• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मल्ल के. सुन्दर
२०७७ जेठ ३ शनिबार १०:२७:००
सम्झना

जेठ ३ : कसलाई सम्झना छ र ?

२०७७ जेठ ३ शनिबार १०:२७:००
मल्ल के. सुन्दर

 

जोन एफ. केनेडी अमेरिकाको राष्ट्रपति पद ग्रहण गर्नेमा सबभन्दा कान्छा थिए । पद बहाल भएको हजार दिन पनि नपुग्दै उनको हत्या गरियो । सन् १९६३ नोभेम्बर २२ टेक्सासमा एउटा कार्यक्रम सम्पन्न भएपछि खुला कारमा बसेर फर्कंदै गर्दा उनी नजिकैको अग्लो भवनबाट हानेको गोलीको निसाना बने । 


घटनाको सत्तरी मिनेट नपुग्दै प्रहरीले ली हार्भी वोसवाल्ड नामका व्यक्तिलाई अभियुक्तको रूपमा पक्राउ ग¥यो । नोभेम्बर २४ का दिन सोधपुछकै लागि लग्दै गर्दा प्रहरी कार्यालयकै भूमिगत तल्लामा नाइट क्लबका सञ्चालक ज्याक रुवीले त्यहीँ गोली हानेर वोसवाल्डको हत्या गरे ।

आफ्ना प्रिय नेताद्वयको मृत्युमा पार्टी कार्यकर्ता शोक तथा पीडाबाट विक्षिप्त थिए । त्यस्तै घटनाका पछाडि कुनै ठूलो षड्यन्त्र भएको आशंकामा उनीहरू आक्रोशित तथा उत्तेजित थिए । एकाबिहानैदेखि विरोध प्रदर्शन, नाराबाजी, आगजनी र तोडफोडको क्रम सुरु भयो ।

 

अधिकांशले यसलाई सुनियोजित हत्याकाण्ड हुन सक्ने आशंका गरे । अनेक खाले षड्यन्त्रका सम्भावनाबारे अमेरिकी समाजमा चर्चा चले । षड्यन्त्रका पछाडि अमेरिकी शक्तिकेन्द्रका प्रभावशाली व्यक्तिहरूकै संलग्नता हुन सक्ने अनुमान गरिए । तर, घटनाका सम्बन्धमा छानबिन गर्न गठित वारेन आयोगले केनेडी हत्याकाण्डमा आरोपित वोसवाल्ड एक्लै संलग्न रहेको निष्कर्ष निकाल्यो । आयोगको निष्कर्षप्रति व्यापक असहमति देखिए । फेरि हत्यासम्बन्धी संसद्अन्तर्गत अर्को छनोट समिति बने ।


आधा शताब्दीभन्दा बढी समय बितिसके । आजसम्म केनेडी हत्याकाण्डका पछाडिका यथार्थ विश्वसामु अनुत्तरित नै रहे । यद्यपि, सही निष्कर्ष छैन, तर मानिसहरू केनेडी हत्याकाण्डलाई रहस्यमय तथा षड्यन्त्रकै रूपमा बुझ्छन् ।

 

दासढुंगा घटना

 

सत्ताइस वर्षअघि आजकै दिन दासढुंगामा भएको चर्चित सवारी दुर्घटना पनि केनेडी हत्याकाण्डजस्तै आजसम्म अनुत्तरित रहस्यकै रूपमा छ । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी, संगठन विभागका प्रमुख जीवराज आश्रित तथा गोरखा जिल्लासचिव ऋषि कट्टेल पोखराबाट चितवन, भरतपुरका लागि हिँडेका थिए । मित्सुबिसी बा. अ. च ८७९३ का चालक थिए– अमर लामा । ऋषि कट्टेल आँबुखैरनीमै ओर्लिए, दुई नेताको यात्रा भने अगाडि बढ्यो ।

 

लेखा अधिकृत लेखनाथ कोइराला पार्टी कार्यालयमा छँदैमा कार्यालयको फोनमा चालक लामाले सवारी दुर्घटना भएको र त्यसमा नेताद्वय परेको सूचना दिए । घटना २०५० जेठ ३ गते साँझ सवा ६ बजेको थियो । 

