• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
डा. विद्यानाथ कोइराला
२०७७ बैशाख २७ शनिबार ०८:१३:००
विज्ञान प्रविधि

रोबोटलाई जित्ने कि शिक्षण पेसा छाड्ने ?

लकडाउनका वेला आठ तरिकाले अध्ययन–अध्यापन गर्न सकिन्छ 

२०७७ बैशाख २७ शनिबार ०८:१३:००
डा. विद्यानाथ कोइराला

आचार्यात् पादमादत्ते पादं शिष्यः स्वमेधया । 
सब्रहचारिभ्यः पादं पादं कालक्रमेण च ।।
(उद्योग पर्व ४४.१६)


जोडिएको सन्दर्भ

महाभारतको उद्योग पर्वको ४४.१६ ले भन्छ– एकचौथाइ गुरुबाट सिक । एकचौथाइ साथीबाट सिक । एकचौथाइ विज्ञबाट सिक । एकचौथाइ कालक्रममा आफ्नै अनुभवबाट सिक । यो भनाइलाई आजको सन्दर्भमा पनि प्रयोग गर्न सकिन्छ । आधुनिक प्रविधिको पहुँच नहुँदा पनि प्रयोग गर्नुपर्छ र पहुँच हुँदा पनि त्यही प्रविधिसँग मिलाएर महाभारतकालीन तरिका प्रयोग गर्न सकिन्छ । एकीकृत प्रविधि प्रयोग वा वहुप्रविधिको पहुँच हुँदा पनि यसको प्रयोग गर्न मिल्छ । यसरी शिक्षणका चारैवटा कुरा प्रयोग गर्नु हाम्रो पुख्र्याैली सम्पदाको उपयोग पनि हो । महाभारतकालीन चिन्तनको प्रयोग पनि हो । यसलाई पश्चिमा वा आधुनिक प्रविधिमा पनि उत्तिकै ढंगमा प्रयोग गर्न सकिन्छ । यस अर्थमा पुख्र्यौली र आधुनिक सन्दर्भ जोडिन्छ भनेको हुँ । 

 

हिन्दू तथा बौद्ध दुवैको पुरानो शिक्षण विधिमा तीनवटा तरिका भनिएको छ । पहिलो श्रवण, दोस्रो मनन र तेस्रो निदिध्यासन । श्रवण भनेको सुन्ने हो । मनन भनेको सुनेको कुरा गुन्ने हो । गुन्दा पढेका तथा सुनेका कुरा जोडिन्छन् । निदिध्यासन गर्दा अनुभव गरेका कुरा जोडिन्छन् । गुम्बाहरूमा पनि यो शिक्षण विधि प्रयोग भएको देखिन्छ । काठमाडौंको सेतो गुम्बाको प्रचलनले त्यही कुरा भन्छ । 

 

आदि शंकराचार्यले त श्रवण, मनन तथा निदिध्यासनबाहेक अरू ७ वटा शिक्षण विधिको प्रयोग गर्नुपर्छ भनेका छन् । उनको प्रशिक्षणमा ती विधिको प्रयोग गर्ने गरेको देखिन्छ । ती थप ७ विधि हुन्– प्रश्नोत्तर, तर्क, व्याख्या, अध्यारोप उपवाद, दृष्टान्त, कथाकथन, उपदेश विधि । शंकराचार्यका थप शिक्षण विधिले भन्छ– ती पनि आधुनिक प्रविधिसँग मिलाउन सकिन्छ । जुन प्रविधि प्रयोग गरे पनि प्रश्नोत्तर अनिवार्य गर्नुपर्छ । तर्क गर्ने ठाउँ दिनुपर्छ । त्यो कुतर्क होला । वितर्क होला । वितण्डा होला । तर, त्यसले ठाउँ पाउनुपर्छ । व्याख्या विधि प्रचलनमै छ ।

भोलिका शिक्षक शिक्षणको मूल भूमिकामा हुँदैनन् । रोबोट र ड्रोनले तिनलाई जित्छन् । त्यो वेला शिक्षकको काम हुन्छ-सके रोबोटलाई जित्ने, नसके शिक्षण पेसा छाड्ने ।

