• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तुल्सीदास महर्जन
२०७६ चैत २२ शनिबार १०:३०:००
विज्ञान प्रविधि

भाइरसः न ईश्वरले हटाउँछ, न टुनामुनाले 

२०७६ चैत २२ शनिबार १०:३०:००
तुल्सीदास महर्जन

१७ चैत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का एक प्राज्ञ एवं वैज्ञानिकसँग मेरो अचानक फोनवार्ता भयो । उहाँले यही हप्तामा कोरोना भाइरससम्बन्धी एउटा अनलाइनमा प्रकाशित मेरो लेख पढ्नुभएको रहेछ । 

वार्ताको क्रममा उहाँले एउटा अचम्मको घटना सुनाउनुभयो । जनकपुरमा उहाँकी विद्यार्थी बहिनी रहिछन् । ती विद्यार्थीले उहाँलाई के सुनाइन् भने सरकारद्वारा जारी लकडाउन जनकपुरमा पसल तथा गाडीहरूको हकमा त लागू भयो, तर सर्वसाधारण मानिसका लागि भएन । मानिसहरू हुल बाँधेर जानकी मन्दिरमा जाँदा रहेछन् । त्यहाँ जानकी मातासँग आशीर्वाद मागेपछि उनीहरू घर पुगेर गीता पाठ गर्दा रहेछन् । अर्को कुनै पनि किताब पल्टाई त्यसभित्र कहीँ च्यापिएर रहेको रौँ (कपाल) छ कि भनेर खोज्दा रहेछन् । एउटा हल्ला के चलेको रहेछ भने त्यसरी खोजेर प्राप्त भएको रौँ पानीमा धोई पखालेमा कोरोना भाइरस भाग्दछ रे !

रोगव्याधी होस् वा अन्य प्राकृतिक प्रकोप, जुनकुनै विपत्तिमा पनि सर्वसाधारण स्वयं जोगिनका लागि न्यून ज्ञानका कारण हल्लाको भरमा दौडिने घटना नेपालमा नौलो होइन । अहिले जारी कोरोना कहरको सन्दर्भमा पनि माथि उल्लेखितबाहेक अन्य थुप्रै त्यस्ता घटना सुन्नमा आइरहेका छन् । १५ चैतमा एउटा राष्ट्रिय दैनिकमा एउटा रिपोर्ट छापियो ।

त्यसमा गोर्खाका विभिन्न गाउँहरूमा मानिसहरू कोरोना भगाउन भनेर आ–आफ्नो घरको दैलो खनी त्यहाँ प्राप्त कोइला÷खरानी निधारमा घस्दै थिए । गाउँलेका अनुसार गाउँमा एउटा हल्ला चल्यो रे ! जसमा चीनबाट भारतमा निर्वासित तिब्बती बौद्ध धार्मिक नेता दलाई लामाले कोरोनाको औषधि प्रत्येकको दैलोमुनि खरानीको रूपमा पठाएको सन्देश छ । कोरोनाबाट त्राहीमाम भइरहेको अवस्थामा दलाई लामाले टुनामुना गरी पठाएको औषधि पाउने भएपछि गाउँका मानिस बिहान सबेरैदेखि दैलो खन्नमा व्यस्त नहुने कुरै भएन । उनीहरूले नेपाल सरकारले सामाजिक दूरी कायम गर्नका लागि जारी गरेको लकडाउनको आदेशलाई समेत वास्ता नगरी परिवारका सबै मानिस मिलेर दैलो खन्न लागे ।

कोरोना भाइरसलाई कुनै ईश्वरले हटाउन सक्दैन, न त यसलाई टुनामुना गरी समाप्त पार्न सकिन्छ । तर, प्रागऐतिहासिककालदेखि ईश्वरीय र पूजा संस्कृतिमा अभ्यस्त नेपाली जनतालाई अन्धविश्वासको दलदलबाट बाहिर निकाल्ने कसले ?

