• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सोना खटिक 
२०७७ बैशाख २७ शनिबार ०६:४९:००
रिपाेर्ट

मिर्गौला बिरामी भन्छन्–अस्पतालको पिँढीमा समेत सुत्न दिएनन्

२०७७ बैशाख २७ शनिबार ०६:४९:००
सोना खटिक 

कडाउनको समयमा अरूलाई झैँ रामशंकर खटिकलाई पनि घरभित्रै बसिरहन मन छ । सरकारको आदेश अवज्ञा गर्न उनलाई पटक्कै मन छैन । तर, ८ वर्षअघि दुवै मिर्गौला फेल भएपछि हप्ताको तीनपटक (सोमबार, बिहीबार र शनिबार) बुटवल बजार धाउन रामशंकर बाध्य छन् । 


रामशंकरको घरबाट बुटबल सहर करिब ८० किलोमिटर टाढा छ । सहज परिस्थितिमा सार्वजनिक बस चढेर गइरहेका थिए, उनी । जब लकडाउन सुरु भयो, त्यसपछि उनको जीवनमा अर्को विपत् थपियो । पटक–पटक लम्बिरहने लकडाउनले रामशंकरको पीडा पनि झन्झन् लम्ब्याइरह्यो । 

०००

कपिलवस्तु बुद्धभूमि नगरपालिका–९ इमिलिया बस्ने ५३ वर्षीय रामशंकर किसानी जिन्दगी बिताइरहेका थिए । एक छोरा एक छोरीसहित ४ जनाको परिवार हाँसीखुसी थियो । जब रामशंकर रोगी भए, उनीहरूको परिवारमा ठूलो बज्रपात भयो । जग्गाजमिन बेच्दै उपचार गर्न थाले । तर, केही उपाय लागेन । 

०००

रामशंकरको दुवै मिर्गौला फेल भएको खबर पाउनेबित्तिकै म उनलाई भेट्न गएँ । त्यसपछि बारम्बर भेट्न गइरहन्थेँ । मेरै पहलमा त्यहीँका स्थानीय साना किसान सहकारी संस्था लिमिटेड र सनसाइन सामाजिक विकास संस्थासहित स्थानीय केही व्यक्तिले उनलाई आर्थिक सहयोग गरेका थिए । पछिल्लो समय वैशाख १७ गते साँझपख उनकोे घर गएँ । तर, त्यहाँ पुग्दा न उनको घर थियो, न उनी नै । मात्र थियो, घरको भग्नावशेष । त्यहीँ भेटिएका एकजनाले भने, ‘यो घर र जमिन उसले बेचिसक्यो ।’ पर खेततिर एकान्तमा बनेको झुप्रो देखाउँदै भने, ‘उनको परिवार अहिले ऊ त्यो खेतको बीचमा बनेको झुप्रोमा बस्छन् ।’ म निःशब्द भएँ । चुपचाप रामशंकरको झुप्रोतिर गएँ । 

वडाअध्यक्षले भने,‘सवारीसाधनको नम्बर ल्याउ पास मिलाइदिन्छु ।’ मसँग एउटा थोत्रो साइकल र एकजोर चप्पल मात्रै छ । कहाँबाट ल्याउँ सवारी नम्बर?


खरले बेरेको होचो छाप्रोमुनि रामशंकर सुतिरहेका थिए । उनकी श्रीमती किस्लावती खटिक रामशंकरलाई शीतल दिन पंखा हम्किरहेकी थिइन् । रामशंकरको अनुहार कालो र सुन्निएको थियो । किस्लावती निन्याउरो मुख बनाएर छेउमा थिइन् । १४ वर्षीया छोरी दाउरा लिन साथीसँग जंगल गएकी थिइन् । १६ वर्षे छोरा घरको काम गर्दै थिए । आमाले मृत्यु हुनुभन्दाअघि नै आफ्नो नामको घडेरी रामशंकरलाई दिएकी रहिछिन् । आमाको मृत्यु भइसक्यो । त्यही घडेरीमा छाप्रो बनाएर बसेका रहेछन्, उनीहरू ।

 

