• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बिन्दु परियार थापा
२०७७ जेठ २४ शनिबार ०८:४०:००
रिपाेर्ट

छोरीको प्रश्न : बाबाको घरभित्र म किन पस्न नहुने ?

२०७७ जेठ २४ शनिबार ०८:४०:००
बिन्दु परियार थापा

 

बाल्यकालमा विभेदको अनुभव लिइनँ । सानोमा अरूको घर खासै जादिनँ पनि थिएँ । अलि बुझ्ने भएपछि साथीहरूले मलाई दलित भनेर कहिल्यै भेदभाव गरेनन् । म दलित रहेछु भन्ने अनुभव अन्तर्जातीय विवाह गरेपछि मात्रै भयो । अन्तर्जातीय बिहे गरेपछि धेरैपटक आफैँलाई दलित हुनुमा घृणा पनि गरेको छु । तपाईंहरूलाई लाग्ला किन घृणा गरेको होला भनेर । केही घटना छन् । म तपाईंहरूसँग बाँड्न चाहन्छु । 


त्यतिवेला मेरो छोरी ७ वर्षकी थिइन् । उनले एकदिन मलाई एउट प्रश्न राखिन्, ‘ममी बाबाको घरभित्र अंकलको छोरी पस्न हुने, मचाहिँ किन नहुने ?’ छोरीको यो प्रश्नको जवाफ मसँग थिएन । र पनि भनिदिएँ, ‘तिम्रो बाबा यहाँ हुनुहुन्न । बाबा घरमा नआई हामी उहाँको घरभित्र पस्दा देवता रिसाउँछ । तिम्रो बाबा आएपछि सँगै घरभित्र पस्ने है ।’ मेरो उत्तर खै कसरी बुझिन् छोरीले थाहा छैन । त्यसपछि उनी घर जाँदा कहिल्यै घरभित्र पसिनन् । घर पुग्दा बाहिर बस्थिन् । बाहिरै बसेर खान्थिन् । त्यस दिनयता छोरीले कहिल्यै घरभित्र पस्ने कुरा गरिनन् । 

 

छोरीले भनिन्, ‘मेरो शरीरमा ९५ प्रतिशत रगत मगरको छ । ५ प्रतिशत रगत मात्रै दमाईको छ । अब त्यो पनि नसा काटेर सबै बगाइदिन्छु र १०० प्रतिशत मगर हुन्छु ।’

 

छोरीलाई स्कुल चेन्ज गराउन मन लाग्यो । पहिलाको ‘ओलिभर स्कुल’ छाडेर गुहेश्वरी स्कुलमा ५ कक्षामा भर्ना गरिदिएँ । छोरी स्कुल जाँदैथिन् । एकदिन उसको स्कुल डायरी हेरेँ । त्यहाँ मेरो नाम बिन्दु थापा लेखिकी रहिछिन् । म छक्क परेँ । अनि सोधैँ, ‘तिमीले मेरो नाम बिन्दु थापा किन लेखेको ? म त परियार हुँ नि !’ उनले हतारहतार भनिन्, ‘ममी अबदेखि स्कुलको मिटिङ र कार्यक्रमहरूमा जाँदा तपाईंले परियार नलेख्नू, थापा लेख्नू है ।’ छोरीको कुराले मलाई निकै चोट पु-यायो । स्कुलको प्रिन्सिपललाई भेटेँ । छोरीले गरेको कुराहरू भनेँ । त्यसपछि प्रिन्सिपलले स्कुलमा जातीयताको कुरा नहुने र छोरीलाई घरकै केही कुराले असर पारेको हुन सक्ने र घरमै काउन्सिलिङ गर्नुपर्ने सल्लाह दिनुभयो ।