अध्यारोप उपवाद विधिले पहिले साँपको कुरा गर्छ । पछि डोरीमा पनि साँपको अनुभूति हुने कुरा गर्छ । यसरी आरोपित ढंगमा कुरा गरेर पनि शिक्षण हुन्छ । दृष्टान्त विधिले उदाहरण दिएर सम्झाउने प्रबन्ध गर्छ । कथाकथन विधि उपनिषद्मा पर्याप्त छ । अद्वैत वेदान्तीहरूले यो विधिलाई अभ्यासमा ल्याएका छन् । विवेक चूडामणि तथा उपदेश सहस्रीमा शंकराचार्यले यो विधि अपनाएका छन् । उपदेशात्मक विधि भने नेपालमा संस्थागत नै भएको छ । जो पनि अरूलाई सिकाउन जान्दछौँ । 

 

पश्चिमा शिक्षण विधिलाई तीन खण्डमा भन्ने गरिन्छ । पहिलो, शिक्षक केन्द्रित विधि । यो विधिमा शिक्षकले आफूलाई अधिकारी ठान्छ । विज्ञ मान्छ । विद्यार्थी असल स्रोता हुन्छ । नभए पनि हुनुपर्छ । दोस्रो, विद्यार्थी केन्द्रित विधि । यो विधिमा शिक्षक सहजकर्ता बन्नुपर्छ । विद्यार्थीलाई शिक्षकको अधिकार प्रत्यायोजन गर्नुपर्छ । तेस्रो, सहभागितात्मक सिकाइ विधि । यो विधिमा शिक्षक तथा विद्यार्थीले एक–अर्कासँग सिक्ने–सिकाउने काम गर्छन् । ‘हाई टेक’ तथा ‘लो टेक’ विधि अपनाई पठनपाठन गर्नेचाहिँ आधुनिक प्रविधिले भित्र्याएका शिक्षण तरिका हुन् । ‘हाइ टेक’ विधि आक्रामक रूपमा अघि बढेको छ । विज्ञहरूको विचारमा रोबोटहरू भोलिका शिक्षक बन्छन् । ड्रोनहरू, मल्टिमिडिया अर्थात् शैक्षिक एवं शैक्षणिक सामग्रीको रूपमा काम गर्छन् । एक ड्रोन, अनेक शैक्षिक र शैक्षणिक सामग्री ।

 

यो स्थितिमा शिक्षण विधि विद्यार्थीअनुकूल बन्ने सम्भावना हुन्छ । अर्थात् विद्यार्थीले मन परेको च्यानलमा टिभी हेरेजस्तै गरी पढ्न पाउँछन् । विषय छान्न पाउँछन् । शिक्षण विधि छान्न पाउँछन् । यो स्थितिमा शिक्षकको भूमिका गौण हुन्छ । भए पनि मानवीय संवेदना चाहिने वेलामा मात्र तिनको उपयोग हुन सक्छ । यसको अर्थ हो– भोलिका शिक्षक शिक्षणको मूल भूमिकामा हुँदैनन् । रोबोट र ड्रोनले तिनलाई जित्छन् । त्यो वेला शिक्षकको काम हुन्छ– सके रोबोट र ड्रोनलाई जित्ने । तिनीहरूको भन्दा भिन्न तरिका अपनाएर विद्यार्थीलाई आफ्नो शिक्षण सिकाइमा तान्ने । रोबोट तथा ड्रोनलाई जित्न नसके आफूले शिक्षण पेसा छाड्ने । यसरी पश्चिमा शिक्षण विधि झनै आक्रामक बन्दै छ । तर, ती विधिमा पनि श्रवण, मनन तथा निदिध्यासनको प्रयोग गर्न सकिन्छ । त्यस्तै महाभारत उद्योगपर्वको (४४.१६) को विधि अपनाउने गुञ्जायस रहन्छ । 

 

एक्काइसौँ शताब्दीको शिक्षा र शिक्षण विधि

 

