• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
दिनेश पन्त
२०७७ बैशाख ६ शनिबार ११:२२:००
इतिहास

माल्थस र इकोनोमिक हिरोहरू

२०७७ बैशाख ६ शनिबार ११:२२:००
दिनेश पन्त

कोभिड–१९ को त्रासदीपूर्ण महामारी अरू केही नभएर धर्तीमा भएको पापकर्मको हिसाबकिताब ईश्वरले लिइरहेका हुन् भन्ने तर्क समाजका प्रायः सबै धार्मिक समुदायका मानिसले व्यक्त गरेको पाइन्छ । महामारीले उत्पन्न गरेको निराशाजनक परिस्थितिमा यी तर्क आउनु अस्वाभाविक पनि होइन । यो त भयो समाजका आमधार्मिक व्यक्तिहरूले गर्ने तर्क, तर यस्तै किसिमको तर्क समाजका विद्वान् कहलिएकाहरूले पनि वेलावेलामा गर्ने गर्छन् । फरक यत्ति हो यो तप्काका मानिसले ईश्वरको ठाउँमा प्रकृति र पापकर्मको ठाउँमा प्रकृतिको शोषणजस्ता पंक्तिहरू प्रयोग गर्छन् । 

पछिल्लो तर्क बेलायती अर्थशास्त्री थमस रोबर्ट माल्थसको जनसंख्याको सिद्धान्तबाट प्रेरित भएको हो । मानवद्वारा प्रकृतिको अत्यधिक शोषण गर्दा हुने प्रकोप र विपत्तिले प्रकृति आफैँ सन्तुलित हुन्छ भन्ने माल्थसको तर्क गत हप्ताको ‘झन् नयाँ’ परिशिष्टांकमा समाजशास्त्री, नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य तथा आप्रवासी कामदारविज्ञ डा. गणेश गुरुङको अन्तर्वार्तामा पढ्न पाइयो । उनले यही तर्कमा आधारित रहेर नेपालका लाखाैँ आप्रवासी मजदुरलाई इकोनोमिक हिरो अर्थात् आर्थिक नायकको पदवी पनि दिए । इकोनोमिक हिरो शब्द आप्रवासी मजदुरका लागि प्रयोग गरिनु उचित हो कि होइन, यसबारेमा विचार गर्न जरुरी छ । उचित–अनुचितको जवाफ दिनुअघि माल्थसको सिद्धान्तबारे छोटो जानकारी सान्दर्भिक होला ।

माल्थसले प्रतिपादन गरेको जनसंख्या सिद्धान्तअनुसार नियन्त्रण नगरिएको अवस्थामा जनसंख्या ज्यामितीय दरमा वृद्धि हुन्छ र अंकगणितीय दरमा जनसंख्यालाई चाहिने खाद्यवस्तु उत्पादन हुन्छ । तसर्थ जनसंख्याको अनुपातमा खाद्यान्न निकै कम रहन्छ । यसै तर्कको जगमा माल्थसले गरिबी, अपराध र वातावरण विनाश र त्यसले सिर्जना गरेको प्रकोप र विपत्तिलाई पुष्टि गरेका थिए र अहिले पनि यो तर्क निकै प्रयोग हुने गरेको पाइन्छ । स्रोत र जनसंख्याको असामञ्जस्यताले निम्त्याएको प्राकृतिक असन्तुलनलाई सन्तुलनमा ल्याउन माल्थसकाअनुसार महामारी र विपत्ति आउँछ । उनको सिद्धान्त पुँजीपति वर्गको स्वार्थ र तिनको निजी सम्पत्तिको बचावका लागि आएको थियो र सामुदायिक सम्पत्ति र लोककल्याणकारी व्यवस्थाको विरुद्ध लक्षित थियो ।

उनका अनुसार सम्पत्तिमा सबै वर्गको पहुच हुँदा निम्नवर्गमा सन्तान उत्पादन क्षमता बढ्ने भएकाले जनसंख्या वृद्धि हुने तर्क थियो । यसको झल्को बेलायतमा कृषि क्रान्तिले ल्याएको चक्लाबन्दी (इनक्लोजर)बाट विस्थापित श्रमजीवी वर्गले विद्रोह नगरुन् भनेर बनाइएको राहतको कानुनलाई समेत हटाउनुपर्छ भनेर पैरवी गरेका थिए । अहिलेकै बढेको भनिएको जनसंख्यामा सबैलाई सम्पत्तिमा समान पहुँच अर्थात् सामुदायिक सम्पत्ति लागू गरिने हो भने असमानता र भोकमरी पक्कै रहन्न । यसर्थ माल्थसको सिद्धान्त मोटामोटी रूपमा पुँजीपति वर्गलाई चोख्याउन र समाजको समस्या गरिबको थाप्लोमा हाल्न ल्याइएको विचार थियो ।

