• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
किशोर नेपाल 
२०७७ बैशाख २७ शनिबार ०६:१९:००
साहित्य

रमितामा जीवन

२०७७ बैशाख २७ शनिबार ०६:१९:००
किशोर नेपाल 

नालाबन्दी सुरु भयो, अघिल्लो वर्ष चैत ११ गते २०७६ साल । सोह्र दिनपछि दुई महिना पूरा हुन्छ । तालाबन्दीको यो मौकामा हरेक वस्तुको महत्व कम भएको छ । होटेल, रेस्टुराँ र खाजाघर बन्द छन् । घरको भान्सा परिवारजनको परीक्षाकोठा बनेको छ । तालाबन्दीले शनिबारको महत्व घटाएको छैन । शनिबार हिजोजस्तो थियो, आज उस्तै छैन । भोलि पनि उस्तै रहनेछैन ।

 

आइतबारदेखि शुक्रबारसम्मका दिनले पनि शनिबारकै रूप लिएका छन् । अस्तिको शनिबार बिट्टु रणभूमिमा प्रवेश गर्न लागेको मद्रासी सिनेमाको अभिनेताले जस्तै, कराउँदै, रणभूमिमा प्रवेश गर्दै थियो– ह्ये, क्या समझा है ? किसी मजबुर लड्कीकी मदद करनेके लिये उसका दोस्त, पति या लभर होनेकी जरुरत नहींं । वह सिर्फ इन्सान होना चाहिये । तुमलोगो ने सोचा होगा कि मैं तुम्हारे कानुनसे डरता हूँ । मैं तो तुमलोगोको खाक करके यहाँसे जाउँगा । हिम्मत है तो रोको मुझे !


दिनभरि काम केही छैन । अहिलेसम्म निरोधक खोप नभेटिएको कोरोनाचिन्तन तालाबन्दीको ट्रेन्ड बनेको छ । टोलका ठिटाहरू त्यति राम्रो अंग्रेजी बुझ्दैनन् । उनीहरू ‘हिन्दीमें डब्ड मद्रासी’ सिनेमाको साम्बरमा चुर्लुम्म डुबेका छन् । त्यसपछि पालो आउँछ युट्युब च्यानलको । ‘न्यूज ट्वेन्टीफोर’का अभिनेता रवि लामिछाने पपुलर छन् । उनलाई पत्रकारहरू बेरोजगार हुँदै छन् भन्ने ठूलो चिन्ता छ । निकै टाठो स्वरमा सरकारको पोल खोल्दै उनी भन्दछन्, ‘एक पोको राहत दिन चारपटक घरबेटीको नागरिकता माग्ने कस्तो सरकार हो यो ?’ 


‘कस्तो नबुझेको यो सरकारले । भैँसीलाई भायोलिन र कागलाई राग सुनाएजस्तो !’


तालाबन्दीको तेस्रो दिनदेखि कवि शिरोमणि लेखनाथ बाको नाम राखेर नामाकरण गरिएको टोल मसलाघर बनेको छ । टोलको एक मात्र खसीको मासुपसल तीन सातादेखि खुलेको छैन । संघीय सरकारले तालबन्दीको नियम बनाएको छ– पसलमा होस् वा आँगनमा, एक ठाउँमा, एकपटकमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुन पाइँदैन । खसीको मासुपसलमा होस् कि कुखुराको भुत्ला पसलमा । पसल अर्थात् जो बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न पाउने नियम छ । पुलिसले ९ बजेपछि बन्द गराउने आफ्नै नियम बनाएको छ ।

 

खसीको मासुबाटै कोरोना शरीरमा भाइरल भयो भने...! सुरेश खसी काट्न छाडेर सुत्न थालेको छ । ऊ मानिस पहिलेदेखि नै सोखिन हो । तालाबन्दी नभएको वेलामा समेत एक–एक हप्ता पसल बन्द गरेर फुत्त काठमाडौंबाहिर निस्किने गर्थ्याे ।

 

नियमको विपरीत, खसीको मासुपसलअगाडि दशजनाजतिको भिड देखिन्छ । भिडको बीचमा नगर वडा सदस्यको जस्तो खाइलाग्दो व्यक्तित्व भएको सुरेश उभिएको छ । ऊ नेताहरूले भाषण दिएजस्तै, अलिकति चर्को र अलिकति आक्रोशमय स्वरमा बोल्दै छः १३ सय रुपैयाँ किलो मासु कसले किनेर खान्छ र खसी काट्नु ? खसीको मासुको व्यवसायमा लागेर मिहिनेत गर्न पनि हाकिम साहेबहरूको गुलामी नगरी सुख छैन । एक किलोको १३ सय रुपैयाँ तिरेर मासु खाने हबिगत भएका मानिस हाम्रो टोलमा कोही पनि छैन । आज खसीको मासुपसल बन्द भएर दुःख पाएको गुनासो गर्नेको काम खाली सुरेशले नाफा खायो भनेर हल्ला गर्ने मात्रै हो । 


