• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
द्वारिका थेबे
२०७६ चैत २२ शनिबार ०९:०१:००
समाज

बजारले बिगारेको खाद्य सञ्चिति

२०७६ चैत २२ शनिबार ०९:०१:००
द्वारिका थेबे

कोरोना भाइरसको महामारीले विश्वव्यापी आर्थिक मन्दी सुरु हुने संकेत देखिएको छ । यो मन्दीको असर नेपालको लक्षित आर्थिक वृद्धिदरमा पर्नेछ । यसले हाम्रो मुलुकलाई पार्ने प्रभाव बहुआयामिक छन् । आपूर्तिमा असर पर्नाेले खाद्यान्न आयातमा निर्भर मुलुकले खाद्यान्न संकट बेहोर्नुपर्ने देखिन्छ । सबैजसो मुलुकमा उत्पादन ठप्प हुँदै गएको छ । यसले बेरोजगारको संख्या बढिरहेको छ । जागिर गुम्ने डर छ । 

रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता बढ्न थालेको छ । अबको दुई, तीन महिना यस्तै अवस्था रह्यो भने बचत भएकाहरूलाई पनि समस्या पर्नेछ । राज्यसँग तीन महिनासम्म पुग्ने खाद्यान्न मौज्दात छ, भनिएको छ । नयाँ पत्रिकामा ९ चैत २०७६ मा प्रकाशित समाचारअनुसार भारतमा रहेका १५ लाख र अन्य मुलुकमा रहेका ३५ लाखमध्ये कति नेपाल भित्रिए ? उनीहरू कुन–कुन भौगोलिक क्षेत्रमा भित्रिए ? ती भौगोलिक क्षेत्रको खाद्यान्नको अवस्था कस्तो छ ? यो संख्या थपिएपछि खाद्यान्नको अवस्थामा कस्तो परिवर्तन आउँछ ? त्यसको आकलन गरेर खाद्यान्न वितरण प्रणालीको विकास गर्न जरुरी छ । 

युएनएफएओको सन् २०१८ को प्रतिवेदनअनुसार विश्वमा करिब ८२ करोड जनसंख्या भोकमरीसँग जुधिरहेका छन् । दैनिक करिब १५ हजार मानिसले भोकमरीकै कारण ज्यान गुमाइरहेका छन् । 

बजारसँगको निर्भरताले हाम्रा परम्परागत ज्ञान सीप हराउँदै गए, यससँगै विपद्सँग जुध्ने हाम्रो कला, सीप पनि हराउँदै गयो । आज बजार खाली हुँदा हामीसँग सबथोक खाली हुने अवस्था छ । 

विश्व खाद्य कार्यक्रमका अनुसार नेपालमा करिब २५ प्रतिशत जनसंख्याको आय विश्व बैंकले तोकेको न्यूनतम दैनिक आय (१.९ अमेरिकी डलर) भन्दा कम ०.५ अमेरिकी डलर छ । एक अर्को अध्ययनअनुसार नेपालका १० प्रतिशत धनी मान्छेको आय ४० प्रतिशत गरिबको भन्दा तीन गुणा बढी छ । आयमा देखिएको यो असमानताले संकटको समयमा हुनेखाने वर्गले गरेको अधिकतम खाद्यान्न भण्डारणले पनि खाद्यान्न वितरण प्रणालीमा समस्या आउन सक्छ ।

कोरोनाको महामारीपछि विश्वमा भोकले मर्नेको संख्या स्वाभाविक रूपमा बढ्नेछ । धनी र गरिबबीचको खाडल बढ्नेछ । यस्तो महामारीमा राम्रो आय र बचत भएकाले खाद्य सञ्चिति गर्ने क्रम बढ्नेछ । यसको प्रत्यक्ष असर कम आय भएकालाई पर्ने देखिन्छ । यस्तो अवस्थामा खाद्यान्न सञ्चितिको खाडललाई पुर्न राज्य संयन्त्र सक्रिय हुन जरुरी छ । 

