• वि.सं २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
भोला पासवान
२०७७ असार ६ शनिबार ०९:२४:००
रिपाेर्ट

(अ)नागरिक मलर सदा मरे कि मारिए ?

२०७७ असार ६ शनिबार ०९:२४:००
भोला पासवान

मलरलाई दुई बुहारीले बोकेर घर ल्याएका थिए

 

६ महिनाअघि नै मलर सदाले नागरिकताको प्रमाणपत्र बनाउन भर्नुपर्ने फारम किनेर ल्याएका थिए । आफूसहित तीन छोरा र श्रीमतीका लागि फारम ल्याएर उनी नेपाली नागरिक बन्ने तरखरमा थिए । तर नागरिक बन्न नपाउँदै उनी सदाका लागि संसारबाट बिदा भए । मलरका परिवारले नागरिकताको फारम अझै घामपानीबाट जोगाएर राखेका छन् । 


गत फागुन दोस्रो साता मलरका कान्छा छोरा साजनले गुजरात रवाना हुनुअघि ठेकेदारबाट पाएको २ हजार पेस्की बुबाको हातमा थमाएर गएका थिए । घर बनाएपछि साजनको बिहे गर्ने मलरको सपना थियो । घर बनाउन उनले बाँस पनि ल्याएका थिए । मलरको सबै सपना अधुरै रह्यो । 

बस्तीको कथा 


सप्तरीमा राजविराजपछि दोस्रो ठूलो बजार क्षेत्र भएको नगर हो, कञ्चनरुप नगरपालिका । साविक ११ गाविस मिलाएर निर्माण भएको हो यो नगर । यो वडा राजविराजबाट ३२ किमि टाढा कोसीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएको छ । वडामा ७० प्रतिशतभन्दा बढी दलितको बसोवास छ । 


अग्निसाइर कृष्णा सवरण गाउँपालिका–४ बेल्हामा मलरका हजुरबुबा झरी र जानकी दुई दाजुभाइ थिए । दुई दाजुभाइका ८ छोरा । बसोवास गर्न समस्या भएपछि मलरका दाजु कलर सदा रामपुर पथरीमा विवाह भएपछि ससुरालीमै बसे । मलर दाजुको ससुरालीमा आइरहन्थे । दाजु कलरका ससुरा बौहरीले मलरलाई रामपुर पथरीमै बस्न भनेपछि एक छोरीसहित दाजुकै ससुराली रामपुर पथरीमै आएर बसे, डगर (बाटो) छेउको ऐलानी ५ धुर जग्गामा । 

 

अन्तिम संस्कार गर्ने वेला मृतकलाई नयाँ लुगा लगाइदिने चलन छ, तर जिउँदो हुँदा चार दिनदेखि एक गाँस नपाएका मलरले मृत्युपश्चात् कहाँबाट नयाँ लुगा लाउनु ! पुरानै धोतीमा चिता चढे ।

चार पुस्तादेखि मुसहर समुदाय रामपुरमा बस्दै आएका हुन् । तर, ३२ घरमध्ये चार घर मुसहरले वर्षौंदेखि बसेको जग्गा मालिकसँग किन्नुपरेको छ । २८ घर मुसहरमध्ये केहीको निजी, केही गाउँ ब्लक र केहीको ऐलानी जग्गामा घर छन् । सात परिवारले घरको दैलोमा काठको ढोका बनाएका छन्, बाँकी सबैले बाँसको फाटक र कपडाको अस्थायी आढमा रात बिताउँछन् । 


पहिले उनीहरू वीरपुरका गजेन्द्र नारायण सिंहको मौजामा बसिरहेका थिए । दुई जमिदारबीचको पट्टा–पार्टीले चन्द्रविक्रम राणाले मुसहर समुदायलाई आफ्नै मौजामा लगेर बस्ती बसाए । त्यतिखेर सबलाई एक–एक कट्ठा जग्गा दिइएको थियो । तर, राणा परिवारले पूर्वसहमतिविपरीत मुसहरलाई थाहै नदिई जग्गा अर्कैलाई बेचिदिए । यो रामपुर पथरी टोलका मुसहरबस्तीको पीडा मात्रै होइन, मधेसका अधिकांश बस्ती जो पहाडी र मधेसी जमिनदारले कामका लागि मुसहरलगायत दलित बस्ती बसाएका थिए । 


