• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ज्वालामुखी लामिछाने
२०७६ चैत १ शनिबार ०९:३८:००
सम्झना

मेरी डेसेनलाई पत्र

चिठी

२०७६ चैत १ शनिबार ०९:३८:००
ज्वालामुखी लामिछाने

प्रिय दिदी नमस्कार,
फागुन १७ गते ‘झन् नयाँ’मा प्रकाशित तपाईंको अन्तर्वार्ता पढ्ने अवसर मिल्यो । वैचारिक कोणबाट हेर्दा त्यो अन्तर्वार्ता यति सशक्त लाग्यो कि यति एउटा चिर्कटो नलेखी बस्नै सकिनँ । प्रिय दिदी, दुनियाँभरकै ‘समृद्ध’ मुलुक ठानिने संयुक्त राज्य अमेरिकामा बसेर पनि नेपालको एउटा दुर्गम गाउँले भोग्नुपरेको ‘समृद्धि’को दृश्य ठ्याक्कै उस्तै देख्न सक्ने तपाईंको दृष्टिचेतको लोभ लागेको छ, मलाई । (आजकल त लामो समय भयो, उतै बस्न लाग्नुभएको ।)

तपाईंको निकै लामो अन्तर्वार्ताको पूरै चिरफार गर्न म सक्दिनँ । तर, मेरो गाउँले भोगिरहेको समृद्धिका बारेमा केही बोल्नु नै मेरो पत्रको उद्देश्य हो । म तपाईंलाई यो बताउन चाहन्छु कि तपाईंले अन्तर्वार्तामा नेपालबारे गर्नुभएको व्याख्यासँग मेरो गाउँको परिस्थिति कसरी ठ्याक्कै मिलेको छ ! विकासको नाममा भएको स्रोतको दोहन अनि भाषा र संस्कृतिको नाममा भएको नाटक मञ्चन बडो कहालीलाग्दो छ, यहाँ ।

लगभग १५५ वर्गकिलोमिटर क्षेत्रफल रहेको मेरो नगरपालिकामा १३ वटा वडा छन् । केही समयअघि एउटा समाचार निकै लोकप्रिय बनेको थियो– बेलकोटगढी नगरपालिकामा २१५ वटा बाटोको एकैपटक उद्घाटन । फरक–फरक समयमा उद्घाटन हुँदा लाग्ने खर्च कम भएको कारण मात्र यो कार्यको प्रशंसा गरिएको थिएन, बरु यसर्थ पनि गरिएको थियो कि अब टोलैपिच्छे सडक पुग्ने भयो । हामी ढुक्क हुँदा हुन्छ, यी सडक निर्माण गर्दा जंगल, जल, जमिन र बस्तीमा पर्ने दूरगामी असरबारे नगरपालिकाले कुनै अध्ययन गरेको छैन । यस्तो अध्ययन सायद समृद्धिको यात्रामा घातक हुन्छ होला !

मैले झन्डै पाँच वर्षदेखि पढाउँदै आइरहेको यही नगरपालिकाको मालिका माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीमध्ये झन्डै ६० प्रतिशत संख्या तामाङ समुदायको छ । ती कुनै पनि विद्यार्थी तामाङ भाषा जान्दैनन् । उसो त ती विद्यार्थीका बुबाआमासमेत यो भाषा जान्दैनन् । विडम्बना त यो छ कि ती आमाबुबालाई आफूले या आफ्ना बालबच्चाले आफ्नो भाषा नजानेकोमा कुनै फिक्री छैन । तर, अंग्रेजी भाषा नजानेकोमा ठूलो पछुतो चाहिँ छ ।

३२ प्रतिशत जनसंख्या तामाङ रहेको नगरपालिकाले आधारभूत तहसम्म मातृभाषामा शिक्षा पाउने संविधानप्रदत्त बालअधिकारको चिहान खन्दै छ । र, उक्त चिहानमाथि उभिएर प्रारम्भिक तहदेखि नै शिक्षाको माध्यम भाषा अनिवार्य अंग्रेजी बनाउने नीति पारित गर्छ अनि व्यापारीको भाँती आफैँ अंग्रेजी भाषामा लेखिएका पाठ्यपुस्तक प्रत्येक विद्यालयलाई वितरण गर्छ ।

