यस्तो विरोधाभास छ जीवन र मृत्युबीच
कि,
जीवनदेखि मृत्युसम्म
मृत्युदेखि जीवनसम्म
हिँड्नुपर्ने बाटोवरिपरि घनाजंगल छ
टाढाबाट हेरिरहेको सूर्य
छेलिएको छ लोभको तुवाँलोले
ए मान्छे !
सहिदहरूलाईजस्तो
तिमीलाई–
सजिलो छैन मृत्युवरण गर्न ।
अस्पतालको सघनकक्षमा
घरको कुनै अँध्यारो छिँडीमा
वा–
सिकुवा, आँगन
आर्यघाटछेउ, खोलानदी किनारमा
तिम्रा आफन्तहरूले तिमीलाई
तिम्रो अन्तिम इच्छा सोधिरहँदा
बाक्के रहिसकेको हुनेछ तिम्रो
अथवा–
यही सोधाइको पर्खाइमा यतिका दिन
जीवित थियौ तिमी ।
झुन्ड्याइनुअघि
अथवा–
गोली लागेर ढल्दाढल्दै
भनिसकेका हुनेछन् सहिदहरूले – ‘इन्कलाव जिन्दावाद !’
सुन्ने छ त्यो, संसारले
तर, सुन्ने छैन कसैले तिम्रो अन्तिम इच्छा
किनकि–
तिमीले यतिन्जेल लुकाइराखेको
तिम्रो खास चिज
जसलाई दिन चाहन्छौ तिमी
ऊ अहिले
तिमीसामु आइपुग्न असमर्थ छ
ऊ –
भर्खरै जन्मिएको आफ्नो सन्तानको
टल्किरहेको नयाँ घरजस्तो मुस्कानभित्र
लकडाउन छ ।
जीवनमा –
मीठो खाएर मर्ने इच्छा
राम्रो लाएर मर्ने इच्छा
पुग्न बाँकी कुनै धाममा
भेटी चढाएर मर्ने इच्छा
यो त –
मृत्यु तिम्रोनजिक आइपुग्नुभन्दा धेरै अघिको कुरा हो ।
जब मृत्यु
तिम्रो आमा भएर मुस्काउँदै
तिम्रोसामु हात फैलाइरहेको हुनेछ
तब,
उसको हातमा सुम्पिन तिमीलाई
तिम्रा आफन्तहरू –
ईश्वरसित सोधिरहेका हुनेछन् अनेक उपाय
अन्माउन लागेको बेहुलीलाई झैँ
तिनले फकाउनेछन् तिमीलाई
र हिजो, नियतवश तिमीमाथि गरेका अन्याय बिर्सन–
मनमनै गर्नेछन् प्रायश्चित्त
तिम्रा लागि यही हुनेछ–
आफ्नो जीवन संघर्षको सबभन्दा गौरवमय क्षण
किनकि–
तिमी अब विजेता बन्दै छौ ।
वास्तवमा
तिमी यतिखेर
तिम्रो जीवनको अन्तिम सत्य सुनाएर जान चाहन्छौ
अथवा–
हिजोको त्यो कुनै अविस्मरणीय पल सम्झेर
फर्किन चाहन्छौ फेरि
तर, अफसोच !
अबेर भइसकेको हुनेछ ।
आँखाले भन्न खोज्छौ
तर, आँखा ध्यानस्थ भइसकेको हुनेछ
ओठले भन्न खोज्छौ
तर, ओठ नीलो भइसकेको हुनेछ
हात र खुट्टाका औँलाहरूले भन्न खोज्छौ
तर, तिनीहरू काँचुली भइसकेका हुनेछन्
मात्र–
कुकुरले आफ्नो मालिकलाई पर्खेझैँ
ढिलो धड्किरहेको तिम्रो धड्कनले –
पर्खिरहेको हुनेछ तिमीलाई
अन्तिम र इमानदार कामदार हो ऊ तिम्रो शरीरको
समय भएपछि–
उसले पनि बन्द गर्नेछ कारखाना ।
तिमी चिच्याइ–चिच्याई भनिरहेका हुनेछौ–
‘पर्ख...! ए पर्ख... !’
