• वि.सं २०७७ असार २४ बुधबार
  • Wednesday, 08 July, 2020
डा. माधव प्रसाद पोखरेल
२०७७ असार १३ शनिबार ०९:३७:००
इतिहास

नेपालमा आर्य गणको इतिहास

२०७७ असार १३ शनिबार ०९:३७:००
डा. माधव प्रसाद पोखरेल

 

नेपालमा मोटामोटी रूपमा आर्यहरू दुई किसिमका देखिन्छन्, लेकाली (प्राग्वैदिक) आर्य र मैदानी (वैदिक) आर्य । आजको नेपालमा आर्य जातिको भौगोलिक वितरण हेर्नु हो भने, मोटामोटी रूपमा पहिलो थरीलाई ‘पहाडे’ आर्य र दोस्रा थरीलाई ‘मदेसे’ आर्य भन्न सकिएला । वैदिक धर्म पालन गर्ने मान्यताका आधारमा छुट्याउनु हो भने, मोटामोटी रूपमा पहिला थरीलाई ‘प्राग्वैदिक’ (वा ‘अवैदिक’) र दोस्रा थरीलाई ‘वैदिक’ आर्य भनेर छुट्याउन सकिन्छ । पहाडे आर्यलाई केही जातिले ‘खस’ भन्दछन् भने, ‘मदेसे’ आर्य खस जातिमा पर्दैनन् । 


भारोपेली मूल थला (मध्य भोल्गा बेँसीको सिन्तास्ता) बाट सबभन्दा पहिले छुट्टिने हत्तीहरू हुन् भने, दोस्रो हाँगो तुषारहरूको हो (कुज्मिना, २००७ इ, ‘हिस्ट्री अफ इन्डो इरानियन्स)। घोडा र पाङ्ग्राको वेगले गर्दा तुषारहरू इपू. २५०० तिर कैलास पर्वतको उत्तर तिर ‘शैलोदा’ (खोतान) र ‘सीता’ (तरिम) नदी बेँसीको ताक्लामकान अथवा ‘तित्तिर’ (विजयेन्द्र कुमार माथुर, १९६९ इ, ‘ऐतिहासिक स्थानावली’) देशमा आई पुगे अनि इपू. १००० तिरै चीनको ह्वाङह नदी पूर्व तिरको समुद्री किनारमा पुगे (डी कस्मो, २००२ इ, ‘एनेमिज अफ एन्सिएन्ट चाइना’) ।

 

मध्य एसियामा क्रमशः खडेरी पर्न थाले पछि अनि चिनियाँ र मङ्गोलहरूको शक्ति विस्तार भए पछि लखेटिँदै तुषार र शकहरू केही खुनलुन पहाडका खोलै खोला उक्लिँदै काश्मीर र ताक्लाकोट (मानसरोवर) आई पुगे भने केही चाहिँ पामिर, हिन्दुकुश र हिमालयका हिमाच्छादित लेकलाई बायाँ फेरो मार्दै ताजिकिस्तान, अफगानिस्तान, पाकिस्तान हुँदै भारत, नेपाल सम्म आई पुग्दा तिनीहरू मध्ये केही चाहिँ खोलै खोला हिमाच्छादित लेकमा उक्लँदै गए । तुषारहरूलाई इतिहास र पुराणमा ‘तक्षक’, ‘नाग’, ‘कुषाण’, ‘तोखार’, ‘तुरुष्क’, ‘ऋषिक’, ‘तित्तिर’ र ‘तातार’ आदि अनेक नाउँ दिइएको छ । त्यसरी लेक लेकै नेपाल आउने तुषारहरू भारोपेली भए पनि आर्य होइनन् (अनार्य नै हुन्), किन भने आर्यहरू त मूल थलाबाट छुट्टिएकै तुषार भन्दा पाँचसात सय वर्ष पछाडि मात्र हो । 