एक्काइसौँ शताब्दीको अपेक्षित शिक्षा अंग्रेजी अक्षरको ‘४ सी’ मा आधारित छ । यो मान्यताभित्र अनेकन विधि छन् । तर, गाँठी कुरा के छ भने ‘४ सी’को शिक्षण तरिकाले विषयवस्तु सिकाउने शिक्षक खोज्दैन । नोट लेखाउने तथा घोकाउने शिक्षक पनि खोज्दैन । किनकि ‘४ सी’मा सर्जक बन्ने–बनाउने तरिका हुन्छ– क्रियटिभिटी । संवाद गर्ने तरिका हुन्छ– कम्युनिकेसन । एकअर्कालाई सघाउने तरिका हुन्छ– कोलाबरेसन । समालोचक बन्ने–बनाउने उपाय हुन्छ– क्रिटिकल्ली । पश्चिमाका यी ‘चार सी’लाई महाभारतको उद्योग पर्वको ४४.१६ मा उल्लिखित शिक्षण विधिसँग भिडाएर हेर्न सकिन्छ ।

 

यसबाट देखिन्छ कि चारचौथाइको शिक्षण तरिका र पश्चिमाहरूको ‘४ सी’ तुलना गर्दा भावान्तर देखिँदैन, मात्र शब्दान्तर देखिन्छ । प्रश्न यहीँ हो– कसको विधिको वकालत गर्ने ? पश्चिमाको भरिया हुने ‘युरोसेन्ट्रिक’ विधि अपनाउने कि, उपनिवेशबाट मुक्त हुनुपर्छ भन्ने ‘डिकोलोनाइजेसन’ को विधि अपनाउने ? आफ्नै मूलको शिक्षण विधि ‘इथ्नोसेन्ट्रिक’ विधि अपनाउने कि, हाम्रा र पश्चिमाका कुरा मिलाएर ‘हाइब्रिडाइजेसन’ विधि बनाउने ? कि आफ्नै माटोका शिक्षण विधिहरूका खोजी गरी तिनको आधुनिकीकरण (कल्चरल हाइब्रिडाइजेसन) गर्ने, यी बहसका विषय हुन् । 

 

तरेलीका प्रविधिवालाहरू

 

हामी सबैसँग एकै खालको प्रविधि छैन । रेडियो सबैसँग हुन सक्छ । तर, ‘स्टेरियो आवाज’ दिने रेडियो सबैसँग नहुन सक्छ । रेडियो प्रसारणको दृष्टिले पनि त्यस्तै भिन्नता छ । कतै ‘एनलग रेडियो’ चल्छ । कतै ‘डिजिटल’ । डिजिटल रेडियो पनि थरीथरीका छन् । आविओसी, डिएवी, आइएस डिवी—टिएसवी, डिआरएम । सिरियस एक्सएम, इन्टरनेट रेडियो । यी प्रत्येक रेडियोको भिन्न क्षमता छ । त्यो क्षमताले कुन कार्यक्रम कसरी प्रसारण गर्ने भन्ने कुरा निर्धारण गर्छ । यसको अर्थ हो– हाम्रा रेडियो शिक्षा कार्यक्रम सञ्चालकहरूले यो कुरा जान्नुपर्छ र तदनुसारका कार्यक्रम बनाइनुपर्छ । तर, सन् २०२० मा सातै प्रदेशमा गरिएको श्यामप्रसाद आचार्य र उत्तम शर्माको अध्ययनले भन्छ– पच्चीस प्रतिशतको घरमा मात्र रेडियो छ ।  

 

मोबाइल सबैसँग हुन सक्छ । तर, भाइवर वा म्यासेन्जर चल्ने मोबाइल सबैसँग नहुन सक्छ । सोही अध्ययनले भन्छ– ७९ प्रतिशतसँग फोन छ । सहरका ९१ प्रतिशतसँग मोबाइल छ । कतिपयसँग ल्यान्डलाइन फोन पनि छ । कतिसँग एनोराइड फोन छ । कतिसँग स्मार्ट फोन छ । कतिसँग फिचर फोन छ । कतिसँग कोसेर फोन छ । कतिसँग सामान्य फोन छ । आफ्नो फोनको क्षमताअनुसार मोबाइलमा एकल तथा समूह बनाएर सन्देश पठाउने चलन भने बढेको छ । सन्देश के पठाइन्छ, समस्या त्यति मात्रै हो । शैक्षिक तथा शैक्षणिक प्रयोग के भएको छ, त्यो अर्काे समस्या हो । 

