• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मनिषा पौडेल
२०७६ चैत १६ आइतबार १४:४१:००
रिपाेर्ट

क्युवाली डाक्टर भन्छन्- 'सुपरहिरो' होइनौँ, क्रान्तिकारी डाक्टर हौँ

२०७६ चैत १६ आइतबार १४:४१:००
मनिषा पौडेल

फेब्रुअरी पहिलो हप्तामै चीनमा कोरोना भाइरसबाट ४ सयको मृत्यु र २० हजार मानिस संक्रमित भए । चीन नयाँ रोगसँग लडिरहँदा अन्तर्राष्ट्रिय जगत् चीनविरुद्ध नानाभाँती प्रचारयुद्धमा उत्रिरहे । कुनै दिन आफ्नै ढोकामा त्यो संकट आइपुग्नेछ भन्नेबारे कमैले सोचे । अरूले नयाँ देखिएको रोग चीनको मात्रै मामला भएको प्रचार गरिरहँदा एउटा सानो टापु राष्ट्र क्युवाका दुई चिकित्सक बेइजिङ पुगे । उनीहरू नयाँ रोगको निदानमा खटिए, विनाप्रचार, विनाहोहल्ला । 

आधा शताब्दीभन्दा लामो अमेरिकी प्रतिबन्धसँग जुधिरहेको क्यारेबियन मुलुक क्युवा यतिवेला विश्वभर फैलिएको कोभिड–१९ महामारीसँग लड्न अग्रपंक्तिमा छ । कोभिड–१९ को महामारी आजसम्म विश्वका १ सय ८० भन्दा बढी देशमा फैलिसकेको छ । करिब ५ लाख मानिस संक्रमित भएका छन् भने २४ हजारको ज्यान गइसकेको छ । 

महामारीको प्रकोप बढेपछि क्यारेबियन मुलुक क्युवाले यसै साता इटालीमा डाक्टर र नर्सहरूको एक टिम पठाएको छ । ल्याटिन अमेरिका तथा अफ्रिकाका मुलुकमा प्राकृतिक विपत्ति र महामारीमा सहयोग पु-याउँदै आएको क्युवाले बलियो अर्थतन्त्र, उच्च औद्योगिक विकास र उत्कृष्ट स्वास्थ्य सेवा भएको युरोपेली मुलुकमा आफ्नो आपतकालीन स्वास्थ्य ब्रिगेड पठाएको यो पहिलोपटक हो । 

५२ जना स्वास्थ्यकर्मीको क्युवाली टिम औषधि र अन्य मेडिकल सामग्रीसहित इटाली पुगेको छ । इटाली विश्वमै मेडिकल डिप्लोमेसीमा सबैभन्दा अगाडि छ, तर यतिवेला कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । मार्च २५ सम्म इटालीमा ७ हजार ५ सयको मृत्यु भएको छ र ७४ हजार मानिस संक्रमित भएका छन् । 

इटालीका लागि क्युवा छोड्नुअघि ६८ वर्षीय चिकित्सक लियोनार्दो फर्नान्डिजले आफूहरू सुपरहिरो नभएको तर क्रान्तिकारी डाक्टर भएको प्रतिक्रिया दिएका थिए । उनी इबोलाविरुद्ध लड्न लाइबेरिया गएका थिए । इटाली फर्नान्डिजका लागि आठौँ अन्तर्राष्ट्रिय मिसन हो । 

क्युवाले कोरोना भाइरसविरुद्ध लड्न भेनेजुएला, निकारागुआ, जमैका, सुरिनेम र ग्रिनेडामा आफ्नो चिकित्सकको टिम पठाइसकेको छ । सन् १९५९ को राजनीतिक क्रान्तिपछि क्यारेबियन टापुले विपत्मा परेका गरिब देशको सहयोगका लागि ठूलो संख्यामा आफ्ना ह्वाइट युनिफर्मका फौजहरू पठाउँदै आएको छ ।

