमार बान्तवासँग पनि संगत गर्नुभयो, जो पछि सहिद भए । उहाँलाई अहिले कसरी सम्झिनुहुन्छ ? 
मैले उहाँसँग लामो समयसम्म संगत गर्न पाइनँ । ०३५ चैत २६ को कुरा हो, म इलाम पुगेँ । त्यही दिन मैले उहाँलाई भेटेँ । रत्नकुमारजीको नेतृत्वमा इलामबाट हामी ताप्लेजुङ जाने तयारीमा थियौँ । २७ गते घटना भयो । केही कमजोरीका कारण हामीले उहाँलाई गुमायौँ । मैले त मेरै आँखाअगाडि गुमाएँ । हामीलाई घेर हाल्दै आएको प्रहरीको टोलीले उहाँलाई गोली हान्यो । उहाँ ढल्नुभयो । म र उहाँको दूरी पाँच फिटजति थियो होला । उहाँको हात, मुख चलिराखेको दृश्य अहिले पनि आँखामा नाचिरहन्छ । छोटो चिनजान भए पनि उहाँ निडर, लडाकु, सामन्तको विरोधी, समाज परिवर्तनका निम्ति लड्ने लडाकु हुनुहुन्थ्यो ।   उहाँ हाम्रो देशको होनाहार नेतृत्व हुनुहुन्थ्यो । सबै नेताहरूभन्दा उत्तम, सीपयुक्त सबैलाई मिलाएर लैजान सक्ने क्षमता उहाँमा थियो । 

त्यसवेला तपाईं कसरी जोगिनुभयो ? 
गोली त मलाई पनि हानिएको हो । म छेलिएँ । म पनि ‘डेथ वारेन्टेड’ मान्छे थिएँ । मेरो टाउको ल्याउनेलाई तीन लाख इनाम घोषणा गरिएको थियो । पछि म मोरङमा मदन भण्डारीको घरलाई ‘सेल्टर’ बनाएर पार्टीको निर्देशनमा झापा, मोरङमा संगठनको काम गरेँ । 

झापा विद्रोहबाट कसरी प्रभावित हुनुभयो ?
०२८ झापा विद्रोह हुनेवेला म सानै थिएँ । र पनि घाँस दाउरा गर्दा, पधेँरोमा जाँदा बहाना बनाएर पार्टीका क्रियाकलापमा लुकिछिपी सहभागी हुन्थेँ । अलि–अलि बुझ्ने भइयो । समाजमा विद्यमान विभेद, असमानता देख्न थालियो । घर–परिवारमा छोरीलाई गर्ने व्यवहार, भेदभावलाई लिएर आमासँग प्रश्न उठाउन थालेँ ।  मेरो दाजुको जिद्दीले जग्गा किन्न बुबा–आमा झापा जानुभयो । त्यसवेला झापामा संघर्ष भइरहेको थियो । उहाँहरू फर्केर आएपछि यसो भयो रे ! उसो भयो रे ! मान्छेका टाउका काटिए रे ! भनेर सुनाउनुभयो ।  

०२८ सालमा नन्दकुमार प्रसाईं मैले पढ्ने स्कुलमा शिक्षक भएर आउनुभयो । उहाँ प्रगतिशील सोचाइको मान्छे हुनुहुँदो रहेछ । शैक्षिक भ्रमणका क्रममा उहाँको संग्रह, जेलजीवनको अनुभव सुनाउनुभयो । विभेद र असमानता सहनुहुन्न भन्ने सिकाउनुभयो । यसबाट म निकै प्रभावित भएँ । शैक्षिक टुरमा जाँदा भोजपुरमा रामेश, रायनसँग भेट भयो । त्यहीवेला स्ववियु चुनाव भयो, म कोषाध्यक्ष भएँ । १ वैशाख ०२९ मा नयाँ वर्षको अवसरमा ‘बाँच्न रहर’ भन्ने नाटकमा मैले भूमिका निर्वाह गरेँ । मलाई प्रसाईं सरको अनुभव र यो नाटकले अन्याय, अत्याचारविरुद्ध बोल्न, प्रश्न गर्न प्रेरित गर्‍यो । 

क्रान्तिमा होमिन घरबाट अनुमति थियो त ?
मेरो बुबा, आमा निकै रुढीवादी खालको हुनुहुन्थ्यो । शैक्षिक टुरबाट आएपछि बुबाले ‘यसले लिम्बुनीले पकाएको खाई, यसलाई चुलोमा पस्न नदे’ भनेर आमालाई भन्नुभयो । आमाले ‘नुहाइधुवाइ गरेर पस्, तैँले नसघाए मलाई कसले सघाउनु’ भन्नुभयो । मैले त्यसै गरेँ । मेरो दाजु (काजी श्रेष्ठ) पनि प्रगतिशील हुनुहुँदो रहेछ । दाजुको कोठामा जाँदा धेरै किताब देखेँ । मैले सबै चोरेरै पढेँ । त्यसक्रममा मैले महिलामुक्तिसँग सम्बन्धित पुस्तक पढेँ । ‘रातो लालटिन, र भायन भान रोयका किताब र ‘रेड बुक’ पनि पढेँ । त्यसपछि झापा विद्रोहको पक्षमा बोल्न थालेँ । 