बेरोजगारीसँगै गरिबी बढ्ने र खाद्य संकटको समस्या आउने अर्थशास्त्रीहरूले पूर्वानुमान गर्न थालेका छन् । अहिलेको अवस्थामा खाद्य सञ्चितिको महŒव किन र कति छ ? सहजै बुझ्न सकिन्छ ।

वैदेशिक रोजगारी र सहरतिरको बसाइसराइँले गाउँको खेतीयोग्य जमिन बाँझो भएका छन् । आजभोलि ‘बजारले सबैथोक दिन्छ, किन सञ्चिति गर्ने ?’ भन्ने मानसिकता छ । 

०००
सरकारले गरेको लकडाउनले स्मृतिको पाटोबाट मेटिन लागेको घरको खाद्य सञ्चिति सम्झाएको छ । खाद्यन्न सञ्चितिको रैथाने परम्परा कसरी बजारमा आश्रित हुन पुग्यो भन्ने बुझ्न यो स्मृति उदाहरण हुन सक्छ । 

०५६ सम्म हाम्रो घरमा परिवारलाई पुग्ने खाद्यान्न हुन्थ्यो । सोमबारे खेतमा धान, आलिमा भटमास, बनमारा, मासको दाल र खेतको डिलमा सखरखण्ड, केरा, सिमलतरुल हुन्थ्यो । देवीथाने टारमा हिउँदे आलु र मकै, घरबारीमा बर्खे आलु, मकै, तोरी, सस्र्यु, कोदो, गहुँ, घर तरुल, इस्कुस र ज्यामिरे डाँडामा फिलिंगे, कोदो र सखरखण्ड हुन्थ्यो । घरको एउटा भकारी नयाँ धान नआउन्जेल चलाइँदैन थियो । मकै बाहाँभरि हुन्थ्यो । 

आमाले हामीलाई खाना खुवाउने तरिका पनि गज्जब थियो । ठूलो परिवार त्यसमा अनि १, २ जना पाहुना कहिले नटुट्ने । त्यसैले आमालाई खानेकुरा वर्षैभरि प-याउने एक किसिमको चुनौती हुन्थ्यो । त्यसैले आमाले उपाय निकालेकी थिइन् । मकै फल्ने सिजनमा २-४ छाक फल्की बनाएर खुवाउने (हरियो मकै छोडाको, आलु, गेडागुडी हालेर पकाउने), आलु फल्ने सिजनमा आलु उसिनेर २-४ छाक आलु, अनि गहुँको पिठोको सी, गहुँको सुक्खा रोटी आदि खुवाउनुहुन्थ्यो । अहिले सम्झिँदा साच्चिकै सुनचाँदीकै भात खाइएछ । अर्कोचाहिँ आमाले खाद्य संकट नआओस् भनेर खाद्य सञ्चितिका लागि अपनाएको एउटा गाउँले रणनीति रहेछ त्यो । 
म सानो छँदा कहिलेकाहीँ दुई दिनसम्म स्कुस करेसोमा कोर्नुपथ्र्यो ।

त्यो कोरेको स्कुस सुकाएर एक वर्षसम्म राखेर अचार, तरकारी खान हुन्थ्यो । तरकारी नपाउने सिजन र चैत वैशाखमा पकाएर र अचार बनाएर खाइन्थ्यो । करेला पनि सुकाएर राख्ने अनि कुखुराको मासुसँग मिसाएर खाने गरिन्थ्यो । सिन्की, गुन्द्रुक माटोको घ्याम्पाभरि राखिन्थ्यो । लगभग घरलाई चाहिने सम्पूर्ण सामग्री घरमै उत्पादन हुन्थ्यो । 