 

खबर नेपालभित्र र बाहिर क्षणभरमा फैलियो । एकातिर चालक लामा जीवित रहनु र उनलाई सामान्य घाउचोट पनि नलाग्नु अर्कोतिर नेताद्वय भने नदीमा बेपत्ता हुनु, घटनाको जानकारी प्राप्त भएदेखि नै अपत्यारिलो थियो । स्वाभाविक रूपमा अनेकन आशंका भए । खोजबिनपश्चात भोलिपल्ट बिहानतिर घटना भएकै अलिक पर गाडीभित्र मृत अवस्थामा भेटिए, जीवराज आश्रित । मदन भण्डारीको लास भने ३२ किमि दक्षिणतिर स्थानीयवासीले भेट्टाए । 

 

गाडीको अवस्था, मृतकहरूका लासको सनाखत अनि चालक लामाका फरक–फरक बयानका आधारमा आशंका गहिरिएको मात्र होइन, सञ्चार माध्यम, राजनीतिक वृत्त अनि सर्वसाधारणमाझसमेत हुन सक्ने षड्यन्त्रका अनेकन थरीका कहानी चर्चित हुन थाले । सारमा सबैको एकै मत थियो– त्यो एक षड्यन्त्रपूर्ण नियोजित घटना थियो ।

 

आफ्ना प्रिय नेताद्वयको मृत्युमा पार्टी कार्यकर्ता शोक तथा पीडाबाट विक्षिप्त थिए । त्यस्तै घटनाका पछाडि कुनै ठूलो षड्यन्त्र भएको आशंकामा उनीहरू आक्रोशित तथा उत्तेजित थिए । षड्यन्त्रका लागि प्रत्यक्ष रूपमै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि आरोप लगाइयो । एकाबिहानैदेखि विरोध प्रदर्शन, नाराबाजी, आगजनी र तोडफोडको क्रम सुरु भयो ।

 

अनिल आयोग गठन

 

स्थिति यति बिकराल बन्दै गइरहेको थियो कि प्रधानमन्त्री दुर्घटनाका सम्बन्धमा छानबिन आयोग गठन गर्न बाध्य भए । जेठ ४ गतेकै दिन सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको संयोजकत्वमा एक सदस्यीय जाँचबुझ आयोग गठन भयो । आयोगले जेठ ६ गतेबाटै आफ्नो काम प्रारम्भ ग-यो । 

 

सडकमा भइरहेको जनप्रदर्शन, व्यापक असन्तोष अनि संसद्भित्रको चर्को दबाबका कारण आयोगले आफ्नो काम टुंग्याएर असार ३ गते नै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझायो । प्रतिवेदनमा चालक लामासहित केही सुरक्षाकर्मी र प्रत्यक्षदर्शी भनिएकाहरूसँग गरिएका कुराकानीका टिपोट, प्रहरी रिपोर्ट, मेडिकल रिपोर्टका आधारमा सुझाब र निष्कर्ष प्रस्तुत गरेको थियो । अनिल आयोगको निष्कर्ष थियो– चालक अमर लामा निर्दोष हुन् । घटना एक सवारी दुर्घटना मात्र हो ।

 

नेपाल बन्द तथा विरोध प्रदर्शन 

 

अनिल आयोगको प्रतिवेदनमा व्यापक असहमति मात्रै देखिएन, नेकपा (एमाले)ले आधिकारिक रूपमै त्यसलाई घटनाको यथार्थ ढाकछोप गर्ने नियोजित षड्यन्त्रका रूपमा लिँदै चर्को विरोध गरे । प्रतिरोधका क्रममा नेकपा(एमाले)कै आह्वानमा सडक प्रदर्शन, नारा, जुलुस र तीन दिनसम्म नेपाल बन्द भयो । 

 

