• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
आरती लम्साल 
२०७७ जेठ १७ शनिबार ०९:२२:००
रिपाेर्ट

मेरी छोरीले विभेद सुन्न नपरोस् !

२०७७ जेठ १७ शनिबार ०९:२२:००
आरती लम्साल 

 

आइतबार बिहान ठीक ११ बजेको थियो । मोबाइलमा नोटिफिकेसन आयो । अमेरिकामा रहेका पत्रकार दीपक दाइले एउटा समाचारको लिङ्क पठाउनुभएको रहेछ मेसेन्जरमा– ‘जात नमिल्ने भन्दै गाउँलेहरूको कुटाइबाट नवराज विकको मृत्यु ।’ अन्तर्जातीय विवाह हो मेरो पनि, दीपक दाइ र वसन्ता भाउजूको पनि । हामीबीच सधैँ बहसको एउटा विषय हो- अन्तर्जातीय विवाह । 


जात नमिलेकोमा मृत्युवरण भन्ने कुराले मन खिन्न र अमिलो भयो । त्यो लिङ्क खोल्ने आँट भएन । प्रेमको अवसान भएको हेर्न मन मानेन । मन मानेन, समाजले गाउने मुखौटे मानवता मरेको हेर्न । मलाई थाहा छ, भाइचारा र सद्भाव भनेर बाहिर भनिए र देखाइएजस्तो छैन हाम्रो समाजको गुढ अन्तर्य । गहिरो जरा गाडेर बसेको सत्ताचेतनाको जग बलियो छ, न सानोतिनो हुरीले ढाल्न सक्छ यसलाई न दुईचारको सत्प्रयासले पल्टाउन । मन मानेन, यो सत्य स्विकार्न । न्युज हेर्नेतिर ध्यानै दिइनँ ।


मेरो समाजले अस्पतालको शय्यामा रगत चाहिएर छटपटाउँदा जात भन्दैन । मिर्गाैला फेर्नुपर्दा जात भन्दैन । तर, अन्तर्जातीय विवाहकै कारण बर्सेनि हत्या हुन्छ । यो हत्याउन्मुख मनोरोग सहरमा पनि छ र गाउँमा पनि छ । शिक्षितमा पनि छ र अशिक्षितमा पनि छ । धनीमा पनि छ र गरिबमा पनि छ । भित्र हेर्दै हेरिनँ अनि जवाफमा दाइलाई लेखेँ– हार्दिक श्रद्घाञ्जली । मृत आत्माले शान्ति पाओस् ! 

एक व्यक्तिलाई अर्को व्यक्तिको हत्याको अधिकार कसले दियो ? नेपाल यस्तो देश हो जहाँ मृत्युदण्डको कानुन छैन । कसरी हुन सक्छ मान्छेको यस्तो कठोर हृदय !

 

हिजोआज म साह्रै डराउने भएकी छु । मेरो मन निकै कमजोर भएको छ । कोभिड–१९ को महामारीका कारण लकडाउन भएयता । थानकोटमा विराटनगरबाट आएर काखेनानीसहित बिचल्लीमा परेका नागरिक देखेर । कीर्तिपुरमा छातीमा नाम्लो बोकेर देहत्याग गरेका मजदुर देखेर ।

 

आफ्नो परिवारलाई खुवाउने खाना सकिएपछि विकल्प नभएर आत्महत्या गरेका सीमान्तकृत नागरिकहरू देखेर । अनि मूकदर्शक सरकार देखेर । म बिलकुल सुन्दिनँ समाचार अनि हेर्दिनँ कुनै पनि त्यस्ता सामग्री जसले मेरो मनलाई अझै सशङ्कित बनाओस् । भरियाको भोक, मजदुरको पसिना, युवाको भविष्य र समुदायको मुक्तिको सपनाजस्ता कुरामा जातका विषयले प्रवेश पाउने देश हो यो । जातीय चस्माले मान्छेको मूल्यबोध हुने ठाउँमा आइरहन्छन् हत्याका समाचार ।


समाचार खोलिनँ, तर मैले मेरो श्रीमान् अनिल परियारलाई सोधेँ घटनाको विषयमा । उहाँले भन्नुभयो, ‘हामीजत्तिकै भाग्यमानी सबै कहाँ हुन्छन् र बूढी ।’ उहाँको घुमाउरो जवाफले मनमा निक्कै हुटहुटी बढ्यो । उहाँ केही भन्दै हुुनुहुन्थ्यो, तर पनि चित्तबुझ्दो जवाफ नपाएपछि मैले त्यो लिङ्क खोलेँ र पढेँ । मैले त्यो समाचार यस्तो त्रासदीपूर्ण रक्तपातको घटनाको होला भन्ने कल्पनै गरेको थिइनँ । संयोगले त्यो दिन म माइतीमै थिएँ । मेरो आँखा सबैभन्दा पहिला डाइनिङ टेबलको पल्लोछेउमा कुर्सीमा बसिरहनुभएको मेरो बाबातिर गयो । 


म समाचारमा डुबिरहँदा ज्वाइँ–ससुराको वार्ताले ठूलो अन्योलको संकेत गरिरहेको थियो । बाबा भन्दै हुनुहुन्थ्यो, ‘अन्तर्जातीय विवाह गर्ने मेरी छोरी तुलोको एकातिर अनि सारा समाज एकातिर बसेर अब कसलाई रोज्छस् नवराज लम्साल भन्ने समाज हो यो । मैले मेरी छोरी रोजेँ । त्यो निर्णयको बदलामा कहाँकहाँ कसरी केके झेल्नुपरेको छ मलाई थाहा छ । त्यति सजिलो कहाँ छ र छोरी !’