घरमा चाहिने चिया, मसला, तेल, घ्यु आफ्नै उत्पादन हुन्थ्यो । धनियाँ, चम्सुर र सुप, मेथी बारीमै उत्पादन हुन्थ्यो । जिरा र ज्वानोचाहिँ किनिन्थ्यो । यो सबै मिसाएर बाह्र मसला भन्दै वर्षभरि पुग्ने गरेर चिण्डोमा हालेर राखिन्थ्यो । र, लगभग घरलाई चाहिने सम्पूर्ण खाद्यान्न सामग्री घरमै उत्पादन हुन्थ्यो । किन्नैपर्ने सामानचाहिँ नुन र मट्टीतेल थियो । यसबाट के बुझ्न सकिन्छ भने बहुबाली प्रणाली अपनायो भने एउटा घरपरिवार कसरी आत्मनिर्भर बन्छ सक्छ ?

तर, जब २ साउन ०५६ मा हाम्रो सोमबारे खेतमा माईखोला बग्न थाल्यो, त्यसपछि खाद्यान्न घाटा (फुड डेफिसिट) हुन थाल्यो । त्यसपछि इन्डियाको ठ्वास्स गनाउने पर्मल चामलको यात्रा सुरु भयो । बिस्तारै–बिस्तारै बजारमा पाइने खाद्य सामग्रीतिर निर्भर हुन थाल्यौँ । अहिले त पूर्ण रूपमा बजारमै निर्भर भइयो । 

अहिले खाने कुरामा स्कुस १ बोट र केही रायो साग मात्र उत्पादन हुन्छ । जुन परिवार कुनै जमानामा खाद्य सम्प्रभुतापूर्ण थियो, त्यही परिवार आज बजारमा खानेकुरा नपाए सबैभन्दा पहिले भोकमरीको सिकार बन्ने अवस्थामा छ । 

लकडाउन सुरु भएपछि इलाम घरमा रहेकी ठूली दिदी भन्दै थिइन्, ‘गाउँभरि रासन, चामल र अन्य गाईबस्तुलाई गरेर करिब २-३ सय मन (प्रतिमन ४० केजी), डेढ सय कार्टुन (प्रतिकार्टुन १० लिटर) तेल र अन्य खानेकुरा गाउँमा ल्याइएको छ ।’ हिसाब गर्दा यतिको खाद्यसामग्री सामान्य अवस्थामा एक वर्षको अवधिमा आपूर्ति हुने परिणाम हो । यसबाट के देखिन्छ भने हाम्रो खेती प्रणाली र खाद्य (सञ्चिति)संरक्षण प्रणालीमा धेरै परिवर्तन भइसकेको छ । यसलाई कसरी हेर्ने भनेर ठ्याक्कै निचोड त दिन सकिएन, तर हाम्रो खेती प्रणालीमा आएको परिवर्तन, जस्तो कि मानिसहरू नगदेबाली खेती गर्ने, तर बहुबाली प्रणालीलाई छोड्दै जानु, पैसा भएपछि जे पनि किनेर खान पाइहालिन्छ भन्ने सोचको विकासले यस्ता महामारीसँग जुध्न सबैभन्दा गाह्रो हुन्छ ।

सरकारले गरेको लकडाउनले स्मृतिको पाटोबाट मेटिन लागेको घरको खाद्य सञ्चिति सम्झाएको छ । खाद्यन्न सञ्चितिको रैथाने परम्परा कसरी बजारमा आश्रित हुन पुग्यो भन्ने बुझ्न यो स्मृति उदाहरण हुन सक्छ । 

अहिले गाउँमा एक माउ गाई र केही मन अलैँची भए पुग्छ भन्ने मनस्थितिले मानिसले खेतीपाती गर्न छाडिसके । दिदी भन्दै थिइन्, ‘अब गाउँको दूध बिक्न छोड्यो । तर, मान्छेहरू दिनहुँ खीर खाँदै छन्, खीरको सामान लिन मात्र दैनिक ३०-४० जना दोकानमा आउँछन् । गाउँमा मान्छेहरूसँग दूध जम्मा गर्ने ठेकी र मोही पार्ने टोलुम छैन । अहिले यो अवस्थामा ठेकीको जोहो गरे पनि मोही पार्ने चिज तुरुन्त पाइँदैन ।’ 

