• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
महेश पौड्याल
२०७६ चैत १६ आइतबार १४:०३:००
समाज

महामारीमा सडक बालबालिका कहाँ बस्ने ?

२०७६ चैत १६ आइतबार १४:०३:००
महेश पौड्याल

काेरोना भाइरसको संक्रमणले विश्वमा महामारीको रूप लिइरहँदा थुप्रै राष्ट्रप्रमुखका ‘राष्ट्रको नाममा सन्देश’ सुनियो । धेरै जिम्मेवार निकायबाट पत्रकार सम्मेलन गरिए । 

तमामौँ निर्देशिका, आदेश, अपिल र आग्रह जारी भए । चिकित्सकहरू बोलेको बोल्यै छन् । सामाजिक सञ्जाल यावत सुझाब र अर्तिले भरिएका छन् । सबैका कुरामा एउटा समानता भने छ । सबैले नागरिकलाई ‘घर’मै बसिरहन अनुरोध गरेका छन् । घरबाहिर रहँदा संक्रमणको जोखिम बढ्ने उनीहरूको दाबी छ । 
 
यी सबै सबै अर्तिहरूमा एउटा पूर्वकल्पना के गरेको देखियो भने सबै नागरिकका ‘घर’हुन्छन्, आफूलाई आइसोलेसनमा राख्न छुट्टाछुट्टै कोठा हुन्छन्, हात धुन धारामा पानी हुन्छ, साबुन वा स्यानिटाइजर किन्न पैसा हुन्छ । र माथिबाट निर्देशन दिएपछि सबै कुराको पालना हुन्छ । नत्र कर्फ्यु, गिरफ्तारी, कैद सजाय अथवा देख्दै गोली हान्ने विकल्प छँदै छ । 

तर, यी सबैले बिर्सिए–विश्वमा १५ करोड मानिसको कुनै घर छैन । डेढ अर्बसँग कुनै गतिलो आवास छैन । ‘घरै बस्नू’ भन्ने भाषा उनीहरू बुझ्दैनन् । तिनले कहाँ बस्ने ? हात कहाँ धुने ? के खाने ? यस्ता घर नहुनेमा ठूलो सङ्ख्या बालबालिकाको छ, जो रोगको मात्रै होइन, भोकको पनि जोखिममा बाँच्छन् । मौसमको कहर झेलेर बाँच्छन् । प्रदूषण पिएर बाँच्छन् । सडकमा वयस्कहरूबाट हुने अनेक प्रकारका यातना सहेर बाँच्छन् । मानव समाजबाट वहिष्कृत र तिरष्कृत भएर बाँच्छन् । सधैँ मनमा भय र त्रास लिएर बाँच्छन् । 

ठूला आपद्–विपद्मा उपेक्षित जनसङ्ख्याको नाम हुने गर्छ बालबालिका । घर भएका त अभिभावकसँग हुन्छन् । तर, घर नभएकाहरू केवल धरती वा आकाशसँग हुन्छन् । र, धरतीले नै विष प्रवाह गर्न थालेपछि अथवा आकाशले मृत्युवर्षा गर्न थालेपछि उनीहरूको जाने ठाउँ कहीँ हुँदैन ।

विश्वमा १५ करोड मानिसको कुनै घर छैन । डेढ अरबसँग कुनै गतिलो आवास छैन । ‘घरै बस्नू’ भन्ने भाषा उनीहरू बुझ्दैनन् । तिनले कहाँ बस्ने ? हात कहाँ धुने ? के खाने ? 

तिहास साक्षी छ, बालिबालिकाविना कुनै दोष र विनाकुनै कसुर समयका दुष्ट कहरहरूको निरीह सिकार हुने गरेका छन् । चाहे प्राकृतिक हुन् वा मानव निर्मित, ती कहरले धेरै बालबालिकाको जीवन चुँडेर लाने गरेको छ । बाढी, महामारी तथा भूकम्पजस्ता प्राकृतिक आपदा हुन् वा युद्ध, द्वन्द्व वा आतङ्कवादजस्ता मानव निर्मित आपदा हुन्, सधैँ उपेक्षाको सिकार हुने गरेका छन् बालबालिका । 