खोतानमा भेटिएको तोखारी भाषाका नमुनालाई शक भाषा (बेइली, १९७९ इ, ‘डिक्सनरी अफ खोतान शक’) पनि भनिएको छ । शकहरू इपू. सातौँ शताब्दीमा मात्र युरोसियामा फैलिए भन्ने पुरानो ऐतिहासिक मान्यतालाई पुरातात्विक प्रमाणले काट्तै कार्पेलन र पार्पोला (२०१७ इ, ‘...इमर्जेन्स, कन्ट्याक्ट एन्ड डिस्पर्सल अफ प्रोटो इन्डोयुरोपियन... आर्कियोलोजिकल पर्स्पेक्टिभ’) ले उनीहरू इपू. १००० तिरै फैलेको र गौतम बुद्ध पनि शक (शाक्य) भएको कुरो स्थापित गरेका छन् । युरेसियामा मात्र होइन, भारतवर्षमा पनि उनीहरूका अनेक नाम थिए । राजस्थानका गुर्जर, पंजाबका जाट, कुमाउँका कत्युरी र कपिलवस्तुका शाक्य सबै शक हुन् (टड १८९५ इ) । प्रागितिहास र इतिहासका अनेक चरणमा ती शकहरू पनि नेपाल पसे । हिमाच्छादित लेकमा चढ्ने ती सबै अनार्य र आर्यहरू मिलेर खस जाति बनेको हो ।

 

वैदिक कालमा दक्षिण कोसलका राजा ‘नीप’ विस्थापित भएर नेपाल पसेपछि ‘नीप’ र उनका बाबु ‘पार’ को नाउँ जोडिएर ‘नेपाल’ देशको नाउँ बनेको हो ।

 

सिन्तास्ताबाट इपू. २००० तिर पूर्व लाग्ने भारोपेलीहरूको दोस्रो बगाल चाहिँ मानव शास्त्रमा ‘आर्य’ भनेर चिनिन्छ । युरेसियाका विस्तृत घाँसका फाँटमा आफ्ना वस्तु (घोडा, गाई र भेडा) लघार्दै र रथ हाँक्तै युराल पहाड पूर्व कजाखस्तानमा निकै समय तितरबितर भएको आर्य गणको पश्चिम तिरको हाँगो चाहिँ आजको ‘इरानी’ भयो भने, पूर्व तिरको हाँगो चाहिँ ‘वैदिक’ आर्यमा विकसित भयो । क्रमशः पश्चिमी आर्य पश्चिम तिरै फैलियो भने पुर्बेली आर्य पूर्व तिरै फैलियो (कुज्मिना)। पर्यावरणीय सङ्कटले गर्दा त्यो जाति दक्षिण मध्य एसिया आई पुग्यो ।

 

‘ऋग्वेद’ को संस्कृतिसँग बढ्ता मिल्ने चाहिँ पश्चिमी हाँगो त्यहीँबाट इरानको ईशान कोणबाट छि-यो भने, ‘वैदिक’ आर्य चाहिँ त्यहीँबाट अफगानिस्तान, पाकिस्तान र भारत तिर लाग्यो । वस्तु लघार्दै असङ्ख्य झुत्तामा चौतर्फ छरिएर एक अर्कालाई नै नचिन्ने अवस्थामा पुगेका आर्यहरूका जम्मै बगाल तुर्कमेनिस्तान आई पुगेनन् । कश्यप सागर र कालो सागर जोड्ने ककेसस पहाडको उत्तरदक्खिन ओस्सेटिया, जर्जिया, आर्मेनिया र अजरबाइजान तिर छरिएका इरानी (पारसी, पार्थ) हरू मध्ये एउटा बगालले नै पश्चिम इरानमा ‘अखामेनी’ साम्राज्य बनायो । सम्राट् कनिष्क त्यतै तिरका आर्य हुन् । 


‘ऋग्वेद’ को रचना आर्यहरू तुर्कमेनिस्तान र अफगानिस्तान हुँदै सुरु भएको कुरो पुरातत्व (भिक्टर मायर, १९९८ इ, ‘आर्कियोलोजी अफ सिन्च्याङ’) ले देखाएको छ, तर ऋग्वेदमा अफगानिस्तानको कुभा नदीदेखि भारतको गङ्गा नदी सम्मको मात्र उल्लेख भएकाले ऋग्वेद काल (इपू. १२००) मा आर्यहरू गङ्गा नदी पूर्व आई पुगेका थिएनन् भन्ने मान्यता प्रसिद्ध भएको छ, तर टड (१८९५ इ, ‘एनल्स एड एन्टिक्विटिज अफ राजस्थान’) , पार्जिटर (१९२२ इ, ‘एन्सिएन्ट इन्डियन हिस्टोरिकल ट्रडिसन’), सीतानाथ प्रधान (१९२७ इ, ‘क्रोनोलोजी अफ एन्सिएन्ट इन्डिया’) र सुमन शर्मा (१९६६ इ, ‘प्राचीन भारतीय आर्य राज वंश’) ले गरेको ‘महाभारत’, ‘रामायण’ र पुराणहरूमा पाइने राजाहरूको वंशावलीको तुलनात्मक अनुसन्धानबाट त्यो मान्यतालाई खल्बल्याई दिएको छ र ऋग्वेद कालमै वैदिक आर्यहरू कोसी किनार सम्म आई सकेको प्रमाणित भएको छ ।