अन्य ६ वटा राजनीतिक दल पनि नेकपा (एमाले)सँग ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनमा सहभागी भए । उत्कर्षमा पुगेको आन्दोलनका क्रममा सुरक्षाकर्मीसँगको मुठभेडमा झन्डै एक दर्जनको ज्यान गयो । संसद्भित्र पनि विरोध थेग्न नसक्ने भएपछि एक राजनीतिक सहमति भयो ।

 

सर्वोच्चका प्रधान–न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा बसेको सात सदस्यीय विशेष इजलासबाट पदमा रहेको न्यायाधीशले पनि छानबिन आयोगमा बसेर भूमिका निर्वाह गर्न सक्ने फैसला गरेर एउटा निकासको उपाय निकाले । सर्वोच्चको सोही आदेशका आधारमा जाँचबुझ आयोग गठनसम्बन्धी पहिलो संशोधन २०५० का लागि राजाबाट विशेष अध्यादेश जारी गराइयो र अर्को जाँचबुझ आयोग गठन गरियो ।

 

छानबिनमा विभिन्न आयोगहरू 

 

नयाँ गठन गरिएको आयोगको अध्यक्षता गर्ने जिम्मा सर्वोच्चका बहालवाला न्यायाधीश त्रैलोक्यप्रताप राणालाई सुम्पिएको थियो । २०५१ असार १४ गते गठित आयोगमा अधिवक्ता विपुलेन्द्र चक्रवर्ती र प्रा. हर्षनारायण धौभडेललाई सदस्य चयन गरियो । 

 

सरकारी आयोगको भूमिकाप्रति आश्वस्त हुन नसकेपछि नेकपा(एमाले)ले आफ्नै दलको खड्गप्रसाद ओली शर्माको अध्यक्षतामा अरू चारजनासहित छुट्टै जाँचबुझ समिति गठन गरेको थियो । यद्यपि, त्यसका अरू चार सदस्यहरू को–को थिए भन्ने सार्वजनिक गरिएन । 

 

आँबुखैरनीसम्म सँगै यात्रा गरेका ऋषि कट्टेलको बयानअनुसार गाडीको अगाडि सिटमा बेल्ट कसेर तथा ढोका लक गरेर बसेका मदन भण्डारी ३२ किमि परसम्म कसरी पानीमा बगे ? प्रश्न अनुत्तरित छ ।

 

यस्तै नेपाल प्रहरीको तर्फबाट उपरीक्षक वीरसुन्दर केसी र निरीक्षक तेजजंग थापासहितको विभागीय छानबिन समिति बनाउन भ्याए । अर्कोतिर, राष्ट्रिय अनुसन्धान विभागले पनि वरिष्ठ उपरीक्षक ललितबहादुर लिम्बूको एकल सदस्यीय समितिलाई घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन जिम्मा दिएको थियो । नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग दुवैको प्रतिवेदन त्यसै वर्ष जेठ मसान्तमा बुझाइयो । 

 

यता ओली आयोगले छानबिनमा के तथ्य फेला पा-यो, त्यो आजसम्म सार्वजनिक गरिएको छैन । त्यस्तै नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिवेदन पनि सरकारले आफूसँग सुरक्षित राखे, तिनलाई सार्वजनिक गर्न आवश्यक ठानिएन । 

 

यसै क्रममा घटना भएको तीन दिनपछि नै ‘मूल्यांकन’ मासिक पत्रिकाको पहलमा भएको नागरिक अगुवाहरूको भेलाबाट पद्मरत्न तुलाधरको संयोजकत्वमा नौ सदस्यीय नागरिक छानबिन समिति गठन गरिएको थियो ।

 

आयोगहरूको ठहर 

 

त्रैलोक्यप्रताप राणाको अध्यक्षतामा बनेको आयोगले झन्डै दुई महिनाको अवधिमा एक सय पैंतीस पृष्ठको प्रतिवेदन तयार पा¥यो । जाँचबुझका क्रममा स्थलगत निरीक्षणका साथै सरोकारवाला थुप्रैसँग प्रत्यक्ष बयान लियो । नेपालभित्र गरिएका पोस्टमार्टम प्रतिवेदन तथा बेलायतमा गरिएका भिसेरा परीक्षणका विवरणको पनि अध्ययन गर्ने काम यसले ग-यो । 

