यो कसरी हुन सक्छ ?
म माथि छतमा
आराम फरमाइरहेछु
तर, सुखको गेटबाहिर
दुःखको पछ्यौरा टालिरहेछौ तिमी
इतिहासका सम्पूर्ण छेकबार ढालेर
सरासर माथि आऊ तिमी
र मलाई अँगालोमा बेस्सरी निचोर
कि म अब तल आउँछु
र तिमीसँगै बसेर चिच्याउँछु
मेरो नाङ्गोपन ढाक्न
औँलालाई अनौ बनाउँदै
तिमीले सिलाएको लुगा हो यो
फुकालिदेऊ र मलाई नाङ्गेझार पार
मेरो खुट्टाको हजार लात सहँदै
तिमीले नै तयार पारेको हो यो जुत्ता
फुकालिदेऊ र मेरो गालामा हिर्काऊ
चाहन्छौ भने तिमी
मेरो छालाको दमाहा बनाऊ
र दाह्रा किट्दै बेस्सरी ठोक
सुरक्षित छ तिम्रो एक-एक अधिकार
मेरो घरको चारै सुरमा पिसाब फेर
अहिलेसम्म तिमीले खाएको सिनोको
बान्ता ओकलेर
मलाई दुर्गन्धित नुहाइदेऊ
तिमीले सोहोरेका सम्पूर्ण फोहोर उल्टाएर
छोपिदेऊ मेरो पुरातन सभ्यता
तिमीले नै बुट्टा काटेको हो
फरफराइरहेको यो राष्ट्रिय झन्डा
तिमीलाई नै छ बोक्ने अधिकार
म तिम्रो पछि लाग्न तयार छु
तिम्रा धारिला औजारहरूले नै
उर्वर बनाएको हो यो देशको बन्जर माटो
अब पुस्तौँदेखि तिमीले जोतेको जमिन
तिम्रै नाममा हुनुपर्छ
म छेउकुना गर्न तयार छु
तिमीले बनाएको मूर्तिलाई होइन
तिमीलाई नै देउता मान्नुपथ्र्यो
तिम्रा कर्मी हातहरूलाई
प्रेमले चुम्बन गर्नुपथ्र्यो
बिटुलो इतिहासलाई कुल्चेर अब
म तिमीसँगसँगै जदौ गर्न चाहन्छु
म तिम्रो सामु लज्जित उभिएको छु
हजारौँ वर्षको अपमानको
एक-एक स्वाद चखाऊ
ओ, मेरो प्रिय मान्छे
म तिमीलाई अँगालोमा बेर्न आतुर छु ।