यसबाट मानिसले संकटसँग जुध्न जोहो गर्नुपर्ने ज्ञान त पाउँछन्, तर ०७२ को भूकम्पको अनुभवलाई लिँदा बिस्तारै स्थिति सुध्रिएपछि फेरि बिर्सन्छन् । 

तर, अझै पनि विकासे भाषामा निर्वाहमुखी खेती गर्ने र आफ्नै उत्पादनमा निर्भर हुन प्रयास गर्नेहरूलाई यस्तो अवस्थासँग जुध्न सजिलो छ । किनभने धेरैजसो निर्वाहमुखी खेती गर्नेहरू बहुबाली प्रणालीमा खेती गरिरहेका छन् । उनीहरूसँग मकै, कोदोलगायत अन्य आवश्यक खाद्यान्न सञ्चित छ । त्यसैले उनीहरू १÷२ महिना त मकै, कोदो खाएर पनि बाँचिन्छ भन्नेमा निश्चिन्त छन् ।

निर्वाहमुखी खेतीले नौ महिना काम गर्ने ३ महिना खाना नपुग्ने भन्ने उखान कति गाउँमा पाइन्छ । तर, बजारसँगको निर्भरताले हाम्रा परम्परागत आदिवासी ज्ञान सीप हराउँदै गए, यससँगै विपद्सँग जुध्ने हाम्रो कला, सीप पनि हराउँदै गयो । हिजो हामीसँग जे थियो, आज त्यो बजारले विस्थापित ग-यो । तर, ती ज्ञान, सीपलाई राखेको भए आज हामीलाई विपत्सँग जुध्न सजिलो हुने थियो । तर, आज बजार खाली हुँदा हामीसँग सबथोक खाली हुने अवस्था छ । 

यस्तो अवस्थामा हामीले खाद्य सञ्चिति (संरक्षण)को बानीको विकास गर्न अत्यन्तै जरुरी छ । महामारी र संकट भनेको जतिवेला पनि आउन सक्छ । तर, त्यो संकटसँग जुध्न तयार हुनका लागि खाद्य संरक्षण गर्ने बानीको विकास गरी नयाँ पिँढीलाई पनि सिकाउने यो अवसर पनि हो । यो एउटा व्यक्ति वा परिवारबाट हुने कुरा भयो । अहिलेको असहज परिस्थितिमा खाद्यान्न आपूर्तिमा राज्यको भूमिका के हुने ? यो अहम् प्रश्न हो । हाम्रोजस्तो आयातमा निर्भर मुलुकलाई यस्ता संकटले हाम्रो असली चित्र देखाइदिन्छ र यस्ता संकटसँग जुध्नका लागि दीर्घकालीन रणनीतिहरू अपनाउनुपर्ने सन्देश दिन्छ ।

हामी संघीयतामा गइसकेकाले स्थानीय सरकारको भूमिका सबैभन्दा महŒवपूर्ण हुन्छ । विशेषतः न्यायोचित खाद्य वितरण प्रणालीमा ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि कम्तीमा पनि आफ्नो क्षेत्रअधिकार रहेका हरेक घरधुरीमा खाद्यान्नको अवस्था कस्तो छ भन्ने तथ्यांक स्थानीय निकायसँग हुन जरुरी छ । यो महामारी अल्पकालीन रहे पनि युवल नोहा हरारीले भनेजस्तो यस्तो महामारीमा गरिएको हरेक निर्णय पछिल्लो पुस्तासम्म छाप रहन्छ । त्यसो भएकाले विशेषतः स्थानीय तहले आत्मनिर्भरतालाई केन्द्रमा राखेर दीर्घकालीन योजना बनाउन जरुरी छ । ०७२ को भूकम्पमा जस्तै यो फेरि परम्परागत ज्ञान, सीप, कलालाई नियाल्ने र विपत्सँग जुध्न सिक्ने समय हो । 
०००