• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश खनिया 
२०७७ जेठ ३१ शनिबार ०६:५५:००
यात्रा

विस्फोटनको अभ्यास गरिरहेको अमेरिका 

यतिखेर हाम्रासामु गम्भीर प्रश्न तेर्सिएको छ- हामी कहिले जाग्छौँ ? 

२०७७ जेठ ३१ शनिबार ०६:५५:००
गणेश खनिया 


गत मे २५ मा गोरा पुलिसले मिनोसेटावासी काला नागरिक जर्ज फ्लोेयडलाई नियन्त्रणमा लिने क्रममा घाँटी अठ्याएर मारेपछि यस हत्याको विरोधमा अमेरिकाका कैयौँ राज्यमा निरन्तर प्रदर्शन भइरहेको छ । विश्वभर आन्दोलन फैलिँदै गएको योवेला ‘ब्ल्याक लाइभ्ज म्याटर’ फेरि चर्चामा आएको छ । कालाहरूको ज्यानको महत्व खोजिँदै छ । एन्जेलिया डेभिस, सोनिया सान्चेजलगायतका ब्ल्याक लाइभ्ज म्याटरका अगुवालाई पछ्याउनेको संख्या ह्वात्तै बढेको छ । 


फ्लोयडको निसासिएको अभिव्यक्ति ‘आई कान्ट व्रिद’ भाइरल छ अझै । तर, फ्लोयड पहिलो होइनन् यसरी मारिनेमा । काला अमेरिकीहरू मारिनेक्रमको निरन्तर सिलसिला हो यो । यो समुदायको कहरगाथाको लामो इतिहास छ । धार्मिक प्रवृत्तिका अमेरिकी लेखक, समाजशास्त्री तथा नागरिक अधिकार अभियन्ता डब्ल्युइविडु वोयसले काला जातिको आवाजलाई शालिन ढंगले उठाउँदै गए । ‘दि सोल्स अव ब्ल्याक फोक’मा काला अमेरिकीको विभाजित मनोदशा प्रस्टाउँदै उनले भनेका छन्, ‘अमेरिकी र नेग्रोबीच विभाजित छौँ हामी काला अमेरिकी । दुई अलग आत्मा र विचार अनि परस्परविरोधी सोच लिएर भड्किरहेछ यो कालो शरीर ।’

अमेरिकामा काला र भारतमा मुस्लिम, दलितका मुद्दाप्रति शून्य सहनशीलता अपनाउनेमा ट्रम्प र मोदी उही कित्ता र उत्तिकै असहिष्णु देखिन्छन् । गत वर्ष ट्रम्पले भारत भ्रमण गर्दैगर्दा लेखक पंकज मिश्रले सही विश्लेषण गरेका थिए, ‘आफैँलाई भेट्न ट्रम्प भारत जाँदै छन् ।’

 

बिसौँ शताब्दीको मध्यदेखि नै सक्रिय अर्का अमेरिकी लेखक जेम्स वाल्डविन भने पटक्कै शालीन देखिएनन् आफ्ना अभिव्यक्तिमा । आफ्नै भतिजालाई सम्बोधन गरेर अमेरिकामा काला जातिको अवस्था दयनीय रहेको र आउँदो पिँढी अझ असुरक्षित हुने चिन्ता व्यक्त गरेका थिए उनले । अवस्था त जस्ताको तस्तै देखिँदै छ, आमअमेरिकी सोच संशयको घेरामा पर्दै छ । कालाहरूको दर्दनाक अवस्था उल्लेख गर्दै गोराहरूलाई ठाडै चुनौती दिँदै वाल्डविनले लेखेका थिए, ‘आई एम नट योर नेग्रो’ । माया एन्जेलोको ‘ह्वाई ए केज्ड बर्ड सिङ’ र टोनी मरिसनको ‘विलभेड’ मात्र पढ्दा पनि बुझ्न सकिन्छ कालाहरूको कहर ।

 