 

घटना घटेको झन्डै एक वर्ष बितिसकेको थियो, त्यति वेलासम्ममा सवारी चालक लामामाथि पुनरावेदन अदालत, हेटौंडामा सवारी ज्यान मुद्दा चल्दै थियो । मुद्दा अदालतको विचाराधीन अवस्थामा रहेकाले अभियुक्तले कर्तव्य वा अन्य षड्यन्त्रपूर्वक नेताद्वयको हत्या गरिएको हो वा होइन भनेर राय दिन कानुनतः नमिल्ने भन्ने तर्कका आधारमा आयोगहरू सजिलोसँग पन्छिए ।

 

त्यस्तै आयोग गठनका क्रममा दिइएको काम, कर्तव्य र अधिकारभित्र ‘चालकले लापर्बाहीका साथ मोटर चलाएकाले नेताद्वयको निधन भएको हो वा होइन’ भन्ने किटान गरिएकाले त्योभन्दा बाहिरका अन्य कुराका सम्बन्धमा सोधखोज गर्नु वा राय दिनु आयोगको अधिकारभित्र पर्दैन भनी कुटिलतापूर्ण निष्कर्ष निकालियो । सार रूपमा त्रैलोक्यप्रताप राणा आयोगको प्रतिवेदनले मानिसहरूको जिज्ञासा पूर्ति गर्ने तथा आशंका मेटाउने काम गरेन ।

 

तर नागरिकस्तरमा बनेको आयोगले आफ्नो प्रतिवेदनको निष्कर्षको पहिलो बुँदामै ‘यो समिति जेठ ३ गते दासढुंगा काण्डमा भएको मदन भण्डारी र जीवराज आश्रितको मृत्यु नियोजित हो भन्ने ठहर गर्दछ’ भनेर स्पष्ट किटान ग-यो । यता इन्टरनेसनल क्राइम रिसर्च सेन्टर (आइसिआरसी)ले यसै घटना सम्बन्धमा गरेको स्वतन्त्र छानबिनको प्रतिवेदन पनि प्रकाशित छ । रिसर्च सेन्टरको प्रतिवेदनले भन्छ– यो घटना ‘मिसन फायर’ नामक रणनीतिअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो । यो नियोजित हत्या हो । यसका पछाडि अमेरिकी गुप्तचरी संस्था ‘सिआइए’ र भारतीय गुप्तचरी संस्था ‘रअ्’को हात छ ।

 

अनुत्तरित र रहस्यमय प्रश्न

 

- चालक लामाले घटनाको पहिलो सूचना दिने वेलादेखि पटक–पटक फेर्दै गरेको बयान र घटनाको क्रममा ऊ आफू जीवित बच्नु तथा दुर्घटनाको सम्भावना नै नभएको स्थानबाट जिप तल नदीसम्म खसेको कुरा कति विश्वसनीय छ ?

 

- आँबुखैरनीसम्म सँगै यात्रा गरेका ऋषि कट्टेलको बयानअनुसार गाडीको अगाडि सिटबेल्ट कसेर तथाढोका लक गरेर बसेका मदन भण्डारी ३२ किमि परसम्म कसरी बगे ? 

 

- छानबिनका क्रममा घटनाको सुराखको नजिक पुगेको भनेर दाबी गरेका प्रहरी इन्स्पेक्टर किरण कुँवरलाई दबाब दिएर किन राजीनामा गर्न लगाइयो ?

 

- राष्ट्रिय विधि–विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइँदा मृतकहरूका फोक्सो र कलेजोका नमुना नपठाई किन कलेजोको अंश मात्र पठाइयो ? साथै सोही प्रयोगशालामा कलेजोको नमुनाको मात्र परीक्षण गरिँदापनि पानीमा डुबेर नै मृत्यु भएको हो भन्ने कुरा किन निश्चित गरिएन ? 