नेपालभित्र बस्ने मात्र होइनन् विदेशमा बस्ने नेपाली पनि कोरोना भगाउन धार्मिक यज्ञ गर्दै गरेको घटना मिडियामा आएको छ । बर्मा (म्यान्मार)मा रहेका पत्रकार दीपक भट्टराईले गत मार्च १८ मा ट्विटरमा लेखेका छन्, ‘नेपालीभाषी बर्मेलीले यहाँ ‘विश्व शान्ति कोरोना महायज्ञ’ गर्दै भने, ‘यज्ञबाटै कोरोना भाइरसलाई भगाउने हो । देशभर यज्ञ गरौँ, फेरि अर्को यज्ञ छ, सबैजना आउनुहोला ।’ हामी नेपालीमूलका जहाँ भए पनि यस्तै त हो नि ब्रो । सरकारले धार्मिक भेला नगर भने पनि वीरका सन्तानले कहाँ टेर्छ ?

यस्ता घटना नेपाल र नेपालीमाझ मात्र होइनन् विदेश र विदेशीहरूमाझ पनि भएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी फैलिनुमा गत फेबु्रअरी २२ मा भएको त्यहाँको एक क्रिस्चियन सभालाई मूल जिम्मेवार ठह-याइएको छ । त्यस सभामा ‘प्रभु यशुको कृपाले’ कोरोना भाइरसको रोग निको हुने सन्देश दिइएको थियो । हजारौँ भक्तहरूलाई भेला गराइएको उक्त सभापछि नै दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको सङ्ख्या तीव्र गतिमा वृद्धि भएको समाचारमा उल्लेख छ । समाचारअनुसार उक्त सभामा कोरोनाबाट संक्रमित हुनेहरूलाई पनि निको हुनका लागि बोलाइएका थिए । 

यस्ता घटना ठाउँठाउँका हिन्दू, मुस्लिम, इसाई, बौद्ध सबैजसो धार्मिक सम्प्रदायमा हुने गरेको समाचारमा देख्न, सुन्न र पढ्न पाइन्छ । यस्तो किन हुन्छ त ?

जीवन र जगत्बारे धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका कुराहरू प्राचीन समयका मानिसको दिमागी बलबुताले भ्याएअनुसार व्याख्या गरिएका मात्र हुन् । तिनीहरूमध्ये कति कुरा यथार्थतामा आधारित छन् । कति कुरा काल्पनिक मात्र हुन् । तर, जे कुरालाई पनि सत्य छ, छैन भनी जाँच्ने कसी भने कुनै सिद्ध वा ज्ञानी पुरुषको दिमागले भनेको आधारमा नै हुन्थ्यो । 

सर्वसाधारणहरू स्वयंलाई ज्ञानी हुन योग्य ठान्दैनथे । ज्ञानको स्रोत भनेको कुनै सिद्ध वा ज्ञानी पुरुष मात्र हुन्थे । भारतवर्षमा वैदिककालमा ज्ञानी र चिन्तक पुरुषहरूले वेदको रचना गरे । ती वेदहरू त्यस समयको उच्चतम ज्ञान थियो । तर, त्यसभित्रको ज्ञान पूर्ण भने अवश्य थिएन । किनकि, ज्ञान कहिल्यै पूर्ण हुन्न ।

ज्ञान पूर्णताको विचार, संस्कार र संस्कृतिले नै मानव समाजको ठूलो हिस्सा कुनै कुरालाई यथार्थमा आधारित भई जाँच परख नगर्दै कुनै सिद्ध पुरुष वा ठूलाबडा वा आफूले मान्नुपर्ने कोही कसैले भनेको कुरालाई आँखा चिम्ली विश्वास गर्दै लहलहैमा लाग्ने बानी लागेको छ । धार्मिक आस्थामा मानिसहरू विनाकुनै प्रश्न आँखा चिम्ली विश्वास बनाएर लाग्ने व्यवहारको मूल कारण यही नै हो ।

