• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. आना स्टर
२०७७ जेठ ३ शनिबार ०८:२०:००
संगीत

मृत्युसँग नझुक्ने कलाकारहरू

प्रहरीले बाजा फुटाए पनि, साथीहरूलाई जेल हाले पनि उनीहरू गाइरहेका छन् निरन्तर

२०७७ जेठ ३ शनिबार ०८:२०:००
डा. आना स्टर

 

क्रान्तिकारी सांगीतिक समूह ‘ग्रुप योरुम’ ३५ वर्षदेखि टर्कीमा क्रियाशील छ । यो समूहले पुँजीवाद, साम्राज्यवाद र फासीवादविरुद्ध क्रान्तिकारी गीतहरू प्रस्तुत गर्दै आइरहेको छ । समूहका दुईजना सदस्य हेलिन बोलेक र इब्राहिम गोक्सेकले अनशन बस्दाबस्दै प्राण त्यागे । उनीहरूको मृत्युपछि फासीवादविरोधी भावना झनै तीव्र भएको छ ।

ग्रुप योरुम


ग्रुप योरुम, जसकोे अर्थ हुन्छ, टिप्पणी’ वा आलोचना । सन् १९८५ मा स्थापना भएको यो समूहले आजसम्म २० भन्दा बढी क्रान्तिकारी गीतको एल्बम र एउटा फिल्म बनाइसकेको छ । साथै उनीहरूले धेरै स्थानमा कार्यक्रम गरेका छन् । टर्कीमा उनीहरूको सांगीतिक विधालाई ‘अज्गुन’ भनिन्छ । यसको अर्थ वामपन्थी विचारधारा बोकेको सांगीतिक विधा हो, जसले टर्कीका लोक गीत–संगीत, रक र ज्याज मिसाएर एकप्रकारको आधुनिक लोकसंगीत निर्माण गर्छ । उनीहरूको ५० सदस्यीय ठूलो सांगीतिक समूह छ । सबैजना मिलेर काम गर्छन् ।

 

कोही पनि व्यक्तिगत ख्याति वा स्टार्डम खोज्दैनन् । ‘टाविर’ नामक पत्रिका, ‘आनाडोलु सेसी’ भन्ने एफएम रेडियो र इस्तानबुल सहरमा इदिल सांस्कृतिक केन्द्र चलाउँछन् । उनीहरू राजनीतिक अडानमा कुनै सम्झौता नगरी गरिब र उत्पीडित जनताको पक्षमा एल्बम निकाल्छन् र लगातार कार्यक्रमहरू गरिरहन्छन् । समूहका सदस्यहरू -याली, धर्ना र अन्य विरोध कार्यक्रममा सहभागी हुन्छन् । यो समूहले स्थापनाकालदेखि नै निरन्तर टर्कीको राज्यबाट धम्की, काराबास सजाय सामना गर्नुपरेको छ ।

 

टर्कीमा सेन्सरसिप


टर्कीमा संगीतमाथि सेन्सरसिप र मिडियामाथि राज्यको नियन्त्रणको इतिहास लामो छ । सन् १९२३ मा आधुनिक टर्कीको स्थापना भएदेखि नै राज्यले गीत–संगीतप्रति विशेष चासो दिएको पाइन्छ । त्यो वेलादेखि नै सत्ताले आफू पक्षधरलाई सघाउने र प्रतिरोधी संगीतलाई प्रतिबन्ध लगाउने काम गरिरहेको छ । सन् १९७० को दशकमा वामपन्थी गीत–संगीत टर्कीमा फस्टाएको थियो । तर, एन्थोम्युजिकोलोजिस्ट एलियट बेट्सका अनुसार सन् १९८१ को ‘कु’पछि सत्ताविरोधी गीतसंगीत झन्डै मर्दै गयो । त्यस्तो संकटको अवस्थामा टर्कीको सांगीतिक क्षेत्रमा फेरि विद्रोहको आवाज बनेर उदायो, ग्रुप योरुम । सन् १९८५मा ग्रुप योरुम सत्ताको ‘कु’को जवाफ बनेर निस्कियो । 

 