रामशंकरले बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलाइसिस गर्दै आएका छन् । लकडाउन सुरु भएपछि उनीहरूको दैनिकी झनै कष्टकर बितिरहेको थियो । किस्लावतीले मसिनो स्वरमा भनिन्, ‘उहाँ बुटवल जानुभएको थियो । एक महिनापछि हिजो मात्रै घर आइपुग्नुभयो ।’ हप्तामा तीनपटक डाइलाइसिस गर्नुपर्ने भएपछि लकडाउन सुरु भएलगत्तै रामशंकर अस्पतालमै बस्दै आएका थिए । आँखाभरि आँसु बनाउँदै किस्लावतीले भनिन्, ‘हिजो अस्पतालको गाडीले जंगलको मुख (कोइली बनगाई चोक)मै झारेर गएछ ।’ त्यो चोकबाट उनको घरसम्मको दूरी करिब २० किलोमिटर छ । उनले भनिन्, ‘उहाँ हिँडेरै राति अबेर घर आइपुग्नुभयो । त्यो हिँडाइले उहाँ झन् गल्नुभयो ।’

 

‘कसैलाई लिन पठाउनुभएन त ?’ उनी भक्कानिँदै रुन थालिन् । एकछिनपछि सम्हालिँदै भनिन्, ‘छोरी सानी छे । छोराले साइकलमा बुबालाई राखेर ल्याउन सक्दैन । दुवैजना लोटे भने अर्को आपत् । फेरि बाटोमा घना जंगल पनि छ ।’ 


किस्लावतीले मोटरसाइकल भएका धेरैजनालाई जंगलको बीचबाट श्रीमान् ल्याइदिन हात जोडिन्, तर उनको कुरा कसैले सुनेनन् । भन्छिन्, ‘मेरो कुरा सुन्न त परै जाओस् उल्टै उनीहरूको आँगनमा टेक्दा कुकुरलाई जस्तो छिःछिः दुर्दुर् गरे । हाम्रो आँगनमा नटेकसमेत भने ।’ मिर्गौलारोगीलाई कोरोनाले झन् छिटो आक्रमण गर्ने र त्यस्तो रोगीलाई मोटरसाइकलमा राख्दा रोग सर्ने भएकाले कोही पनि तयार भएनन् । भन्छिन्, ‘कतिले त्यस्ता रोगीलाई गाउँमै पस्न दिँदैनौँसमेत भने ।’ उनलाई कतिले मीठो बोलेर बाइकमा पेट्रोल नभएको बताए । कतिले बाइक त छ, तर चलाउने मान्छे छैन भने । करिब १० जनासँग उनले अनुनय गरिन् । तर, केही उपाय लागेन । भन्छिन्, ‘त्यसपछि उहाँ दिउँसो ३ बजे हिँडेर बेलुकी साढे ७ बजे घर आइपुग्नुभयो ।’ 

 

किस्लावतीसँग कुरा गरिरहँदा रामशंकर ब्युँझे । पानी पिए । त्यसपछि मेरो हालखबर सोधे । उनको हालखबर सोध्दा आँखाभरि आँसु बनाए । लामो सास तान्दै भने, ‘के हुनु नानी । सास छँदासम्म आस हुन्छ भन्छन्, त्यस्तै भइरहेको छ । जसोतसो अहिलेसम्म बाँचेको छु ।’ उनी निकै निराश थिए । आवाज दबिएको थियो । ‘अस्पतालको गाडीले जंगलको मुखमा ल्याएर छाडिदियो । इमिलिया चोकसम्म लगिदेऊभन्दा पनि मानेनन् । हिजो जंगलको बाटो हिँड्दैहिँड्दै आएँ । केही ट्रक त आएका थिए, तर रोक्दै रोकेनन् ।’ उनी गोरुसिंगेको घना जंगल काटेर एक्लै घर आए । उनी कतै सुत्दै, कतै रूखको फेदमा आराम गर्दै साँझ झमक्क हुँदा घर आइपुगे । भन्छन्, ‘बाटोमै सास छुटेको भए कसैले थाहा पाउँदैनथे । म त घर पुग्दिनँ होला जस्तो लागेको थियो, धन्न भगवान्को कृपाले आइपुगेँ ।’ 

 

