• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डा. युवराज लुइटेल
२०७६ चैत २२ शनिबार ०९:०२:००
समाज

कोरोना संक्रमण : नयाँ विश्व व्यवस्थाको प्रस्थान बिन्दु !

२०७६ चैत २२ शनिबार ०९:०२:००
डा. युवराज लुइटेल

पूरा विश्व कोरोनाको त्रासदीसँग जुधिरहेको छ । तर, संयुक्त रूपमा होइन, एक्लाएक्लै । कोरोना संक्रमणको लडाइँमा एकातिर सफलताका कथाहरू लेखिँदै छन् । चीन, दक्षिण कोरिया, सिंगापुर र ताइवान यो पंत्तीमा छन् । असफलता र निराशाका दर्दनाक कहानीहरू पनि अर्कोतिर बग्रेल्ती छन् । इटाली र स्पेनका कथा साहै्र हृदयविदारक छन् । अमेरिका लगातार कोरोनासँग जुधिरहेको छ, तर संक्रमणले स्थिरता देखाएको छैन । 

बढ्दो असफलता र निराशाका भड्खालाहरूबाट अरूलाई आक्षेप लगाउने उपक्रम पनि सँगसँगै सुरु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्युयोर्कका गभर्नर एन्ड्रियु क्वोमो क्रुद्ध छन् । राष्ट्रपति ट्रम्प विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस धेब्रेसससँग क्रुद्ध छन् । इटालीका प्रधानमन्त्री निसेप कोन्ट युरोपियन युनियनसँग आक्रोशित छन् । युरोपियन आयोगका अध्यक्ष उर्सुला भोन डरलेएनले अध्यक्षता सम्हाल्दै गर्दा कोरोना भाइरस संक्रमण देखापरेकाले उनी कसैलाई दोष थुपार्न सक्दिनन् । त, कोरोना संक्रमणको प्रतिकारमा युरोप एकढिक्का रहन नसकेको गम्भीर यथार्थबाट उनी बच्न सक्ने देखिन्न । 

दोषारोपणको सिलसिला

कोरोना संक्रमणबाट प्रथमपटक ११ जनवरी २०२० मा ६१ वर्षीय चिनियाँ नागरिकको मृत्युसँगै दोषारोपणको राजनीति सुरु भयो । २१ मार्चको दिन चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनमा कोरोना संक्रमण ल्याउने काम अमेरिकी सेनाले गरेको आरोप लगाए । त्यसको लगत्तै अमेरिकी राष्ट्रपतिले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्न भ्याए । 

वुहानमा भाइरस संक्रमण नियन्त्रण आएलगत्तै चिनियाँ राष्ट्रपतिले युरोपमा भाइरस आक्रान्त प्रमुख देश (इटाली, फ्रान्स, स्पेन, जर्मनी)का प्रमुखलाई फोन गरी–गरी सोधखोज गर्न भ्याए, र सहयोगको वचन दिए । उनले अमेरिकी राष्ट्रपतिलाई भने सम्झन चाहेनन् । 

चिनियाँ उत्पादनविना आफैँ धानिन नसक्ने अमेरिकी बाध्यता र अमेरिकालाई सामान नबेची आफ्नो व्यापार नचल्ने चिनियाँ रहस्य गएको चार दशकदेखि उल्झनमा परिरहेको छ । यो उल्झनको गुत्थी के हो ?

अमेरिकी राष्ट्रपति ट्रम्पले २४ मार्चका दिन २३ मिनेट लामो फोन वार्ता गरी दक्षिण कोरियाली राष्ट्रपतिलाई कोरोना भाइरसको परीक्षण उपकरण उपलब्ध गराइदिन अनुरोध गरे, तर, चीनलाई त्यो अनुरोध गएन । 

विश्वका प्रमुख औद्योगिक राष्ट्र ‘समूह सात’का विदेश मन्त्रीहरूको कोरोना संक्रमणसम्बन्धी गत मार्च २५को आपत्कालीन भिडियो कन्फरेन्समा कुनै सहमति बनेन । यो भाइरस ‘वुहान भाइरस’ नाम दिनुपर्ने अमेरिकी विदेशमन्त्रीको आग्रहलाई न त स्वीकार गरियो न त कुनै साझा प्रतिबद्धता पहिचान गर्न सकियो । 