क्युवाले सोभियत संघको सहयोगमा सन् ६० को दशकपछि स्वास्थ्य सेवा प्रणाली बलियो बनाएको थियो, जुन विकसित देशहरूभन्दा पनि अगाडि थियो । सोभियत संघको पतनपछि क्युवा ती सहयोगबाट वञ्चित भयो । अमेरिकाले दशकौँदेखि लगाएको नाकाबन्दीका कारण क्युवाका धेरै अस्पतालको अवस्था अहिले पनि नाजुक छ, अमेरिकी प्रतिबन्धले बहुपक्षीय विकासमा बाधा पु-याएको क्युवालीहरू स्विकार्छन् । महामारी नियन्त्रणमा एउटा महत्वाकांक्षी योजना लिएर अगाडि बढेको क्युवालाई यो प्रतिबन्धले चाहेजसरी उड्न दिइरहेको छैन । 

इटालीका लागि क्युवा छोड्नुअघि ६८ वर्षीय चिकित्सक लियोनार्दो फर्नान्डिजले आफूहरू सुपरहिरो नभएको तर क्रान्तिकारी डाक्टर भएको प्रतिक्रिया दिएका थिए ।

यति हुँदाहुँदै पनि विश्वव्यापी अनुपातमा जनसंख्याका आधारमा क्युवामा चिकित्सकको दर उच्च छ र क्युवाको प्राकृतिक प्रकोपविरुद्ध नियन्त्रण गर्न जुध्ने टिम विश्वकै उत्कृष्ट र प्रतिष्ठितमा पर्छ । विपत्ति तयारीका लागि परिचित क्युवा आफ्नै घरभित्र कोरोना भाइरसको संक्रमण रोक्ने उपायहरू अगाडि बढाइरहेको छ । अहिलेसम्म क्युवामा ५० जना संक्रमित भेटिएका छन्, १ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन् । 

राष्ट्रपति मिगुएल डियान केनेलले गैरनागरिकलाई मंगलबारदेखि सीमा प्रवेशमा रोक लगाएको घोषणा गरेका थिए । स्वास्थ्यकर्मीहरू संक्रमणको सम्भावित सकंटलाई हटाउन हजारौँ डाक्टर र मेडिसिनका विद्यार्थीहरू स्थानीय समुदायको ढोका–ढोकामा निगरानीका लागि पुगेका छन् । धेरै सैन्य अस्पतालहरू सर्वसाधारणको उपचारका लागि खुला गरिएका छन् ।क्युवाको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सन् १९५९ को क्रान्तिपछि सुरु भएको थियो । क्युवाले अन्तर्राष्ट्रिय मिसनअन्तर्गत विश्वका धेरै देशमा स्वास्थ्यकर्मी खटाउँदै आएको छ ।

पेन्सिलभानिया विश्वविद्यालयको हर्टन स्कुलको तथ्यांकअनुसार क्युवाले ७७ देशमा ३७ हजार डाक्टर खटाएको थियो । क्युवाले आफ्नो स्वास्थ्य टोली विशेष गरेर दक्षिण अमेरिका, अफ्रिका र हालै ओसियन क्षेत्रमा पठाउन थालेको छ । अहिले पनि क्युवाका चिकित्सकहरू ५९ देशमा काम गरिरहेका छन् । यीमध्ये ३७ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । क्युवाले अन्तर्राष्ट्रिय मिसनअन्तर्गत जी–सेभेन देशहरू (क्यानडा, बेलायत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली र जापान) ले भन्दा पनि धेरै संख्यामा चिकित्सकहरू बाहिरी देशमा खटाउने गर्छ । 