अस्पतालका अध्यक्ष एजाज आलाम लकडाउनले गर्दा बिरामीका लागि समय मिलाउन एकदमै गाह्रो भएको बताउँछन् । उनले भने, ‘एकजना बिरामी लिएर इमिलियासम्म जान एकदमै गाह्रो छ । स्थानीय जनप्रतिनिधिलाई एम्बुलेन्स पठाइदिनुस् भनेका छौँ, तर उहाँहरूले चासो दिइरहनुभएको छैन । त्यही पनि यसबारे हामी सोच्छौँ ।’ बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ यो समस्याबारे बेखबर छन् । उनी भन्छन्, ‘यसबारे अस्पतालले फोन मात्रै गरेको भए पनि हामी आफ्नो नागरिकको व्यवस्था गर्ने थियौँ । अब हामी केही सोच्छौँ ।’


लकडाउन सुरु भएपछि हप्तामा तीन दिन बुटवल धाउन रामशंकरलाई निकै गाह्रो भयो । त्यसपछि उनी करिब एक महिना अस्पतालमै बसे । अस्पताल बसाइ उनको निकै पीडादायी भयो । रामशंकर भन्छन्, ‘जसोतसो दिन–रात कटाउनुपर्ने थियो, कहिले अस्पतालको पेटीमा सुतेँ, कहिले बिरामी कुर्ने ठाउँमा सुतेँ । कहिले चौतारामा सुतेँ ।’ उनले नजिकैको होटेलमा खाना खाए, तर त्यहीँ बस्न उनीसँग पैसा थिएन । ‘होटेलमा बस्न पैसा थिएन । अनि कहाँ जाउँ ?’ उनले भने । 


रामशंकरले अस्पताल छाड्नु अघिल्लो दिनको घटना सुनाए । अस्पतालमा उनीसहित १५ जना बिरामी नियमित डाइलाइसिस गराउँछन् । ‘कोरोनाको त्रास बढ्दै गएपछि एक रात हामी सबैलाई अस्पतालबाहिर निकालिदियो । पिँढीमा समेत सुत्न दिएनन्, सडकमा आयौँ । आधा रातसम्म त लामखुट्टे धपाउँदै बस्यौँ । त्यसपछि आँधीहुरी चल्न थाल्यो । पानी पर्न थाल्यो । त्यसपछि फेरि रुझ्दै–रुझ्दै अस्पतालमै शरण लिन गयौँ,’ उनले भने । एक रातको बिजोग सहेर भोलिपल्ट बिहानै रामशंकर घरतिर लागे । उनी त आफ्नो घर आए, तर उनको दिमागमा भने हुरीमा सँगै रुझ्दै बसेको अर्का दुवै मिर्गौलापीडित साथी सुखनी थरुनीको निरन्तर सम्झना आइरहेको छ ।

 

सुखनीको घर बुद्धभूमि नगरपालिका भेलाई हो । तर, सुखनीका लागि अब घरको ढोका सधैँका लागि बन्द भइसक्यो । रामशंकर र सुखनीका बीच कहिलेकाहीँ सुखदुःखका कुरा पनि हुन्छ । सुखनीको एक छोराबुहारी र दुई छोरी छन् । छोरा विदेश गएको दुई वर्ष भयो र छोराले आमालाई आजसम्म एकपटक पनि फोन गरेका छैनन् । रामशंकर भन्छन्, ‘सुखनीलाई छोराछोरी, बुहारी कसैले खोज्न आउँदैन । उनी बेवारिसे महिला हुन् ।’ रामशंकरका अनुसार सुखनी डाइलाइसिस गराउँदै कहिले सडकमै सुत्छिन्, कहिले अस्पतालको पेटीमा सुत्छिन् । अस्पतालले उनलाई दुई छाक खानाचाहिँ सहयोग गरेको छ । 

 

कपिलवस्तुमा मिर्गौला रोगीका लागि डाइलाइसिस गराउने ठाउँ छैन । कपिलवस्तुमा मात्रै १५ जनाभन्दा बढी मिर्गौला फेल भएका बिरामी छन् । बन्दाबन्दीको समयमा ती सबैले एम्बुुलेन्स प्रयोग गर्न सक्दैनन् । रामशंकरको गुनासो छ, ‘घरबारी सबै बेचेर उपचार गरियो । जग्गाजमिन सकियो । अब कहाँको पैसा ल्याएर हप्ताको तीनपटक ऐम्बुलेन्स मगाउँ ?’