 

- डाइटोम परीक्षणका लागि बेलायतमा पठाउँदा मृतकहरूका गिदी तथा बोनम्यारोका नमुनाहरूकिन पठाइएन ?

 

- बेलायत, अल्डरमस्टनस्थित फोरेन्सिक साइन्स सर्भिस ल्याबोटरीमा गरिएको मृतकहरूको रगतको परीक्षणपछि उपलब्ध गराइएको प्रतिवेदनमा स्पष्ट आइसोप्रोपनल, आइसोबुट्यानल, डाइक्लोरोमिथेन भेटिएको र ती अत्यन्त घनीभूत अवस्थामा रहेको कुरा उल्लेख गरिएको थियो । त्यस सम्बन्धमा पछि अरू विस्तृत अध्ययन अनुसन्धानको आवश्यकता किन ठानिएन ?

 

- एक मात्र प्रत्यक्षदर्शी अमर लामा अदालती फैसलाअनुसारको कैदपछि ‘ताजा खबर’ पत्रिकाका लागि डिल्लीबजारस्थित कार्यालयमा कार्यरत छँदा कसले अपहरण गरेर कीर्तिपुर पु-यायो ? कीर्तिपुरको खुला बजारबीच गोली हानेर उनको हत्या गर्ने काम कसले र किन गरे ? 

 

दासढुंगा काण्ड सम्बन्धमा यस्ता अनेकन प्रश्नहरू अनुत्तरित नै छन् । एकपछि अर्कोे गरी विकसित घटनाक्रमले यो काण्ड अमेरिकाको केनेडी हत्याकाण्डजस्तै अत्यन्त रहस्यमय रहिरह्यो ।

 

आजको दायित्व

 

लोकतान्त्रिक अधिकार प्राप्ति र राष्ट्रियताको पक्षमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्दै आइरहेका मदन भण्डारी र जीवराज आश्रितको नेपालको राजनीतिमा विशिष्ट भूमिका रह्यो । मदन भण्डारी वामपन्थी आन्दोलनमा बहुदलीय जनवादको फरक धार प्रतिस्थापन गराउने मुख्य विचारक थिए । मदन भण्डारीले टनकपुर मुद्दाका सन्दर्भमा संसद्भित्र खेलेको नेतृत्वदायी भूमिका उल्लेख्य थियो । तर, उनको अडानप्रति देशभित्र र बाहिरका शक्तिकेन्द्र खुसी थिएनन् । 

 

विद्या भण्डारीले नागरिक छानबिन समितिसमक्ष त्यति वेला बयान दिने क्रममा भनेकी थिइन्– मदन कमरेडलाई मार्ने धम्की टनकपुरको सवालमा सिंहदरबार धर्ना दिने दिनको अघिल्लो दिन आएको थियो ।

 

वर्तमान उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि त्यस समितिसँगको बयानमा टिप्पणी गरेका थिए– यो दुर्घटनालाई रहस्यमय दुर्घटना हो भनेर किटान गरेका छौँ । यो दुर्घटना रहस्यमय र षड्यन्त्रपूर्ण हो भन्ने कुरा त साधारण मान्छेले पनि भनिरहेका छन् । 


पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपालको शब्दमा– यो सुनियोजित दुर्घटनामा कमरेड मदन भण्डारी र जीवराज आश्रितलाई जानी–जानी गाडी खसालेर मार्न खोजेको देखिन्छ । 

 

पोखराबाट सँगै गाडीमा सवार ऋषि कट्टेलले पनि त्रैलोक्यप्रताप राणा आयोगसमक्ष भनेका थिए– मदन र आश्रितलाई बेहोस गराइएको र मदनलाई बेहोस अवस्थामा गाडीबाट झिकी नदीमा फालिएको भन्ने मलाई लाग्छ । स्मरण होस्, ओली आयोगको प्रतिवेदन सार्वजनिक नगरिए पनि त्यसले यो घटनालाई रहस्यमय भनेर निचोड निकालेको थियो ।

 

