• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नीरज लवजू
२०७६ चैत १६ आइतबार ०२:०२:००
समाज

काठमाडौं विपतमा किन बिरानो ?

२०७६ चैत १६ आइतबार ०२:०२:००
नीरज लवजू

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले पछिल्ला कदम चालेयता १२ लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएको खबर पत्रपत्रिकाले छाप्यो । सामान्यतः दसैँ र तिहारको समयमा मात्र राजधानीबाट यसरी धेरै संख्यामा मानिस बाहिरिने गर्छन् । अहिले कोभिड–१९ संक्रमणको सन्त्राससँगै केही दिनमै लाखौँ मानिसले काठमाडौं उपत्यका छाडे । ०७२ साल वैशाख १२ को भूकम्पपछि पनि यसरी लाखौँ मानिस काठमाडौं खाल्डोबाट बाहिरिएका थिए । 

सुख र दुःखको समयमा हरेक ठूला सहरको नियति यस्तै हुन्छ । चारै दिशाबाट जीवनका अनेकन् लक्ष्य, चाहना र आवश्यकता पूरा गर्न मानिस सहर पस्छन् । सहरभित्रको दौडादौड, भागाभाग, ठेलमठेलबीच मानिसले जीवन खोजेको हुन्छ । कति मानिस सफल हुन्छन्, कति असफल हुन्छन्, धेरै मानिस टाइमलाइनको कुनै औषत अंकमा बाँचिरहेको हुन्छ । तथापि कुनै पनि सुखद वा दुःखद समयमा सहर सधैँ रित्तिन्छ । दसैँ–तिहारमा मानिसका खुसियालीका निम्ति काठमाडौं रित्तिदिन्छ, अहिले विपत्तिको समयमा काठमाडौंबाट लाखौँ मानिस बाहिरिएका छन् । काठमाडौंले उनीहरूलाई बिदा गरेको छ । 

काठमाडाैंमा धेरै मानिसका दुईवटा ठेगाना हुने गर्छ । ‘तपाईं कहाँ बस्नुहुन्छ ?’
उत्तर आउँछ– सुकेधारा-बानेश्वर-कोटेश्वर-कीर्तिपुर-भक्तपुर अथवा कुनै काठमाडौं उपत्यकाको ठाउँ ।
‘अनि कुन जिल्लाबाट ?’
उत्तर आउँछ– बाग्लुङ-कैलाली-झापा-अथवा ७३ जिल्लामध्ये कुनै एउटा जिल्ला ।
तर, यही हुलमा एउटै मात्र ठेगाना भएका मानिस पनि छन् ।
‘तपाईंको घर कहाँ हो ?’ 
‘चाबहिल ।’
‘अनि कुन जिल्ला ?’
‘यहीँ काठमाडौं नै हो ।’
‘ए । तपाईं यहाँको रैथाने ?’ 

यसरी दुईवटा ठेगाना नभएका मानिसलाई न खुसीमा न दुःखमा, काठमाडौं उपत्यकाको चार भञ्ज्याङ छाडेर जाने छुट छ । कतिवेला दसैँको मुखमा काठमाडौं उपत्यका बाहिर परिन्छ । त्यतिवेला थानकोट-साँगा-बल्खु आदि नाकाबाट बाहिर जानेहरूको लर्कोबीच उपत्यका भित्रिरहेको झन्डै रित्तो गाडीमा यस्ता एक ठेगाने मानिस सवार हुन्छन् । 
०००
ठूलो संख्यामा यसरी मानिस बाहिरिँदा एक ठेगानेहरूमा दुईथरी सोचाइले घेरा लगाउँछ । पहिलो सोचाइ, बल्ल काठमाडौंमा मज्जाले सास फेर्न सकिने भयो । जताततै मानिसको भिड र दौडादौडले कुँजिएको काठमाडौं अब फराकिलो देखिने भयो । केही समय सडकमा निसंकोच हिँड्न सकिने भयो । फोहोर कम हुने भयो । धुवाँधुलो घट्ने भयो । दुर्घटना कम हुने भयो । अपराध कम हुने भयो ।

कुनै विपत्तिको समयमा जब मानिस हुल बाँधेर काठमाडौंबाट बाहिरिन्छन्, तब काठमाडौंका मानिसमा दुईथरी सोचाइ हाबी हुन्छ । पहिलो, यी मानिस सब कृतघ्न छन् । जब संकट आइपर्छ, काठमाडौंलाई एक्लो बनाएर जान्छन् । 

सँगै आउने अर्को सोचाइ– सबै मानिस बाहिरिए काठमाडौं राजधानी रहला कसरी ? यहाँको आर्थिक सक्रियता कायम रहला कसरी ? मानिस भएर त विकास भयो, मानिस नभए विकास होला कसरी ? देशभरिका प्रतिभा, पैसा आदि काठमाडौं ओइरियो । तब न काठमाडाैं, काठमाडौं बन्यो । मानिस छन् र त यहाँ ठुल्ठूला विशाल बजार खुलेका छन्, सिनेमा हल खुलेका छन्, गाडी चलेका छन्, कलेज चलेका छन्, बैंक खुलेका छन् ।