खसीको मासुको प्रसंग अलिकति लामै छ । पहिलेपहिले ०७२ ले भत्काएको धरहराको छेउछाउमा तीन–चारवटा मासुपसल हुन्थे । तीमध्ये एउटाले प्रत्येक शनिबार मोटो बँदेल काट्ने सूचना प्रकाशित गथ्र्यो । उसले बँदेल कहाँबाट ल्याउँथ्यो ? कसैलाई थाहा हुँदैन थियो ।


लकडाउनको यो अप्ठ्यारो समयमा पनि दिलप्रसादजी खसीको मासु सम्झिएर पुलकित हुन्छन् । ‘खसीको मासु’ सुन्नेबित्तिकै उनको मुख निकै रसाउँछ । सबैले सुब्बासाब भन्छन् उनलाई । उनी सुब्बाभन्दा सानै तहका कर्मचारी हुन् । जिल्ला अदालतको फाँटवाला । श्रीमान्को र सरकारी वकिलको विश्वास पाएका दिलप्रसादको लामो छलफल गर्ने बानी छैन । उनले हालसालै चर्को मूल्यमा कोरोनाको जाँच उपकरण बेचेको सरकारवादी मुद्दा डिसमिस गराए । यो मुद्दा चल्न सक्दैन, किनभने यो सरकार आफैँले चलाउन चाहेको छैन । उनको बानी यस्तै छ । हुन्छ भने हुन्छ, हुन्न भने हुन्न । कसैलाई अल्झाउने र दुःखदिने बानी छैन ।


उनी काठमाडौं प्रवेश गरेको जति वर्ष भयो त्यति वर्षदेखि उनले जहान–परिवारसँगै बसेर हरेक शनिबार खसीको मासु र भात खाने गरेका छन् । पहिले आम्दानी कम भएका वेलामा ‘भात’ खान्थे । अचेल आम्दानी निकै बढेको छ । शनिबार मात्रै होइन, अरू बार पनि भुजा खान्छन् । सधैँ खसीको मासु खाने मानिस । मुख तैपनि रसाएको छ । उनलाई डाक्टरले खसीको रातो मासु खान निषेध गरेको छ । 


लकडाउनको यो मौसममा, हरेक दिन, टोलका भलाद्मी बिहानको चिया जमघटमा जम्मा हुन्छन्, मासुपसलअगाडि । त्यहीँबाट भलाद्मीहरू खसीको मासु खान छोडेको सूचना प्रसारण गर्दछन् । चिया जमघटमा कहिलेकहीँ ‘पुलिस हस्तक्षेप’ हुन्छ । अहिलेसम्म दुईपटक हस्तक्षेप भइसकेको छ ।

 

पुलिस टोलीका प्रमुख, असइसाब, निकै कडा शब्द र शैलीमा बोल्छन्– ‘हजुरहरूजस्तो बुद्धिजीवीले यसरी सरकारको नियम–कानुन तोड्न भएन । यति सानो ठाउँमा ल हेर त एक, दुई, तीन...बाह्रजनाको जमघट । यसले त कोरोना संग्रालिइहाल्छ नि ।’ देशका ठूला डाक्टरका लागि समेत चमत्कारको पिण्ड बनेको कोरोनाबारे, मानौँ कि, असइसाबलाई निकै जानकारी छ । साबुन–पानीले मिचिमिची हात धुनेलाई कोरोना लाग्दैन । स्यानिटाइजर नदलेसम्म हात सफा हुँदैन । मास्क नलगाएसम्म कुनै पनि मानिस सुरक्षित हुँदैन ।


असइसाबको कुरा सुनेर भैरे रन्किन्छ, ‘हावा कुरा । त्यो घाम–पानी, धुलो–हिलो केही नछेक्ने कपडाको टुक्रोले केको रोक्छ कोरोना ? यो सब ग्लोबल लबीको षड्यन्त्र हो । कोरोनाका नाममा संसारभर साबुन र स्यानिटाइजरको बिक्री लाखौँ गुना बढेको छ । मास्क बनाउने कारखाना त नेपालमा पनि खुलेको छ । सुन र रियल स्टेटका नामुद व्यापारी मास्क बनाउन लागेका छन् ।’ असइसाबको प्रतिक्रिया नसुनीकनै ऊ बाहिर निस्किन्छ ।