जहाँसम्म कोभिड–१९ को उत्पत्तिको कुरा छ, यसको स्रोतको पुष्टि अहिलेसम्म हुन सकेको छैन । यद्यपि विभिन्न वैज्ञानिक शोध र अध्ययनले चमेरो वा प्यांगोलिनबाट कोभिड–१९ भाइरसको उत्पत्ति भएको हुन सक्ने देखाउँछ । यो सम्भाव्यताले भोजन निर्धारणवादी र शुद्धतावादीहरूले अमुक किसिमको खानालाई गलत देखाउने मौका भने पाएका छन्, उदाहरण दक्षिण एसियामा ब्राह्मणवादीहरूले मांसहारी खानपिनलाई रोगको कारक मानेका छन् । चिनियाँहरूले चमेरो वा प्यांगोलिन खानु नयाँ घटना भने होइन, तर यी जनावरबाट सर्ने रोगहरू सार्स र अन्य भने नयाँ हुन्, तसर्थ सतहमा देखिएको खानपिनको व्यवहार रोगको कारण होइन । यथार्थमा यी रोगहरू कृषिको निगमीकरण र माथि उल्लेखित जनावरहरूको औद्योगिक उत्पादन र उच्च–उपभोग कारण भएको भन्ने विभिन्न अध्ययनले देखिन्छ । यसअघिका अरू महामारी पनि असमानताका कारणले भएको हुन सक्छ भन्ने इतिहासकार पिटर टर्चिनको अध्ययनले देखाउँछ । उनको अध्ययनले विश्वका ठुला महामारी हुँदा तथ्यांकीय हिसाबमा असमानता अत्यधिक थियो भन्ने देखिन्छ । तसर्थ जनसंख्या नियन्त्रण गर्न वा प्रकृतिले आफूलाई सन्तुलन गर्न प्रकोप पैदा गर्छ भन्ने भाग्यवादी र गरिबद्वेषी माल्थसको सिद्धान्त गलत साबित हुन्छ र यस्ता महामारीको जिम्मेवारी बहुसंख्यक मानिसभन्दा मुट्ठीभरका हुनेखानेहरूकै हो । 

डा. गुरुङले आप्रवासी मजदुरहरूलाई इकोनोमिक हिरो भनेका छन् । झट्ट सुन्दा मजदुरहरूलाई नायक भनियो भन्ने पर्छ, तर त्यससँग जोडिन आउने इकोनोमिक अर्थात् आर्थिक शब्दले आप्रवासी मजदुरलाई दोस्रो दर्जाको नागरिकमा झार्दिन्छ । शास्त्रीय अर्थशास्त्रमा अर्थतन्त्रको अर्थ उत्पादन, वृद्धि र वितरणमा मात्रै केन्द्रित रहन्छ र अर्थतन्त्र समाज, संस्कृति र राजनीतिबाट ‘डिसइम्बेड’ अर्थात् अलग हुन पुग्छ । अन्तर्वार्तामा डा. गुरुङ आफ्नो विचार शास्त्रीय अर्थशास्त्री माल्थसबाट सुरु गर्छन् त्यस हिसाबमा ‘इकोनोमिक हिरो’ शब्दले नेपाल र त्यसमा पनि यहाँको बुर्जुवा वर्गका लागि रेमिट्यान्स उत्पादन गर्ने मेसिनबाहेक अरू केही पनि अर्थ राख्दैन । माल्थसको भाषामा यी आप्रवासी मजदुरहरू फगत जनसंख्या मात्रै बुझिन आउँछ, जो आवश्यक पनि छन् र आवश्यक छैनन् पनि । त्यस हिसाबले इकोनोमिक भए पनि नेपाली शासकवर्गका लागि रेमिट्यान्स पठाउने मजदुर ‘हिरो’ नै हुन् । 