केही उदाहरण हेरौँ । पहिलो र दोस्रो विश्वयुद्धमा, विनाकारण करिब दुई करोड बालबालिका मारिए । ६ करोड घाइते भएको युनिसेफको तथ्याङ्क छ । यसमा पनि १५ लाख नाजीले यहुदीविरुद्ध चलाएको नरसंहारमा मारिएका थिए । जापानमा भएको परमाणु हमलामा मात्रै करिब सत्तरी हजार बालबालिका मारिए । 

त्यसपछि जन्मिने बालबालिका शारीरिक वा मानसिक अपाङ्गता लिएर जन्मिए । अल्पायुमै मरे । बितेको दशकमा मात्रै मध्यपूर्व र विश्वका अन्य मुलुकमा भएका युद्धमा परी बीस लाखभन्दा बढी बालबालिका मारिएको तथ्याङ्क छ । चालीस लाखजति घाइते भएको, र एक करोड बीस लाख विस्थापित भएको तथ्याङ्क छ । सिरियामा मात्रै विगतको एक दशकमा आठ हजारभन्दा बढी निर्दोष बालबालिका मारिएका छन् । युद्ध र द्वन्द्व मात्रै होइन, महामारीमा पनि बालबालिका सधैँ जोखिममा हुन्छन् ।

एक तथ्याङ्कअनुसार अचेल करिब करिब बिर्र्सिएको भनिएको निमोनियाको महामारीले मात्रै सन् २०१९ मा विश्वभरिबाट आठ लाख बालबालिकाको ज्यान लियो । जुन तथ्याङ्क, सन् २००० मा १७ लाख ५५ हजार थियो । आजको तथ्याङ्क हेर्ने हो भने विश्वभरि प्रतिदिन २२ सय बालबालिका यसै रोगका कारण मृत्युको मुखमा परिरहेका छन् । नाइजेरियामा मात्रै चार सय ५० बालबालिका यस रोगका कारण प्रतिदिन मरिरहेका हुन्छन् । सन् २०१८ मा करिब ६२ लाख बालबालिका कुपोषणका कारण मारिएको विश्व स्वास्थ्य सङ्गठनको रेकर्ड छ । 

आज पनि अफ्रिकाको सब–सहारा क्षेत्रमा कुपोषण बालबालिको मृत्युको एक प्रमुख कारण बन्ने गरेको छ । आजको मितिमा सुडानमा पाँच वर्षमुनिका सात लाखभन्दा बढी बालबालिका कुपोषणका सिकार छन् । जसमध्ये अढाई लाखको कुनै पनि समयमा मृत्यु हुन सक्ने बताइएको छ । एचभाइभी तथा एड्सबाट ग्रसित बालबालिकाको सङ्ख्या विश्वभरि १७ लाखको हाराहारीमा भएको अनुमान गरिएको छ । प्रतिवर्ष एकदेखि डेढ लाख बालबालिका यस रोगका कारणले मर्ने गरेको देखिएको छ । 

आजको अवस्थामा भन्ने हो भने विश्वभरि बालबालिकाको कुल जनसङ्ख्या करिब दुई अर्ब छ, जुन कुल मानव जनसङ्ख्याको करिब २४ प्रतिशत हो । अर्थात्, विश्वको कुल जनसङ्ख्याको करिब एकतिहाइ जनसङ्ख्या १५ वर्षमुनिका बालबालिकाको छ ।

विश्वभरि १५ करोड बालबालिका सडकमा छन् । त्यसमा पनि एक करोडभन्दा माथि भारतमै छन् । दशदेखि १५ लाख चीनमा छन् । ६ लाखजति बङ्लादेशमा छन् । नेपालमा भने यो सङ्ख्या पाँच हजारको हाराहारीमा रहेको बताइएको छ, जसमध्ये अधिकांश काठमाडौंका सडकमा छन् । कतिको आवासमा न्यूनतम पूर्वाधार पनि छैनन् । त्यो अनुमान गर्न कठिन छैन । सुकुमबासी टोलका बालबालिकालाई उदाहरणका लागि लिऔँ । 

बागमती किनारका सुकुमबासी टोलमै पनि हजारको हाराहारीमा स–साना बालबालिका रहेको तथ्यांक छ । काठमाडौंबाहिर पनि सुकुमबासी टोलको कमी छैन । त्यहाँ पनि ठूलो सङ्ख्यामा कष्टकर जीवनयापन गरिरहेका बालबालिको सङ्ख्या निश्चय नै ठूलो छ । काठमाडौंभरि न्यूनतम व्यवस्था पनि नभएका, पर्याप्त खुला ठाउँ नभएका र उचित सरसफाइको व्यवस्था नभएका कैयन बालगृह र आश्रम पनि छन् । त्यहाँ रहेका बालबालिकाको सङ्ख्या अहिले यकिन भन्न सकिँदैन । 