आफुले पिएको चियाको सानो कप त्यत्तिकै असरल्ल छाडेर असइसाब चौकीमा पुग्दछन् । त्यहाँ डोरीको घेराभित्र बनाइएको मुटकोर्टमा एक दर्जन मानिस बन्दी जीवनको अनुभव लिँदै छन् । असइसाब घेराबाहिरबाटै बन्दीहरूलाई सम्बोधन गर्दै छन्ः हामीले यो सबै बन्दोबस्त गरेको तपाईंहरूकै जीवनरक्षाका लागि हो । तपाईंहरू सरकारले भनेबमोजिम आफ्नो जीवनरक्षामा नलाग्ने हो भने हामी बल प्रयोग गर्न बाध्य हुनेछौँ ।


लकडाउनको सुरुवाती दिनमा, साँझ–साँझ, टोलको फाइन सेकुवा मनकामनामा स–सानो जमघटमा विचार विमर्श हुने गरेको थियो : आज कुनकुन प्रदेशको कुनकुन जिल्लामा कतिजनालाई कोरोनाले समात्यो ? कतिको निगेटिभ देखियो ? कतिको पोजेटिभ भेटियो ? इटाली र भारतमा हजारौँ मरिसके रे । चीनमा कोरोना निमिट्यान्न भैसक्यो रे । आधा घन्टामा चियोचर्चा र क्वार्टर भोड्का एकैसाथ सकिन्थ्यो । यो जमघटको जानकारी पुलिसले पाएर हो कि के हो, मनकामना सेकुवा पसल अचानक तालाबन्दीमा प-यो । मानिसहरू छक्क परे, होइन के भयो यस्तो ?


कोरोना भाइरसले तालाबन्दीको मोर्चामा सबै जात, वर्ग र वर्णका जनतालाई परास्त गरेको छ । सोच्दै थिएँ, कसरी खाने खसीको मासु ? खसीको मासुबाटै कोरोना शरीरमा भाइरल भयो भने... सुरेश खसी काट्न छाडेर सुत्न थालेको छ । ऊ मानिस पहिलेदेखि नै सोखिन हो । तालाबन्दी नभएका वेलामा समेत एक–एक हप्ता पसल बन्द गरेर फुत्त काठमाडौंबाहिर निस्किने गर्थ्याे । तालाबन्दीपछि ऊ कतै जान पाएको छैन । तैपनि ऊ मख्ख परेको छ ।

 

यो पूरै टोलमा कोरोनाले मरिँदैन भन्ने विश्वास उसलाई मात्र छ । दिनभरि सुत्दछ । रातभरि सुत्दछ । बिहान एक राउन्ड घुमेर शरीरलाई पसीनाले छपक्क भिजाउँछ । सुरेशलाई खसी काट्न मन नलागेको होइन । उसको त आफ्नो भन्ने पेसा नै त्यही हो । ऊ खसी जुटाएर काट्न सक्छ । तर, अहिलेको समय–काल–वेला केही पनि ठीक छैन । सुरेशले राम्रो ग-यो भन्ने कोही छैनन् । सबैले नाफा खायो भन्छन् र बदनाम गर्दछन् । उसको दुःख त्यसैमा अड्किएको छ ।


साँझ पनि बिहानकै नाटक दोहोरिन्छ । पुलिस भ्यानको आवाज सुनेपछि साइकिल, साइकिल ठेला, टोकरी र अगालोमा तरकारी च्यापेर सडकमा बसेका नारी पुरुषको भागमभाग हुन थाल्दछ । कोरोनाको नाममा तरकारीको हाहाकार । काठमाडौंमा टन्न खान पाउने मानिसको संख्या निकै धेरै छ । बिहान फोहोर उठाउन आउने लरीमा लादिएका आइएसओ मार्क लागेका खानेकुराका रित्तो प्याकेट हेरे पनि यो कुरा स्पष्ट हुन्छ । शहरमा लकडाउन छ । बजारमा ह्विस्की पाइन्छ । उता, राम जन्मभूमिनजिक भारतको लखनउमा ह्विस्कीको बिक्री निरन्तर छ । कोरोना भाइरसको खोपमाथिको अनुसन्धान तीव्र गतिमा जारी रहेको छ ।