• वि.सं २०७७ जेठ २४ शनिबार
  • Saturday, 06 June, 2020
रोजिता बुद्धाचार्य
२०७७ जेठ १० शनिबार ०८:४०:००
यात्रा

जूनमा पुग्ने बाटो

२०७७ जेठ १० शनिबार ०८:४०:००
रोजिता बुद्धाचार्य

हिमाल चढिरहँदा सोध्थेँ, ‘यो हिउँको बाटो कहिले सकिन्छ ?’

काठमाडौंको बांगेमुढास्थित चोककै सबैभन्दा अग्लो घरमा जन्मिएँ । सम्झिँदासम्म काठमाडौं अहिलेजस्तो प्रदूषित थिएन । वरपरका डाँडाकाँडा मात्रै होइन, हिमाल पनि सजिलै देख्न सकिन्थ्यो । आकाश ताराहरूले भरिएका हुन्थे । 

 

म कौसीको छेउमा बसेर, पल्टेर, खुट्टा झुन्ड्याएर, आफ्नै कल्पनाको संसारमा घन्टौँ डुबिरहन्थेँ । हवाईजहाज देखेँ भने जोडजोडले हात हल्लाउँथेँ, चिच्याउँथेँ । कागजको चंगा, पंखा र रकेट बनाएर उठाउँथेँ । 

 

म कल्पना गर्थें, एक घरबाट अर्को घरको कौसीमा बुर्लुक्क हामफाल्ने, त्यसपछि अर्को घरबाट अर्को घर हुँदै नजिकको पहाडमा फाल हाल्ने, पहाडबाट सँगै देखिरहने हिमालमा हामफाल्ने अनि हिमालबाट आकाशको चन्द्रमामा बुर्लुक्क हामफाल्ने ! मेरो कल्पना यतिमै सीमित थिएन । चन्द्रमामा के छ, कस्तो छ र त्यहाँ को–को बस्छन् भन्ने पनि खोतल्नु थियो । सबैभन्दा महत्वपूर्ण त चन्द्रमामा पुगेर आमालाई भेट्नु थियो । हजुरबाले भन्नुभएको थियो, ‘आमा भेट्नु छ भने खुरुक्क चन्द्रमा जाने, अनि भेट्ने । मलाई धेरै प्रश्न सोध्ने होइन ।’

 

अहिले बालापन सम्झिँदा कति मूर्ख रहेछु जस्तो लाग्छ । मलाई भनिएको थियो, ‘मेरी आमा म सानो हुँदै चन्द्रमामा जानुभएको छ !’ आमाको म अनुहारसमेत चिन्दिनँ । आमासँग जोडिएका कुनै पनि पल दिमागमा संग्रहित छैन । चन्द्रमामा पुगेकै भए पनि म कसरी आमालाई चिन्थेँ होला र ! फेरि सोच्छु, मैले नचिनेर के भयो त, आमाले त चिन्नुहुन्छ नि ! 

 

सानोमा मलाई सगरमाथा नै संसारको सबैभन्दा अग्लो हिमाल हो भन्ने थाहा थिएन । स्कुलताका जब पासाङल्हामु शेर्पाको वीरतापूर्ण जीवनी पढेँ, त्यसपछि बल्ल सगरमाथाबारे थाहा पाएँ । 

 

समय बित्दै गयो । किशोरावस्था पार गर्दै युवा अवस्थामा आइपुगेँ । जति ठूली भएँ, त्यति नै थाहा हुँदै गयो कि चन्द्रमामा त अहिलेसम्म जीवनको अस्तित्वसम्म नै भेटेको छैन रहेछ । अनि म आमालाई कसरी भेट्टाउन सक्छु र ! तर मनै त हो, स–शरीर नभेटिएपछि कुनै तरंग, ऊर्जा वा आत्माकै स्वरूपमा त आमा पक्कै छिन् होला जस्तो लाग्थ्यो । 

 

आज आमाले सधैँका लागि छाडेर जानुभएको पनि २२ वर्ष बितिसकेछ । म २४औँ वसन्तमा हिँड्दै छु । 