दाजुलाई प्रहरीले हिमाली भेगतिर लगेर पाँच महिनाजति ‘होम एरेस्ट’ गरेर राखियो । दाजुलाई प्रहरीले पक्राउ गरेपछि बाबु–आमालाई रिस उठ्यो । मलाई राजनीतिमा खुलेर लाग्ने वातावरण बन्यो । बुबा–आमालाई ‘कन्भिन्स’ गरेँ । ‘जा, जे गर्न मन छ गर्, नारा लगा, जुलुसमा जा’ भनेर आमाले अनुमति दिनुभयो । बुबाले पनि रोक्नुभएन । त्यही वेला मलाई पनि ताप्लेजुङबाट प्रहरीले पक्रियो । बुबा मलाई चौकीमा भेट्न आउनुभयो । प्रहरीसँग उहाँले ‘मेरी छोरी नराम्रो काम गरेर, चोरेर, ढाटेर आएकी हैन, बस् आनन्दले । पछि छुटेर आउलिस्’ भन्नुभयो ।   

अहिलेसम्म झापा विद्रोहलाई नै आदर्श मान्नुहुन्छ ? त्यसपछि भएका आन्दोलन, समूह तथा विद्रोहलाई कसरी लिनुभएको छ ? 
झापा विद्रोहमा पाँचजना (रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठ) नेताले बलिदान दिनुभयो । यसले एउटा राजनीतिक चेत, दमनप्रतिको विद्रोहको भावना जागृत गर्‍यो । तर, व्यक्ति हत्याबाट परिवर्तन सम्भव छैन भन्ने चेतसँगै पार्टीले समयमै ‘करेक्सन’ गर्‍यो । शान्तिपूर्ण आन्दोलनलाई मार्गदर्शन बनायो । ‘को–अर्डिनेसन’ केन्द्र थियो, पछि नेकपा बन्यो । नेकपाबाट नेकपा माले बन्यो । यो करेक्सन हुँदै आएको पार्टी हो । म मालेतिर लागेँ । 

पार्टीभित्र त्यतिवेला महिलाका विषयमा कसरी छलफल हुन्थ्यो ? 
०३७ सालमा महिला संघ गठन भयो । संघमा मलाई पनि लैजाने कि भन्ने छलफल पार्टीमा भयो । तर, म टाउकोको मूल्य तोकिएको मान्छे भएकाले हिँडडुल गर्न कठिन हुने निष्कर्ष निकाल्दै पार्टीले मलाई संगठित नगर्ने निर्णय गर्‍यो । संघमा शान्ता मानवी अध्यक्ष, स्वस्ति बज्राचार्य उपाध्यक्ष, राधा ज्ञवाली सचिव, शोभा कट्टेल, जया घिमिरे, कमला राई र सन्जिता रावल सदस्य हुनुभयो । मैले पूर्वका सबै जिल्लामा भूमिगत रूपमै काम गरेँ । सुरक्षाका कारण ०३९ सालमा मलाई पूर्व छोडेर पश्चिममा खटाउने निर्णय भयो । त्यसपछि म संघमा आबद्ध भएँ । ०४६ सालमा बहुदल आउनुअगाडि कीर्तिपुरमा पहिलो ‘अन्डर ग्राउन्ड’ सम्मेलन गर्‍यौँ ।

सम्मेलनमा पार्टीले मलाई अध्यक्ष उठ्नु र पूर्णशोभालाई महासचिव दिनू भन्ने निर्देशन दिएको थियो । पार्टीले अष्टलक्ष्मी शाक्यलाई इलाम र ताप्लेजुङको जिम्मेवारी दिएको थियो । इलामबाट काठमाडौं सम्मेलनमा आउने क्रममा प्रहरीले अष्टलक्ष्मीजीलाई म भनेर इलाम बसपार्कबाट पक्राउ ग¥यो ।  मैले अष्टलक्ष्मीजीलाई अध्यक्ष र आफूले उपाध्यक्ष राख्ने निर्णय गरेँ । त्यसपछि पार्टीले मलाई निर्देशन नमान्ने ‘अराजक’ भनेर बुझ्यो । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरेँ’ मलाई अहिले पनि त्यो वेला ठीक गरेँ भन्ने लाग्छ । 

एक शीर्ष नेताले बैठकमै भने– लोग्नेको सम्पत्ति पाएपछि, यी आइमाईलाई किन चाहियो माइतीको सम्पत्ति ?

