मेरो नाम प्रणिका कोयू । कोयू भनेको के हो ? भनेर धेरै प्रश्नहरू तेर्सिन्छन् । थारू होइन भनेपछि नेपालमा विकासको कार्यक्रम सञ्चालन गर्ने एक प्रतिष्ठित संस्थाको मानव संसाधन (ह्युमन रिसोर्सेस) शाखाका कर्मचारीले मलाई ‘त्यही त कसरी थारूले जागिर पाएछ भन्ने मैले सोचेको’ भने । मैले प्याच्चै भनेँ, ‘खुसी थारू अहिले इयान मार्टिनको दोभाषे छिन् नि ।’ उनी बोलेनन् ।
मेरो चिम्सो आँखा र थेप्चो नाकले अनुहार हेरेर नै यो फलाना जातकी हो भन्ने र त्यहीअनुरूप व्यवहार गर्ने यो नेपाली समाजका जातवादीहरूलाई सुरुमा मेरो अनुहार, थर र बोलीले एकछिन अलमल्याउँछ र आत्तिदै सोध्छ, ‘कुन थरी पर्नुभयो कुन्नि ?’ खस नेपाली भाषामा स्पष्ट बोल्ने, नछेडेको नाक र शृंगाररहितको मेरो अनुहार हेर्दै सोधेका पनि छन्, ‘नेपाली चेली त हुनुहुँदो रहेछ, तर तपाईंको अनुहारले तपाईंको परिचय बोक्दैन ।’ कामको सिलसिलामा लामो कुराकानी भएपछि झापाको एक निवृत्त प्रधानाध्यापकले सोध्नुभएको प्रश्न हो यो । हाँस्दै ‘म अनुहारमा आफ्नो परिचय बोक्नुहुन्न भन्ने मान्छे परेँ’ भनेपछि भान्सामा उहाँहरूसँगै बसेर खाना खाने निम्तो पाएँ।
सामाजिक सद्भाव भनेको कसैको क्रन्दन सुन्नु नपरोस् भनेर क्रन्दनको संगीत बनाउने होइन ।
मेरो नछेडिएको नाकले मेरा नाताका बोजुहरूलाई साह्रै पिर परेको थियो । मेरी आमाको छेमा पर्ने एकजनाले सधैँ मलाई, ‘तैँले नाक छेडिनस् भने हामी तैँले छोएको खाँदैनौँ’ भनिरहनुहुन्थ्यो । एकदिन मेरो बाबाआमाको घरमा उहाँ बोजु र म मात्र भयौँ । मैले खाजा पकाएँ, खाएँ । उहाँलाई सोधिनँ र दिइनँ पनि । उनले मसँग खाजा माग्दा मैले आफ्नो नाक नछेडिएकाले उहाँले मैले छोएको खानु हुन्न भन्ने जवाफ दिएँ । साँझ, पापा र आमालाई मेरो पोल लगाउँदा, पापाले ‘भनेपछि छेमा, तपाईं केही दिन यसरी भोकै बस्नुहुन्छ जस्तो छ’ भन्दै हाँस्नुभयो । यसपछि उहाँ मेरो आमापापाको घरमा आउनुभएको मलाई थाहा छैन।
यही नछेडेको नाकले मलाई नेवार समुदायमा पनि यो कुनचाहिँ नेवार परी भन्ने सोधेका छन् । कोयूलाई कोजु सुन्नेले ठाडै भक्तपुरको कोजु ज्यापु हो भन्ने र मेरो नहाँसेको अनुहार देख्ने गरेका छन् ।
साथीभाइसँग कुरा हुँदा मात्र बताउने गरेकी यी संवादहरूले हामीलाई यो देशमा विद्यमान जात प्रथाको परिचय दिन्छ । हामीमध्ये केहीलाई यी सामान्य पनि लाग्छ सक्छ, किनकि मान्छेलाई उसको रूपरंग, शक्तिकेन्द्रमा पहुँच र उसको शारीरिक र मानसिक श्रमलाई शासकको दृष्टिले लेखाजोखा गरेर बसालिएको थितिमा चुपचाप हुर्केका पुर्खाका सन्तान हौँ हामी ।
यस्तो व्यवस्थाले कसैमा दम्भ भरिदिएको छ त कसैमा विवशता । कोही निरन्तरता दिन चाहन्छन् त कोही हटाउन । अनि कोही जे भएनि ठीक ‘मलाई केको रिगरिग’ भन्दै आफ्नो तटस्थता देखाउन खोज्छन् । रंगभेदविरुद्धको एक सशक्त आवाज डेसमन्ड टुटुले ‘अन्यायको समयमा यदि तपाईं तटस्थ बस्नुहुन्छ भने तपाईं पनि अन्यायी हो’ भन्नुभएको छ । नेपाली समाजमा यस्ता अन्यायीहरू धेरै छौँ ।