०००

सन् २०१७ मा बिपी कोइराला मेमोरियल प्लानेटेरियम, अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिको कर्मचारी थिएँ । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘आजको विज्ञान’ कार्यक्रमको प्रस्तोताका रूपमा विज्ञान पत्रकारिता गरिरहेकी थिएँ । 

 

‘सुइना कर्णालीका’, ‘बुद्धवाणी’, ‘चारुमती’, ‘इन द रेड एन्ड ब्राउन वाटर’, ‘थ्री पेन्नी ओपेरा’, ‘मालिनी’, ‘रुस्लान’, ‘आन्ना इन द ट्रपिक्स’ र ‘द डायरी अफ अ योङ गर्ल : आन्ना फ्राङ्क’ जस्ता नाटकमा काम पनि गरेँ । त्यसपछि साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’मा ठूली झमकको भूमिकामा अनुबन्धित भएँ । 

 

सूर्य र सौर्यमण्डलको घर मिल्की–वे आकाशगंगा हो । मिल्की–वेजस्तै अर्को आकाशगंगाको अध्ययनार्थ अमेरिकाको स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युट जाने तरखरमा थिएँ । बा सधैँ भन्ने गर्नुहुन्थ्यो, ‘तिम्रो भाग्यमा लेखेको कुरा जसरी नि पाउँछ्यौ, भाग्यमा नभएको कुरा जति कसरत गरे पनि पाउँदैनौ ।’ सायद त्यस्तै भयो । 

फुर्वातेन्जिङ सरले भन्नुभएको थियो, ‘मलाई मेरो आमा र बाबाले जन्म दिनुभयो, तर कर्म हिमालले दियो । हिमाल मेरो परिवार पनि हो, मेरो अभिभावक पनि हो ।’

 

त्यो सुन्दर रोल्वालिङ ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ टोली तयार भयो, राससकी पत्रकार रोशा बस्नेतको संयोजकत्वमा । म पनि त्यही टिममा संलग्न भएँ । सानैदेखिको कल्पना साकार हुँदै थियो । जुनको नजिक सगरमाथाको चुचुरोमा पुगेर आमासित भलाकुसारी गर्न पाउने लोभले लोभिएँ । साथमा थियो, आत्मविश्वासी टिम । 

 

सन् २०१७ नोभेम्बर महिना । हामी (प्रियालक्ष्मी कार्की, देउराली चाम्लिङ, रोशा बस्नेत, कल्पना महर्जन र म) पाँच पत्रकारको टोली दोलखा जिल्लास्थित गौरीशंकर हिमालको काखैमा रहेको रोल्वालिङ उपत्यका जाने भयौं, २३ दिने हिमाल आरोहणसम्बन्धी तालिम गर्न । सिरानमा च्छो–रोल्पा ताल, चारैतिर हिमालले घेरिएको, यती, गुरु रिम्पोछे र मिलारेपाका विभिन्न किंवदन्तीमा आधारित शेर्पा संस्कृति, हिउँचितुवा, डाँफे र रेडपान्डाजस्ता दुर्लभ वन्यजन्तु तथा पक्षी, बोटबिरुवाको घर । असाध्यै सुन्दर गाउँ ! मेरा लागि भक्तपुरपछि विश्वकै सबैभन्दा प्रिय ठाउँ भनेकै रोल्वालिङ बन्यो । 

 

त्यतिवेला हामीलाई राधिका शाक्यले दिनुभएको एक लाख, अन्य साथीभाइको केही सहयोग र रोशा बस्नेतले मुद्दती बचतलाई तोडेर झिक्नुभएको रकम ऋणपान गरी तालिमका लागि मैदानमा उत्रियौँ । हामीसित हिमालमा प्रयोग हुने लुगा र जुत्ता थिएन, थियो त केवल मनभरिको उत्साह र पछि नहट्ने अठोट । भोक र अभावले डगमगिएका हाम्रा पाइलालाई दरिलो आँट दिनुभएको थियो, हाम्रा हिमाली गुरु फुर्वा तेन्जिङ शेर्पा र कवि तथा हाम्रो अभिभावक अनिता लामा दिदीले । 