त्यसपछि पार्टीले तपाईंलाई विश्वास गर्न छाडेको हो ? 
हो, त्यसपछि पार्टीले मलाई विश्वास गरेन । त्यो घटनापछि पार्टीले मलाई ‘इग्नोर’ गर्‍यो । पछि त मलाई पार्टीले फ्याक्सन कमिटीबाट पनि निकाल्यो । मैले सबै नेतालाई भेटेँ । म कसरी अयोग्य भएँ भनेर सोधेँ । शीर्ष नेतृत्वलाई सोध्यो भने ‘अशोकलाई सोध’ भन्ने जवाफ आउने । असाध्यै रिस उठ्यो, म राजनीतिमा अशोक राईलाई सोधेर लागेको थिइनँ नि । मेरा निम्ति अशोकजी बाधक हो भने आजै यही पार्टी कार्यालयमा ‘डिभोर्स’ दिन्छु भने । त्यसपछि म पद र भूमिका माग्न नेताको ढोका चहार्न छोडेँ ।

महिलाका विषयमा संवेदनशील भएनन् भने आन्दोलन कमजोर बन्दै जान्छ । अहिलेको स्थिति त्यस्तै हो । जो ‘एस म्यान’ बन्छ उही पार्टीको रोजाइमा पर्छ । मुलुकीसंहिता ल्याउने वेला एकजना शीर्ष नेताले ‘लोग्नेको सम्पत्ति पाएपछि, यी आइमाईलाई किन माइतीको सम्पत्ति चाहियो’ बैठकमै भनेका थिए । यस्तो मानसिकता छ । म राजनीतिमा अशोकजी भन्दा सिनियर हुँ । मलाई अझै पनि अशोककै श्रीमती भनेर हेरिन्छ ।

त्यसो भए यसको समाधान कसरी हुन्छ त ? 
पहिलो कुरा त राजनीतिक रूपमा जुन विचारधारालाई माने पनि महिलाबीच एकता हुनुपर्‍यो । महिलाका जल्दाबल्दा विषय के–के हुन् विचार–विमर्श हुनुपर्‍यो । ‘महिला पद र हैसियतका लागि ‘एक म्यान’ बन्न छोडेर वर्गीय ‘इस्यु’मा एक हुनेबित्तिकै फरक पर्छ ।   

कम्युनिस्ट पार्टीका शीर्ष नेताले प्रायः काठमाडौंका नेवार समुदायका महिलालाई जीवन संगिनी बनाएको देखिन्छ । यो पार्टीको नीति नै थियो कि संयोग मात्रै ?

हामी गाउँदेखि केन्द्रसम्म राजनीतिमा आबद्ध सबै ‘फस्ट जेनेरेसन युथ’ थियौँ । गाउँको राजनीति गर्न गाउँनै बस्नुपर्‍यो, केन्द्रको राजनीतिका लागि काठमाडौं नै आउनुपथ्र्यो । त्यतिवेलाका हाम्रा नेताका सेल्टर नेवारका घर थिए । नेताहरूको बढी आउजाउ काठमाडौं भयो । त्यहाँ नेवार समुदायका घर थिए ।  फेरि उनीहरूका घर भित्र–भित्र गल्लीमा हुन्थे । लुक्न, भाग्न सजिलो थियो ।

नेतालाई यसो कहिलेकाहीँ ‘ऐला र छोइला’ पनि चल्थ्यो । नेताहरूको घरबेटीसँग, उनीहरूका छोरी–चेलीसँग ‘इन्टर्‍याक्सन’ भयो । सम्बन्ध नजिकियो । कसैको घर–परिवारको सहमतिमा बिहे भयो । कसैको विरोधमै बिहे भयो । जो–जोले नेवार समुदायका महिला बिहे गर्नुभयो उहाँहरू सबै राजनीतिमा सक्रिय नेता हुनुहुन्थ्यो, पुरुष पनि र महिला पनि । 

मैले त्रिभुवन विश्वविद्यालय छोड्दा (०३४ साल) मा रवि चित्रकार (झलनाथ खनालकी श्रीमती) सुजाजी र म महिला कमिटीमा थियौँ । राधिका शाक्य पनि कमिटेडनै हुनुहुन्थ्यो । अष्टजी पनि नेतृत्वमै हुनुहुन्थ्यो । आफैँबाट परिवर्तन नगरेसम्म समाजलाई परिवर्तन गर्न सकिन्न भन्ने सोचाइले हामी सबैले केही समयको अन्तरालमा प्रायः सबैले ‘इन्टरकास्ट म्यारिज’ गर्‍यौँ । 

अशोक राईसँगको सम्बन्ध र उहाँलाई यहाँसम्म पुर्‍याउन तपाईंको योगदान तथा त्याग कति छ ? 
उहाँ (अशोक राई) पाहुना हो । घरको काम मैले नै गर्नुपर्छ । उहाँले मैले गर्छु भनेको हुँदैन भन्नु भएको छैन । अशोकजीमाथि मेरा योगदान कति छ त्यो समाजले देख्ने हो, मूल्यांकन गर्ने हो । ०४८ सालको निर्वाचनमा दुवैजनाले उम्मेदवारी दिने कुरा भयो । दुवैजना उठ्दा खर्च व्यहोर्न सकिन्न भन्ने भयो ।  तर, को पछि हट्ने त ? उहाँले तिमी उठ म ब्याक हुन्छु भन्नुभएन । पार्टीले पनि पछि कुनै जिम्मेवारी दिएन ।