 

माथिकै अध्ययनले भन्छ– नेपालमा टिभीसेट हुनेहरू ५० प्रतिशत छन् । गाउँमा २२ प्रतिशत घरमा मात्रै टिभीसेट छ । नेपालीसँग प्रविधिको हिसाबले विधि क्षमताका थरीथरीका टिभी छन् । सोही अध्ययनले भन्छ– पिसी र इन्टरनेटको सुविधा भएका घरहरू नेपालमा ८ प्रतिशत छन् । सहरमा १२ प्रतिशतसँग यो सुविधा छ । गाउँमा २ प्रतिशतसँग मात्रै यो सुविधा छ । ल्यापटप र डेस्कटप भएकाहरू पनि छन् । कम्प्युटर हुनेवालाहरूको पनि एउटै स्थिति छैन । कसैसँग सुपर कम्प्युटर छ । कसैसँग मेनफेम । कसैसँग सर्भर कम्प्युटर । कसैसँग वर्कस्टेसन–डेस्कटप कम्प्युटर । आचार्य र शर्माको अध्ययनले देखाउँछ कि आधुनिक प्रविधिमा सबै नेपालीको पहुँच छैन । पहुँच भएकाहरू पनि एकनासको स्थितिका छैनन् । 

 

कोरोनाले दिएको पीडा 
कोरोना कहरले स्कुल–कलेज बन्द छन् । बालबालिका, जवान एवं चञ्चल युवा पनि घरमा छन् । बाबुआमा बाजेबज्यै पनि घरमै भएकालाई रामै्र छ, संवाद हुन्छ । तर, कति दिन संवाद गर्ने ? के विषयमा संवाद गर्ने ? संवादलाई कसरी जीवनमा उपयोग गर्ने ? यी र यस्ता कुरा भनिदिने कोही छैन । यसबारे शिक्षक प्राध्यापकहरू जिम्मेवार बनेनन् । नेताहरूले चिन्तन नै गरेनन् । तीनै तहका सरकारमा यो तहको सोच बनेकै छैन । कर्मचारीहरू सर्जक हुनै सकेनन् । जे–जति भयो, आमसञ्चारको चासोले भयो । 

 

छिटपुट प्रयास
केही स्कुल, क्याम्पस तथा विश्वविद्यालयले अनलाइन शिक्षा सुरु गरे । काठमाडौं विश्वविद्यालयको शिक्षा स्कुलले कोरोना कहरमा जम्मा तीन दिन पढाइ रोक्यो । अरू दिनमा गुगल एप्स र मुडल प्रयोग गरी कक्षा सञ्चालन ग-यो । केही पालिकाले परीक्षाफल निकालेर विद्यार्थीलाई बाँड्न लगाए । स्याङ्जाको फेदीखोला गाउँपालिका एउटा उदाहरण हो । बाँके, दैलेख, गोरखा, तनहुँ, पाल्पाका केही एफएम रेडियोहरूले शिक्षा कार्यक्रम सुरु गरे ।

 

रेडियो नेपालले पनि यो काममा निरन्तरता दियो । नेपाल टेलिभिजनले पनि पढाउन थाल्यो । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालयले पनि यो कामको आंशिक सुरुवात गरेका छन् । शिक्षक संगठनले अनलाइनमा शिक्षक तयारीको काम थाल्यो । सप्तरीको तिलाठी कोइलाडी र तनहुँ तथा कास्कीका केही शिक्षकले विद्यार्थीलाई घरघरमा पढाउन थाले । यी सबै फाटफुटे प्रयास हुन् । यस्ता प्रयास संगठित भएका छैनन् । तीनै तहका सरकारसँग संस्थागत रूपमा जोडिएका छैनन् ।  

 