 

हामीले केही सामान उधारो लियौँ, केही अग्रज आरोही दिदीहरू शैली बस्नेत र माया गुरुङको समूहसँग सापटी लियौँ । अचम्मको कुरा ! हामीसँग एक रुपैयाँ नभएको देख्दादेख्दै पनि फुर्वा सरले सजिलै हामीलाई विश्वास गर्नुभयो । सायद उहाँले हाम्रो सपना बुझ्नुभयो । यही विश्वासले होला, निमा गुम्बु दाइले आफ्नो पसलबाट हामीलाई हजारौँका सामान उधारोमा दिनुभएको । 

 

हामी रोल्वालिङ गयौं । हाम्रो ट्रेकिङ गाइड फुर्वाथिले शेर्पा, क्लाइम्बिङ गाइड पेम्बा शेर्पा र सरदार फुर्वातेन्जिङ शेर्पा हुनुहुन्थ्यो । काठमाडौंसँग सम्बन्धित व्यवस्थापनको जिम्मा पाल्देन शेर्पा दाइले लिनुभएको थियो । काठमाडौंबाट करिब आठ घन्टाको बसयात्रापछि हामी गोगंर खोला पुग्यौँ । त्यहाँबाट पैदलयात्रा हिँडेर सिमी गाउँ पुग्यौँ । सिमी गाउँबाट दोङगाङबाट सुर्मुचे हुँदै बेदिङ गाउँ (तीन हजार ६ सय ९० मि) पुग्यौँ । त्यहीँबाट सुरु भयो, रोल्वालिङ उपत्यका ।

 

००० 

 

जब हामी सुर्मुचेबाट बेदिङ गाउँतिर लम्किरहेका थियौँ, मेरा गोडा टेक्नै नमिल्ने गरी सुन्निएका थिए । पैताला, कुर्कुच्चा र औँलामा पानीफोका बन्दै फुट्दै गर्‍यो । घाउ भयो । अति नै भएपछि मैले गाइड फुर्वाथिले शेर्पालाई जानकारी गराएँ । उहाँले मेरो खुट्टा हेर्नुभयो । त्यसपछि केही पनि नबोली आफूले लगाएको जुत्ता फुकालेर मलाई दिनुभयो । मेरो चाहिँ उहाँले लगाउनुभयो । मलाई हिँड्न सजिलो भयो । उहाँको र मेरो उमेर उस्तै–उस्तै भए पनि उहाँको खुट्टा ठूलो थियो । मलाई हिँड्न सजिलो बनाउन उहाँले दुःख खेप्नुभयो । 

 

४२ सय मिटरको उचाइमा रहेको ना गाउँ पुग्यौँ । त्यहाँ आरोहणसम्बन्धी आधारभूत तालिम लिएपछि पाँच हजार नौ सय २५ मिटर अग्लो रामदुङ हिमाल आरोहण गर्न तम्सियौँ । 

 

ना गाउँबाट यालुङ री बेस क्याम्प हुँदै रामदुङ हाई–क्याम्पसम्म पुग्दा मेरा एकजोर जुत्ता पूरै फाटिसकेका थिए । अर्को भाडामा ल्याएको जुत्ता मेरो खुट्टाभन्दा सानो थियो । म सानो छँदा मेरा हजुरबुवा भन्नुहुन्थ्यो, ‘जुत्ताले मान्छेको कर्मलाई गन्तव्यसम्म डोर्‍याउने हो । त्यसैले राम्रो जुत्ता लगायो भने राम्रो गन्तव्य भेटिन्छ ।’ मैले हजुरबुवाको कुरा सम्झिरहेँ । 

 

