• वि.सं २०७६ चैत २८ शुक्रबार
  • Friday, 10 April, 2020
२०७६ चैत ८ शनिबार ०९:५६:००
रिपाेर्ट

मधेसी दलित महिला भन्छिन्- १७ वर्षमै तेस्रोपटक गर्भवती भएँ

२०७६ चैत ८ शनिबार ०९:५६:००

केही समयअघि बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लाहरूमा पुग्दा भेटिएका प्रतिनिधि कथा हुन् यी । उनीहरूले आफ्नो नाम भन्न चाहेननन् । तर उनीहरूले भनेका आफ्ना जीवन–कथालाई उदाहरणका रुपमा लिन सकिन्छ :

..........

‘भर्खर भित्र्याएकी दुलही सासूसँगै मेरो पसलमा आउँदा मैले घुम्टो खोल्न अनुरोध गरेकी थिएँ । तर, सासूले बुहारीले घुम्टो खोली भने घरको इज्जत जाने कुरा गर्दा म एकछिन त अलमल्ल परेँ ।’

‘मेरो घर वीरगन्ज हो ।  त्यहाँ सबै सुविधा छ । स्कुल–कलेज छ । तर, मेरो टोलका कोही दिदीबहिनी पढेका छैनन् । मेरो टोलका छरछिमेकले भन्ने गर्थे, ‘छोरीहरूलाई किन पढाउने ?  छोरीहरू जान्ने हुन्छन्, बरु बिहे गराइदिनुपर्छ ।’ तर, मेरा बाबाले हामी सबै छोराछोरीलाई पढाइ दिनुभयो । म स्टाफ नर्स बन्न चाहन्थेँ । बुबासँग कुरा राख्दा बुबाले ‘अब छोरीलाई किन पढाऊँ ? जति पढाउनु थियो पढाएँ, अब म छोराहरूको उच्च शिक्षामा खर्च गर्छु’ भन्नुभयो । म केही बन्ने समय आएको थियो, त्यतिवेला मेरो बिहे गराइदिनुभयो ।’

‘म अहिले १८ वर्षकी भएँ । मेरो विवाह १४ वर्षमै भयो । बिहेको एक वर्षमै म आमा भएँ । १५ वर्षको उमेरमै गर्भधारण गरेकाले समस्या भयो । त्यसलगत्तै अर्की छोरी जन्मिइन् । परिवारमा छोराको चाहनाले १७ वर्षको उमेरमा म तेस्रोपटक गर्भवती भएँ । तर, उमेर सानो अनि हरेक वर्ष गर्भधारण गर्दा मेरो पाठेघर खस्यो । मैले एक–दुई महिना त लाजकै कारण रोग लुकाएर बसेँ । निकै समस्या आउन थालेपछि भर्खर मात्र स्वास्थ्य चौकी गएर उपचार गरेँ ।’

‘म दलित महिला । यो पहिचान मलाई हरेक क्षण याद गराइन्छ । जब मैले प्रहरीका लागि प्रशिक्षण लिइरहेकी थिएँ, म कक्षामा एक मात्र केटी थिएँ । तर, महिलाको नियति घाँस दाउरा र चुलोचौको मात्र हो भन्ने कुरा मैले कहिले पनि विश्वास गरिनँ ।’

‘म दलित महिला । यो पहिचान मलाई हरेक क्षण याद गराइन्छ । जब मैले प्रहरीका लागि प्रशिक्षण लिइरहेकी थिएँ, म कक्षामा एक मात्र केटी थिएँ । प्रहरी पेसा, पुरुषको मात्र ठान्ने केटाहरूले म आफ्नो स्थानबाट बाहिर जाँदै छु भनेर जिस्क्याए । तर, महिलाको नियति घाँस दाउरा र चुलोचौको मात्र हो भन्ने कुरा मैले कहिले पनि विश्वास गरिनँ ।’
०००
‘समता फाउन्डेशन’को युथ एम्ब्यास्डरका लागि ‘लैंगिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार’बारे तालिमका क्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा भेटिएका प्रतिनिधि कथा हुन् । यी कथाहरूले सामाजिक संरचना र दृष्टिकोण बुझ्न सघाउँछ । यसले महिलामा अब परापूर्व कालदेखिको सोचलाई परिवर्तन गर्नुपर्छ भन्ने भाव जागिसकेको संकेत गर्छ । 

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । ‘म समानता पुस्ता : महिला अधिकार स्थापनाका लागि अग्रसर !’ नाराका साथ ११०औँ अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि मनाइयो । 

दिवस मनाइरहँदा नेपालमा भने महिला भएकै कारण त्यसमा पनि मधेसी दलित भएकै कारण दिनहुँ कैयौँ महिला हिंसाका सिकार भइरहेका थिए र छन् । पितृसत्तात्मक मानसिकता, सबै महिलासरह खेप्नुपर्ने लैंगिक पीडा र दलित पुरुषबाट पनि खेप्नुपर्ने चर्को यातना र शोषण यी सबै मधेसी दलित महिलाले भोग्नुपरेका उत्पीडन हुन् ।

बालविवाह, दाइजो प्रथा, घुम्टो प्रथा, विवाह पछि घरेलु हिंसा, मानसिक यातना, कुटपिट र विनामन्जुरी विवाह आदि मधेसी दलित महिलामाथि देखिएका हिंसाहरू हुन् । लैंगिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य महिलाको मानवअधिकारमा छुट्याउन नमिल्ने विषय हो । महिला, दलित महिला त्यसमा पनि मधेसी दलित महिलाको लैंगिक हिंसा र प्रजनन स्वास्थ्यको अवस्था हेर्ने हो भने निराशाजनक छ । यसको प्रमुख कारण बालविवाह, बहुविवाह, बोक्सीको आरोप, यौनशोषण, यौन दुव्र्यवहार, पितृसत्तात्मक मानसिकता, जबर्जस्ती करणी, कुटपिट, डर–धम्की र त्रासपूर्ण व्यवहारलगायत हुन् ।