रुकुम हत्याकाण्ड जातीय मुद्दा होइन भन्ने कुतर्क सुनिरहँदा मलाई यस्ता अन्यायीहरूको याद आउँछ ।
म नजन्मँदै भोजपुरमा एक राई परिवारको केटा र दलित परिवारकी केटीबीच प्रेम भयो । यी दुईका परिवारले त्यो सम्बन्धको विरोध त गरेनन्, तर प्रेम विवाहमा परिणत नहोस् भन्ने सोचबाट निर्देशित भएर दुई परिवारबीच मितेरी सम्बन्ध गाँसिदिए । तर, यसले यी दुईलाई झन् घरबाट भगेर विवाह गर्न प्रेरित ग-यो । यी दुई नाताले मेरो मामा–माइजू हुनुहुन्छ । नवराजलाई झैँ पाशविक हत्या गर्न नचाहे पनि दुई प्रेमी-प्रेमिकालाई मितेरी दाजु-बहिनी बनाउनु पनि कुन हत्याभन्दा कम छ र ?
यो चाल असफल भएकाले समाजले मितेरी साइनोको धज्जी उडाएको लाञ्छना त लगाइरहन्छ । वर्षाैंपछि यी मामा-माइजूका हामी भान्जाभान्जीहरूमध्ये एकले दलितसँग विवाह गरे । त्यो विवाह भोज खाएको एक नातेदारले मलाई ‘दुलाहाले मामाको साख राख्यो’ भने । मैले उक्त नातेदारलाई त्यसपछि भेटेको छैन ।
योभन्दा पनि दुखद घटना उक्त जिल्लामा नै मेरो आमा–पापा नजन्मँदै भएको समयमा घटेको छ । सुन कमाउने दलित परिवार धनी थियो । उनलाई एक वर्ष, राईहरूसँग राईको साकेला थानमा साकेला नाच्ने जोश आयो । उनले नाचे र निर्घात पिटाइ खाएपश्चात् केही महिनामा उनी मरे । उनको परिवारले जिल्ला छाड्यो । हल्ला भने, राईकी देवीले आफ्नो अपमानको बदला लिइन् फलाना कामीसित भन्ने चल्यो । यो त अरे को कुरा हो, मेरा बाबुआमाले पनि सुन्नुभएको । जनजाति समुदायले आफूलाई हिन्दू जात व्यवस्थामा नपर्ने जिकिर गरे पनि मैले सुनेको यी दुई घटनाले यस जिकिरलाई प्रश्न गर्छ ।
कास्कीको एक गाउँमा केही समय रहेको मेरो साथीले मलाई सुनाएको कुरा । ‘त्यहाँ त दलित समुदायले अन्य जातजातिकालाई भोजमा बोलाउँदा पनि फरक भान्सा गर्छन् । निम्तालुहरूलाई पकाउने सरसामान र ठाउँ छुट्याइदिएको हुने र उनीहरू गएर पकाएर खाने । मलाई त अनौठो लाग्यो । तर खाएँ । पाहुना थिएँ । उनीहरूको चलनलाई केही भन्न मन लागेन ।’
सन् २००७ तिर कामको सिलसिलामा म सुदूरपश्चिमको एउटा गाउँमा थिएँ । त्यहाँ एक विकासे कार्यक्रमले दलित र ‘ठूला’ जातका लागि बनाइदिएको धाराको कथा सुन्दा तटस्थ अन्यायीहरूको उपस्थितिले पहिलोपटक झस्काएको थियो ।
कार्यक्रमको योजना भने दुवै समुदायलाई प्रयोग गर्न मिल्ने पानीको धारा जडान गर्नुपर्ने रहेछ । तर, दलितहरूले त्यो धारा प्रयोग गरे आफूहरूले उक्त धारा बन्न नदिने धम्की दिएछन् ‘ठूला’ जातकाहरूले । त्यसपछि उक्त कार्यक्रमले फरक ठाउँमा ती दुवै समुदायका लागि दुई धारा बनाएछ । त्यसरी सामाजिक सद्भावका लागि आफूले रचनात्मक बाटो अपनाएर कार्यक्रम सफल भयो भन्ने सुन्दा म र मेरो सहकर्मी खंग्रङ्ग भयौँ । के सामाजिक सद्भाव भनेको जातीय विभेदलाई आँखा चिम्लेर नदेख्नु हो ?