क्युवाली मिसनहरूले सेवा पु-याइएको जनसंख्यामा पर्याप्त सकारात्मक प्रभाव पारेको विश्वास गरिन्छ । मिसन अबोर्डको प्रमुख उद्देश्य भनेको कम खर्चमा सर्वसाधारणलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु हो । विदेश गएका क्युवाली डाक्टरहरू बिरामीसँग शुल्क लिँदैनन्, उनीहरूको खर्च होस्ट कन्ट्रीले व्यहोर्ने गर्छन् । मिसनमा जाने डाक्टर जोखिममा रहेको जनसंख्यालाई स्वास्थ्य सेवा पु-याउने मात्र होइनन्, क्युवाको अर्थतन्त्रको पनि राम्रो आम्दानीका स्रोत हुन् । त्यहाँको सरकारी तथ्यांकले सन् २०१३ मा मेडिकल मिसनमा क्युवाका डाक्टरले १०.२ बिलियन डलर हभाना पठाएको बताउँछ । 

विश्वभर बढ्दो प्राकृतिक प्रकोपपछि ‘डिजास्टर टुरिज्म’को अवधारणा विकास भयो । यसले दीर्घकालीन र अर्थपूर्ण सहायता प्रदान गर्नुको सट्टा ‘अनुभव’लाई प्राथमिकता दिएर प्रकोप क्षेत्रमा यात्रा गर्ने व्यक्ति, सरकार तथा संगठनलाई जनाउँछ । ‘डिजास्टर टुरिज्म’बाट प्राप्त सहायताहरू प्रायः अल्पकालीन हुन्छन् र केही थप सहयोग पनि गर्न सक्छन् । तर, क्युवन मेडिकल इन्टरनेसनलिज्म यस विपत् पर्यटनविपरीत विश्वव्यापी रूपमा सबैभन्दा सीमान्तकृत र स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका जनसंख्यालाई लक्षित गरी निरन्तर र दीर्घकालीन सहायता गर्ने लक्ष्यमा अगाडि बढिरहेको छ । 

क्युवाले वैचारिक मेल नभएका र कूटनीतिक सम्बन्ध नभएका देशमा पनि विपत्को समयमा मानवीय सहयोग प्रदान गर्दै आइरहेको छ । सन् १९६३ पछि यसलाई विदेश नीतिको रूपमा नै लागू गरेको थियो । यही नीतिअनुरूप सन् १९६०, १९७२, १९९० मा चिली, निकारागुआ र इरानमा भूकम्प गएको समयमा क्युवाले आपत्कालीन मेडिकल टिम पठाएको थियो । सन् १९९९ को डिसेम्बरमा भेनेजुएलाको भर्गास राज्यमा पहिरोबाट २० हजार मानिसको मृत्यु भएको थियो, त्यस समयमा पनि भेनेजुएलाको मिसन बारियो एडेन्ट्रो कार्यक्रमअन्तर्गत क्युवन डाक्टरले आपत्कालीन सेवा प्रदान गरेका थिए । 

होन्डुरसको मातृशिशु स्वास्थ्यमा क्युवन चिकित्सकले गहिरो प्रभाव पारे, उनीहरूले सेवा प्रदान गरेका क्षेत्रमा सन् १९९८ देखि २००३ को बीचमा १ हजार जीवित जन्ममा शिशु मृत्युदर ३०.८ प्रतिशतबाट १०.१ प्रतिशतमा झरेको थियो । र १ हजार आमामा मातृ मृत्युदर घटेर ४८ बाट २२ प्रतिशत पुगेको थियो । क्युवन मेडिकल मिसन होन्डुरस, ग्वाटेमाला र हाइटीमा सन् १९९८ मा आएको आँधी मिच र जर्जेसका समयमा पनि गएको थियो ।

यसपछि बाह्य देशमा काम गर्ने क्युवाका डाक्टरको संख्या बढेर २००३ मा ५ हजारबाट २००५ मा आइपुग्दा २५ हजार पुगेको थियो । सन् २००४ मा एसियामा आएको आँधीमा क्युवाले मेडिकल टिम श्रीलंका र इन्डोनेसिया पठाएको थियो । कस्मिरमा भूकम्प गएपछि सन् २००५ मा अर्को मेडिकल टिम पाकिस्तान पठाएको थियो । त्यहाँ करिब २ हजार ५ सय स्वास्थ्यकर्मी, शल्यचिकित्सक गएका थिए, उनीहरू ६ महिनासम्म त्यहाँ रहेर काम गरेका थिए । 