नेपाल राष्ट्रिय मुसहर उत्थान संघका महासचिव रामस्वरूप सदाका अनुसार तराई मधेसका सयौँ मुसहर बस्तीको अवस्था रामपुर पथरीभन्दा फरक छैन । त्यसो त संविधानमा एकपटक दलितलाई भूमि उपलब्ध गराउने र घर बनाइदिने सुनेको पनि ५ वर्ष बित्न लाग्यो । तर, अहिलेसम्म लागू हुन सकेको छैन । 

 

गरिबीको चरम अवस्था


कञ्चनरुप नगरपालिकाको २०७५ को तथ्यांकअनुसार नगरमा कुल ११ हजार ४६ घरपरिवार छन् । तीमध्ये ३४ दशमलव ५ प्रतिशत परिवार गरिब छन् । नगरपालिकामा ३२ प्रतिशत दलित छन् । दलितभित्र पनि ४५ वटा बस्ती मुसहर समुदायका छन् । नगरमा कामको अभावमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै छ । 


कञ्चनरुप नगरपालिकाबाट ०७५ मा दुई हजार पाँच सय सातजना वैदेशिक रोजगारीमा गएको देखिन्छ । वैदेशिक रोजगारीका लागि सबैभन्दा आकर्षक गन्तव्य खाडी मुलुक र दोस्रोमा भारत पर्छन् । अझ मुसहर समुदाय भारतीय बजारमा सस्तोमा श्रम बेच्न बाध्य छन् । विदेश जान पैसा छैन । गाउँमा सधैँ काम पाइँदैन । अहिले मलर सदाका तीन छोरासहित १९ जना भारतको गुजरातमा फसेका छन् । उनीहरूलाई भारतीय ठेकेदारले २५ दिनका लागि काममा लगेका थिए । तर, काम सक्नुअघि नै लकडाउन भएपछि उनीहरू उतै फसेका हुन् । 


नेपालको कुल जनसंख्याको १३ दशमलव ८ प्रतिशत अर्थात् ४० लाख ९९ हजार दलित छन् । दलितमध्ये पहाडमा ९.१५ अर्थात् २७ लाख ३१ हजार र तराईमा ४.७५ अर्थात् १३ लाख ९६ हजार छन् । तराईका दलितमध्ये ३७ प्रतिशतसँग अर्थात् पाँच लाख १६ हजारसँग खेती गर्ने जमिन छैन । तीमध्ये पनि दुई लाख ३४ हजार मुसहरमध्ये ७९ प्रतिशत अर्थात् एक लाख ८५ हजारसँग घर बनाउने भूमिसमेत छैन ।


मधेसका ४६ प्रतिशत दलित, ४१ प्रतिशत मुस्लिम र ३३ प्रतिशत आदिवासी जनजाति गरिबीको रेखामुनि छन् । राष्ट्रिय योजना आयोगले ०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१ दशमलव २२ प्रतिशत र प्रदेश २ मा ४७ दशमलव ८९ प्रतिशत जनता गरिब छन् । त्यही गरिबमध्येका एक थिए मलर सदा ।

 

नाराले बचाउन सकेन मलरलाई

 

बन्दाबन्दीमा परेका मलर सदा चार दिनदेखि भोकै थिए । सोमबार एकाबिहानै उनी कोदालो र छाता बोकेर कामको खोजीमा निस्के । खाने अन्न नलिई नफर्किन्ने वाचा गरेर घरबाट हिँडेका मलर बाटोमा अचेत भएको गाउँलेले खबर गरे । सुरुमा पत्नी जलेश्वरी र ११ वर्षीय नातिले साइकलमा बोकेर ल्याउन प्रयास गरे । सम्भव भएन । पछि दुई बुहारीले पिठ्युँमा आलोपालो बोकेर घर ल्याए । 