उनीहरूका लेखनमा कालो भएकै कारण देख्न भोग्न परेका अगणित पीडा उल्लेख छन्- चाहे ती आख्यानमार्फत व्यक्त भएका हुन् या गैरआख्यानमार्फत । तिनै पीडाका दस्ताबेज उपलबध थिए र त कालाहरूको मथिंगल हल्लिन्छ घरीघरी अनि उठ्छ विद्रोहको नयाँ लहर । विभेदले विपत्, महामारीसमेत नभन्ने रहेछ । जब सत्ताले महामारीबीच पनि मान्छे मार्छ, विद्रोहले पनि महामारीका चालू नियमहरू उल्लंघन गर्दो रहेछ । त्यसैले त सामाजिक दूरीसमेत वास्ता नगरी प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । काला जातिमाथिको विभेदको प्रतिरोध र प्रतिकार सतहमा आएको छ । 

 

काला जातिको अधिकारको आन्दोलन


सन् ५० र ६० को दशकमा चलेको नागरिक अधिकार आन्दोलनले अमेरिकी कालाहरूको आवाजलाई पहिलोपटक सतहमा ल्याएको थियो । माल्कोम एक्स र मार्टिन लुथर किङ त्यहीवेला उदाए । सार्वजनिक बसमा आफू बसेको सिट गोरा यात्रुलाई छाड्न नमानेर एकाएक चर्चामा आइन् रोजा पार्क । माल्कोम एक्सको क्रान्तिकारी धार नै उनको मृत्युको कारण बन्यो । अर्कोतर्फ मताधिकारको माग गर्दैै डा. किङको नेतृत्वमा सेल्माबाट मोन्टेनेग्रोसम्म गरिएको पदयात्राले काला जातिको अधिकारबारे व्यापक बहस र समर्थन पायो । काला र गोरा नागरिक सँगसँगै हातेमालो गर्दै सुन्दर अमेरिका बनाउने कल्पना गरेका डा. किङ पनि मारिए । उनको हत्यासँगै उनको ‘आई ह्याभ ए ड्रिम’ ओझेल पर्‍यो । यसै सेराफेरोमा माक्र्सवादी विद्यार्थीहरू बबी सियल र ह्युए न्युटनले ब्ल्याक प्यान्थर पार्टी जन्माए । अमेरिकी दमन र आपसी फुटमाझ यो पार्टी र आन्दोलनसमेत छिन्नभिन्न र अस्तित्वविहीन भयो । 


न्युयोर्कछेउको हार्लेममा अमेरिकी कालाहरूको बाहुल्य छ । त्यही हार्लेमबाट उदाएका कवि ल्याङस्टेन ह्युजको कविता ‘ह्वाट ह्यापेन्स् टु ए ड्रिम डिफर्ड’ डा. किङको सपनासँग जोडिन्छ । बारम्बार स्थगनमा परेको सपनाको हविगत सोच्दै कविताको अन्त्यमा ह्युज सोध्छन्, ‘के यसले विस्फोटन निम्त्याउला ?’ लाग्छ, स्थगित सपना पूरा गराउने विस्फोटनको पूर्वअभ्यास गर्दै छ अमेरिका । अनि डोनाल्ड ट्रम्पजस्ता गोराका मात्र राष्ट्रपतिले यो विस्फोटलाई अझ मलजल गरिरहेका छन् । 


तर, परिदृश्य त्यति सहज भने छैन । संस्थापनले निरन्तर बनाइरहेको बलात्कारी तथा लुटपाट र हिंसाका बाहकको निर्मित भाष्य भत्काउन सजिलो छैन कालाहरूलाई । त्यसैले त गोरा समुदायका अधिकांश तह र तप्का मौन छन् यतिखेर पनि । अर्कोतर्फ अमेरिकामै लामो समयदेखि बसिरहेका काला समुदाय आफूलाई नवप्रवेशीभन्दा अलग र अधिक अमेरिकी ठान्छन् । यो भित्री र बाहिरी समुदायबीचको असहज सम्बन्ध पनि पटकपटक उठेका आन्दोलनलाई निस्तेज पार्ने कारक मानिन्छ । पछिल्लो समय आन्दोलन तुहाउन र चुनावी परिवेश आफूअनुकूल बनाउन अमेरिकी डेमोक्र्याट्हरू पूर्वराष्ट्रपति बाराक ओबामालाई अघि सार्दै छन्–स्थिति सामान्य बनाउने बहानामा । 

 

