• वि.सं २०८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
घनश्याम शर्मा पौड्याल
२०७७ जेठ २४ शनिबार ०८:५०:००
समाज

जनयुद्धको आधार क्षेत्र नै पश्चगमनको यात्रामा

२०७७ जेठ २४ शनिबार ०८:५०:००
घनश्याम शर्मा पौड्याल

किनकि तिनले देखे आफ्नै बलिदानले हुर्काएका नायकहरूको उल्टो यात्रा  

 

भेरी नदी वारपारको त्यही थलो दशवर्षे जनयुद्धको घनीभूत केन्द्र थियो । क्रान्तिको बाधक भएकै निहुँमा मारिएका थिए कुनै दिन यदु गौतमजस्ता युवा राजनीतिक व्यक्ति । आज त्यही ‘क्रान्ति’ले जन्माएका पात्र जनार्दन शर्मा विभिन्न विभागीय मन्त्री हुँदै पूर्वगृहमन्त्रीसमेत बनिसकेका छन् र अन्य दर्जनौँ नेता कार्यकर्ता राज्यसत्ताको माथिदेखि तलसम्म छाएका छन् । 


त्यहाँको स्थानीय सत्ता यिनै ‘क्रान्तिकारीहरू’को हातमा छ । विडम्बना, आज त्यही ठाउँमा कथित दलितको कोखमा जन्मेको र मन मिलेकी युवतीसँग प्रेम गरेकोे ‘अपराध’मा नवराज र उनका पाँचजना साथीलाई समेत लखेटीलखेटी, कुटीकुटी नदीमा फ्याँकिएको छ ।

 

अझ लज्जास्पद कुरा यस हत्याकाण्डको नेतृत्व सत्ताधारी कम्युनिस्ट पार्टीबाटै निर्वाचित वडाध्यक्षले गरेकोे भन्ने छ । के यस बर्बर हत्याकाण्डको कुनै क्षतिपूर्ति सम्भव छ ? सदनको बहसमा घटनाप्रति जिम्मेवारी र संवेदनशीलता छैन । यो घटना पनि नमिता, सुमिता, निर्मलाहरूकै नियतिमा पुग्ने आशंका बढ्न थालेको छ । 


यस आततायी घटनाले म आफैँलाई पनि हुनसम्म प्रताडित, लज्जित र हतप्रभ बनाएको छ, के लेख्नु ! सत्यनाश होस् यो वर्णव्यस्था, यो कथित उच्च जातीय अभिमान, यो कथित पवित्रता, यो अन्धविश्वास, यो सामाजिक आडम्बर अनि पाखण्डको, जसको संरक्षणका लागि बलि चढाउँदै आएको छ यस्तै अनगिन्ती युवायुवतीको जीवन र तिनका सपनाहरूलाई । युगौँदेखि यहाँको सामाजिक-राजनीतिक सत्ताबाट यसरी नै लखेटिँदै आएको छ निमुखाहरूको मानवधिकार र प्रेमपूर्वक बाँच्न पाउने स्वतन्त्रता । 

 

क्रान्तिका नायकहरू कामरेड रहेनन् अब । ती त हेर्दाहेर्दै सर बने, आदरणीय बने, श्रद्धेय बने । ती बस्दैनन्, अब आसन ग्रहण गर्छन्, ती अब टेक्दैनन् भुइँ, उड्छन् हेलिकोप्टरमा ।

 

वर्णव्यवस्थाको मुख्य आधार ऋग्वेदको एउटा पंक्ति हो, जसलाई शास्त्रीय भाषामा ऋचा वा मन्त्र भनिन्छ । त्यो हो ‘ब्राह्मणेऽस्य मुखमासीद्....... पद्भ्यां शूद्रोऽजायत ।’ यसलाई दुइटा कोणबाट प्रस्ट गर्नु जरुरी छ । पहिलो हो यसको आध्यात्मिक व्याख्या र दोस्रो हो सामाजिक ऐतिहासिक तथ्य ।

 

