• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
राजकुमार दिक्पाल
२०७७ जेठ १७ शनिबार ०७:४७:००
यात्रा

जहाँका राष्ट्रपति फुटपाथमा पनि भेटिन्छन्

२०७७ जेठ १७ शनिबार ०७:४७:००
राजकुमार दिक्पाल

 

राष्ट्रपति, देशको एक सम्मानित व्यक्तित्व । यो पदका व्यक्तिको सम्झना गर्नासाथ हाम्रो आँखामा सुनसान सडकको याद आउँछ । ट्राफिक प्रहरी मात्र अपुग भइदिँदा बाटो सफा गर्न अरू प्रहरी पनि खटिइरहेका हुन्छन् । प्रहरी सिठ्ठी फुकेर फुटपाथे यात्रुलाई सडक क्रस नगर्न सतर्क गराइरहेका हुन्छन् । दुई वा चारपांग्रे सवारी साधन राष्ट्रपतिको सवारी रुटलाई व्यवधान नगर्ने सडकमा जाममा राखिन्छन् ।


एकछिन सडकमा सन्नाटा छाउँछ, आँधीहुरी आउनुअघिको सन्नाटाजस्तै । त्यसपछि काँइकाँइ र कुँइकुँइ साइरन र पल्याक र पुलुकको विद्युतीय सिग्नलसहितको प्रहरी टोली बाटो पन्छाउँदै अगाडि बढ्छ । त्यसपछि एस्कर्टिङसँगै नेपालका महामहिम राष्ट्रपतिको सवारी अगाडि बढ्छ, लावालस्कर गाडीमा सुरक्षाकर्मीका साथ । सवारी अगाडि बढिसकेपछि मात्रै फुटपाथका यात्रु सल्याङमल्याङ सल्बलाउँदै आ-आफ्नो गन्तव्य ताक्छन् । अनि सडकमा बल्ल खुल्छ, पट्यारलाग्दो जाम । 


तर, अनौठो छ, गणतन्त्र पोर्चुगलको सडकमा । यहाँ काठमाडौंको सडकजस्तो दृश्य देख्न पाइँदैन, राष्ट्रपति मार्सेलो रेवेलो दे सौसाको सवारीमा । उनलाई कहिलेकाहीँ यहाँको फुटपाथमा आनन्दले हिँडिरहेको देख्न सकिन्छ । उनी कहिले आफ्ना अंगरक्षकसँग हुन्छन् र कहिलेकाहीँ एक्लै । आफूलाई हाइहेल्लो गर्नेसँग हाइहेल्लोको हातले जवाफ फर्काउँदै घुमडुल गरिरहेको भेट्न सकिन्छ । 

 

पोर्चुगलका राष्ट्रपति कहिले कृषि फर्ममा गएर कृषकको दुःख–सुख सोधिरहेका भेटिन्छन्, कहिले रेस्टुरेन्टमा पुगेर आफैँ सर्भ गरी वेटरलाई सघाइरहेका भेटिन्छन् । उनी कहिले मासुपसलअघि एक्लै उभिएका भेटिन्छन् ।

 

राष्ट्रपति सौसाको यो सागदी जीवनशैली एसियाली र त्यसमा पनि पोर्चुगलमा बसोवास गरिरहेका नेपालीको आँखामा भने एउटा अनौठो दृश्य हो, सपनामा देख्न पाइएजस्तै । रोजगारी र अन्य अवसरका लागि यहाँ आएका करिब ३० हजार नेपालीमध्ये केहीले यी सर्वसम्मानित राष्ट्रपतिको सागदी जीवनशैलीलाई साक्षात्कार गर्ने अवसर पाएका छन् । तर, पोर्चुगिजहरूका लागि महामहिम राष्ट्रपतिको यो सागदी शैलीसँगको साक्षात्कार एउटा सामान्य क्रिया हो, एउटा सर्वसाधारण व्यक्तिको दिनचर्याजस्तै ।

 

०००

 

१८ मे २०२० देखि लकडाउनलाई खुकुलो पार्दै लैजाने क्रममा पोर्चुगल सरकारले यहाँका रेस्टुरेन्टलाई खुला रूपमा कारोबार गर्ने अनुमति दियो, तर भाइरस संक्रमणबारे सुरक्षा र सजगता अपनाउने सर्तमा । यहाँका रेस्टुरेन्टले एक महिनायता ग्राहकलाई टेबलमा स्वागत गर्ने अनुमति र अवसर पाएका थिएनन् । १५ दिनको कडा लकडाउनको बन्दाबन्दीपछि उनीहरूले रेस्टुरेन्टको मूलढोकाबाट टेक अवे सेवा मात्र सञ्चालन गर्ने अनुमति पाएका थिए । 


लकडाउनलाई क्रमशः खुकुलो पार्दै लैजाने नीतिअनुसार १६ मेमा यहाँका कार्यकारी प्रधानमन्त्री एन्तोनिओ कोस्ता आफैँ केही सपिङ सेन्टरको निरीक्षणमा निस्किएका थिए । उनले त्यसैवेला आफूसम्मुख उपस्थित सीमित सञ्चारकर्मीमार्फत घरबाहिर पनि सजगता अपनाउँदै सामान्य जीवनमा फर्कन देशवासीलाई आह्वान गरेका थिए ।