तर, त्यो धुवाँजस्तो तिम्रो चित्कार बाहिर निस्कने छैन
तिम्रो आँसुको भेल
तिम्रै आँखासम्म आइपुग्ने छैन
जीवनका लागि, मानिसका लागि, यो धर्तीका लागि
अन्तिमपल्ट गुन्जिरहेको त्यो तिम्रो करूणामयी संगीत
यो कोलाहलमय शून्यतामा हराउनेछ त्यसै
अहँ सुन्ने छैनन् कसैले
यस्तो भयानक ऐठनबीच–
सर्पले निलेको सर्पझैँ हुनेछौ तिमी
तर, तिम्रा शुभचिन्तकहरूले तिमीलाई
तथागत देख्नेछन्
र भन्नेछन्–
‘जानका लागि
आजको दिन नै उत्तम हो,
दुःख नमानी जानुहोस् !
तब,
तपाईं हाम्रो हृदयमा
सधैँ रहिरहनुहुनेछ ।’
तिमी भनिरहेका हुन सक्छौ
‘मायालु ! म तिमीलाई प्रेम गर्छु
छोरा ! म तिमीलाई प्रेम गर्छु
छोरी ! म तिमीलाई प्रेम गर्छु
आफन्तहरू ! म तिमीलाई प्रेम गर्छु
भगवान् ! म तिमीलाई प्रेम गर्छु
देश ! म तिमीलाई प्रेम गर्छु
त्यसैले म बाँच्न चाहन्छु, केही दिन बाँच्न चाहन्छु
तर, यहीवेला –
तिमीले लिइरहेको अक्सिजनको मास्क हटाइनेछ
तिमीलाई चढाइरहेको स्लाइन पानीको पाइप थुतिनेछ
अहो ! जीवनको यति ठूलो बोधपछिको बिहानीमा
आश्चर्यले फारिएका तिम्रा जोर आँखालाई
तिम्रो सहमतिविनै, सजिलै बन्द गरिनेछ ।
कष्टले बाँधिएको तिम्रो मुखमा
तिम्रा आफन्तहरूले जल चढाउनेछन्
कक्रिएको तिम्रो गोडामा निधार राख्नेछन्
धूप जलाउने छन्
ढ्याङ्ग्रो ठटाउनेछन्
घन्ट बजाउनेछन्
मृत्युपछिको अपत्यारिलो बाटो देखाउन
निरन्तर मन्त्रोचारण गरिरहनेछन्
र जोडजोडले शंख फुक्नेछन्
तब, तिमी भ्रमवश–
घरि स्वर्गमा घरि नर्कमा
ओहोरदोहोर गरिरहेका हुनेछौ
दिशाहीन कावा खाइरहनेछौ काकाकुलझैँ
तर, तिमीलाई थाहा हुनेछैन
कि,
धर्तीमा एउटा साघुरो ठाउँ खाली भइसकेको हुनेछ
एउटा गुँडको कुनै कुना रित्तो भइसकेको हुनेछ ।
जित्नैपर्ने जीवनको यो अन्तिम युद्धमा
शुत्रहरूले घेरिएको अन्तिम योद्धाझैँ
तिमी –
अबिर र फूल उचालिरहेका तिम्रै आफन्तका
बन्दुकजस्ता दर्जनौँ हातका बीचबाट
अन्तिमपल्ट, बस् अन्तिमपल्ट
आफ्नै आँखाको लोतीले च्यापिएको चिसो नानीले
यो घुर्मैलो आकाश नियालिरहेका ए मान्छे !
सहिदहरूलाई जस्तो
तिमीलाई –
सजिलो छैन मृत्युवरण गर्न ।