छोरीलाई सम्झाउन थालेँ । उनीभित्र परियारप्रति वितृष्णा बढ्दै थियो । छोरी मेरो परिवारपट्टिका कसैलाई पनि मन नपराउने भइसकेकी थिइन् । उनी प्रायः मेरो परिवारको सबैसँग झगडा गरिरहन्थिन् । एक दिन उसको दिदीसँग जातकै कुरामा भनाभन भएछ । दिदीलाई दमिनी भनिछन् । दिदीको छोरीले भनिछन्, ‘तेरो ममी पनि दमिनी हो । तेरो ममी दमिनी भएपछि तँ पनि दमिनी भैहालिस् नि ।’ त्यसपछि छोरीले भनिछन्, ‘मेरो शरीरमा ९५ प्रतिशत रगत मगरको छ । ५ प्रतिशत रगत मात्रै दमाईको छ । अब त्यो पनि नसा काटेर सबै बगाइदिन्छु र १०० प्रतिशत मगर हुन्छु ।’ मैले बेलुकी थाहा पाएँ । म आत्तिएँ । अबचाहिँ छोरीलाई साँच्चै काउन्सिलिङको आवश्यकता देखेँ । तर, काउन्सिलिङ गर्ने कसरी ? 


एकदिन संयोगले उनको डायरी पढेँ । त्यहाँ उनले संसारको ३ जना मान्छेलाई मात्रै माया गर्छु लेखेकी रहिछिन् । पहिलो उनको बाबा, दोस्रो शाहरूख खान र तेस्रो उनको प्रिन्सिपल । छोरीलाई काउन्सिलिङ उनकै प्रिन्सिपलले गर्दा ठीक हुन्छ भन्ने ठानेर स्कुल गएँ । प्रिन्सिपल सबै कुरा सुनेर निकै नरमाइलो मान्नु भयो । सहयोग गर्ने प्रतिबद्धता पनि गर्नुभयो ।


यसरी नै समय बित्दै थियो । छोरीले बिस्तारै घरमा झगडा कम गर्न थालिन् । मसँग पहिलाभन्दा अलि बढी बोल्न थालिन् । यही सेरोफेरोमा ०७२ को भूकम्प गयो । हामी गोरखा गयौँ ।

म भूकम्पपीडितलाई राहत वितरण गर्न दिनरात खट्न थालेँ । छोरीसँग खासै कुराकानी हुन्थेन । घरबाट निस्किँदा छोरी सुतिरहेकी हुन्थिन् । फर्किँदा पनि उनी प्रायः सुतिसकेकी हुन्थिन् । म पनि थाकेर आएको हुन्थेँ । यसरी दिन बित्दै थियो । एकदिन घैरुङ भन्ने ठाउँमा राहत वितरण गरेर फर्किँदाफर्किँदै बाटोमा गाडीको तेल सकियो । रात परिसकेको थियो । तेल मगाएर घर पुग्दा रातको ११ः३० बजिसकेको थियो । आमाले भन्नुभयो, ‘आज क्रिस्टिना किन हो ममी आएपछि ममीसँगै सुत्छु भन्दैथी भर्खरै निदाइछे ।’ टहराको ओच्छ्यानमा उनकै छेउमा मेरो लागि ठाउँ खाली थियो । त्यहीँ सुतेँ । 


भोलिपल्ट अलि ढिलो उठेँछु । छोरी अघि नै उठेर म उठ्ने प्रतीक्षामा रहिछिन् । म उठ्नेबित्तिकै मलाई अँगालो हालिन् । अनि भनिन्, ‘ममी, आई एम रेल्ली प्राउड अफ यु ! लभ यु सो मच ममी ।’ छोरीको यो कुराले म सपनामा पो छु कि भन्ने महसुस भयो । तर, म सपनामा थिइनँ । मेरो खुसीको आँसु बग्यो । मैले थाहा पाएँ, स्कुलमा पनि छोरीले परियार थापा भन्छिन् रे । यो पनि थाहा पाएँ, छोरीलाई प्रिन्सिपलको काउन्सिलिङ र मेरो कामले असर गरेछ । 

 

०००

 