ओबामा फ्याक्टर


बाराक ओबामा राष्ट्रपति बन्नुअघि नै ‘चाँहिदो काला हुन् त ओबामा ?’ भन्दै उनको कालो रंग अवसर र चुनौती दुवै भएको सन्दर्भ उल्लेख गरेका थिए लेखक ता नेहिसी कोट्सले । पछि सन् २०१२ मा पन्ध्रवर्षे किशोर ट्रेभोन मार्टिन पुलिसद्वारा मारिएपछि उनलाई लाग्यो कालो हुनुको दर्दनाक नियति साधारणजनमा जहिले पनि घट्न सक्ने रहेछ । जेम्स वाल्डविनले पूर्वानुमान गरेको असुरक्षित भतिज पुस्ता त कोट्स आफैँ थिए । तर, आफ्नै छोराको जीवन सुरक्षित देखेनन् अमेरिकामा दशकौँपछि पनि । छोरालाई सम्बोधन गर्दै लेखिएको उनको गैर आख्यान ‘विटविन द वल्र्ड एन्ड मी’मा मार्टिनलगायतका मारिएका कालाको परिवारका कहर र पीडा समावेश छन् । लुटपाट र हिंसा अमेरिकी गोराहरूको दैनिकी नै ठान्छन् उनी । एटलान्टा पत्रिकामा निरन्तर लेखिरहने कोट्सको तर्क छ, ‘गोरा अमेरिकीको प्रगतिको आधार नै लुटपाट र हिंसा हुन् । अमेरिकी इतिहास यसको साक्षी छ ।’ 


जेम्स वाल्डविनको ‘आई एम नट योर नेग्रो’भित्रको यो अंश सटिक लाग्छ, ‘अमेरिकाको तर्फबाट युद्व लड्दा मात्र म स्वतन्त्र नागरिक ठानिन्छु ।’ चाहे टेनिसकी सेरेना विलियम्स हुन् वा गायिका वियोन्स वा हलिउडका कलाकार, उनीहरूप्रतिको आमअमेरिकीको अन्तर्यमा विभेदकारी सोच नै छ । युरोपमा विभिन्न क्लबबाट खेल्ने कालो वर्णका फुटबल खेलाडी लामो समयदेखि उपहासको पात्र बनिरहेका छन् । हालका चर्चित फ्रान्सेली खेलाडी एमबाप्पेसम्म चलिरहेछ यो विभेदको सिलसिला । यस्तो प्रतिकुलताबीच लिभरपुल, वायर्न म्युनिखलगायतका खेलाडीले हाल चलिरहेको काला अमेरिकीको आन्दोलनप्रति देखाएको ऐक्यबद्धताले घटनालाई राजनीतिक घेराभन्दा बाहिरको सांस्कृतिक बहसमा ल्याएको छ । 


अरूलाई दमन गर्न र सिध्याउन प¥यो भने अमेरिकीहरूले लगाउने आरोप हो– रेड, कम्युनिस्ट । रिचार्ड ह्वाइटको ‘दि नेटिभ सन’मा विगर टमसलाई यही आरोपमा सिध्याइन्छ । यो सिलसिला रोकिएको छैन । जारी प्रदर्शनलाई पनि त्यही आरोप लगाउँदै छन् वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प । गोरा अमेरिकीको सक्कली रूप ट्रम्पको ट्विटमा देखिन्छ । उनी लेख्छन्, ‘जहाँ लुटपाट सुरु हुन्छ, त्यहाँ गोली चल्छ ।’ ट्रम्पको ट्विटले अर्को ट्विट सम्झायो ।

 

सन् २०१७ मा भारतीय निडर पत्रकार गौरी लंकेशको हत्यापछि यस जघन्य अपराधको समर्थन गर्दै एकजनाले ट्विट गरे- एउटी कुकुर्नी कुकुर जसरी नै के मरी उसका पिछलग्गु एकै स्वरमा रुन थाले ।’ विडम्बना अति व्यस्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योलगायत यस्तै अन्य ट्विट फलो गरेको भेटियो । विरोधी आवाज सदाका लागि बन्द गरिएको आनन्द लिनेमा मोदी पनि देखिए । अमेरिकामा काला र भारतमा मुस्लिम, दलितका मुद्दाप्रति शून्य सहनशीलता अपनाउनेमा ट्रम्प र मोदी उही कित्ता र उत्तिकै असहिष्णु देखिन्छन् । गत वर्ष ट्रम्पले भारत भ्रमण गर्दैगर्दा लेखक पंकज मिश्रले सही विश्लेषण गरेका थिए, ‘आफैँलाई भेट्न ट्रम्प भारत जाँदै छन् ।’

 

हामी कता ?