पूरै अन्तर्वार्ताभरि डा. गुरुङलाई कोभिड–१९ को महामारीपछि आप्रवासी मजदुरबाट उत्पादन हुने रेमिट्यान्समा रोक आउने भन्ने चिन्ता प्रस्टै देखिन्छ । तर, उनको त्यो चिन्ता नेपालमै ती इकोनोमिक हिरोहरूलाई कसरी पुनःस्थापित गर्न सकिन्छ भन्नेतिर पटक्कै देखिँदैन । पुनस्र्थापनाको ठीकविपरीत उनी कुनै पनि हालतमा ती इकोनोमिक हिरोहरूलाई नेपालमै बस्ने ठाउँ देख्दैनन् । अझ बढेरभन्दा ती हिरोहरूबाट हुन सक्ने सम्भावित ‘अपराध’ र ‘राजनीतिक अस्थिरता’बाट डा. गुरुङ त्रसित भएको प्रस्टै देखिन्छ । 

हो, एकाध ठाउँमा तुरन्तै सम्भव नहुने ठूला ‘विकासका’ योजनामा रोजगारीका कुरा गर्छन् वा तथाकथित साना काम जस्तै, कपाल काट्ने काममा आप्रवासी मजदुरलाई लगाउने सुझाब दिन्छन् । जहाँ पहिल्यैदेखि उनले ‘भारतीय’ देख्ने नेपाली श्रमिक काम गरिरहेका छन् भन्ने हेक्का राखेका हुँदैनन् । उसो त भारतमा नेपालीले काम गरेर रेमिट्यान्स पठाउँदा ठिकै लाग्छ डा. गुरुङलाई । तर, नेपालमा ‘भारतीय’ले काम गर्दा नेपाली आप्रवासीको काम खोसिएको देख्छन् डा. गुरुङ । उनी कोभिड–१९ को महामारीपछि रेमिट्यान्स नआउने चिन्ताले जेनोफोबिया (क्षेत्रीय र राष्ट्रिय संकीर्णता), नश्लवाद र आप्रवासीद्वेषले आक्रान्त युरोपमा दक्षिणी विश्वको नेपालजस्ता मुलुकका नागरिकले सहजै रोजगार पाउने उडन्ते सपनाको बखान गर्न पनि पछि पर्दैनन् । उनी जसरी पनि इकोनोमिक हिरोहरूको जनसंख्यालाई लाभ आउने गरी व्यवस्थापन गर्न इनोभेटिभ विचार सुझाउँछन् । यहाँसम्म कि गोर्खाली सिपाही–गरिब नेपाली भाडाको सिपाही बन्नुपरेको लज्जालाई ‘पुमा’, ‘एडिडास’ र ‘नाइक’जत्तिकैको ब्रान्ड बनाएर अकुत रेमिट्यान्स उत्पादन गर्ने बुद्धि पनि फुराउँछन् । समग्रमा भन्दा नेपाल भन्ने मुलुकका सबै जनताको आर्थिक, सांस्कृतिक, सामाजिक र राजनीतिक जीवनलाई मर्नबाट जोगाउने लाखौँ मानव हिरो भन्न आवश्यक नभएका मजदुरहरूलाई इकोनोमिक हिरो भनेर डा. गुरुङले समग्रमा मजदुरको अमानवीकरण (डिह्युमेनाइजेसन) र वस्तुकरणबाहेक केही गरेका छैनन् । 

यो प्रतिक्रिया आप्रवासी मजदुरलाई इकोनोमिक हिरो भन्यो भनेर ‘भावनामा बगेर’ लेखिएको गन्थन मात्रै पक्कै होइन । यो प्रतिक्रिया संविधानले आश्वासन गरेको समाजवादउन्मुख व्यवस्थाको मर्मविरुद्ध आउने विचार र नीतिको पनि हो, किनभने समाजवादी व्यवस्थामा एक मजदुरको अमानवीकरण र वस्तुकरण गरेको कल्पनासमेत गर्न सकिँदैन । यो प्रतिक्रिया एक सामाजशास्त्री र आप्रवासी मजदुरविज्ञ डा. गणेश गुरुङको आलोचना मात्रै पनि होइन । यो प्रतिक्रिया समाजवाद ल्याउँछौँ भनेर बनेको कम्युनिस्ट पार्टीको सरकारको नीति र नीति निर्माणमा संलग्न रहेकाहरूको आलोचना पनि हो । यथार्थ हेरेर कोही पनि सकारात्मक हुन सकिँदैन । यसर्थ यो राज्यको नीति बनाउने भनिएको संस्थाका नीतिकारहरूको सोच राजतन्त्र हुँदा राजाले भट्याउने ‘पशुपतिनाथले सबैको रक्षा गरुन्’ भन्ने भाग्यवादी दृष्टिकोणभन्दा फरक छैन ।

(लेखक साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र अध्ययन गर्दै छन्)