रुकुमको घटनासम्बन्धी समाचार पढ्दै गर्दा मेरो इनबक्समा एक अधिकारकर्मीको स्क्रिन सट आयो । उहाँलाई नवराजले आफ्नै दलित समुदायकी केटीसँग प्रेम किन गरेनन् भन्ने असन्तोष रहेछ । अधिकारकर्मीले नै गर्ने यस्तो दलिलबाट नवराजको हत्यालाई स्वाभाविक बनाएको हो ? मैले बुझ्न सकिन ।
त्यही समयमा फेरि आफूजस्तै सबै अन्तरजातीय विवाह गर्ने जोडी भाग्यमानी हुँदैन भन्दै रुकुमको जातीय विभेदको विरोध गरेको लेखमा घटनालाई ‘जातीयकरण’ गरेको भन्ने हरफ पनि पढेँ । त्यही साँझ अर्काे लेख पनि पढेँ, जसले यस्तो घृणित व्यवस्था हो भन्ने जानकार हुँदाहुँदै पनि आफू केही गर्न नसक्ने, तर आउँदा पुस्ताले यस्तो परिवर्तन ल्याउनुपर्छ भन्ने आफ्नो दायित्वबाट सर्लक्क पन्छिएर अरूले त्यसको पालना गरुन् भन्ने आशा र अपेक्षा उल्लेख गरेको थियो । २५–३५ को हाराहारीका यी दुई लेखकलाई पढ्दा जातीय मुद्दाका तटस्थ मतियारहरूको संख्या कति डरलाग्दो रूपमा फैलिएको छ र हामीले कस्तो अवस्थामा मात्र उनीहरूको ‘विवश तटस्थता’ देख्न पाउनेरहेछौँ भन्ने सोचेर मात्र पनि झस्किरहेँ ।
रुकुम घटना एक जातिविरुद्ध घृणाले निम्त्याएको जातद्वेषी अपराध हो । यो ‘हेट क्राइम’ हो । मानवताविरुद्ध गरिने सबभन्दा घृणित अपराध । तपाईं के अझै तटस्थ बस्न चाहनुहुन्छ ?
गीता रसाइलीले आफ्नो लेखमा ‘नवराज तिम्रो प्रेमको रक्षा गर्न सकिनँ’ भनेकी छिन् । तर, लज्जा के गीतालाई आउनुपर्ने हो ? गीताजस्ता हजारौँ युवायुवतीले आफ्नो अध्ययनलाई रोकेर छुवाछुत कुप्रथा हटाउनका लागि जनयुद्धमा होमिएकी थिइन् ।
माओवादीले १० वर्षे जनयुद्धताका, आफ्ना कार्यकर्ता र लडाकुबीच अन्तर्जातीय विवाहको माहोल सिर्जना ग-यो, उत्साह दियो । तर, विस्तृत शान्तिवार्ता सँगसँगै घर फर्केका यस्ता अन्तर्जातीय वैवाहिक सम्बन्ध कतिको संख्यामा टिक्यो र कतिको सम्बन्धविच्छेद भयो भन्ने विषयमा माओवादी पार्टी कत्तिको संवेदनशील थियो ? प्रश्न यहाँ उठ्छ । किनकि संवेदनशील भएको भए यसरी अन्तर्जातीय विवाहहरू किन टुक्रिँदै छन् भन्ने विषयको विश्लेषणसहित पार्टीले रचनात्मक भूमिका खेल्न सक्थ्यो ।
तर, चुक्यो, किनकि शान्ति वार्तामा हस्ताक्षर गरेपश्चात् सजिलै भुलेको विषय सायद सामाजिक रुपान्तरणको कुरा थियो, छुवाछुतको अन्त्यको कुरा थियो । त्यसैले सामाजिक सांस्कृतिक क्रान्तिको लक्ष्य बोकेको जनयुद्धको उद्गमस्थलमा नै मानवताविरुद्धको जघन्य अपराध भयो । एक होइन ६ युवाको पाशविक हत्या भयो । केका लागि ? जातको उच्चताका लागि । जातको शुद्धताका लागि । यसले जन्माउने अर्काे प्रश्न– के रुकुमले विनादबाब, विनात्रास जातीय छुवाछुतको अन्त्य गरेको थियो त ? थियो भने, यो घटना किन घट्यो ?