आध्यात्मिकहरू यसलाई यसरी अर्थ्याउँछन् : बाहुनको जन्म भगवान्को मुखबाट, क्षत्रीको पाखुराहरूबाट, वैश्यको घुँडा वा तिघ्राहरूबाट र शूद्रको जन्मचाहिँ भगवान्का पाउबाट भयो । त्यसैले शूद्र अपवित्र भयो रे । मुख, हात, तिघ्रा र पैतालाबाट मान्छे जन्मिने कुरा आश्चर्यजनक त छँदै छ । थप सबैभन्दा अपवित्र त खुट्टा हुँदो रहेछ । त्यसो भए ए पण्डित पूजारीहरू हो तिमी खुट्टैसित भातभान्सा मन्दिरहरूमा किन जान्छौ ? अर्को आश्चर्य कुरा देउतालाई धूप चढाउने मन्त्र यही हो । जब कि यसमा ‘ए द्यौता म तिमीलाई धूप चढाउँछु, ग्रहण गर’ भन्ने आसयको सन्धोगन्धोसम्म केही छैन । 

 

ऐतिहासिक तथ्य त के हो भने कथित अछुत दलित र कथित पवित्र ब्राह्मण तथा क्षत्री-ठकुरी आदि भनिने सबै एउटै पुस्ता, एउटै जाति–नस्ल, एउटै हाडनाताका सन्तान हुन् । आज पनि यी सबैको शास्त्र एउटै छ, धर्म एउटै छ, ‘भगवान्’ ‘स्वर्ग-नरक’ एउटै छ । शारीरिक बनोट र जन्ममृत्यु उही छ । अनि कहाँ लुकाएको छ उसले चुस्स छुँदा तिम्रो स्वर्ग भत्किने रिमोट ? ओ पाखण्डीहरू हो ! मलाई बताइदेओ, कसरी अपवित्र हुन्छ युगौँदेखि आफ्नो पवित्र पसिना बगाएर तिमीलाई नैै पाल्ने मान्छे ?

 

जातव्यवस्थाको जन्म


करिब साढे तीन हजार वर्षतिर जब हाम्रा साझा घुमन्ते पुर्खा पश्चिम एसियातिरबाट भारतीय उपमहाद्वीपको मैदानी क्षेत्रतिर आइपुगे । उनीहरूले त्यहाँ सिँचाइ हुने उर्वर मैदानहरू फेला पारे । अनि स्थायी बसोवास गर्दै खेतीपाती सुरु गरे । खाएर नसकिने अन्न उत्पादन हुन थाल्यो । सँगसँगै सिकार, पशुपालन, अतिरिक्त अन्नको रखनधरन र व्यवस्थापन र अह्रोटपह्रोट आदि गर्नैपर्ने भयो ।

 

सम्पत्ति हत्याउन आक्रमण र प्रतिकार पनि सुरु भए । यसो हुँदै जाँदा त्यहाँ श्रमविभाजनको आवश्यकता महसुस भयो । त्यसलाई हल गर्न यसरी समूह-समूह गरी कार्यक्षेत्र छुट्याइयो : समूह एक सोच्ने, तर्क गर्ने, बुद्धिजुक्ति खियाउने, योजना बनाउने खादि । यिनलाई ब्राह्मण भनियो । दुई खटपटन, व्यवस्थापन र बाह्य शत्रुबाट संरक्षण, यिनलाई क्षत्री भनियो । तीन खेतीपाती, उत्पादन र व्यापार विनिमय, यिनलाई वैश्य भनियो ।

 

चार सरसफाइ, गोल पोल्ने, धातु गाल्ने र अह्रापराएको सबै काम गर्ने । यिनलाई शूद्र भनियो । त्यो त तत्कालीन भौतिक–सामाजिक कार्यविभाजन मात्रै थियो । छुतअछुत जातभात आदि सुरु नै भएको थिएन, न त कुनै आध्यात्मिक ढोङका लागि थियो त्यो । तर, पछिका सामन्ती शासक र तिनका गुरुपुरेतहरूले तयार गरेका स्मृति र पुराणहरूमा यसलाई दैवी आदेशका रूपमा लिँदै जातीय विभेद र छुवाछुतको कानुनी रूप दिए ।