भुल्के प्रयासले अनेकन सम्भावना देखाएका छन् । ती सम्भावनासँगै चल्ने हो भने संविधानको धारा ५० उपधारा ‘ज’ को ‘क’लाई सजिलै कार्यान्वयन गर्न सकिन्छ । त्यसले भन्छ–शिक्षालाई वैज्ञानिक, व्यावहारिक, जनमुखी तथा उत्पादनसँग जोड्नुपर्छ । यहीँनेर हामीले भन्नुपर्छ, यो काम शिक्षक र प्राध्यापकले गर्नुपर्छ । अरूले तिनीहरूलाई धन, मन र कर्मले सघाउनुपर्छ । विपन्नका घरमा अनलाइन सुविधा छैन, त्यसैले अनलाइन शिक्षा बन्द गर्नुपर्छ भन्ने वुद्धि पूरै भत्काउनुपर्छ । सर्वहाराको वकालत गर्नेहरूको यो अर्घेलो भनाइले हामीलाई पुरातनवादमै पु¥याउँछ । यस स्थितिमा तरेलीमै पढाउने तरिकाहरू यस प्रकारका हुन सक्छन् । यसको छनोट शिक्षक, प्राध्यापक र निर्णायकले गर्ने हो ।

 

तरेलीमै पढाउने तरिका

तरेली नं. १
यसमा विपन्न विद्यार्थीहरू पर्छन् । साम्यवादी शब्दावलीमा सर्वहाराहरू । यिनीहरूसँग सञ्चारका साधन छैनन् । यो समूहलाई शिक्षकले जिम्मा लिनुपर्छ । स्कुल–कलेजको पाठलाई नै दैनिक वा साप्ताहिक मोड्युलर पाठ बनाएर यो काम गर्न सकिन्छ । त्यसो गर्दा विद्यार्थीको अनुभव जोड्न दिनुपर्छ । उसका अभिभावकको चिन्तन मिसाउन दिनुपर्छ । यो तरेलीका विद्यार्थीले गर्न सक्ने त्यही हो । शिक्षक वा प्राध्यापकले ५ देखि १० घरलाई जिम्मा लिएर यो काम गर्न सक्छन् । मंगोलियाको अनुभवले यो कुरा प्रमाणित गरेको छ । यसका लागि विषय शिक्षक जिम्मेवार बनाए पनि हुन्छ । वहुविषयक पठनपाठन गर्न सक्ने शिक्षक–प्राध्यापक तयार पारे पनि हुन्छ ।

 

माथिल्ला कक्षामा पढाउने शिक्षक–प्राध्यापकलाई उपयोग गरे पनि हुन्छ । घरमै वा काममा हुने ती विद्यार्थीलाई पढाउने विधि मुस्लिम समुदायमा छ । वयस्क केटीहरूलाई पुरुष शिक्षकले पढाउँदा बीचमा पर्दा राख्छन् । केटीहरू बुर्कामा हुन्छन् । यो व्यवहारलाई केही फेरबदल गरी अपनाउन सकिन्छ । विद्यार्थी कोरोना दूरीमा बस्छ । मुखमा पट्टी लगाउँछन् । हातमा पञ्जा लगाउँछन् ।

 

शिक्षक–प्राध्यापकले पनि त्यसै गर्छन् । विद्यार्थीले लेखेका उत्तरकापीहरू संकलन गर्ने मञ्जुषा बनाउन सकिन्छ । पत्र मञ्जुषाजस्तो । विद्यार्थीले लेखेका कापीहरू त्यहीँ जम्मा गर्छन् । स्यानिटाइजरको प्रयोग गरी शिक्षक–प्राध्यापकले ती कापी जाँच्ने काम गर्नुपर्छ । अन्यत्रको शिक्षक–प्राध्यापक भएकाले त्यो काम सम्भव भएन भने स्थानीय स्वयंसेवी परिचालन गरे हुन्छ । हुम्लाको लिमीमा अहिले गरिएको तरिका त्यही हो । विद्यार्थीसँग पट्टी तथा स्यानिटाइजर वा पञ्जा छैन भने पालिकाले दिए हुन्छ । अभिभावकलाई किन्न प्रेरित गरे हुन्छ । हुनेले किनेर नहुनेलाई दिए पनि हुन्छ । 