यी २ घटना मेरो छोरीसँग जोडिएको मात्रै हो । बिहेपछि मैले त्यस्ता कैयन् घटना भोगेकी छु । मैले विवाह गर्दा १६ वर्ष मात्रै पुगेकी थिएँ । विवाहपछि कैयौँ वर्ष घर गइनँ । कैयौँ वर्ष चाडबाडमा रोएर बसेँ । धेरै वर्षसम्म मेरो परिवार र उहाँको परिवारबीच बोलचाल र अर्मपर्म बन्द भयो । बिहे गरेको १५ वर्ष बित्यो । मसँग उहाँको परिवारको बोलचाल आवतजावत सुरु भएको करिब ५ वर्षजति मात्रै भयो । बोलचाल भएपछि ३ वर्षसम्म म दसैँमा घर जान्थेँ । तर, मेरो भागको दसैँ टीका दुनामा राखेर दिइन्थ्यो । गत वर्षबाट मात्रै मैले दसैँको टीका लगाउन पाएकी छु । अझैसम्म काजकिरिया र पुजाहरूमा वञ्चित गराइन्छ ।

 

मैले ७ वर्षीया छोरीलाई सोधैँ, ‘तिमीले मेरो नाम बिन्दु थापा किन लेखेको ? म त परियार हुँ नि !’ उनले हतारहतार भनिन्, ‘ममी अबदेखि स्कुलको मिटिङ र कार्यक्रमहरूमा जाँदा तपाईंले परियार नलेख्नू, थापा लेख्नू है ।’


एउटा अनुसन्धानमा ७५ प्रतिशत जातीय भेदभाव अन्तर्जातीय विवाहले हटाउँछ भन्ने लेखेको रहेछ । तर, अन्तर्जातीय विवाह गर्दैमा जातीय विभेद घट्छ भन्नेमा मलाई विश्वास छैन । सँगै खाँदैमा, छुँदैमा, मन्दिरभित्र पस्न दिँदैमा, सयुंक्त रूपमा धारा, इनार प्रयोग गर्दैमा विभेद हट्छ भनेर सोच्नु मूर्खताबाहेक केही होइन । जबसम्म यस्ता झिनामसिना घटना समाचार बनेर बाहिर आइरहन्छ, तबसम्म विभेद धेरै बाँकी छ भनेर बुझ्नुपर्छ । 


धेरै अन्तर्जातीय विवाह गर्ने जोडीलाई घरपरिवारले स्वीकार नगर्दा त्यहीँबाट खटपट सुरु हुन्छ । कति जोडीको यस्तै खटपटबाट सुरु भएको झगडा सम्बन्धविच्छेदमा पुगेर टुंगिएको छ । अझ बालबच्चा जन्मिएपछि केटाले छाडेर जाँदा धेरै बालबच्चाहरू बाबाविहीन भएका छन् । बच्चाहरू हुर्काउन आमालाई निकै गाह्रो भएको घटनाहरू धेरै छन् । अझ भनाँै धेरै त्यस्ता बालबालिका छन् जसलाई यो समाजले ‘विनाबाउको बच्चा’को संज्ञा दिन्छन् । 


म आफैँ अन्तर्जातीय विवाह गरेर किन यस्तो लेख्दै छु भन्ने तपाईंहरूलाई लाग्न सक्छ । मैले अन्तर्जातीय विवाह गरेर नजिकबाट यस्ता समस्या नियालेकी छु । भोगेकी पनि छु । त्यसकारण यदि कोही अन्तर्जातीय विवाह गर्न चाहन्छ भने यो घोर रुढीवादी, जातिवादी उल्झनहरूसँग लड्ने हिम्मत पहिला गर्नुस् ।

 

विभेदको छालसँग भिड्दै ज्यानमारा जंघार तरेरै छाड्ने दृढ अठोट पहिला गर्नुस् । नवराजलगायत हजारौँ दलितका हत्यारालाई सजाय दिलाएरै छाड्ने संकल्पमा पहिला राजी बनाउनुस् । अनि मात्रै अन्तर्जातीय सम्बन्धका लागि हात मिलाउनुस् । अन्यथा यो समाज आज पनि यति अधर्मी छ कि तपाईंको साथ मात्रै होइन, जीवनलीला नै समाप्त गरिदिन सक्छ । 

 

(लेखक दलित अधिकारकर्मी हुन्)