अवाक् मेरा आँखामा आँसुको समुद्र छचल्किनै लाग्दा छोरी गुनगुनाउँदै काखमा आएर बसिन् । ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा’ उसले हिजोआज सिकेको गीत । उसको कालापानी गीतले मलाई फेरि सम्झायो जाजरकोटको भेरी नदीमा मृत नवराज विकको शवसँगै बगेको मानवीय संवेदना । डाइनिङ टेबलमा घटनाको डाएग्नोज् गर्दैगर्दा अनिलजीले बाबालाई सोध्नुभो, ‘बाबा यो विभेद कहिलेसम्म ?’


बाबाले हामीतिर हेरेर भन्दै हुनुहुन्थ्यो, ‘अब कम्तीमा यो सानी नातिनीले विभेद सुन्न नपरोस् !’ त्यो चार वर्षकी अवोधलाई के थाहा यो समाज कस्तो छ भनेर ! कति गाह्रो छ उसको बुढोबाउ (हजुरबुबा)लाई, जसको काखमा ऊ निर्वाध खेल्छे, जसको थालको खानासँगै खान्छे र जसको अँगालोमा झुन्डिएर सुत्छे । उसलाई पुतली जसरी नाच्न दिएको मामाघरको आँगनको बदलामा कुनकुन आँगन भुलिदिन परेको छ उसको हजुरबाउले । क–कसले बिरानो बनाएका छन् नैकाप डाँडाको त्यो आँगन ।

 

उसलाई अँगालेर म्वाई खाँदै गर्दा उहाँको त्यो हातले कति साथ गुमाएको छ भनेर ! मेरो बाबा धेरै खुसी भएको दिन म भित्रभित्रै झन् बढी कुँडिन्छु । मलाई खुसी देखाउन खुसी देखाएजस्तो गरेर कतै भित्री मन त रोएको छैन ? उहाँका ‘धरा’ र ‘कर्ण’जस्ता उदात्त मानवतावादी महाकाव्यहरूले मलाई उत्तर दिन्छन्, ‘नानी तेरो बाबा मानवतावादी मान्छे हो । तँसँग खुसी छ, दुःखी नहो ।’ 


छोरी गीत गाउँदै बाबाको काखमा पुगी । तन्द्रा खुलेझैँ भयो । झलझली सम्झेँ झोलामा राष्ट्रिय झन्डा भिरेर मुस्कुराइरहेको नवराज विकको त्यो तस्बिर । देश र समाज बदल्ने सपना बोकेर कल्कलाउँदो उमेरमा प्रहरीको लिखित परीक्षा पास गरेको थियो उसले । के के सपना थिए होलान् । समाजमा मेटिन बाँकी कथित उपल्लो जात र तल्लो जातको रेखालाई निमिट्यान्न बनाउने चाहना त थियो नै होला । नारामा मात्र सीमित परिवर्तनलाई यथार्थमा बदल्ने आदिआदि । 


आफ्ना जीवित सपना पूरा गर्न नपाउँदै आज सामाजिक सञ्जालमा मृतकको रूपमा भाइरल भएको छ ऊ । उसका पक्ष र विपक्षमा उभिएका छन् मान्छेहरू । ‘दलबलसहित गुन्डा शैलीमा आए, मरे’ भन्दै उनैको अल्लारे उमेरको दोष दिनेहरू छन् । उसलाई बाँधेर निर्घात कुटिन्छ र फालिन्छ भेरी नदीमा । लडेर मरेको र मारेर फालेको छुट्याउन नसक्ने कानुनले जस्तो पट्टी बाँधेका आँखा हैनन् हाम्रा ।

 

अचम्म त त्यहाँ लागेको छ कि ‘गुन्डाशैलीमा अपहरण गर्न गएको थियो र मारेर ठीक गरे’ भन्ने आसयको स्टाटस पनि आए, सामाजिक सञ्जालमा । यसलाई बलात्कारसँग पनि जोडे । अन्तर्जातीय विवाहले संस्कृति मासियो भनेर कतिले रोइलो लेखे र त्यो हत्यालाई जायजजस्तो देखाउने कोसिस पनि गरे । 


जनप्रतिनिधिहरूले समेत आफूलाई हत्याकोविरुद्ध खरो उतार्न सकेनन् । संसद्समेत उदात्त देखिएन । त्यहाँ पनि दलीय अहङ्कारको धुवाँ फैलियो । यसै विषयमा धन्दा चलाउने सामाजिक संघसंस्था मौन छन् । धिक्कार छ ! अझै अपराधीकै बचाउमा लाग्ने ती कलङ्कहरू र कलङ्कका व्यापारीहरूलाई । नवराजसँगै टीकाराम सुनुवार, गणेश बुढामगर र लोकेन्द्र सुनार, सञ्जु विक भेरीमा भेटिएका हुन् । तिनको त यथेष्ट चर्चासम्म छैन । तिनको जीवनलीला यसरी सकियो कि ती नदीछेउका रूख हुन्, बर्खामा एक भेल आयो बगायो । कठै मेरो देशको सामाजिक न्याय !