जातभातका कट्टरपन्थीहरू भन्ने गर्छन् : ‘तर ती अलि फोहोरी हुन्छन् क्या !’ मेरो प्रश्न छ, फोहोर गर्ने तिमी फोहोरी कि सफा गर्ने मान्छे फोहोरी ? तिनकै भनाइअनुसार चल्ने हो भने : बाहुनले गर्न हुने काम त पढ्ने- पढाउने, यज्ञ गर्ने–गराउने, दान लिने–दिने यत्ति मात्र हो । क्षत्रीले राजकाजबाहेक अरू केही गर्न हुन्न । तर, के चल्छ यसरी ?

 

आज बेलायत, अमेरिका, अस्ट्रेलिया जानेमध्ये थोरैलाई छोडेर अरू सबैको काम भनेको पसल होटेलको काम हो । अझ पाएसम्म रेलको प्लेटफर्म, अफिस, अस्पताल आदिको भुइँ र शौचालय सफा गर्ने काम हो । एमए, पिएचडी गरेका बाहुन-क्षत्रीका सन्तान बग्रेल्ती छन् यस्ता काममा । शाकाहारीबाहेक अरूले सुँगुर र गाईको मासु नखाने कोही हुन्न । अनि कतिले त गोरी केटीलाई बुहारी बनाएर पनि ल्याएका छन् ।

 

यहीँ नेपालमै पनि मासु व्यवसाय, रक्सीको व्यवसाय, सिलाइ–बुनाइ, धातु र यन्त्रको काम, वाद्यवादन र संगीतको काम, छाला र जुत्ताको काम, मुर्दा चिर्ने र पोल्ने आदि सबै काम व्यवसायहरू अब त बाहुन–क्षत्रीले नै खोस्दै गएका छन् । तिम्रा छोराछोरीचाहिँ किन अछुत भएनन्, यी कसरी भए ? 


यस देशको करिब ४५ लाख जनसंख्या साढे तीन हजार वर्षदेखि भोकप्यास, घामपानी, हावाहुरी यी सबैलाई खप्दै आजसम्म पनि कठोर श्रम–उत्पादन, शिल्प र सुन्दर सिर्जनामा निरन्तर लागिरहेको छ । तिम्रो गाग्री बनाउन ऊ नभई हुन्न, पूजा थाली बनाउन उही चाहिन्छ, घर बनाउन उही चाहिन्छ । तर, घर तयार भइसकेपछि उसलाई पर लखेट्दै तिमी भन्छौ : ‘एइ, पिँढी नकुल्ची, घर बिटुलिन्छ !’

 

मन्दिर उही बनाउँछ, मूर्ति उही बनाउँछ र उसकै श्रम तथा सीपबाट सुन्दर कलाको सिर्जना हुन्छ । त्यसलाई कब्जा गरिसकेपछि भन्न थाल्छौ ‘एइ, छोलास्, यता न आ !’ धान उसैले उब्जाइदिन्छ, कुटेर डालीमा उसैले हालिदिन्छ, जब चुलोमा राख्नेवेला हुन्छ, अनि भन्छौ : ‘ओइ एता नहेर्, तेरो नजर परेको खाना अपवित्र हुन्छ ।’ यो शोषण, यो लुटपाट, यो उत्पीडन, यो अमानवीयता, यो पाखण्डको पराकाष्ठा ! शब्दमा व्यक्त गर्न सकिन्न । 


अन्ततः यावत् अव्यवस्थाको अन्तिम जवाफदेही राज्यव्यवस्था हो । जनयुद्ध, झापाविद्रोह, जनआन्दोलन आदि केका निम्ति भएका थिए ? रुकुम रोल्पा नै त जनयुद्धका मुख्य आधार क्षेत्र थिए । त्यसवेला प्रेम र विवाहलाई युद्धमोर्चामै पनि स्वतन्त्रता दिइएको थियो । थुप्रै अन्तर्जातीय विवाह भएका थिए । चेलीबेटीमाथिको दुव्र्यवहार तथा जुवातास र मादक पदार्थ सेवन कडा दण्डनीय थियो ।