अहिले विश्वलाई आफ्नो चपेटामा लिएको कोभिड १९ कोरोना भारसको संक्रमणका सम्बन्धमा पनि बालबालिकाको सन्दर्भलाई बिर्सन मिल्दैन । बालबालिका भोट पनि हाल्दैनन्, पार्टी पनि चिन्दैनन् र सरकारलाई जस पनि दिँदैनन् भनेर यिनीहरूको वर्तमान र भविष्यमाथि खेलबाड अथवा लापरवाही गर्न मिल्दैन । आज बालबालिका साना होलान्, तर यिनै यस देशको भविष्य हुन् । हामीले आफ्नो दृष्टिअल्पताका कारण यिनको जीवन यिनका हातबाट छिन्यौँ भने समयले हामीलाई कहिल्यै माफ गर्ने छैन । 

हुन त अहिलेसम्म बाहिर आएका तथ्याङ्कले कोरोना भाइरसको बालबालिकामा संक्रमण अत्यन्त न्यून भएको देखाएको छ, तर जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकामाझ यो फैलियो भने त्यसको असर भयावह नहोला भन्न सकिँदैन । विश्वभरि देखिएको तथ्याङ्कलाई हेर्ने हो भने बालबालिकामा कोरोना देखिँदै नदेखिएको भने होइन । 

चीन, किर्गिस्थान, सिंगापुर, अमेरिका, भारत र बेलायतजस्ता देशमा केही शिशुमा यो भाइरसको संक्रमण भेटिएको र चीन, अमेरिका, बेलायतमा केही बालबालिकाको मृत्युसमेत भइसकेको सञ्चार माध्यमहरूमा आइसकेको छ ।

अवस्था प्रतिकूल हुँदा र देशै ठप्प भइरहँदा यी घरविहीन, परिवारविहीन, अभिभावकविहीन र आश्रयविहीन बालबालिकाका बारेमा सोच्नु राज्यको अहम् दायित्व हो । 

चीनमा एक सात महिनाका शिशु, र एकजना १४ वर्षीय किशोरको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । अमेरिकाको लान्चेस्टरमा १८ वर्षमुनिका एक किशोरको मृत्यु भएको खबर आएको छ । उता पानामामा पनि एक १३ वर्षीय बालिकाको यसै भाइरसका कारण मृत्यु भएको खबर छ । बेलायतको कोभेन्ट्रीमा पनि एक किशोरको कोरोनाका कारण मृत्यु भएको छ ।
 
अहिले उपचारमा पनि करिब दुई हजार बालबालिका रहेको अनुमान गरिएको छ । यस्ता बालबालिकको समाचार बाहिर आएको त छैन, तर अमेरिकाकै जर्जियाको एक अस्पतालमा कोरोना संक्रमिक एक १२ वर्षीय बालकको सघन उपचार हुँदै गरेको समाचार बाहिर आएपछि यसबारे शङ्का गर्ने ठाउँ प्रसस्त पाइएको छ । छिमेकी भारतको केरला प्रान्तमा एकजना तीन वर्षीय शिशुमा यस भाइरसको संक्रमण पुष्टि भएको खबर छ । 

जुन प्रकृतिको व्यवहारले यो जीवाणु फैलिन्छ, त्यसलाई मध्यनजर गर्दा घरबारविहीन भएका र सडकमै बस्न अभीशप्त बालबालिकाहरू ठूलो जोखिममा रहेको सहजै बुझ्न सकिन्छ । उनीहरू प्रायः दुई–चारजनाको समूहमा अति निकट भएर बस्ने गरेको पनि पाइन्छ । कतिपय अवस्थामा, अध्ययनहरूले पुष्टि गरेअनुसार यस्ता बालबालिका बलात्कार र यौनजन्य व्यवहारका पनि सिकार हुन्छन् । कतै सरसफाइ र पानीको व्यवस्था पनि हुँदैन ।