अखबारहरू चलेका छन् । सभा–सम्मेलन र बहस–छलफल चलेका छन् । अथवा यसरी पनि भनौँ, यी पूर्वाधार र गतिशीलता छन् र त यहाँ देशैभरका मानिस जम्मा भएका छन् । आमकाठमाडौंका रैथानेमा यस्तै दुईथरी सोचाइबीच प्रतिस्पर्धा चलिरहेको हुन्छ । उनीहरू राजधानीको बासिन्दा हुनुको गौरव पनि गुमाउने पक्षमा छैनन्, न काठमाडौंमा अति जनसंख्या केन्द्रीकरणको चपेटामा परेर क्षय भोग्नुपरेको मौलिकताप्रति नै सन्तुष्ट छन् । दुई ठेगाना बोकेका मानिसहरूको अधिक्यले उनीहरूलाई आफ्नो पहिचान र मौलिकता गुम्ने आशंकाले सताउने गर्छ । आफ्नोपनका सबै पक्ष छोपिने हो कि भन्ने ध्याउन्नले उनीहरूलाई सताउने गर्छ ।

त्यसो त इतिहास फर्केर हेर्दा काठमाडाैं उपत्यका सुरुदेखि नै चारै दिशाबाट आएका मानिस मिलेर नै बनेको देखापर्छ । आज रैथाने कहलिएकाहरूमध्ये पनि अधिकांश काठमाडौं वरपर चारै दिशाका कुनै न कुनै भञ्ज्याङ छिचोलेर नै आएका हुन् । पूर्वमध्यकालीन इतिहासतिर फर्केर हेर्दा पनि लिच्छविहरू दक्षिणतिरबाट आएका थिए । काठमाडौंको रैथाने देवता मानिने तलेजु स्वयं पनि काठमाडौं बसाइ सरेका हुन् । उपत्यकाको रैथाने नेवार समुदाय स्वयं पनि इतिहासका धेरै धाराबाट आएका मानिसको समष्टि हो । धेरैथरी सभ्यता र संस्कृतिको स्थानीयकरणको प्रतिरूप नै आजको काठमाडौंको रैथाने संस्कृति हो । त्यसकारण काठमाडौंले आफूलाई सुरुदेखि नै विभिन्न दिशाबाट आएका मानिसलाई अनुकूलन गर्दै आएको छ । यो काममा काठमाडौं अभ्यस्त छ ।

यद्यपि समयले सेट गरिदिएको काठमाडौं उपत्यकाको मौलिकता र संस्कृतिको आकार बिग्रने विषयमा रैथाने मनोविज्ञान सधैँ चिन्तित रहन्छ । अनि यस्तो चिन्तन संसारमा देखिएको एउटा स्वाभाविक लय हो । लन्डनवासी बेलायतीदेखि पेइचिङवासी चिनियाँ नागरिकसम्ममा पनि यही स्वभाव देखिन्छ । 

कुनै विपत्तिको समयमा जब मानिस हुल बाँधेर काठमाडौं बाहिरिन्छन्, तब काठमाडौंका मानिसमा फेरि पनि दुईथरी सोचाइ हाबी हुन्छ । पहिलो सोचाइ– यी मानिसहरू सब कृतघ्न छन् । जब संकट आइपर्छ, यिनीहरूले काठमाडौंलाई एक्लो बनाएर जान्छन् । काठमाडौं रित्याएर जान्छन् । अनि सामान्य अवस्थामा भने मौकाको हिरा फोड्न छोड्दैनन् । यिनका लागि काठमाडौं फगत ‘युज एन्ड थ्रो’ मात्र हो । विपत्तिको हुरीमा सबै जोगिन उनीहरू यहाँबाट फर्किने गर्छन् । 

तर, सँगै आउने अर्को समानान्तर सोचाइ–यस्तो आपत्का वेला सबै मानिस यहीँ बसे समस्या अझ कति बिकराल बन्ला ? काठमाडौंलाई अभावले अझ कति नराम्ररी गाँज्ने होला ? मानौँ, भूकम्पको समयमा जति पनि मानिस काठमाडौं उपत्यकाबाट बाहिरिए, उनीहरू बाहिर नगए काठमाडाैं अझ कति अस्तव्यस्त हुने थियो होला ? प्रत्येकको हातमा एक–एक पुरिया पुग्ने चाउचाउ पनि आधा–आधा मात्र हात लाग्ने थियो कि ? टाउको छोप्ने त्रिपाल पनि सबैलाई पुग्ने थिएन कि । यहाँका खुला चौरहरू सबैका लागि अपुग हुने थियो कि । 

यी दुवै सोचाइबीच सत्य के हो भने हामीले हामीसँग भएका सबै कुरा जोगाएर पनि काठमाडौं सबैको साझा सहर बनाउनैपर्छ । काठमाडाैं इतिहासदेखि नै अनुकूलन क्षमता मनग्य भएको ठाउँ हो । त्यसकारण काठमाडौंलाई त्यसरी नै जोगाउनुपर्छ । 

तर, काठमाडौंमा मात्र मानिसको ओइरो लाग्ने अवस्था रहुन्जेल देशको सन्तुलित विकास भएको मान्न सकिन्न । देशैभर काठमाडौंजस्तो आकर्षण बोकेका सहरहरूको विकासले नै समग्रमा देश उँभो लागेको मान्न सकिन्छ । सबै क्षेत्रको राजधानीको भार काठमाडौंले बोक्नुपर्दा हरेक विपत्तिको समय काठमाडौं आवश्यकताभन्दा बढी सन्त्रास भोग्छ । देशभरि अरू पनि काठमाडौं बन्दै गए काठमाडौंलाई वास्तवमै होलो हुने थियो । मानिसहरूले खुसियाली मनाउन र विपत्तिबाट जोगिन संकष्टको लामो–लामो यात्रा गर्नुपर्ने थिएन । मानिस आफ्नै दैलोमा बसेर संकट भोग्ने थिए, खुसियाली मनाउने थिए, जसरी काठमाडौंका रैथानेहरू आफ्नै आँगनमा दुःख भोग्ने गर्छन्, खुसी मनाउने गर्छन् । 

[email protected]