केन्द्रमा चीन–अमेरिका विवाद 

कोरोना संक्रमण दु्रत गतिमा विस्तारित भइरहँदा चीन र अमेरिकाबीच चलिरहेको ‘व्यापार युद्ध’ मुखर भएको मान्नेहरू धेरै छन् । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भएदेखि नै ‘अमेरिका फस्र्ट’ भन्ने वैचारिक धारले प्रधानता पाएको र सन् २०१८ देखि त्यो धार नीतिगत तहमा प्रकट हुन थालेको थियो । ट्रम्पले सयकडौँ चिनियाँ उत्पादनमा व्यापार कर थपिदिएपछि चीनको निर्यातमुखी अर्थतन्त्र समस्यातर्फ उन्मुख भइरहेको थियो । आफ्नै उत्पादनबाट धान्न नसक्ने अमेरिकी बजार पनि यसबाट कम प्रभावित थिएन ।

चिनियाँ उत्पादनविना आफैँ धानिन नसक्ने अमेरिकी बाध्यता र अमेरिकालाई सामान नबेची आफ्नो व्यापार नचल्ने चिनियाँ रहस्य गएको चार दशकदेखि उल्झनमा परिरहेको छ । यो उल्झनको गुत्थी के हो ? विश्व मामिलाका जानकारहरूको मत के छ भने विश्व व्यवस्थाको नेतृत्व अब कसले गर्न सक्छ भन्नेबारेमा चीन र अमेरिकाबीच चलिरहेको व्यक्त–अव्यक्त भूराजनीति नै यी दुई देशबीचको व्यापार युद्धको मुख्य तन्तु हो, जुन कोरोना संक्रमणको आपत्कालीन अवस्थामा पनि सुषुप्त रहन सकेन । 

के चीन केन्द्रित विश्व व्यवस्था सम्भव छ ? 

विश्व व्यवस्थाको केन्द्रमा चीन उदाउने वा नउदाउने एउटा प्रश्न हो । विश्व व्यवस्थाको केन्द्रमा अमेरिकाको वर्चस्व भविष्यसम्म कायम रहन सक्ने वा नसक्ने अर्को प्रश्न हो । यी दुई प्रश्न एकअर्कासँग सम्बन्धित अवश्य छन् । तर पनि तिनको उत्तर एउटै नआउन सक्छ । 

कोरोना भाइरसविरोधी युद्धमा चीन, दक्षिण कोरिया, सिंगापुर, ताइवानको सफलताका कथाहरू छाइरहँदा त्यही मेसोमा स्पेन, इटली र अमेरिकाबाट आउँदै गरेका निराशावादी समाचारले दिने सन्देश के हो ?

सामरिक शक्ति, विश्व व्यापारको प्रवृत्ति र त्यससँग जोडिएको उत्पादन र आपूर्ति व्यवस्था, विश्वलाई भरथेग गर्न सक्ने आर्थिक समृद्धि र विश्व शक्तिको नेतृत्व गर्ने इच्छाशक्ति त्यससँग गाँसिएका केही पाटा छन् । तत्कालीन सामरिक र विश्व व्यापारका सन्दर्भमा पोर्चुगल, स्पेन, डच (निदरल्यान्ड) र बेलायत हुँदै अमेरिकासम्म आइपुग्दा आधुनिक विश्व व्यवस्थाको नेतृत्व स्थिर देखिँदैन नै ।

विश्व व्यवस्थाको केन्द्रमा अमेरिका आइपुगेको पनि धेरै भएको छैन, दोस्रो विश्वयुद्धपछिको सात दशक मात्र हो । त्यसअघि विश्व व्यवस्थाको केन्द्र्रमा रहेको बेलायतको हविगत अहिले के छ र त्यसअघि त्यो केन्द्रीय भूमिकामा रहेको युरोपेली औपनिवशिक शक्ति राष्ट्रहरू (पोर्चुगल, स्पेन, फ्रान्स, डच, बेल्जियम र जर्मनी) अहिले कुन अवस्थामा पुगेका छन्, एकसरो हेराइबाट पनि त्यसको एउटा छनक पाउन सकिन्छ । कोरोना भाइरसविरोधी युद्धमा चीन, दक्षिण कोरिया, सिंगापुर, ताइवानको सफलताका कथाहरू छाइरहँदा त्यही मेसोमा स्पेन, इटली र अमेरिकाबाट आउँदै गरेका निराशावादी समाचारले दिने सन्देश के हो ?