राज्यले अथवा सञ्चारमाध्यमले चलाएका सचेतना अभियानले पनि यिनलाई छुँदैन । यस्तोमा, कुनै कारणवश यस्ता बालबालिकामध्ये एकजना पनि संक्रमित भयो भने उनीहरूको समूहमा र विभिन्न जायज अथवा नाजायज कारणले उनीहरूको प्रत्यक्ष सम्पर्क अथवा स्पर्शमा आउने जोकोही पनि कोरोनाबाट संक्रमित हुने खतरा त्यत्तिकै उच्च रहन्छ । 

संक्रमण मात्रै होइन, अन्य हिसाबले पनि यस्ता बालबालिका अप्ठ्यारोमा छन् । अहिले विश्वका अनेक देशमा लकडाउनको स्थिति छ । विश्वको आधाभन्दा बढी जनसङ्ख्या बोकेको एसियाका अधिकांश मुलुक बन्द छन् । नेपालको पनि अवस्था यस्तै छ । यस्तोमा, दान थापेर, आउने जानेसँग मागेर, अथवा मानिसहरूले आफूले खाएर फ्याँकेको खाना उठाएर आफ्नो पेट पालिरहेका पाँच हजारभन्दा बढी सडक बालबालिकाको के हुन्छ ? 

संक्रमण र आहार त मूर्त रूपमा देखिने अथवा अनुमान गरिने पाटा भए । बालबालिकासँग सम्बन्धित अर्को एउटा अदृश्य र अमूर्त पाटो पनि छ, जसका बारेमा हामी विचारै गरिरहेका हुदैनौँ । त्रासको वेला बालबालिकामा अभिघातको भय हुन्छ । उनीहरूलाई अभिभावकले प्रेमका साथ भरोसा दिलाउनुपर्ने हुन्छ । आड दिनुपर्छ । तर, यस्ता बालबालिकाको हकमा त्यो सम्भावना पनि छैन । त्यसैले उनीहरू दिनदिनै विक्षिप्त हुँदै जाने, भित्रैबाट कमजोर बन्दै जाने र मृत्युन्मुख हुँदै जाने जोखिम दोब्बर हुन जान्छ । 

यस्ता बालबालिका उचित आहार, आवास र वातावारणको अभावमा पहिल्यैदेखि कुपोषण, क्षयरोग र अन्य छालाजन्य रोगका सिकार भएका हुन्छन्, जसका कारण उनीहरूमा प्रतिरोधी क्षमता न्यून हुन्छ । यस्तोमा, लकडाउन अथवा कर्फ्युमा उनीहरूको ‘अवैध’ लाइफलाइन पनि बन्द हुँदा, निश्चय पनि, उनीहरू त्राहीमामको अवस्थामा हुन्छन् । 

राज्यले देख्छ कि देख्दैन उनीहरूलाई ? राष्ट्रको नाम सन्देशले समेटेको ‘राष्ट्र’मा पर्छन् कि पर्दैनन् तिनीहरू ? सहज परिस्थितिमा त कुनै गुनासो नगरी, कुनै आन्दोलन नगरी, मागपत्र नबुझाई, हडतालमा नगई, भाग नखोजी, एक अदृश्य, आवाजविहीन अवयव भएर बाँचेकै थिए उनीहरू । कि भोट हाल्ने र राजस्व तिर्नेप्रति मात्रै जिम्मेवार हुन्छ सरकार ? 

आज अवस्था प्रतिकूल हुँदा र देशै ठप्प भइरहँदा यी घरविहीन, परिवारविहीन, अभिभावकविहीन र आश्रयविहीन बालबालिकाका बारेमा सोच्नु राज्यको अहम् दायित्व हो । 

लकडाउन गर्नुपर्छ । कफ्र्यु पनि आवश्यक प-यो भने लगाउनुपर्छ । सोयियस डिस्टेन्सिङ पनि जरुरी छ । घरघरमा बस्नु त अपरिहार्य भइहाल्यो । तर, यसो गरिरहँदा, जसको घरै हुँदैन, उसका लागि अस्थायी नै सही, घरको व्यवस्था गर्नुपर्छ । आवश्यक दूरी पनि सुनिश्चित गर्दै आवास, आहार, हात धुने व्यवस्था, सुरक्षित रहने व्यवस्था, आवश्यक प-यो भने क्वारेन्टाइन र उपचारको पनि व्यवस्था गर्नुपर्छ । एक पाटोको उपेक्षाले देश सखाप पार्न सक्छ । चेतना भया ।