अप्रिल ३ मा हेलिन बोलेकको मृत्यु भयो । मे ७ मा अनशन छाडेको दुई दिनपछि गोक्सेकको पनि मृत्यु भयो । दुवैजनाको मलामीमा प्रहरी हस्तक्षेप भयो । योरुमका अन्य सदस्य र गोक्सेककी श्रीमती अझै जेलमै छन् । तर पनि योरुमले आफ्नो संघर्ष छाडेको छैन। 

 

टर्कीको वर्तमान सरकार सम्भवतः सबैभन्दा धेरै संगीतमा सेन्सरसिप गर्ने सरकार हो र आफ्ना राजनीतिक विद्रोहीहरूलाई अति नै दुःख दिने गरेको छ । सन् २०१८मा डा.लिन्डोन वेले गार्डियन पत्रिकालाई भने, ‘विरोधी हुनु धेरै खतरा छ । विद्यार्थी, बुद्धिजीवी र पत्रकार पनि जेलमा राखेका छन्, जागिरबाट निकालेका छन् । टर्की सरकारको विरोध गर्नेले त्यहाँ कामसमेत पाउँदैनन् ।’

 

ग्रुप योरुमको संघर्ष


सरकारको सेन्सनरसिपका कारण योरुमले धेरै नै दुव्र्यवहार सहनुप¥यो । टर्कीका गीतकार, रचनाकार र कार्यकर्ता सनर युर्दटपन (जो आफ्नो राजनीतिक विचार व्यक्त गरेकै कारणले सन् १९९७ मा जेल परेका थिए) का अनुसार योरुमका केही एल्बममाथि प्रतिबन्ध लगाइएका छन्, र गीतहरू पनि अनौपचारिक तरिकाले प्रतिबन्धित छन् । रेडियो र एफएमले सरकारको डरले उनीहरूको गीत बजाउन अस्वीकार गरेका छन् । योरुमका कार्यक्रम प्रायजसो अन्तिम क्षणमा रद्द हुन्छन् ।

 

रद्द नगरे योरुमले प्रहरी दमनको सामाना गर्नुपर्छ । २०१६को असफल ‘कु’ पछि उनीहरू झन् धेरै दमनमा परे । उनीहरूमाथि राज्यले कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगायो । योरुमका सदस्यलाई थाहा छ, योरुमको सदस्य हुनु भनेको शोषित उत्पीडित वर्गका निम्ति सार्वजनिक राजनीतिक जीवन अपनाउनु हो र राज्यबाट दमन, काराबास, यातना आदि स्विकार्नु हो । प्रहरीले योरुमका बाजा फुटाएका छन्, र सांस्कृतिक केन्द्र ध्वस्त गरेका छन् । तैपनि योरुमका साथीहरू पछि हट्दैनन् । उनीहरू राज्यको दमन सामना गरिरहेका छन् । किनकि उनीहरू आफूलाई आवाजविहीनहरूको आवाज ठान्छन् ।

ग्रुप योरुमका गीत–संगीत


योरुमका कार्यक्रम ऊर्जाशील हुन्छन् । उनीहरू जुझारू तालमा लोकगीतहरू गाउँदै, नाच्दै, आक्रोश, दुःख र आशाका गीतहरू गाउँछन् । क्रान्तिकारी गीतका साथसाथै बालगीत, प्रेमगीत गाउँछन् र ‘हालाय’ भन्ने लोकप्रिय लोकनाचका धुन बजाउँछन् । योरुमसँगै काम गरेका संगीत प्राध्यापक डा. एलियट बेट्सका अनुसार उनीहरूका कार्यक्रममा हालाय लोकनाचले महत्वपूर्ण भूमिका खेल्छ । सँगै नाच्ने फरक पृष्ठभूमिका दर्शक स्रोताहरूलाई एउटै वर्गीय एकतामा बाँध्न उक्त लोकनाचले सघाउँछ ।