खानाको जोहोमा हिँडेका मलरलाई उपचार गर्न लैजान परिवारसँग पैसा थिएन । छिमेकी फनिलाल सदाले थोरै अन्न ल्याइदिए । फनिलालले भने, ‘मैले ल्याइदिएको थोरै चामलको खिचडी बनाउन लगाएँ, तर मलर बेहोस थिए । एक चम्चा पनि खाएन ।’ मलर पत्नी जलेश्वरी, बुहारी मन्जु र रेणुसँग रुँदै, मूर्छित हुँदै मलर सदाको मृत्यु पर्खनुभन्दा अरू विकल्प रहेन । भोलिपल्ट बिहान मलरले ५० वर्षको अल्पायुमै सदाका लागि जीवन बिसाए । ओली प्रधानमन्त्री भएपछि उद्घोष गरेका थिए, ‘अब यो देशमा भोक र जाडोले कोही मर्नेछैन ।’

अझ संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले, ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने प्रतिबद्धता जनाएको हप्ता दिन पनि पुगेको थिएन । त्यहीवेला मलरले सदाका लागि जीवन बिसाए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि ओली र भण्डारीजस्तै चैत महिनाको दोस्रो साता प्रदेश २ का कुनै पनि जनता भोकै नपर्ने उद्घोष गरेका थिए । तर, ती सबै उद्घोष फगत एक थान आश्वासनमै सीमित भए ।

 

प्रधानमन्त्रीले उद्घोष गरेका थिए, ‘अब यो देशमा भोक र जाडोले कोही मर्नेछैन ।’ संघीय संसद्मा राष्ट्रपतिले भनेकी थिइन्, ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।’ सरकारी प्रतिबद्धता आएको हप्ता दिन पनि नबित्दै मलर सदाले सदाका लागि जीवन बिसाए ।

मलरको मृत्युपश्चात् अब दाहसंस्कार कसरी गर्ने ? परिवारलगायत गाउँलेलाई चिन्ता सुरु भयो । गाउँमा सबैको हालत उस्तै थियो । तैपनि गाउँलेले घरबाट एक–एक थान लकडी जम्मा गरे । कात्रोका लागि चन्दा संकलन गरे । १५ सय रुपैयाँ उठ्यो । त्यतिले कफन र क्रिया बस्ने श्रीमती र आगो दिने नातिलाई सेतो कपडा किन्न पनि नपुग्ने भयो । गाउँलेहरूले एउटै बाँसमा फर्की बनाएर लैजाने र पुरानै धोती लगाएर दाहसंस्कार गर्ने निर्णय गरे ।

 

अन्तिम संस्कार गर्ने वेला मृतकलाई नयाँ लुगा लगाइदिने चलन छ, तर जिउँदो हुँदा चार दिनदेखि एक गाँस नपाएका मलरले मृत्युपश्चात् कहाँबाट नयाँ लुगा लाउनु ! पुरानै धोतीमा चिता चढे । गाउँलेले एउटै बाँसमा मलरलाई घाट लैजाँदा मुसहर जातकै खिसी उड्ने भयले गाउँबाट दुई बाँस मागेर दुईवटा बाँसको ‘फर्की’ बनाए ।


नगरपालिकाको सडकमा कुकुर म-यो भने तीन सय रुपैयाँ दिएर उठाउन लगाइन्छ । मलर एक मान्छे थिए । तर, उनी मर्दा कुनै वास्ता गरिएन । अनागरिक मलर परिवारले कुनै सहयोग पाएन । मलरको मृत्यु भएको दोस्रो दिनपछि मात्रै कञ्चनरुप नगरपालिका नगरप्रमुख वसन्तकुमार मिश्र स्वास्थ्य शाखाका दुईजनालाई साथमा लिएर पजेरो चढेर मलर सदाको घर पुगे । मेयरले राहत लिएर आए कि भनेर गाउँले हौसिए । तर, गाडीबाट ओर्लिनासाथ मेयर मिश्रले उल्टै केरकार सुरु गरे । ‘मलर पहिले कति रक्सी खान्थे ? उनलाई केके बिरामी थियो ?’ आदिइत्यादि । कर्ता बसेकी जलेश्वरीले भनिन्, ‘पैसा नभएर कर्ता बसेका नाति र मैले दुई रंगको कपडा लगाएको देख्नुभएन मेयर साबले ?’ 