 

बन्दाबन्दी सुरु भएपछि रामशंकर वडा कार्यालय गए । गाडीको व्यवस्था गरिदिन अनुरोध गरे । रामशंकर भन्छन्, ‘वडाअध्यक्ष खुमबहादुर न्यौपानेले सवारीसाधनको नम्बर ल्याउनु पास मिलाइदिन्छु भने । मसँग एउटा थोत्रो साइकल र एकजोर चप्पलबाहेक अरू छैन । कहाँबाट ल्याउँ सवारी नम्बर ?’ वडा अध्यक्षले कुनै ठोस निर्णय दिन सकेनन् । 

 

वडा अध्यक्षले उपाय सुझाए । त्यो थियो, अरू कसैको बाइक नम्बर भए पनि हुने । तर, कोरोनाको त्रासले उनलाई कोही पनि सहयोग गर्न तयार थिएनन् । कसैकसैले कहिलेकाहीँ सहयोग गर्थे । कहिलेकाहीँ सहयोग गर्नेहरूको नम्बर कसरी दिने ? कतिजनाको दिने ? त्यसपछि वडाअध्यक्षले उपाय निकाले–जुनवेला आपत् पर्छ, त्योवेला वडाअध्यक्षलाई फोन गर्ने । वडाअध्यक्षबाट कुनै उपाय नलागेपछि रामशंकर निराश भएर घर फर्किए । 


०००


रामशंकरको अगाडि अब कुनै उपाय बाँकी रहेन । विपत्मा सरकार अझै बिरानो बनिदियो । आफैँले भोट हालेर जिताएको स्थानीय तहका प्रतिनिधिले पनि सहयोग गरेन । निकै निराश भएर रामशंकर घरमै थिए । २० किलोमिटर बाटो हिँडेर जान असम्भव थियो । बुटबल जानुपर्ने दिन नजिकिँदै थियो । त्यस्तै विपत्को वेला अर्कै बस्तीका कमल थापा उनको घर पुगे । 


किराना पसल सञ्चालन गर्दै आएका कमल २० किलोमिटर पर कोइली बनगाई चोकसम्म रामशंकरलाई पु-याउन तयार भए । रामशंकरको आँखा खुसीले रसायो । त्यस दिनदेखि कमलले उनलाई मोटरसाइकलमा चोकसम्म पु¥याइदिँदै आएका छन् । तर, जाँदा रामशंकर हुन्छन्, फर्किँदा कमललाई अप्ठ्यारो पर्छ । कमल भन्छन्, ‘उहाँलाई पु-याएर फर्किँदा पुलिसले रोक्छ । त्यसवेला फेरि शंकरलाई नै फोन गरेर बल्लबल्ल छुट्छु । कहिलेकाहीँ त वडाअध्यक्षलाई पनि फोन गर्नुपर्छ ।’ कमलले कहिलेसम्म सहयोग गर्ने हुन् रामशंकर अनविज्ञ छन् । कमल कहिले कहाँ पुगेका हुन्छन्, कहिले कहाँ । रामशंकर भन्छन्, ‘कमललाई घन्टौँ कुरेर बस्दाबस्दा कहिले त त्यहीँ रात पर्छ ।’ 

०००


आजभोलि कमलले रामशंकरलाई सहयोग गरिरहेका छन् । बिहान ८ बजे अस्पतालको गाडी लिन आउने चोकसम्म उनलाई पु-याइदिने र घर ल्याइदिने गर्छन् । उनीसँगै आएका अन्य चारजना बिरामीलाई घरबाट मोटरसाइकलले लिन आउँछ । साथीहरू घरघर गएपछि सुनसान सडकको डिलमा बसी रामशंकर कमलको बाटो हेरिरन्छन् ।

 

कमलको सहयोग पनि कहिलेसम्म हो, उनी अनविज्ञ छन् । कहिलेकाहीँ झमक्क रात पर्दासमेत कमल आइपुग्दैनन् । त्यसवेला रामशंकर निकै आत्तिन्छन् । अनि अनायासै देशको प्रधानमन्त्री सम्झिन्छन् उनी । अनि मनमनै भन्छन्, ‘मेरोजस्तै रोग भएको मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ । देशभरिका हजारौँ मिर्गौलारोगीको भोटबाट उहाँ प्रधानमन्त्री बन्नुभयो । तर, खोइ त हामीलाई सरकारले हेरेको ?’