योरुमका सांगीतिक जराहरू टर्कीका लोकगीत–संगीत, १९६०–१९७० को दशकमा विश्वभर भएका जनवादी लोकगीत र लोक–रक आन्दोलनहरूको मिलन हुन् । विशेषगरी दक्षिण अमेरिकाको ‘नुएवा कानसियोन’ (नयाँ गीत)को प्रभाव उनीहरूको गीत–संगीतमा पाइन्छ । एलियट बेट्सका अनुसार योरुमका ‘आइडल’ चिलीका प्रगतिशील समूहहरू ‘इन्ती इल्लिमानी’ र ‘किलापायुन’ हुन् । योरुमका कार्यक्रममा प्रगतिशील गायक–गायिकाका चिलेका विक्टर हारा र अर्जेन्टिनाकी गायिका मेर्सेदेस सोसा जस्ताका फोटोहरू देखाउने गर्दछ । अमेरिकाकी प्रगतिशील लोकगायिका जोन बाएजले योरुमसँगै कैयन् कार्यक्रममा प्रस्तुति दिएकी छिन् र अहिले पनि उनी योरुमकै पक्षमा बोलिरहन्छिन् ।


योरुमका विद्रोही गीतहरू सीमान्तकृत जातजातिका पक्षमा छन् । टर्कीको राज्यले अल्पसंख्यक जातिलाई राष्ट्रविरोधी देख्छ, उनीहरूको भाषामा प्रतिबन्ध लगाउँछ र अधिकार दिँदैन । अल्पसंख्यक जातीय समूहमध्ये सबैभन्दा ठूलो जनसंख्या कर्डहरूको छ । उनीहरूलाई राज्यले शंकास्पद दृष्टिले हेर्छन् । सन् १९८८ मा योरुमले निकालिएको गीत ‘केसे कुर्डान’ वैध रूपमा निकालिएको कर्डिस भाषाको पहिलो गीत हो । त्यसबेला राज्यले योरुमलाई कर्डिस भाषामा गीत निकाल्न दिए पनि राज्यको कर्डहरूप्रतिको विचार अहिले पनि फेरिएको छैन । भनिन्छ, सन् १९९३ मा कर्डिस क्षेत्र जान भनी ‘सेसारेट’ गीति एल्बमका क्यासेट बोकेको ट्रकलाई प्रहरीले बाटोमै रोक्यो र क्यासेट ध्वस्त पा-यो । 


योरुमका कुनै गीतले क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी पार्टी ‘डेब सोल’लाई सहानुभूति व्यक्त गर्छन् । उदाहरणका लागि, ‘सिबिल यालसिन’ भन्ने गीतले प्रहरीले हत्या गरेको डेब सोलका कार्यकर्ताको सम्झना गर्छ । सांगीतिक धुनमाथि बोलेको शैलीमा गाइएको कविताको रूपमा यसका शब्दले जवान केटाको जीवन सम्झिन्छ । मजदुरका दुःखी जीवनको व्याख्या गर्छ र आशा प्रकट गर्छ । 

 

टर्कीका क्रान्तिकारी कलाकारहरू ३५ वर्षदेखि फासीवादसँग लडिरहेका छन् । अनशन वस्दाबस्दै दुईजना सदस्यको मृत्यु भयो र पनि उनीहरू पछि हटेका छैनन् । 

 

सशस्त्र क्रान्तिको समर्थन गरेका कारण ‘डेब सोल’लाई टर्की, अमेरिका र युरोपका राज्यले आतंककारीको सूचीमा राखेको छ । योरुम कुनै पनि पार्टीमा आबद्ध नभए पनि उनीहरूको गीतका कारण समूहका सदस्यहरूलाई टर्कीको सरकारले ‘वान्टेड टेरोरिस्ट’को सूचीमा राखेको छ । योरुमको एउटा गीत ‘देरसिम्दे दोगन गुनेस’, टर्कीको सेनासँग लड्दालड्दै मारिएका ‘डेब सोल’का गुरिल्ला कार्यकर्ताप्रति समर्पित छ । यो क्रान्तिकारी गीतले गुरिल्ला–जीवनको त्याग र समर्पण गाउँछ । यस गीतको शब्द र संयोजनको प्रभाव ऊर्जाशील र जोसिलो छ । 


समग्रमा योरुमका गीत–संगीतले गायिका तथा अर्थशास्त्रकी प्रा.डा. सुमंगला दामोदरणले व्याख्या गरेको ‘प्रगतिवादी संवेगका तीन संलग्न पक्ष’को उदाहरण दिन्छ । ती तीन विषय हुन्, कलाको मुख्य विषय जनता नै बनाउने, राष्ट्र र राष्ट्रियताको विचारसँग आलोचनात्मक रहने र स्वतन्त्रता, मुक्ति र सामाजिक रूपान्तरणका लागि प्रयत्नशील रहने । 