घटनाको प्रकृति, सरोकारवाला व्यक्तिहरूको भनाइ तथा यसलाई ढाकछोप गर्ने गरी विकसित अनेकन स्थितिका आधारमा यो अनुत्तरित मात्र रहेन, षड्यन्त्रमूलक र रहस्यमय छ भन्ने कुरा स्पष्ट हुन्छ । हिजो राजनीतिक अवस्था भिन्न थियो, कतिपय कारणले घटनाको गुह्य तथ्य खोतलखातल गर्न व्यावहारिक सहजता थिएन होला । तर, अहिले मदन भण्डारीले कोरेको गोरेटोबाट अगाडि बढ्दै नेकपाले सत्तामा एकछत्र राज गरेको छ । दुईतिहाइको बहुमत छ । इच्छाएको काम गर्ने मताधिकार तथा शासनाधिकार छ । प्रश्न उठ्छ, फेरि पनि यसतर्फ अनुसन्धान गर्न वर्तमान सरकार किन उत्सुक छैन ? किन दासढुंगा घटनाको रहस्योद्घाटनका लागि जमर्को गर्दैन ?


सन् १८२१ मा मृत्यु भएका फ्रान्सका शासक नेपोलियन बोनापार्टका सम्बन्धमा पनि लामो समयसम्म विवाद रह्यो । उनको मृत्यु वा हत्या हो भन्नेबारे अनेकन आशंका उठिरहे । उनको मृत्युको दुई सय सत्ताइस वर्षपछि सन् २००८ मा विशेष अनुसन्धान टोलीले उनको चिहान उत्खनन ग¥यो, शवमा भेट्टाइएको कपालको रौंको वैज्ञानिक विश्लेषण गरिए । आरोप लगाइएअनुसार उनलाई कुनै किसिमको आर्सनिक विषालु पदार्थ दिइएको थिएन, उनको मृत्यु स्वाभाविक मृत्यु भएको ठहर गर्दै नेपोलियनको मृत्युसम्बन्धी शताब्दीयौँ पुराना रहस्य निवारण गरिए ।

 

दासढुंगा काण्ड सम्बन्धमा छानबिनका लागि पार्टीस्तरीय आयोगको नेतृत्व गरेका व्यक्ति खड्गप्रसाद ओली कार्यकारी प्रमुख छन् । अनि मदन भण्डारीकी जीवनसँगिनी मुलुकको सर्वोच्च पदमा छिन् । व्यक्तिगत सम्बन्धका आधारमा अनुभूत हुने संवेनशील पक्षका सबाल त छँदै छन्, यसअतिरिक्त आफूहरू अहिले राष्ट्रको जुन स्थानमा छन्, त्यसअनुसार जनता, राष्ट्र र राजनीतिप्रति इमानदार भएर निर्वाह गर्नुपर्ने दायित्व पनि छन् । दासढुंगा घटनाका सम्बन्धमा त्यसखाले दायित्व किन निर्वाह गरिएन ? 

 

भनिन्छ, लहरा तान्दा पहरा थर्किन्छ भन्ने चिन्ताका कारण अमेरिकी शक्तिकेन्द्रमा रहेका व्यक्तिहरू केनेडी हत्याकाण्डका सम्बन्धमा थप छानबिन अगाडि बढोस् भन्ने चाहँदैनन् । त्यसैले केनेडी हत्याकाण्ड आजसम्म रहस्यको गर्भमै छ । कतै दासढुंगा घटनाको पीडामा पनि यस्तै अन्तर्य पो छ कि ?

 

विद्या भण्डारी स्वंयले त्रैलोक्यप्रताप राणा आयोगसमक्ष २०५१ भदौ ९ बिहीबारका दिन उपस्थित भएर बयानमा भनेकी थिइन्– यो सुनियोजित र षड्यन्त्रपूर्ण राजनीतिक हत्या हो । मेरो श्रीमान्लाई षड्यन्त्रपूर्ण ढंगले र सुनियोजित ढंगले मारेको हो । थाहा छैन, आज सर्वोच्च पदमा पदासीन रहिरहँदा जेठ ३ गतेको दिन पनि उनीहरूलाई याद छ–छैन ?