किन जोडदारसँग उठ्दैन– एक व्यक्तिलाई अर्को व्यक्तिको हत्याको अधिकार कसले दियो ? नेपाल यस्तो देश हो जहाँ मृत्युदण्डको कानुन छैन । कसरी हुन सक्छ मान्छे भएर यस्तो कठोर हृदय ! के देश राणा युगमा फर्केको हो ? राणाहरूले पनि दुई–पाँचजना साक्षी राखेर निर्णय नगरी मान्छे मार्दैनथे । यो अहम्, यो विवेकहीनता, यो नृशंश चेतनाको पराकाष्ठा र मानवमूल्यको चरम उपहासको विद्रुप तथ्य किन हुर्कँदै छ ? कहाँबाट हुर्कदै छ ? विषय नवराज विकको मात्र पनि होइन । वर्षौँदेखि सुन्दै आएको लोककल्याणकारी राज्यको नारा कहाँ गयो ? आज मानवताविरोधी यो अपराधको विपक्षमा उभिन नसक्ने दलहरू र राज्यसत्ता कसरी लोककल्याणकारी हुन सक्छ ? 


यो समाजले दृश्य रूपमा मार्ने मात्रै होइन, अदृश्य रूपमा पनि मर्न बाध्य बनाएको छ । प्रेमविवाहमा परिणत हुने नदेखेपछि झापाकी अस्मिता सार्की र ईश्वर भट्टराईले एउटै पासोमा प्राण त्यागे । आज पनि प्रेमिल जोडीले वियोग झेलिरहेका छन् । दुव्र्यवहार सहिरहेका छन् । ज्यानै गुमाइरहेका छन् । 


५७ वर्षअघि नै मुलुकी ऐन २०२० ले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको छ । २०६३ सालको जेठ २१ मा संसद्ले पनि कानुनमा मात्र सीमित नभई व्यवहारमा पनि छुवाछुत अन्त्य हुनेछ भनेर नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा विवाह गर्ने तथा बरवधु छान्ने अधिकार सुरक्षित छ । छुवाछुत र जातीय विभेद दण्डनीय हुने व्यवस्था लागू भैसकेपछि पनि अन्तर्जातीय प्रेमकै कारण बर्सेनि दलित कुटिएका छन्, मारिएका छन् । 


काभ्रे, सप्तरी, झापा र तनहुँमा दलित समुदायका युवा–युवतीलाई क्रूर यातना दिनेदेखि हत्या गर्नेसम्मका आपराधिक कार्यका दोषीहरूले अझैसम्म सजाय नपाइरहेका वेला रुकुम घटनाका दोषीले दण्ड–सजाय पाउनेमा झन् अन्योल थपिएको छ ।


माओवादी द्वन्द्वका वेला सांस्कृतिक रूपान्तरण अभियानको केन्द्र मानिने रुकुम, अहिले त्यही केन्द्रमा अन्तर्जातीय प्रेम प्रकरणमा जघन्य अपराध भयो । गाईको सुकुटी पकाएर त्यहीँ खाइयो । यी सबै केवल विद्रोहका माध्यम र सत्ताको सोपान रहेछ । यी घटनाले न सामाजिक चेतना आएछ न विद्रोहमा आलोचनात्मक चेत पलाएछ । अगुवाहरूमै भ्रम रहेछ र भ्रमको अन्योलग्रस्त छायामा नवराज विकहरूले ज्यान गुमाउनु परिरहेछ । 


नवराजको मृत्युलाई लिएर आ–आफ्नो स्वार्थअनुकूल राजनीतीकरण र जातीयकरण गर्न खोजिएको छ । यसमा पनि आफ्नो स्वार्थ हेरेका छन्, मान्छेले । हरेकपटक यस्ता घटनाले उचित न्याय पाएको देखिन्न । 


नेपाल यस्तो देश हुँदै आयो जहाँ न विचारले परिवर्तन ल्याउँछ न घटनाले । लियो टोल्सटोयले ‘वार एन्ड पिस’मा भनेजस्तै छ हाम्रो समाज, ‘हामी संसार बदल्न चाहन्छौँ, तर आफू बदलिन कहिल्यै चाहन्नौँ ।’

 

(लम्साल अमेरिकी अनलाइन पत्रिका ‘द न्युयोर्क सिटी पोस्ट’को नेपाल सम्पादक हुन् ।)