 

तरेली नं. २ 
यसमा रेडियोवालाहरू पर्छन् । यिनीहरूलाई रेडियोले पढाए हुन्छ । तरेली १ का विद्यार्थीलाई जस्तो मोड्युलर पाठ्यसामग्री दिए हुन्छ । रेडियोबाट प्रसारित सामग्रीलाई थप सहयोग हुने गरी शिक्षक–प्राध्यापकहरूलाई सामग्री बनाउन दिए पनि हुन्छ । अहिले रेडियो सञ्चालकहरूले बाहिरियाहरूलाई प्रसारण सामग्री बनाउन दिएको तरिका अपनाए पनि हुन्छ । आवश्यक खर्च पालिकाहरूसँग लिए हुन्छ । प्रदेश सरकारसँग लिए हुन्छ । यस्ता रेडियोले प्रश्नहरू संकलन गर्न सक्छन् । विज्ञहरूलाई दिन सक्छन् । ती स्थानीय विज्ञ हुन सक्छन् । प्रदेशस्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञ हुन सक्छन् । नेपाल सरकारको दूर शिक्षा केन्द्रसँग यो अनुभव छ । यसबाहेक अन्तत्र्रिmयात्मक रेडियो कार्यक्रम पनि चलाउन सकिन्छ । यसको अनुभव पनि दूर शिक्षा केन्द्रसँगै छ । 

 

तरेली नं. ३
यसमा टिभीे हुनेहरू पर्छन् । यिनीहरूलाई टिभीले पढाए हुन्छ । नेपाल टेलिभिजनले यो काम गरेको छ । बाढीको वेलामा प्रदेश २ को शिक्षा यसरी नै चलेको थियो । मकर श्रेष्ठले २०७३ मा गरेको अध्ययनले पनि यो कुराको सम्भावना देखाएको छ । टिभीहरूलाई पनि अन्तत्र्रिmयात्मक गराउने सम्भावना छ । त्यस्ता प्रचलनहरू पनि देखिन्छन् । टिभीका लागि पनि रेडियोकै विधिले सामग्रीहरू उत्पादन गर्न सकिन्छ । 

 

तरेली नं. ४ 
यसमा ल्यान्डलाइन फोन हुनेहरू पर्छन् । यिनीहरूलाई पढाउन कोरोनाको सन्देश दिएको तरिका अपनाउन सकिन्छ । कक्षा १० को वार्षिक नतिजा फोनबाटै सुन्न पाउने विधि अपनाउन सकिन्छ । यो तररिकाले रेकर्डेड सन्देश खोज्छ । अमेरिका तथा युरोपमा सिनेमा हलमा कुन–कुन सिनेमा चलेको छ भन्ने कुरा यसरी नै थाहा हुन्छ । कुन बाटोमा गाडी चलाउँदा ठीक छ, कता खतरा छ भन्ने कुरा यसरी नै थाहा हुन्छ । यही सिकाइलाई आधार मानी शिक्षक, प्राध्यापक तथा अन्य विज्ञले ल्यान्डलाइन फोनका लागि पाठ्यसामग्री बनाउन सक्छन् । दूरसञ्चार कार्यालयको सहकार्यमा यी सामग्री प्रसारित गर्न सकिन्छ । दिनहुँ कोरोना सुन्नुको सट्टामा स्कुल–कलेजको पाठ सुन्ने प्रबन्ध गर्न सकिन्छ । पालिका वा प्रदेश सरकारले त्यसको लगानी गर्न सक्छन् । 

 

तरेली नं. ५ 
यसमा मोबाइल फोन हुनेहरू पर्छन् । यस्ता विद्यार्थीलाई फेसबुकबाट पढाउने प्रबन्ध गर्न सकिन्छ । डाटा चलाउने खर्च सम्बन्धित सरकारले दिने व्यवस्था गरे हुन्छ । सस्तो प्याकेजमा डाटा चलाउन पाउने व्यवस्था गर्नाले पनि यो विधि लागू गर्न सकिन्छ । अहिले सबै शिक्षक तथा प्राध्यापक यसमा अभ्यस्त छन् । यही अभ्यस्ततालाई उपयोग गरी मोबाइल शिक्षणलाई व्यवस्थित गर्न सकिन्छ । 