यहाँका प्रधानमन्त्री आफ्नो वा आफ्नी श्रीमतीको निजी काम छ भने कसैलाई आदेश दिँदैनन् । उनी आफँै सम्बन्धित कार्यालयमा पुगी कागजी रीत पु-याएर मात्र काम गर्छन्, एकजना सर्वसाधारण नागरिकले जस्तै । एकातिर प्रधानमन्त्री कोस्ता आफैँ सपिङ सेन्टर मलहरूको निरीक्षणमा खटिएका थिए भने त्यसको भोलिपल्ट राष्ट्रपति सौसाचाहिँ एक सपिङ सेन्टरमा पालो पर्खिएर उभिएको तस्बिर भाइरल भयो । 


उनी मास्क लगाएर टिसर्ट, हाफपाइन्ट र साधारण जुत्तामा एक हातमा दैनिक उपभोग्य सामान भरिएको टली समातेर तोकिएको सामाजिक दूरीमा रही उभिएका थिए । उनी खरिद गरिएका आफ्नो सामग्रीको बिल तिर्न पर्खिएको फोटो देखा प-यो । यस्तो दृश्य हामी नेपालीको सन्दर्भमा सपनामा पनि नआउन सक्छ । उनी १७ मेमा एरिसरा क्षेत्रको स्थानीय पसलमा पाउरोटीलगायत खानेकुरा किन्दै गरेको अवस्थामा पनि देखिएका थिए ।


०००


संसारमा धेरै उपनिवेश बनाउने देशमध्ये पोर्चुगल बेलायतपछिको दोस्रो हो । यो देशले एसियामा मकाउ र भारतको गोवालाई कुनै समय आफ्नो उपनिवेश बनाएको थियो । हिजोका औपनिवेशिक देशहरूबाट झिकाएर यहाँका उपभोक्तालाई उपलब्ध गराइने खानालाई यहाँ ‘औपनिवेशिक खाना’ भनिन्छ । एसियाली देशबाट आयात गरिएकै कारण खुर्सानीलाई पोर्चुगिज भाषामा ‘पिरिपिरी’ भनिन्छ । 


यो देश सन् १९१० देखि गणतन्त्र घोषित भएको हो । यहाँका राष्ट्रपति सेरेमोनियल हुन्छन् भने प्रधानमन्त्रीचाहिँ कार्यकारी । राष्ट्रपतिलाई यहाँ ठूलो सम्मानभावले हेरिन्छ । राष्ट्रपति भने सर्वसाधारण नागरिकसरह हिँडडुल र किनमेलको अवस्थामा देखा पर्ने गर्छन् ।


०००


राष्ट्रपति सौसाको यस्तो सादगी जीवनशैलीबाट यहाँका आप्रवासी नेपाली प्रभावित नहुने कुरै भएन । यहाँ लकडाउन सुरु हुँदा राष्ट्रपतिको एउटा फोटो नेपालीहरूमाझ भाइरल हुन पुग्यो । राजकुमार थापा (संखुवासभा)ले सार्वजनिक गरेको यो फोटोमा राष्ट्रपति सौसा फलफूलका क्रेट गाडीबाट उतार्दै गरेको अवस्थामा देखिन्छन् । 


यो फोटो सार्वजनिक भएपछि केही नेपालीलाई लाग्यो, कोरोनाको महामारीबाट प्रभावितहरूलाई राहत बाँड्न महामहिम राष्ट्रपति आफैँ निस्केछन् । केही नेपालीले त यस्तै भावका शब्द हतारहतार आफ्नो फेसबुक वालको क्याप्सनमा टाँस्नै भ्याए । तर, यी महामहिम परोपकारी कर्मकै क्रममा रहेछन् । अशक्तहरूको सेवा गर्ने संस्थाका लागि फलफूल पु-याइदिन जाँदाको समयमा खिचिएको यो फोटो थापाले ‘सापादो अनलाइन पिटी’बाट लिएका रहेछन् ।


उनी कहिले कृषि फर्ममा गएर कृषक तथा कृषि मजदुरहरूको दुःखसुख सोधिरहेका हुन्छन्, कहिले रेस्टुरेन्टमा पुगेर आफैँ सर्भ गरी वेटरलाई सघाइरहेका हुन्छन् । रेस्टुरेन्टको किचेनमै पुगेर सेफ तथा कुकहरूसँग हालखबर सोधिरहेको अवस्थामा पनि उनलाई भेटिन्छ । कहिलेकाहीँ उनलाई मासुपसलमा मासु किन्दै गरेको पनि देख्न सकिन्छ ।

०००


एक दिन कास्काइसमा जापानी परिकार सुसी बनाइरहेका थिए, धनराज दाहाल (रुकुम) । एक व्यक्ति आएर उनका लागि हात हल्लाएर ‘हाई’ गरे । धनराजले पनि हात हल्लाएर जवाफ फर्काए । उनी थिए, उनै राष्ट्रपति सौसा । उनले आफूले काम गर्ने रेस्टुरेन्टमा तीनपटक उनलाई भेटे, एकपटक अंगरक्षकसहित र दुईपटक एक्लै । 