हाई–क्याम्प पुगेकै साँझ मेरो रजस्वला सुरु भयो । सामान्यतया काठमाडौं हुँदै त मेरो रक्तश्राव सामान्यभन्दा बढी नै हुन्थ्यो । पेटको मासु फर्किने, ढाड दुखेर हिँड्न नसक्ने हुन्थ्यो । आजको बिहान ३ बजे हामी रामदुङ आरोहण गर्ने कुरा थियो । मलाई बडो फसाद प¥यो । मैले अलिकति अप्ठेरो, अलिकति लाज र अलिकति आसले हाम्रो सरदार फुर्वातेन्जिङ शेर्पा र क्लाइम्बिङ गाइड पेम्बा शेर्पालाई समस्या सुनाएँ । मैले फेरि एकपटक फुर्वाथिले शेर्पाको जुत्ता लगाउने भएँ, तर यो ट्रेकिङ जुत्ता नभई हिमाल आरोहण गर्दा लगाउने जुत्ता थियो । 

 

नोभेम्बर २६, बिहान ३ः३० बजेतिर हामी रामदुङको चुचुरोतिर लम्कियौँ । अधिक रक्तश्रावले गर्दा मेरा पाइला एकदमै सुस्त थियो । जताततै सेताम्मे हिउँ । एक पाइला चिप्लेँ भने कुन खाल्डोमा खस्ने हो, केही थाहा छैन । पूरै ठाडो बाटो । सकेसम्म छिटो हिँड्न सके छिटै चुचुरोमा पुगिन्छ, छिटै आधारशिविर झरिन्छ, अनि यो ज्यानले आराम पाउँथ्यो । मनमा यस्तै उद्वेग चलिरह्यो । 

 

मैले सरदार फुर्वातेन्जिङ शेर्पा सरलाई आफू ढिलो हुनुको कारण बताएँ । उहाँले कति सजिलै, जहाँसम्म सकिन्छ जाने, नसके फर्किने भन्नुभयो र मेरो हात समातेर डोर्‍याउनुभयो । मैले अभिभावक पाएको आभास गरेँ । 

 

म बीचबीचमा उहाँलाई सोध्थेँ, ‘यो हिउँको बाटो कहिले सकिन्छ ?’ अहिले सम्झिँदा लाज लाग्छ । हिमाल चढ्दा हिउँको बाटो कहिले सकिन्छ भनेर सोध्ने ! त्यतिवेला उहाँले मुसुक्क हाँस्दै भन्नुभएको थियो, ‘हरेक पाइलालाई रमाइलो मान्दै हिँड्यो भने छिटै सकिन्छ ।’ त्यही हौसलाले कति छिटै चुचुरोमा पुगेछौँ, पत्तै भएन । म र देउराली दिदी सँगै चुचुरोमा पुग्दा यत्ति भावविह्वल भएका थियौँ कि लम्पसार परेर रामदुङको चुचुरोबाट छिरिङमा देवीलाई नमन गरेका थियौँ । बांगेमुढाको कौसीबाट देखेको सपनाको सानो अंश पूरा भएको महसुस गरेँ ।

 

सन् २०१७ नोभेम्बर २६ बिहानको ८ः५० बजे । जब रामदुङको चुचुरोबाट तल झर्दै थिएँ, म एक अन्तरिक्ष यात्री भएको र चन्द्रमाको भूमिमा हिँडिरहेको भान भयो । अन्तरिक्षयात्री चन्द्रमाको सतहमा बुर्लुक्क–बुर्लुक्क उफ्रेको नासाको भिडियो फुटेजमा देखाएझैँ म पनि त्यहाँ बुर्लुक्क–बुर्लुक्क उफ्रेको थिएँ । कति सुन्दर थियो, त्यो क्षण ! 