 

तरेली नं. ६ 
यसमा नेटवर्क नभएका कम्प्युटर तथा रेकर्डर भएकाहरू पर्छन् । तिनलाई सिडी, डिभिडी तथा पेनड्राइभमा पढ्ने–पढाउने प्रबन्ध मिलाउनुपर्छ । वाइफाई सुविधा नभएका बसचालकहरूले यो प्रचलन अपनाएकै छन् । उनीहरूले सिनेमा देखाएका छन् । गीत बजाएका छन् । यही बुद्धिलाई उपयोग गरेर अनेकन पाठ्यसामग्री बनाउन सकिन्छ । यसका लागि रेडियो तथा टिभीमा प्रसारण गर्न चाहिने पाठ्यसामग्री बनाउनुपर्छ । पालिकाका विभिन्न ठाउँमा यस्ता प्रसारण केन्द्र खोल्न वा तोक्न सकिन्छ । कुनै शिक्षक वा विद्यार्थीको घर पनि यस्तो केन्द्र हुन सक्छ । विद्यार्थीले कोरोना दूरी कायम गरी यस्ता केन्द्रमा आई पालैपालो पढ्न सक्छन् । शिक्षक तथा प्राध्यापक त्यहीँ बसे अझ राम्रो हुन्छ । 

 

तरेली नं. ७
यसमा अनलाइन सेवा भएकाहरू पर्छन् । यिनीहरूलाई माथिका सबै उपायबाहेक भाइवर, मेसेन्जर, स्काइप, जुम, गुगल एप्स प्रयोग गरीे पढ्ने–पढाउने प्रबन्ध मिलाउन सकिन्छ । अहिले केही विद्यालय, क्याम्पस, विश्वविद्यालय, शिक्षक, प्राध्यापकले यो कामको परीक्षण गरिरहेका छन् । सञ्चारकर्मीले त यो उपाय प्रयोग गरी अन्तर्वार्ता लिनेसम्मको काम गरिरहेका छन् । तिनीहरूकै अनुभवलाई उपयोग गरी पठनपाठन गर्नुपर्छ । 

 

तरेली नं. ८
यसमा पढेलेखेका बाबुआमा बाजेबज्यै भएका घरका विद्यार्थी पर्छन् । यस्ता विद्यार्थीलाई होम स्कुलिङको प्रबन्ध गर्नुपर्छ । यो प्रबन्ध गर्न शिक्षाको उद्देश्य दिए पुग्छ । विद्यालय तथा क्याम्पसले हाजिरी नलिए हुन्छ । विद्यार्थी घरमै पढ्छ । जाँच दिनु जरुरी ठाने जाँच दिने प्रबन्ध गरे हुन्छ । नभए त्यसै पनि हुन्छ । पण्डित नयराज पन्तको शिक्षालय यस किसिमको नमुना हो । उहाँका छोराहरू प्रा. दिनेशराज पन्त तथा डा. महेशराज पन्त यसका उदाहरण हुन् । घरकै बाबुआमा, बाजेबज्यैले पाठ्यसामग्री खोज्छन् । 

 

निचोड

माथिको संवादले केही निचोड दिएको छ । पहिलो निचोड हो– शिक्षणका अनेकन विधि छन् । आधुनिक प्रविधिसँगै तिनीहरू पनि परिवर्तन भइरहेका छन् । तर, मूल रूपमा तिनीहरू महाभारतको उद्योग पर्व (४४.१६)भन्दा बाहिर गएका छैनन् । आधुनिक प्रविधि प्रयोगले भने अर्काे दिशामा लान खोजेको देखिन्छ । दोस्रो निचोड हो– जे–जस्तो ढंगले विश्लेषण गरे पनि हाम्रा निम्ति एउटै प्रविधिमा आश्रित हुनु सम्भव छैन । यसो गर्नु भनेको ‘भेडिया धसान’ हुनु हो । एकथरीका विद्यार्थीलाई न्याय गर्नु र अर्काथरीका विद्यार्थीलाई अन्याय गर्नु हो ।
 