 

टडले ‘भागवत’ र ‘अग्नि’ पुराणका आधारमा विश्लेषण गरेका छन् भने, पार्जिटरले चाहिँ ‘रामायण’ र ‘महाभारत’ लगायत ‘वायु’, ‘विष्णु’, ‘मत्स्य’, ‘ब्रह्माण्ड’, ‘मार्कण्डेय’ र ‘भविष्य’ पुराणका आधारमा निष्कर्ष निकालेका छन् अनि ऋग्वेदबाटै त्यसको पुष्टि गरेका छन् । उनीहरूको निष्कर्ष के छ भने, ऋग्वेदमा वर्णन गरिएको ‘भारत युद्ध’ अथवा ‘दाशराजयुद्ध’ (दश ओटा राजाहरूको लडाइँ) उत्तर भारतकै दश ओटा राज्यहरू (चन्द्रवंशीमा गुजरात, राजस्थान र मथुराका यादव, मध्य प्रदेशका हैहय, अफगानिस्तान र पश्चिम एसियाका द्रुह्यु, वङ्ग, कलिङ्ग, पुण्ड्र र ओड्रका तुर्वस, अङ्ग (पूर्वी बिहारका) का आनव, पाञ्चाल, हस्तिनापुर, कान्यकुब्ज र काशीका पौरव अनि सूर्यवंशीमा कोशल, विदेह र वैशाली) भिडेको युद्ध अर्थात्, महाभारत युद्ध नै हो । ऋग्वेद भित्र ती ठाउँ, र त्यहाँका पात्र र घटनाहरूको उल्लेख मात्र छ भने पुराणहरूमा ती घटनाहरू सिङ्गै कथाहरूका रूपमा आएका छन् । 


नेपाल तराईका आर्यहरू गङ्गा र यमुना नदी बेँसीमा बसेका आर्यहरूलाई महाद्वीपको आग्नेय कोणबाट ग्वार्गार्ती ओर्लिने शकहरूका अनेक बगाल (कुषाण, पार्थ, हूण, हेफ्ताल, तातार, मग, आदि) र पछि मुसलमानहरूले गतिलो ठाउँबाट लघारै पिच्छे पहाड, खुँज र अघचिलो ठाउँ खोज्दै विस्थापित भएर आई पुगेका हुन् । गङ्गा नदीको बेँसीका यस्तै विस्थापितहरू पहाडी र हिमाली प्रदेश हुँदै तिब्बत पनि पुगेका छन् । यसरी भारोपेली अनार्य नाग (तक्षक) र अनेक चरणमा लेक उक्लिने अनार्य र आर्यसँग मिसिएर बनेको पहाडे खस जातिसँग प्रागितिहास र इतिहासको अनेक चरणमा गङ्गा बेँसीबाट नेपाल पस्ने वैदिक र अवैदिक आर्यहरूका अनगिन्ती भेलहरू मिलेर नेपाली आर्यहरूको इतिहास बनेको छ ।


जाति मिश्रण स्वाभाविक र अनिवार्य ऐतिहासिक प्रक्रिया हो । तिब्बती राजवंश लिच्छविहरूको सन्तान हो (रोरिख, १९४९ इ, ‘द ब्लु एनल्स’, ३७)। लिच्छविहरूको गणराज्य त उत्तरी बिहारको वैशाली हो । नेपालका लिच्छविहरू पनि वैशालीबाट विस्थापित भएरै आएका हुन् । गण्डकीदेखि कोसी सम्म विदेह (मिथिला) र गण्डकी पश्चिम कोसल थिए । आर्यहरूले धेरै पछि मात्र कोसी तरे ।

 

