• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मनोज विश्वकर्मा
२०७६ चैत ८ शनिबार ११:५०:००
साहित्य

सम्झनाको जंगल

कविता 

२०७६ चैत ८ शनिबार ११:५०:००
मनोज विश्वकर्मा

सम्झनाको जंगलमा छिर्छु
बाघभालुहरू रक्ताम्मे नंग्रा देखाउँदै आउँछन्
सिकारहरू गिद्धको चुच्चोलाई धारे हात लाउँछन् 

सम्झनाको जंगलभित्र 
लु छिर
र हेर
–विष्टिनीले सात ठाउँमा 
अनुहार कोतर्दा र कपाल लुछेर 
रक्तमुछेल पार्दाको चित्कार 
उ... त्यही सार्वजनिक धारा छेउछाउमै निस्सासिएको छ

अहिले पो बहुराष्ट्रिय कम्पनीले बनाउँदै घाउ
नाइनलको टाका मार्छ देशलाई
उहिले
दमाई दाइको उ...त्यही सियोले हो
–सिएको उध्रिएको यो देश !

सार्की दाइको उ....त्यही हातले फ्याँकेको हो
मृत पशु–लाश
र त पृथ्वी नै कुहिए जसरी गन्हाएन ‘तिम्रो पूजाकोठा’
नत्र तिम्रो ईश्वर
मन्दिर छाडेर उहिल्यै भागिसक्थ्यो !

त्यता हेर यारहरू
त्यो सुकुम्बासी बस्तीमा
-यालसिँगानको अमूर्त रंगले
देशको वीरता आफ्नै अनुहारमा 
कोरिरहेको बच्चालाई हेर
यो देशको प्रत्येक वडा कार्यालयको भुइँमा
त्यो ‘डोम’ बच्चाले कति सफा कोर्छ समृद्धिको अनुहार हेर !

यो देशको राष्ट्रिय झन्डा पनि हेर
यसको छातीको रक्तिम रंग
बादी पाठेघरबाट चुहिएकै रगतको रंग हो ।
याद छ यारहरू
हामीले एकसाथ छोएका थियौँ
–नाइल नदीको किनार र सिन्धु धर्तीको माटो
तिमीले ‘मनुस्मृति’ बनाएपछि नै हैन
ध्वस्त भएको हाम्रो ‘साझास्मृति’ ?

सम्झनाको जंगलमा
अभाव जस्तो टाँस्सिएको थिएछ माटोको गीत ।

तर, उ त्यहाँ हेर
संविधान पनि ब्लेड बोकेरै
आएको छ हाम्रा लागि
त्यही विभेदको ब्लेडले कोपरेर
आज पनि बग्छ 
रातो आँसु हाम्रो आँखाबाट !

यस्तो थिएछ सम्झनाको जंगल
जब जब
सम्झनाको जंगलमा छिर्छु
बाघभालुहरू रक्ताम्मे नंग्रा देखाउँदै आउँछन्
सर्पहरू राजा र छोटेराजाको लिंगजस्तै उत्तेजित बन्छन्
दाह्रा किट्दै पुच्छरमा अड्किन्छ आदिम पुर्खाको लभ लेटर !

हामीले हात समातेर हिँडेको पाइतालाको डोब 
कता होला ?
कुन चाहिँ प्राक्–ऐतिहासिक छातीमा ?
त्यो उज्यालो छातीको देश हामीले हेर्नै खोजेनौँ
प्रिय यारहरू
एक दिन
त्यो उज्यालो छातीको देश फुटेर
सूर्य त निस्किन्छ निस्किन्छ
त्यतिविघ्न उज्यालो हेर्न नसकेर अन्धो नहुनु ।