 

हेलिन बोलेक र इब्राहिम गोक्सेकको अनशन


प्रहरीले योरुमको सांस्कृतिक केन्द्रमा छापा मा-यो । गायिका हेलिन बोलेक र बेस गिटारवाधक इब्रहिम गोक्सेकलाई सन् २०१६ र २०१९ मा डेब सोलको सदस्य भएको आरोपमा जेल हालियो । त्यसको विरोधमा उनीहरू र योरुमका अन्य साथीहरूले भोक हडताल सुरु गरे । भोक हडतालको २०० दिनपछि अनशनको स्वरूप फेरे । योरुमका सबै सदस्यलाई जेलबाट रिहा गर्नुपर्ने, सांस्कृतिक केन्द्रमा प्रहरी छापा मार्न नपाइने, ‘वान्टेड टेरोरिस्ट’को सूचीबाट योरुमका सदस्यहरूको नाम हटाउनुपर्ने र सांगीतिक कार्यक्रमको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग सरकारसमक्ष राखे ।


सन् २०१९ को नोभेम्बरमा बोलेक रिहा भइन् र फेब्रुअरी २०२० मा गोक्सेक रिहा भए । तर, सरकारले उनीहरूको अन्य माग पूरा नगरेपछि अनशन छाडेनन् । अप्रिल ३, २०२०मा हेलिन बोलेकको मृत्यु भयो । मे ७ मा अनशन छोडेको दुई दिनपछि गोक्सेकको पनि मृत्यु भयो । दुवैजनाको मलामीमा प्रहरी हस्तक्षेप भयो । योरुमका अन्य सदस्य र गोक्सेककी श्रीमती अझै जेलमै छन् । गोक्सेककी श्रीमती पनि योरुमकै सदस्य हुन् । ग्रुप योरुमले आफ्नो संघर्ष छाडेको छैन । 


दुईजना कलाकारको मृत्युपछि विश्वभरिका क्रान्तिकारी टर्कीको फासीवादप्रति आक्रोश व्यक्त गरिरहेका छन् । कतिपयले अनशनको पनि आलोचना गरेका छन् । जर्मनीमा तायफन गुतस्तात लेख्छिन्, ‘यो विरोध गर्ने तरिका टर्कीका वामपन्थीहरूमध्ये कसै–कसैका लागि एउटा परम्पराजस्तै भएको छ । मुक्तिको लडाइँमा जीवन महान पक्ष हो ।’


सशस्त्र विद्रोहलाई समर्थन गरे पनि नगरे पनि ग्रुप योरुमले विश्वभरिका सम्पूर्ण जनताका पक्षका ३५ वर्षदेखि ठूलो त्याग र बलिदान दिएका छन् । सर्वहारा वर्ग र जेलमा परेका आफ्ना साथीहरू सम्झेर उनीहरूले प्रशस्त गीत गाएका छन् । जसमध्ये एउटा गीत यस्तो छ : 

 

हे सन्तान गुमाएका आमाहरू ! 
हे बस्तीका फोहोर सडकहरूमा बिहानै धुलोमा फ्याँकिएकाहरू !
हे निधारबाट पसिना बगाई माटो खनेर खेती गर्नेहरू !
एक टुक्रा रोटीका लागि जेलको अन्धकारमा सूर्योदय र सूर्यास्त गुमाएकाहरू !
हे मजदुर ! 
इन्द्रेणीको रङजस्तै एकअर्काको पूरक हुनेहरू !
हाम्रा जनता, जो आनाटोलियाका निम्ति मर्दै छन्, हाम्रा जनता 
(ग्रुप योरुम, १९९६)

 

(डा. स्टर हवार्ड विश्वविद्यालयको एसियन स्टडिजकी उपप्राध्यापक हुन् । एन्थोम्युजिकोलोजीमा कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गरेकी उनको ‘सिंगिङ अक्रस डिभाइड्स : म्युजिक एन्ड इन्टिमेट पोलिटिक्स इन नेपाल–२०१७’ पुस्तक प्रकाशित छ । अमेरिका निवासी उनी गायिका पनि हुन् । उनले भक्त स्याङ्तानसँग मिलेर जनवादी गायक खुसीराम पाख्रिनबारे डकुमेन्ट्रीसमेत बनाएकी छिन् ।)