कुनै पनि वौद्ध सम्प्रदायको दार्शनिक, सैद्धान्तिक र वैचारिक आधार गौतम बुद्धका विचार हुन् । गौतम बुद्ध मात्रै त्यस्ता सिद्ध पुरुष हुन्, जसले प्रश्नविना र व्यवहारविना कुनै पनि कुरालाई मान्न अस्वीकार गर भन्ने शिक्षा दिए । उनले कुनै धार्मिक ग्रन्थमा उल्लेख भएको भन्दैमा, परम्परादेखि मानिआएको भन्दैमा, कोही महान् व्यक्तिले भनेको भन्दैमा, देख्दा र सुन्दा राम्रो लाग्दैमा कुनै पनि कुरालाई त्यत्तिकै मान्ने नगर, आफैँले जानेका र अनुभव नगरेसम्म नअँगाल भने । 
(हेर्नुहोस् : सूत्रपिटकको अङ्गुत्तर निकायको कालम सूत्र)

गौतम बुद्धका सिद्धान्तमा प्रत्यीत्यसमुत्पाद एक मुख्य सिद्धान्त हो । यो सिद्धान्तलाई कार्यकारणको सिद्धान्त भनेर पनि बुझ्न सकिन्छ । यसको सार लिने कुनै पनि घटनाका पछाडि कारणका रूपमा अर्को घटना अनिवार्य रूपमा हुन्छ । कारणविना कुनै पनि घटना घट्दैन । त्यो घटना कसैको इच्छाले घटाएको नभई घटनापछाडि घटना नै कारण हुनु साश्वत प्राकृतिक नियम भएको सार प्रत्यीत्यसमुत्पाद सिद्धान्तमा छ । त्यसैले कुनै पनि घटना यदि नकारात्मक परिणामको रूपमा छ भने त्यसको निदानका लागि त्यस घटनाको वास्तविक कारण खोतल्नुपर्ने शिक्षा प्रत्यीत्यसमुतपादले दिन्छ ।

तर, व्यवहारमा के भइरहेछ भने स्वयं बौद्ध संघ, बौद्ध भिक्षु, बौद्ध गुरु एवं अनुयायीहरू नै कुनै घटनाको वास्तविक प्राकृतिक कारण खोज्नुभन्दा पनि कोही गुरुले भनेको आधारमा त्यतिकै लहलहैमा लाग्ने गरिरहेछन् । कारण खोज्नुभन्दा पनि पूजाआजाबाट समस्या समाधानको प्रयत्न गर्ने व्यवहार गरिरहेछन् । 

वास्तवमा २५ सय वर्षअगाडि गौतम बुद्धले प्रतिपादन गरेका दर्शन, सिद्धान्त र विचार लामो समयदेखि वैदिक परम्पराबाट प्रभावित भई व्यवहारमा अर्कै भइसकेको अहिलेको अवस्था हो । गोरखाका गाउँलेलाई दलाई लामाले टुनामुना गरी अलौकिक रूपले कोरोना भाइरसको औषधि खरानीका रूपमा दैलोमुनि पठाएको भनी हल्ला चलाउनेहरू र त्यो हल्लालाई विश्वास गरी दैलो खन्न तम्सनेहरू सत्यबाट कोसौँ टाढा छन् । 

न भारतमा बसेका दलाई लामाले टुनामुना गरेर त्यहाँबाट त्यो पनि गोरखामा नै अलौकिक विधिबाट कुनै औषधि पठाउन सक्छन्, न त दैलो खन्दा भेटिएको भनिएको खरानी निधारमा घस्दैमा कोरोना भाइरस भाग्दछ । किनकि, कोरोना भाइरस देखापर्नु र त्यसको प्रकोप हुनुमा छुट्टै प्राकृतिक कारण छ । त्यो कारण र प्रकृति बुझेर मात्रै कोरोना भाइरसलाई भगाउन वा त्यसबाट मुक्ति पाउन सकिन्छ । 