मिनोसेटामा एक काला मारिँदा अमेरिकाभर विरोध प्रदर्शन जारी छ । विश्वको ध्यान तानिएको छ । त्यो विरोध मसिनो स्वरमा सीमित रहेन, डढेलोझैँ फैलिरहेछ । अन्यकरण गर्ने सवालमा हाम्रै छिमेकी भारत पनि अग्रपंक्तिमा रहेको छ । नरेन्द्र मोदी सत्तामा आएपछि यो सिलसिला तीव्र गतिमा बढ्दै छ । कास्मिर प्रकरण हुँदै नागरिकता प्रकरणबाट विभेदीकरणको अझ उग्र रूप देखिँदै छ । अमेरिकामा कालाप्रति, भारतमा मुस्लिमप्रति अत्यधिक घृणा र दमन छ । त्यस्तै हामीकहाँ पनि दलितप्रति यो घृणाभाव उग्रै छ । पाल्तु कुकुर कोठाचोटा सबैतिर पस्छ । तर, दलितलाई प्रवेश निषेध छ, अधिकतर कथित उपल्ला जातिको घरभित्र । पशुभन्दा पनि तल्लो नियति छ दलितको । जसरी मारिए पनि नवराजहरूको हत्या भएकै हो । जातीय विषयलाई राजनीतिक संरक्षण दिन खोज्दा पीडित पक्षले न्याय नपाउने खतरा देखिन्छ । 


मधुर स्वर त निस्केको छ विरोधमा, तर आम रूपमा नेपाली समाज उद्वेलित छैन यस घटनाबाट । गैँडाको छाला भिरेका असंवेदनशील नागरिक छौँ अधिकांश हामी । चोकचोकको, घरघरको बहस र विमर्श बनेकै छैन यो घटना । अधिकांशलाई दूर देशको फगत एउटा समाचार लाग्दैछ मान्छेको निर्मम र असामान्य हत्या । गाजामा प्यालेस्टिन युवक मारिँदा वा रोहिंग्या शरणार्थीको कत्लेआम हत्या हुँदा वा कास्मिरमाथिको विशेष अधिकार हटाइदा वा अमेरिकामा काला मान्छे मारिँदा त हामीले विश्व मानवको परिचय दियौँ- धर्ना, जुलुस, विरोध र्‍याली, ज्ञापनपत्र, बहस, लेखन यावत् माध्यमबाट । आफ्नै आँगनको विभेदको यो कुरूप प्रहसनविरुद्ध जाइलाग्न भने हामीलाई जाँगर चलेको देखिन्न । अरुन्धती रोयले हालैको एक अन्तर्वार्तामा भनेकी छिन्, ‘काला मान्छेप्रतिको भारतीय रंगभेद गोराहरूको रंगभेदभन्दा अझ कुरूप छ ।’ 


जबसम्म घटनाबाट हामी आहत र अशान्त हुँदैनौँ, केवल औपचारिकतामा सीमित रहन्छन् बहस, विमर्श र विरोध सबै । अनि कसरी विद्रोहको राँको जल्छ ? अनि हाम्रो सोच र सामाजिक व्यवहार बदलिन्छ कसरी ? ब्ल्याक लाइभ्ज म्याटरको विश्वव्यापी आन्दोलनमा समर्थन जनाइरहँदा परम्पराको नाममा जातिय यथास्थितिको निरन्तरता चाहने र जातीय उच्चतामा मखलेल रहने हाम्रै समाजका निर्णायकहरूलाई खबरदारी गर्नु जरुरी छ । व्यवहारतः नै म छुवाछुत गर्दिनँ र गर्न दिन्नँ भन्ने बहस र अभ्यास घरबाटै थालौँ । सचेत भनाउँदा हामी सबैसामु गम्भीर प्रश्न तेर्सिएको छ यतिखेर–कहिले जाग्छौँ हामी ? के हुँदा भतभती पोल्छ हामीलाई ?