बेलेममा राष्ट्रपतिनिवास छ । उनको निवासलाई ‘बेलेम प्यालेस’ भनिन्छ । राष्ट्रपति सौसा कहिलेकाहीँ यही दरबारबाट नजिकैका रेस्टुरेन्टमा खाजा खान निस्कन्छन् । बेलेम क्षेत्रमै आफू कार्यरत रेस्टुरेन्टमा धेरैपटक राजेन्द्र शेर्पा (दोलखा)ले आफूले तयार पार्ने गरेको परिकारले राष्ट्रपति बेलेमको स्वागत गर्ने अवसर पाएका छन् । राजेन्द्रको भनाइमा उनले धेरैजसो रुवाला माछाको ग्रिलको स्वाद लिने गरेका छन् । 


०००


पोर्चुगलमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)लगायतका विभिन्न संस्थाका प्रतिनिधिले एक वर्षअघि राष्ट्रपति सौसालाई भेट्ने अवसर पाए । भेटका अवसरमा उनी कतिसम्म संवेदनशील रहेछन् भन्ने यथार्थ त्यहीँ प्रकट भयो । आफूलाई भेट्न आउने नेपाली प्रतिनिधि मण्डललाई एउटा फोटो देखाएर सोधे, ‘तपाईंहरू यो फोटोमा देखिएका व्यक्तिलाई चिन्नुहुन्छ ?’


नेपाली अगुवाहरू अल्मलिए । उनीहरूले ती फोटोमा भएका व्यक्तिलाई चिनेनन् । नेपाली प्रतिनिधि मण्डलका सदस्यमध्ये एकजना मात्र निस्किए, जसले फोटोमा भएका ती व्यक्तिलाई देखेका रहेछन् । उनी हुन्, योगेन्द्रमिलन छन्त्याल (बाग्लुङ) । पोर्चुगलमा सञ्चारकर्मीका रूपमा सक्रिय भएकाले पनि उनले ती फोटोमा देखिएका व्यक्तिलाई देखेका रहेछन् । 


राष्ट्रपति आफैँले खिचेका रहेछन्, त्यो फोटो । फोटोमा देखिने व्यक्ति एक असहाय नेपाली रहेछन् । उनी सान्ता अपोलोनियाको रेल स्टेसनमा सुत्दा रहेछन् । सडकवासमा रहेका यी नेपालीलाई भेटेर राष्ट्रपतिले सोधेछन्, ‘तपाईंको समुदाय छैन ? आफ्नो समुदायका मानिसलाई चिन्नुहुन्न ?’ ती सडकवासमा रहेका नेपालीले भनेछन्, ‘अहँ, म कसैलाई पनि चिन्दिनँ ।’ यो वृत्तान्त राष्ट्रपति महोदयबाटै सुनेपछि नेपाली समुदायका अगुवाहरू तीनछक्क परेछन् । यसले पनि पुष्टि गर्छ, भुइँमान्छेहरूको दुःख–सुखबारे राष्ट्रपति महोदयको गम्भीर चासो र संवेदनशीलताका बारेमा । 


दरबारबाट सडकमा निस्केर सर्वसाधारणको दुःख–सुख बुझ्दै हिँड्ने राष्ट्रपति सौसा टुप्पोबाट पलाएका व्यक्ति होइनन् । उनी पोर्चुगलका एक राजनीतिज्ञ मात्रै पनि होइनन् । कुनै समयका पत्रकार, राजनीतिक विश्लेषक र कानुनशास्त्रका प्राध्यापक पनि हुन् । आफ्नो उच्चस्तरीय बौद्धिक व्यक्तित्व निर्माण गरेर उनी सोसल डेमोक्र्याटिक पार्टीबाट चुनाव जिती कुनै समय देशको मन्त्री पनि भएका थिए ।


उनको यो दोस्रो कार्यकाल हो । उनी राष्ट्रपतिको हैसियतबाट राज्यपरिषद् र मन्त्रिपरिषद्को पदेन सदस्य पनि हुन् । उनी ६ हजार ६ सय ६८ युरो ९१ सेन्ट मासिक भत्ता बुझ्छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि यहाँको संविधानतः उनले पार्टीको सदस्यता परित्याग गरिसकेका छन् । 


हाम्रो देशमा पनि अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ, पोर्चुगलकै जस्तो । नेपालभन्दा अलिकति मात्र सानो छ, पोर्चुगल । पोर्चुगलको भूगोल उत्तर-दक्षिण उभिएको छ, नेपालको भूगोल पूर्व-पश्चिम फैलिएको छ । यहाँ पनि नेपालमा जस्तै राजतन्त्र मासेरै गणतन्त्र स्थापना भएको हो । यो पुँजीवादीहरूको देश हो, तर यहाँका राष्ट्रपति सौसा हिँड्ने बाटोमा रातो कार्पेट बिछ्याउनु पर्दैन ।