झन्डै ५ किलोमिटर दूरी दैनिक पार गरी विद्यालय जाँदा मेरा आँखाले नियमित देख्ने दृश्यमा पर्छ, भग्नावशेष हुन नसकेर अडिएका, सडक चौंडा बनाउने क्रममा अग्लो कान्लामाथि आधा पिँढी झरेर पनि कान्लाको फर्सीझैँ झुन्डिरहेका दलितका घरहरू अनि तल आँखाले देखुन्जेल पुरिएका तिनै दलित र अन्यका गरी खाने सुर्का (चौडाइ अति कम भएका र कान्ला अग्ला भएका) बारीहरू । लगभग प्रत्येक दिन बाटोमा भेटिन्छन् जयराम बास्कोटा दाजु, जसको निकै अब्बलको मानिने खेत तल र माथि पर्ने दुइटा गाउँमा सडक सुविधा पुर्‍याउँदा तल्लो सडकले काट्दा र माथिको सडकले पूर्दा पूर्ण रूपमा सकिएको छ ।

समृद्धिको रमिता यति नै हुँदो हो त अझै चुप बस्न सकिन्थ्यो । त्यतिखेर ग्लानिले सीमा नाघ्छ, जतिखेर कलिला विद्यार्थीको मुहारमा राहदानी र यसका लागि पुग्नुपर्ने न्यूनतम उमेरको प्रतीक्षा मात्र परावर्तन भइरहेको देखिन्छ । यता सरकारले पाठ्यपुस्तकको माध्यमबाट देशभक्ति पढाउन छाडेको छैन । चुच्चे रेल कुदाउन हिमाली जैविक विविधतायुक्त सिमसार र पाखाहरूमा डोजर कुदाउने वेलासम्म पनि मेरा विद्यार्थीलाई सरकारी देशभक्तिले देशमा अड्याउन नसक्ने अवस्था आएको छ ।

विश्वका चार–पाँचवटा कम्पनीले ६० प्रतिशतभन्दा बढी कृषिबिउ तथा ७० प्रतिशतभन्दा बढी विषादी उत्पादन गर्छ भन्ने सूचना मैले तपाईँको अन्तर्वार्तामा पढेँ । त्यो थाहा पाउँदा मलाई कुनै आश्चर्य लागेन । लामो समयदेखि यस गाउँमा प्रयोग भइरहेको रैथाने बिउ–बिजन उहिल्यै लोप भइसकेको र पूरै गाउँको कृषि नै उक्त कम्पनीको ढाडमा बोकिएर कुदिरहेको दृश्यले पनि हाम्रा आँखा पोल्दैनन् आजकल । बरु कतिखेर ती कम्पनीले सीमित स्वार्थका लागि ढाड हल्लाइदिने हो र ढाडमा बोकिएको कृषिको इहलीला समाप्त हुने हो भन्ने भयले भने कहाली लाग्छ । थप पीडा त त्यतिखेर हुन्छ, जतिखेर सरकार नै यी कम्पनीका प्रोमोटर बनिदिन्छ ।

करोडभन्दा माथिको लगानीमा दुइटा भ्यु टावर बन्दै छ यहाँ । सबैभन्दा अग्ला चुचुरोमा बनाइँदै छ भ्यु टावर, कपाल झरेर टाउको नांगै भएको व्यक्तिले काइँयो बोकेजस्तो । जंगलको बिचोबिच डोजरको ताण्डव नृत्य देखाइँदै छ र भनिँदै छ कि भ्यु टावर निर्माणका लागि चुचुरोसम्म नै सडक अनिवार्य छ । सुन्दर चुचुराहरूको सौन्दर्यको त मलाई चिन्ता छैन, बरु चिन्ता यी चुचुराबाट उत्पन्न भएका पानीका मुहानको छ ।

अनि चुचुराको तल रहेको बस्तीको छ । जन्मदिनमा केक काटेर पार्टी मनाउने र त्यही पार्टीबाटै प्रगतिशील संस्कृतिका पक्षधरलाई विदेशी दलाल करार गर्ने काम त धेरै उदेकलाग्दो रहेन अब । बरु केकले कोदो र फापर विस्थापन गरी उल्टै हामीलाई सभ्य बन्न सिकाइरहँदा भने खपिनसक्नु पीडा हुन्छ ।

समृद्धिको रमिता यति नै हुँदो हो त अझै चुप बस्न सकिन्थ्यो । त्यतिखेर ग्लानिले सीमा नाघ्छ, जतिखेर कलिला विद्यार्थीको मुहारमा राहदानी र यसका लागि पुग्नुपर्ने न्यूनतम उमेरको प्रतीक्षा मात्र परावर्तन भइरहेको देखिन्छ । 