 

यालुङ–री (५,६३० मि) हिमालको हाम्रो सफल आरोहणमा हामीभन्दा बढी गाइड, सरदार खुसी हुनुहुन्थ्यो । फुर्वातेन्जिङ शेर्पाले त यतिसम्म भन्नुभयो कि तिम्रो यो स्टामिनाले त अहिले सगरमाथा जान्छु भने पनि सक्छौ । उहाँको त्यो वचन नै हाम्रो लागि पहिलो पुरस्कार थियो । 

 

त्यतिवेला हाम्रा किचेन स्टाफहरू देखेर म अचम्म र भावुक भएकी थिएँ । बिहान हामी उठ्नुअगावै उहाँहरू उठिसक्नुहुन्थ्यो । हाम्रा लागि आइस फोडेर तातो पानीको व्यवस्था गर्नु, हामीले खाना खाएपछि मात्र उहाँहरूले खाना खानु, हामीले एउटा क्याम्पबाट अर्को क्याम्पतर्फको यात्रा आरम्भ गरेपछि उहाँहरू सम्पूर्ण प्याकिङ कार्य सकेर यात्रा आरम्भ गर्नु, तर हामी निर्धारित ठाउँमा पुग्नुअघि उहाँहरू पुगेर हाम्रो लागि चिया, नास्ता, खाजाको व्यवस्था गर्नु ! अहो ! यस्तो लगाव, सकारात्मकता र माया । मैले यस्तो सद्भाव जीवनमा पहिलोपटक देखेकी थिएँ ।

 

हिमालका सन्तान

शेर्पा जाति त आरोहणका दौरान अरूको जीवनको अभिभारा आफ्नो काँधमा र आफ्नो स्वयंको जीवन हत्केलामा थापेर प्रकृतिसित लडिबुडी गर्ने प्रकृतिका पुजारी रहेछन् । आफ्नो गाउँ, हिमाल र त्यहाँको पर्यावरणलाई अनावश्यक रूपमा उपभोग नगर्ने, जथाभावी फोहोर नगर्ने र हिमालसँग अनुमति लिएर पूजा गरेर मात्र आरोहण गर्ने । यी मानवीय स्वभाव देखेर मैले फुर्वा सरलाई सोधेकी थिएँ, ‘किन हिमालप्रति यति धेरै सम्मान ?’ उहाँले भन्नुभएको थियो, ‘मलाई मेरो आमा र बाबाले जन्म दिनुभयो, तर कर्म त हिमालले दिएको हो नि । हिमाल त मेरो परिवार पनि हो, मेरो अभिभावक पनि । म हिमालको सन्तान भएपछि मैले हिमाललाई रेस्पेक्ट नगरेर कसलाई गर्छु त ?’ 

 

यो यात्राको अन्त्यसम्म पुग्दा मैले एउटा सुगठित समूह, अनुभवी, दक्ष र मानवीय भावनाले ओतप्रोत शेर्पा दाइहरूको समूह, हाम्रो मनोदशा पढेर कार्य गर्न सक्ने सक्षम सरदार र एउटा असल साथी फुर्वाथिले शेर्पा कमाइसकेको थिएँ । म मेरो समूहलाई आँखा चिम्लेर विश्वास गर्ने भइसकेकी थिएँ । आरोहण गरिरहँदा कथंकदाचित केही अप्रिय घटना भयो भने म आफ्नो शेर्पा गाइडको निम्ति स्वयं मेरो ज्यान दिन्छु भन्ने मनस्थिति बनिसकेकी थियो । 

 

०००

अब हाम्रो अर्काे गन्तव्य सगरमाथा आरोहण थियो । हामीले त्यो आरोहणार्थ बिउ पनि भेट्टायौँ, गमला पनि भेट्टायौँ र माटो पनि । अब मात्र गोडमेल र मलजल गर्न बाँकी थियो, ताकि सुन्दर फूल फुलोस् र फक्रिएर सुगन्ध छरोस् । बांगेमुढामा देखेको सपना पहिल्याउँदै म सगरमाथा आरोहणमा जाने भएँ । साथमा थियो हाम्रो टिम । आरोहण मेरो लागि शेर्पा शब्दको गरिमा र अर्थ सिकाउने पहिलो पाठशाला बन्यो, र गुरु रोल्वालिङ गाउँ र फुर्वातेन्जिङ शेर्पा सर हुनुभयो ।