सन् २०१० मा पश्चिम अफ्रिकामा फैलिएको इबोला र हैजाको महामारीमा ती देशलाई सहयोग पु-याउन क्युवाका चिकित्सकहरू विश्वको सबैभन्दा अग्रपंक्तिमा थिए । सन् २०१० को जनवरीमा हाइटीमा गएको महाभूकम्पपछि त्यहाँ देखिएको मेडिकल संकटमा पनि क्युवाले सहयोग गरिरहेको छ । सन् २०१४ मा क्युवाले १०३ नर्स र ६२ डाक्टरहरू इबोला भाइरसको महामारीविरुद्ध लड्न पश्चिम अफ्रिका पठाएको थियो । एउटै देशले महामारीविरुद्ध लड्न यति ठूलो संख्या मेडिकल टोली पठाउनु महत्वपूर्ण योगदान थियो । 

अस्थायी आपत्कालीनबाहेक पनि क्युवाले लामो समयदेखि चिकित्सकहरूलाई स्वास्थ्य सेवाबाट वञ्चित रहेका गरिब समुदायमा काम गर्न पठाइरहेको छ । उनीहरूले ब्राजिलका ग्रामीण इलाकामा लामो समयदेखि काम गरिरहेका थिए । तर, पछि जयर बोल्सोनारो सत्तामा आएपछि अधिकांश क्युवाली चिकित्सकलाई ब्राजिलबाट हटाए । दुई हप्ताअघि मात्रै बोल्सोनारोले कोरोना भाइरसले जनस्वास्थ्यलाई गम्भीर खतरामा पारेको भन्ने कुरा ‘कल्पना’ मात्रै भएको बताएका थिए । तर, विश्वव्यापी संकट बढेपछि ब्राजिलले यतिवेला क्युवाका डाक्टरहरूलाई फिर्ता आउन आग्रह गरिरहेको छ । यति मात्र होइन, क्युवासँग विश्वको सबैभन्दा प्रभावकारी प्राथमिक स्वास्थ्य सेवा प्रणाली छ । योबाहेक क्युवाले औषधि निर्माणमा पनि अलग्गै पहिचान बनाएको छ । 

क्युवाले विकास गरेको इन्टरफेरोन अल्फा २ बी रिकोम्बिनेन्ट (आइएफएनरेक) एन्टिभाइरल औषधि अहिले चिनियाँ डाक्टरहरूले प्रयोग गरिरहेका छन् । सन् १९८० को दशकमा सेन्टर फर जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजीका रिसचर्सले यसको विकास गरेका थिए । यो औषधि डेंगु, एचआइभी, हेपटाइटिस बी, सी र अन्य रोगविरुद्ध सफल प्रयोग भइसकेको छ ।

कोरोना भाइरसको उपचारका लागि पनि यसलाई बढी प्रभावकारी मानिएको छ । यो चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना संक्रमणबाट हुने श्वासप्रश्वाससम्बन्धी समस्यासँग लड्न छनोट गरेको ३० औषधिमध्ये एक हो । यस एन्टिभाइरलले शरीरमा प्राकृतिक प्रोटिनको उत्पादनलाई बढाउने र रोगविरुद्ध लड्ने प्रतिरक्षा क्षमतामा वृद्धि गर्छ ।

क्युवा विश्वकै दुर्लभ देश हो, जसले महामारीलाई यसरी मानवीय सहयोग गर्ने अवसरको रूपमा लिएको छ । राजनीतिक, आर्थिक, सामाजिक पूर्वाग्रहभन्दा माथि उठेर महामारी नियन्त्रणमा विश्वशक्तिलाई एउटा मानव परोपकारिताको नैतिक शिक्षा सिकाइरहेको छ ।