प्रीय दिदी, अध्ययन र चिन्तनले खारिएको तपाईंको मस्तिष्कले १०० या २०० वर्ष परको दृश्य कल्पना गर्न सक्छ र नै तपाईं इकोसोसियलिज्म या पर्यावरणीय समाजवादको अनिवार्य आवश्यकताबारे प्रस्ट हुनुहुन्छ । पृथ्वी मानवको मात्र पेवा होइन, सबै कीटपतंगको साझा सम्पत्ति हो भन्ने बुझ्नेहरूको संख्या नै पो कति होला र यहाँ ? यहाँ प्रयोग भइरहेको समृद्धि कुन मोडलको हो भन्ने चासो गाउँलेलाई किन परोस् र ?

आफ्नो वर्तमान आवश्यकताको परिपूर्ति नै जीवनको अल्टिमेट लक्ष्य हो, प्रायः गाउँलेहरूको । भविष्यमा हुने विनाशबारे हामी सोच्न सक्दैनौँ । सरकार नै समृद्धिको नाममा स्रोत र साधनको दोहनमा आज्ञाकारी शिष्यझैँ पुँजीवादको आदेश पालन गरिरहेको दृश्य त विद्वान्को आँखाले देख्छ । आममानिसको आँखाले देख्ने त बाटो हो, पुल हो, ठुल्ठूला भवन हुन् । यो स्थितिमा हामीले गर्नुपर्ने के हो भन्ने प्रश्न सबैभन्दा अहं प्रश्न होइन र ?

कम्युनिस्ट विचारधारालाई नै जीवन दृष्टिकोण बनाउनुभएको तपाईंजत्तिको विद्वान्बाट योभन्दा तीव्र गतिको क्रियाशीलताको अपेक्षा गर्न त पाइन्छ नै होला । तपाईंको त्यो ज्ञान र चेतना यसरी कहिलेकाहीँ मात्र प्राप्त हुने जोमसोमको वर्षाजस्तो नभइदिए हुन्थ्यो कि ? बरु अविरल बर्सिरहे मेरो गाउँको पर्यावरणीय सन्तुलन थप खराब हुनबाट जोगाउन सकिन्थ्यो कि ? मेरो गाउँजस्ता थुप्रै गाउँ थप बर्बाद हुनबाट बच्दा पृथ्वीमा मानव अस्तित्व पक्कै लम्बिन्छ होला नि हगि दिदी ?

पत्र लामो भइसक्यो । अन्त्यमा एउटा विषयबारे तपाईंको अन्तर्वार्ता मौन बसेको अनुभूत गरेको छु । मानवजाति र समग्र प्राणीजगत्को हितमा हुने समाजवादको वकालत गर्ने कम्युनिस्ट आन्दोलनमा पर्यावरणीय मुद्दा किन देखिने गरी सतहमा नआएको होला ? उत्पादनको प्रचुरतापछि मात्र समाजवादको कल्पना गर्न सकिने भन्दै प्रचुर उत्पादनका लागि स्रोत र साधनको दोहनमा संलग्न भइरहेको त छैन यो आन्दोलन ?

हुन त पुँजीवादको चरम विकासपछि मात्र समाजवाद आउने सूत्रको खण्डन तपाईंले गरिसक्नुभएको छ । तर पनि कम्युनिस्ट आन्दोलनमा पर्यावरणीय मुद्दा अनौठो लाग्ने गरी कम सुनिनुले परिस्थिति थप जटिल बन्दै गएको महसुस हुन्छ । तपाईंले सटिक तरिकाले भन्नुभएको छ– पुँजीवादको दुष्परिणामलाई बेवास्ता गरेर जतिसक्दो छिटो सम्पत्ति कुम्ल्याउने र त्यसैलाई नै विकास र समृद्धि भनिदिने । अझ यो पनि भन्नुभएको छ कि समृद्धिको अभियानमा देखापरिरहेको पर्यावरण खल्बलिएको संकेतलाई सामान्य समस्याका रूपमा लिने र पश्चिमा पुँजीवादी विकासको धारणाभित्रै रहेर पृथ्वीलाई शोषण गरी नितान्त प्राविधिक समाधान निकाल्ने । लामो व्याख्या आवश्यक पर्ने विषयलाई पनि सूत्रात्मक रूपले अभिव्यक्त गर्नुभएको छ, तपाईंले ।

तपाईंका आगामी दिन थप ऊर्जाशील बनून् । 
धन्यवाद !
नुवाकोट, झिल्टुङ