त्यही कारण र प्रकृति थाहा पाउनका लागि नै अहिले विश्वभरका सूक्ष्म जीववैज्ञानिकहरू रातदिन नभनी लागिपरेका छन् । उनीहरूले धेरै कुरा पत्ता लगाइसकेका पनि छन् । तर, आजको मितिसम्म सकारात्मक परिणाम नै निस्कने गरी ज्ञानलाई परिमार्जन गर्न सकिएको छैन ।

आजभन्दा साढे तीन, साढे दुई हजारअघिका वर्षबीच भारत वर्षमा सिर्जना गरिएको वेद र त्यस समयमा विकसित वैदिक परम्पराले तत्कालीन मानव समाजलाई गति दिनका लागि महत्वपूर्ण योगदान गरे । त्यो भनेको सिन्धु उपत्यकाको अघिल्लो सभ्यताको अन्त्यपछि सुरु भएको समय थियो । त्यस सभ्यताले भारतवर्षलाई महत्वपूर्ण दर्शन, औषधोपचार विधि, न्याय पद्धति र राजनीतिकशास्त्र दियो । 

त्यसका लागि तत्कालीन ज्ञानी ऋषिमुनिहरूको चेतना र बुद्धिले नै प्रमुख भूमिका खेल्यो ।

खास गरी ज्ञानी ऋषिमुनिहरू विकसित आर्यहरू (पश्चिम युरोपबाट घुमन्ते भई एसियामा आएका युद्ध कौशलयुक्त प्रभावशाली जाति, जसलाई पछि ब्राह्मण भनियो) नै हुन्थे । तत्कालीनमा अन्य मानिस आदिवासी कविला समुदायका हुन्थे । आदिवासी कविला मान्छेहरू पछौटे ज्ञानका थिए । यही कारणले वैदिक कालमा यस्तो संस्कार र संस्कृति हुर्कंदै गयो । जहाँ ज्ञानी ऋषिमुनि तथा पराक्रमी आर्य पुरुषहरूका कुराहरू आममानिसका लागि अकाट्य सत्य हुन्थ्यो । 

प्राकृतिक वस्तु तथा घटनाहरू मानवीय शक्तिभन्दा बलवान् हुने भएकोले प्राकृतिक वस्तुहरू हावा, अग्नि, जमिन, पानी, नदीनाला, समुद्र, पहाड, सूर्य, चन्द्र आदिलाई पूजा गर्ने चलन त मानव सभ्यताको सुरुदेखि चल्दै आएको नै थियो । वैदिक कालमा आएर ज्ञानी आर्य पुरुष तथा पराक्रमी बलवान् पुरुषलाई पनि पूजा गर्ने चलन आयो । तिनीहरूलाई मानिसले पूजा गर्ने प्राकृतिक वस्तुसरह नै सर्वश्रेष्ठ माने । तिनीहरूलाई देवता भनी नामकरण गरिदिए । 

पूजा गर्ने दर्शनमा दुईवटा मुख्य कुरा छन् : एउटा पुजिने वस्तु वा व्यक्ति, आफूले जान्न नसकिने अति बलवान्, पराक्रमी । आवश्यक परेको जे पनि चिज उपलब्ध गराउन सक्ने अलौकिक क्षमताको । उसलाई खुसी पार्दा केही पाउने आशा । 

त्यस्तो वस्तु वा व्यक्ति रिसाएमा आफूहरूमा जस्तोसुकै विपत्ति पनि आउन सक्ने भएकाले त्यसलाई खुसी राखिराख्नुपर्ने बाध्यता । देवता वा भूतपे्रतलाई पूजा गर्ने चलन यसै दर्शनमा आधारित छ । वैदिककालमा यही संस्कार र संस्कृतिलाई हुर्काउने गरियो, जुन तत्कालीन आर्य ब्राह्मणहरूको हितमा थियो । यसले कुनै पनि कुरालाई गहिरोसँग बुझ्न कार्यकारणको सिद्धान्तलाई पछ्याउने दर्शनलाई जन्म हुन दिएन । त्यसले देवता वा जान्नेसुन्नेले भनेका कुराहरूलाई आँखा चिम्ली विश्वास गर्ने संस्कृतिलाई जन्म दियो । 