यौन तथा प्रजनन स्वास्थ्यको अधिकारमा आत्मनिर्णयको अधिकारको विशेष महत्व देखिन्छ । सामाजिक संरक्षणका लागि लैंगिक हिंसाविरुद्ध एकीकृत सेवा दिन जिल्ला अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । जहाँ लैंगिक हिंसाका पीडितलाई आश्रय दिने, घाइते भए उपचार गर्ने, सामाजिक मनोविमर्श दिने, कानुनी सल्लाह उपलब्ध गराउने र पुनस्र्थापनाका लागि पहल गर्ने काम हुन्छ ।  

एम्नेस्टी इन्टरनेसनलले फागुन (मार्च २०१३) बाट संसारभरि नै मेरो शरीर, मेरो अधिकार : यौन तथा प्रजनन अधिकार मेरो मानव अधिकार अभियान सुरुवात गरेको हो । यो अभियान बृहत् र एकीकृत रूपमा यौन तथा प्रजनन अधिकारबाट सबैले कुनै पनि करकाप र डरबाट मुक्त भई विभेदरहित पूर्ण रूपमा अधिकारको  प्रयोग गर्न पाऊन् भन्नका लागि थालनी गरिएको हो । मधेसी दलित महिला अझै पनि त्यो अधिकारबारे अनभिज्ञ छन् ।  

विवाहपछि ‘मेरो शरीर श्रीमान्कै हो’ भनेर परापूर्वकालदेखिको सोचलाई निरन्तरता दिन महिला नै अगाडि सरिरहेका छन् । अधिकारको कुरा गर्दा आफु श्रीमानसँगै जीवन बिताउने, श्रीमानसँगै आफ्नो जीवन जोडिएको छ भन्दै ‘मेरो शरीर मेरो अधिकार’जस्ता अभियानलाई बेवास्ता गरेर हिंसाजन्य जीवन बाँच्न बाध्य छन् ।

शरीरमाथि आफ्नो स्वामित्व र अधिकार हुनु मानवअधिकारको प्रमुख पाटो हो भन्ने प्रत्येक महिलाले जान्नुपर्छ । यी अधिकार बारे आवाज नउठाउँदा गर्भधारण, यौनरोग तथा एचआइभी-एड्सको संक्रमण, असुरक्षित गर्भपतन, पाठेघर खस्नु, रक्त अल्पता, सानै उमेरमा गर्भवती हुनु, फिस्टुलाको समस्याका साथै मानसिक स्वास्थ्य समस्या आदि मधेसी दलित महिलाले भोगिरहेका समस्या हुन् ।

नेपालको संविधान ०७२ को मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हक व्यवस्था गरिएको छ । जसअन्तर्गत महिलाको हक :

– प्रत्येक महिलालाई लैंगिक भेदभावविना समान वंशीय हक हुनेछ । 

– प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक हुनेछ र लैंगिक पहिचानको आधारमा भ्रूण हत्या गर्ने कार्य कानुनबमोजिम दण्डनीय हुनेछ । 

– महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको     हिंसाजन्य कार्य वा शोषण गरिनेछैन । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । 

नेपालमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग आदि संरचनागत लैंगिक विभेद उन्मूलन गर्ने उद्देश्यले व्यवस्था गरिएका छन् । राज्यले हिंसा न्यूनीकरणका लागि पहल नगरेको हैन । तर, परिणाममा भने हिंसाजन्य विभेद, बालविवाह, यौनजन्य हिंसा जस्ताको तस्तै छ । यसको रोकथामका लागि स्थानीयस्तरबाट नै लैंगिक तथा यौनजन्य हिंसाबारे सचेतना कार्यक्रम, आमनागरिकमा जनचेतना जगाएर मधेसी दलित महिलालाई सशक्तीकरण गरेर संवैधानिक तथा कानुनी व्यवस्थाद्वारा राज्यले नीतिगत कार्यक्रम सञ्चालन गर्नुपर्छ  । 

समग्रमा लैंगिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा मधेसी दलित महिलाको अवस्था दयनीय छ । सामाजिक संरचनामा शिक्षा, स्वास्थ्य, रोजगार, सम्पत्ति र निर्णय प्रक्रियामा महिलाको कम पहुँच छ नै, त्यसमा पनि मधेसी दलित महिलाको पहुँच अझ न्यून देखिन्छ । 

पुरुषप्रधान संरचनाका कारण स्रोत परिचालन र शक्तिको प्रयोगमा मधेसी दलित महिला अवसरबाट वञ्चित छन् । यो दलित महिलामाथि भएको विभेद, अवहेलना र हिंसाको अवस्था हो । महिलाको मानवअधिकार हननको अवस्था हो । मधेसी दलित महिलालाई सशक्त र स्वावलम्बन भएर जीवनयापन गर्न महिला आफैँ अग्रसर भएर अवसरको खोजीमा लाग्नुपर्छ । परिवर्तन आफैँबाट हुने भएकाले कुनै संघसंस्थाले आयोजना गरेको कार्यक्रम वा तालिममा सक्रिय सहभागी भई आफ्नै गाउँठाउँमा गएर तालिममा सिकेका कुराले महिलाले आफ्नै परिवारबाट परिवर्तनको सुरुवात गर्नुपर्छ ।