आजभन्दा २२ वर्षअघि बर्कले युनिभर्सिटी प्रेसबाट छापिएको एन्ड्रे गुन्डर फ्राङ्कको प्रसिद्ध पुस्तक (रि–ओरियन्ट : एसियन युगमा विश्व अर्थव्यवस्था)ले होस् वा अझ त्यसको दुई दशक अघि छापिएको प्रसिद्ध लेखक इडवर्ड सइदको विचारोत्तेजक पुस्तक (ओरियन्टालिजम)ले होस् विश्वव्यवस्थाको आर्थिक, सामारिक र सांस्कृतिक आधारले अबको नेतृत्व एसियातर्फ सर्ने कुराको भविष्य विष्लेषण गरिएकै थियो । 

कसरी जोडिन्छ कोरोना संक्रमण ? 

विश्व व्यवस्थाको नेतृत्व गर्ने चिनियाँ चाहना सन् २००८ को बेइजिङ ओलम्पिकको भव्य आयोजनामार्फत अभिव्यक्त भएकै थियो । त्यो भव्यताका अगाडि आफूलाई पुड्को महसुस गरेरै होला, बेलायतले त्यतिखेरै २०१२ को लन्डन ओलम्पिक त्यति भव्य नगरीकनै घोषणा गरिसकेका थिए । 

सन् २०१३ मा चिनियाँ सरकारले पुरानो सिल्क व्यापार मार्गलाई ब्युँताउने र विश्व व्यापारको नयाँ परिवहन रेखा निर्माण गरी अमेरिकालाई एक्ल्याउने दीर्घकालीन महत्वको विशाल पूर्वाधार निर्माणको परिकल्पना गरेर विश्वव्यवस्थालाई शीघ्र रूपान्तरण गर्ने चाहना सार्वजनिक गरेकै थियो । 

विगत केही दशकमा विश्व राजनीतिमा चिनियाँ पदचाप पहिले भन्दा स्पष्ट ढंगले प्रतिध्वनित हुने गरेकै छ । शान्त कूटनीतिबाट सक्रिय र अर्थपूर्ण कूटनीतिमा विश्वास गर्न थालेको चीनको बदलिँदो छविलाई त्यहाँका विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओको ‘बडिल्यांग्वेज’ र आक्रमक भाषाले प्रतिनिधित्व गरकै छ । 

कोरोना भाइरसको उद्गमस्थल मानिने वुहानमा त्यसको भयावह संक्रमणलाई नियन्त्रण र रोकथाम गर्न चीनले प्राप्त गरेको सफलता अमेरिका र युरोपका लागि युगीन ‘ईष्र्या’को विषय बनेको छ । सक्रिय राष्ट्र, अनुशासित नागरिक, वस्तु र सेवा प्रवाहको जीवन्त समायोजनबाट सम्पूर्ण लकडाउनको रणनीति अख्तियार गरी संक्रमणको वृद्धिदरलाई रोक्न चीन (त्यसपछि दक्षिण कोरिया, ताइवान र सिंगापुर)को सफलतालाई समग्रमा र प्रतीकात्मक अर्थमा एसियाली सफलताका रूपमा बुझ्न थालिएको छ ।

कोरोनाविरुद्धको महायुद्धमा विश्व एक हुन नसक्नुको दोष अमेरिकालाई दिन थालिएको छ । इटालीले रोइरोई सहयोग माग्दा युरोपियन युनियनले भरथेग गर्न नसक्नुको सन्दर्भलाई त्यो क्षेत्रीय एकता कामयावी नरहेको अर्थमा बुझ्न थालिएको छ । चीनले इटालीलाई र दक्षिण कोरियाले अमेरिकालाई सहयोग गर्नुपर्ने विश्वव्यवस्थाको वर्तमान सन्तुलनले यसको बदलिँदो चरित्रलाई जगजाहेर गरेको होइन र ?