सामाजिक न्यायको हिसाबले यसो गर्नु बेठीक हो । अर्थात् अनलाइनमा मात्रै, रेडियोमा मात्रै, टिभीमा मात्रै आश्रित भएर शिक्षण गर्नु भनेको सामाजिक न्यायको विपरीत हो । आधुनिक प्रविधिमा नगई आमने–सामने (फेस टु फेस) शिक्षण विधिको वकालत गर्नु अर्काे अपराध हो । अर्थात् अबका स्कुल, कलेज तथा विश्वविद्यालयले माथि भनेका ८ वटै तरेलीमा एकसाथ कक्षा सञ्चालन गर्नुपर्छ । जुन तरेलीमा बस्नुपर्ने अवस्था छ, त्यो विद्यार्थीले छान्ने कुरा हो ।

 

तेस्रो निचोड हो– केन्द्रले सबै सामान बनाउने र शिक्षक तथा प्राध्यापकले भरियाको काम गर्ने भन्ने सोच र व्यवहार दुवै घातक छन् । यसैले तत् स्थानमै आठवटै तरेलीका सामग्री उत्पादन गर्ने अभियान चलाउनुपर्छ । चौथो निचोड हो– आधुनिक प्रविधिमा अहिले शिक्षाण सिकाइ गर्न जान्यौँ र त्यसलाई निरन्तरता दियौँ भने भोलिका विद्यार्थीले स्वसिकाइ गर्न सक्ने प्रबल सम्भावना हुन्छ । किनकि उनीहरूले सञ्चारका विविध साधनबाट सिक्न पाउँछन् । 

 

पाँचौँ निचोड हो– हालका भरिया भएका तथा हुन बाध्य गराइएका शिक्षक एवं प्राध्यापकलाई जिम्मेवार व्यक्ति बनाउन सकिन्छ । छैटौँ निचोड हो– शिक्षक एवं प्राध्यापकको भरियास्तरलाई मालिक बनाउन सकियो भने भोलिका विद्यार्थीको जाँच खुला मोडबाट लिने वातावरण बन्छ । यसो गर्ने हो भने विद्यार्थीको शैक्षिक क्यालेन्डर बिथोलिँदैन । कारोना वा त्यस्तै अर्को विपत् आइलाग्यो भने पनि पढाइ रोकिँदैन । सातौँ निचोड हो– नेपालीले खाना खाँदा ५ वटै औँलाको प्रयोग गरेको तरिकाले सञ्चारका साधन वा आधुनिक प्रविधिमा एकसाथ पठनपाठन गर्ने–गराउने तरिका अपनाउनुपर्छ । 

 

आठौँ निचोड हो– हलो जोत्दा कहाँ हलो थिच्ने, कहाँ उचाल्ने भन्ने हलीले जान्दछौँ भने शिक्षक–प्राध्यापकले आफूले कोरोनाको कहरमा कसरी पढाउनुपर्छ भन्ने कुरा सोच्नुपर्दैन र ? यसै भनेर तिनीहरूलाई ख्यारख्यार पार्नुपर्छ । नवौँ निचोड हो– यतिका विकल्प हुँदा पनि शैक्षिक क्यालेन्डर बिग्रियो वा बिगारियो भने त्यसको प्रमुख दोषी शिक्षक–प्राध्यापक नै हो भनेर नेतृत्वले, जनताले, अभिभावकले ठाडै भन्नुपर्छ । 

 

दसौँ निचोड हो– पहिले नै जागेका र चेत फिरेर पछि जागेका शिक्षकलाई पालिका, प्रदेश तथा संघीय सरकारले हरहिसाबले सघाउनुपर्छ, आठवटै तरेलीमा काम लाग्ने सामग्री बनाउनका लागि, भौतिक पूर्वाधारमा लगानी गर्नका लागि, जागरुक युवालाई सामग्री निर्माणमा होमिनका लागि । 
आगे मालिकहरूकै मर्जी !