अपराधलाई जातको रङ नदिउँ भन्नेहरूलाई थाहा छैन सायद कि यदि जातको कुरा थिएन भने सुष्मा र नवराजलाई यसअघि प्रहरीको रोहबरमा केटाकेटी दुवैको बिहे गर्ने उमेर नभएकाले उमेर पुगेपश्चात् विवाह गरिदिने भनेर छुट्याउने थिएनन् र यो पाशविक षड्यन्त्रको योजना वास्तविकता बन्दैन थियो । तपाईंहरूको जानकारीका लागि, सुदूरपश्चिम र मध्यपश्चिममा हुने बालविवाहका मुद्दाहरूमा केटा दलित भएको अवस्थामा मात्र चल्ने गरेको पाइएको छ । केटाले कि मुद्दा खेप्छ कि मृत्यु ।
केटाकेटी दुवै ‘सजातीय’ भएको अवस्थामा प्रहरीसामु मेरो खुसीले प्रेम विवाह गरेकी हुँ भन्न लगाई प्रहरीले नसिहत दिएर छाड्ने गरेको तथ्य प्रहरीले नकार्न सक्दैन, जब कि प्रहरीको भूमिका भनेको नसिहत दिने नभई बालविवाह हो भन्नेबित्तिकै सम्बन्धित सबैलाई कानुनी सजायको भागीदार बनाउने हो । तर, शक्तिको चलखेललाई सतही रूपमा नियाल्नु भएकालाई यी सबै घटनाक्रमहरू अपराध मात्र लाग्छ, जातको कुनै भूमिका छैन जस्तो लाग्छ ।
यहाँनेर, यस घटनामा जातलाई प्रमुख कारण नदेख्नेहरूलाई भन्न करै लाग्यो, ‘यो अपराध हो, कुनै शंका छैन । यो त कुनै एक जातिविरुद्ध घृणाले निम्त्याएको जातद्वेषी अपराध हो ।’ सजिलोमा भन्दा यो ‘हेट क्राइम’ हो । मानवताविरूद्ध गरिने सबभन्दा घृणित अपराध । अनि तपाईं के अझै पनि तटस्थ रहन चाहनुहुन्छ ?
जब जातको कुरा आउँछ, तटस्थकर्ताहरूले ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ पनि सम्झनुहुन्छ । हामी सबैको जानकारीका लागि, त्यही हरफ लेख्ने देवकोटाले पनि आफ्नो घरमा परियार थरकी महिलालाई स–सम्मान खाना खुवाउनु परेपछि घरमा शुद्धाशुद्धि गरेका थिए । जनकलाल शर्माको संस्मरणमा यो प्रसंग उल्लेख छ ।
त्यसैले यो जातप्रथाले हामीलाई ‘हामी’ भन्ने झुक्याइमा न्यानो माया र स्विकार्यता दिएको छ, तर अर्काे भन्नेबित्तिकै अपमान र मृत्यु दिन्छ । त्यसैले तटस्थ नरहनुहोस् । सामाजिक सद्भाव भनेको कसैको क्रन्दन सुन्नु नपरोस् भनेर क्रन्दनको संगीत बनाउने होइन । सामाजिक सद्भाव भनेको दलितको जमिनमुनिबाट पानी लानुपर्छ भनेर पानीको बाटो फेर्ने होइन । सामाजिक सद्भाव भनेको प्रत्येक समुदायलाई गरिने सम्मानले कसैलाई मार्नुपर्दैन । कसैलाई बलात्कृत हुनुपर्दैन । सबैलाई जीवनको पानी पिउन दिनु हो । (कु)जीवनको निरीहता होइन । त्यसैले तपाईं तटस्थ नबस्नुहोस् । तपाईं अन्यायी नबन्नुहोस्, नत्र, सामाजिक रूपान्तरण हासिल नगरी नरोकिने क्रान्ति सुरु हुँदा निश्चित रूपमा तपाईं नै पहिले ढल्नुहुनेछ ।