त्यसपछि नगरपालिकाबाट सूचना निकालियो ‘मलर रक्सी र दमका कारण मरे ।’ अझ नगरपालिकाले दाबी नै ग¥यो– जलेश्वरी देवीले राहत स्वरुप चामल र नगद एक सय २० रुपैयाँ बुझिन् । जलेश्वरीले भनिन्, ‘हो मैले १५ केजी चामल बुझेको हो । तर, मेरो दुई छोरा छुट्टै बसेका छन् । मेरो घरमा जम्मा एक पोका चामल आयो । त्यो चामललाई तीन भाग लगाएँ । तीन भाग लगाउँदा ५ केजी चामलले कति दिन खान पुग्छ ?’ मुसहर बस्तीमा मूल घर २४ भए पनि छोराहरू छुट्टिएर अहिले ३२ घर भएका छन् । तर, वडा कार्यालयले १२ घरलाई मात्रै राहत दिएको छ । 

 

जनप्रतिनिधिको बेवास्ता 


राष्ट्र र त्यस देशका बासिन्दाबीचको राजनीतिक सम्बन्धलाई नागरिकताले परिभाषित गर्दछ । राज्यको राजनीतिक जनसंख्या नागरिक हो, राज्य र नागरिकबीचको सम्बन्ध सेतु नागरिकता हो । तसर्थ नागरिकताले राष्ट्र र सो राष्ट्रमा बस्ने व्यक्तिहरूबीचको राजनीतिक सम्बन्धलाई बुझाउँछ । तर, मलर सदा र उनको परिवारसँग नागरिकता छैन । मलर परिवार मात्र होइन, ३२ घर परिवारमध्ये २७ जनासँग नागरिकता छैन । नागरिकता बनाउँदा लाग्ने खर्च र झन्झटिलो प्रक्रिया त छँदै छ, काम छोडेर हप्ता दिन कुद्न समय पनि उनीहरूसँग छैन । जसले गर्दा उनीहरू अनागरिकको जीवन जिउन बाध्य छन् ।


मलर र जलेश्वरीका तीन छोरा र दुई बुहारी छन् । तर, कसैको नागरिकता छैन । मुसहर बस्तीका लागि यो कुनै नौलो कुरा होइन । मलर सदा धेरै पहिले अर्को ठाउँबाट बसाइँ सरेर आएका कारण नागरिकता बनाउन चासो दिएनन् । मलरलगायत मुसहरका लागि नागरिकताले धेरै ठूलो महत्व पनि राख्दैन ।

 

नेताहरू पनि भोट माग्ने समयबाहेक अन्यवेला मुसहर बस्ती पुग्दैनन् । उनीहरूको समस्या सहजीकरण गर्न मद्दत गर्दैनन् । नागरिकता नभएकाले गएको चुनावमा मलर सदाले भोट खसाएनन् । भोट खसाएका मुसहर समुदायलाई चुनावपछि गन्दैनन् जनप्रतिनिधि । मलर त (अ)नागरिक नै भए । अनागरिकको भोकसँग जनप्रतिनिधिलाई के चासो ! 


मलर सदा मरेका होइनन्, ती मारिए । आखिर तिनलाई मा-यो कसले ? यो देशमा लाखौँलाख गरिब छन् । कडाउनकालमा न तिनका छाप्रामा सञ्चित अन्न छ, न तिनका खल्तीमा चुनदामको जुगाड छ । दिनभरि पसिना नबगाई तिनको चुलो बल्दैन । तिनका जीवनको कठोर सत्य यही हो । 


पछिल्लो समय नेपालमा राष्ट्रवादको विषय फेरि एकपल्ट चर्चामा छ । देशको सीमा मिचिँदा आमनागरिकको भावनामा ठेस पुग्नु र मानिस आवेगमा आउनु स्वाभाविक हो । भोकका कारण जीवन त्यागेका मलर सदा र भोकमरीबाट गुज्रिरहेका दुई लाख ५२ हजार परिवारको चिन्ता प्रदेश र स्थानीय सरकारलाई अझै छैन ।