जसले वर्तमानसम्म पनि निरन्तरता पाइरहेको छ । अहिले हाम्रो समाजको संस्कृतिको मूल चरित्र यही नै हो । यहीकारण हो कोरोनाबाट त्रसित बनेका गोरखाका सर्वसाधारण गाउँलेले कसैले हल्ला चलाएकै आधारमा कोरोनाबाट जोगिन दैलो खनी त्यहाँ दलाई लामाले पठाएको भनिएको खरानी निकाली निधारमा घस्न थाले, त्यस्तै गरी बर्मातिर होम, यज्ञ गरी गाउँबाट कोरोना भगाउने प्रयत्न गरिएको ।

१२, १५ हजार वर्षपहिलेसम्म जङ्गलमा डुलेर गुफामा बस्दै आएका मानव जाति कृषि युग सुरु भएदेखि मात्र गाउँ निर्माण गरेर स्थायी वासस्थान बनाई बस्न थालेका हुन् । उनीहरूलाई सामान्यभन्दा सामान्य प्राकृतिक घटनापछाडिका कारणहरू पनि थाहा थिएन । त्यसैले रिझाउन वा खुसी पार्न प्रकृतिलाई पूजा गर्ने चलन सम्भवतः मानव सभ्यताको ढुङ्गे युगदेखि नै सर्वत्र चल्दै आयो । पूजा संस्कृतिले कारण खोतल्ने चेतनालाई जन्म हुन दिएन । 

यही संस्कृति वैदिक कालभन्दा धेरै पछाडि सुरु भएको इसाई (दुई हजार वर्षपहिले) तथा इस्लाम (एक हजार तीन सय वर्ष पहिले) परम्परामा पनि प्रभावी बन्यो । सबैले जीवन र जगत्मा आउने सबै प्रश्नको उत्तर आ–आफ्ना आस्थाका पात्रमा मात्र खोज्न थाले । वस्तु वा घटनापछाडिको कारण त्यही वस्तु वा घटनाभित्र नै निहित हुन्छ । त्यसैले कुनैको कारण बाहिर कसैको दिमाग र भनाइमा खोजेर पाइन्न । कारण थाहा नभई निदानको उपाय पनि निकाल्न सकिन्न ।

तसर्थ, कोरोना भाइरसलाई कुनै ईश्वरले हटाउन सक्दैन, न त यसलाई टुनामुना गरी समाप्त पार्न सकिन्छ । तर, प्रागऐतिहासिककालदेखि ईश्वरीय र पूजा संस्कृतिमा अभ्यस्त नेपाली जनतालाई अन्धविश्वासको दलदलबाट बाहिर निकाल्ने कसले ? यो गम्भीर प्रश्न बनेको छ । 

अहिले कोरोनाबाट जोगाउन सरकारले सम्पूर्ण मुलुकलाई लकडाउन गरेको वेला आम जनतालाई विज्ञानसम्मत शिक्षाबाट शिक्षित गर्ने कार्य महत्वपूर्ण हुन सक्छ ।

विज्ञानसम्मत शिक्षाकै अभावले आम मानिस युगौँ पुरानो अवधारणा, संस्कार र संस्कृतिमा चुर्लुम्म डुबेका छन् । आर्थिक अभावका कारण रोजीरोटी जोड्न वा घटनाविशेषले बाध्य भई घरबाहिर रहेकाहरूबाहेक अन्य सामान्य अवस्थाका मानिस ज्ञान र शिक्षाकै अभावले लकडाउनलाई तोडी अन्धविश्वासी हर्कत गरिरहेका छन् । यो निकै खतरनाक छ । नेपाली वैज्ञानिक तथा वैज्ञानिक संस्थाहरूले गम्भीर भई सोच्नुपर्ने वेला आएको छ ।