 

सामाजिक कुरीति तथा धार्मिक अन्धविश्वासबाट समाज मुक्त हुँदै थियो । आज तिनै ठाउँहरूमा तिनै मान्छेहरू यसरी पश्चगमनतिर किन हिँड्दै छन् ? किनकि तिनले देखे आफ्नै बलिदानले हुर्काएका नायकहरूको उल्टो यात्रा । तिनले राजा फाले, तर राजाको सानसौकातमा आफैँ पुगे । मन्दिर दर्शन, वसन्त श्रवण, यज्ञ उद्घाटन, सवारी चलान, खानपान, उठान, बसान आदिमा कहाँ छ फरक हिजोको राजा-राजपरिवार र आजको राष्ट्रपति, प्रधानमन्त्री-मन्त्रीहरूको जीवनशैली एवम् आचरणमा अन्तर ?


क्रान्तिका नायकहरू कामरेड रहेनन् अब । ती त हेर्दाहेर्दै सर बने, आरणीय बने, श्रद्धेय बने । ती बस्दैनन्, अब आसन ग्रहण गर्छन्, ती अब टेक्दैनन् भुइँ, उड्छन् हेलिकोप्टरमा कि गुड्छन् प्राडो पाजेरोमा, ती अब पस्दैनन् झुप्राछाप्रामा, विराजमान हुन्छन् सेता महलमा, ती अब भेट्दैनन् भुत्रेझुम्रेलाई, मयल सर्छ तिनका लबेदा सुरुवालमा, पसिना मिसिन्छ अत्तरमा, बिग्रिन्छ सुटको क्रिज र खुस्किन्छ टाईको गाँठो ।

 

लाखौँ होइन कराडौँ खर्च गर्छन् ती आपूm र आफ्नाको निमित्त, वर्षिन्छ अदृश्य हातहरूबाट पैसा, दुःख गर्नुपर्दैन तिनलाई । यो चारित्रिक स्खलन, यो भ्रष्टीकरण, यो तमासा सबै देख्यो नि तलकाले पनि । अनि उल्टियो हिजो निर्माण भएको भुइँतहको सामाजिक सांस्कृतिक उपलब्धि जो थियो । यही त हो प्रतिक्रान्ति । बाजा बजाएर आउँदैन प्रतिक्रान्ति ।


सिंहदरबार र बानेश्वरतिर फुकिरहेका छन् शान्ति, समृद्धि र समाजवादका ढ्वाङ निरन्तर, तल दैनिक मारिएका छन् नवराजहरू, लुटिएका छन् अंगिराहरूका जिन्दगीहरू, भोकले भाउन्निएर कहिल्यै नउठ्ने गरी ढलिदिएका छन् राजधानीको सडकमा सूर्यबहादुर तामाङहरू । मधेसमा भोकले ढलेका छन्, मलर सदाहरू । 


जनताले प्रश्नको कठघरमा उभ्याउँदै छ तिमीलाई : कसको बलिदानबाट पुग्यौ तिमी त्यहाँ ? कसको निम्ति थिए झापाविद्रोह, जनयुद्ध र जनआन्दोलन ? दलित दलित नै छ, अछुत अछुतै छ, गरिब, गरिबै छ, जातभात अन्धविश्वास उही छ । उही मनुस्मृतिको शासन छ । खै यिनको सामाजिक अस्तित्व ? खै यिनका लागि क्रान्ति ? खै यिनका लागि मानवाधिकार ? खै यिनका लागि राज्य र सरकार ? खै यिनको देश ? संविधानका केही उपधारा अक्षरबाहेक के बदल्यौ तिमीले ? के दलितको समस्या सिङ्गै देशको समस्या होइन ?


सरकार, सत्यसत्य भन : तिमीलाई छोयो कि छोएन, पोल्यो कि पोलेन रुकुमको घटनाले ? के तिमी अब यस घटनाको निष्पक्ष छानबिन गराउन तयार छौँ ?