वैदिक कालमा दक्षिण कोसलका राजा ‘नीप’ विस्थापित भएर नेपाल पसे पछि ‘नीप’ र उनका बाबु ‘पार’ को नाउँ जोडिएर ‘नेपाल’ देशको नाउँ बनेको हो भन्ने ज्ञानमणि नेपाल (प्रकाशोन्मुख, ‘गोपालन नीप गणतन्त्र संक्षिप्त प्राचीन इतिहास’) को निष्कर्ष छ । गङ्गादेखि कर्णाली सम्म पाञ्चाल राज्य थियो । उत्तर पाञ्चाल त खसान नै हो । ऋग्वेदका राजा दिवोदास र सुदास पाञ्चालकै राजा थिए । दिवोदासका भिनाजु गौतम ऋषिको आर्य संस्कृति फैलाउन अग्रिम भूमिका छ । नेपालको इतिहासमा यसरी आर्यहरू प्राग्वैदिक, वैदिक, उत्तरवैदिक, पौराणिक र ऐतिहासिक अनेक चरणमा पत्रै पत्र जमेका देखिन्छन् ।

 

अनेक चरणमा लेक उक्लिने अनार्य र आर्यसँग मिसिएर बनेको पहाडे खस जातिसँग प्रागितिहास र इतिहासको अनेक चरणमा गङ्गा बेँसीबाट नेपाल पस्ने वैदिक र अवैदिक आर्यहरूका अनगिन्ती भेलहरू मिलेर नेपाली आर्यहरूको इतिहास बनेको छ ।

 

पुराणका कुरा पनि आफूलाई वैज्ञानिक र वस्तुगत इतिहासमा विश्वास गर्नेहरू त्यहाँका काल्पनिक र आलङ्कारिक घटनालाई वाच्यार्थ ठानेर पत्याउँदैनन् । पार्जिटर (१५) ले पुराणहरू र महाभारतको वस्तुगत व्याख्या गर्दै के भनेका छन् भने, पुराणका कथाहरू आधारभूत रूपमा गाइनेहरूले परम्परामा सारेका सत्य घटना हुन् । परिभाषा अनुसार पुराण भित्र वंशावली अवश्य हुन्छ अनि परम्परागत रूपमै राजाहरूको वंशावली सविस्तार गाउने विशेष पेसा ‘सूत’ हरूको हुन्थ्यो । सूतहरू राजाकै बाहुनी आमाका सन्तान हुन्थे ।

 

पुराण भित्र राजा, देउता र ऋषिहरूका वंशावली पाइन्छन्, तर ऋषिहरूको वंशावली अधुरो पनि हुन्छ र त्यति भर पर्दो पनि हुँदैन, किन भने गुरुहरूको वंशावलीमा चाहिँ ‘गुरुशिष्य’ को ‘गुरुवंश’ हुन्छ, त्यसैले त्यसबाट पुस्ताको गणितीय अड्कल हुन सक्तैन, तर राजाहरूको वंशावलीमा चाहिँ प्राय बाबुछोराको वंश हुन्छ, त्यसैले काल निर्णयमा त्यो पत्यारिलो हुन्छ । लेखिए पछि गाइने र हुड्के (सूत) हरूका हातबाट इतिहास जजमानी गर्ने बाहुनका हातमा पुग्यो अनि मात्र पुराणमा हावादारी कुराहरूको मसला लक्ष्यानुरूप भरियो ।


पार्जिटर (१४५–१४८) ले उल्लिखित पुराणहरूका राजवंशावली भिडाएर ९५ पुस्ताको तुलनात्मक तालिका बनाएका छन् र पुस्ताको २० वर्षका दरले झन्डै २००० वर्ष अथवा २५ वर्षका दरले झन्डै २५०० वर्षको वैज्ञानिक हिसाब निकालेका छन् । यसैमा सीतानाथ प्रधान (अध्याय १५) ले महाभारत युद्ध काल इपू. ११५० निकालेका छन् । यस हिसाबले नेपाल तराईमा ‘विदेह’ (मिथिला) सम्म वैदिक आर्यहरू कम्तीमा महाभारत युद्ध भन्दा अगाडि नै आई सकेको देखिन्छ । 


माथिका विश्लेषणका आधारमा नेपालको खस जाति ताक्लामकानबाट नेपाल सम्म आई पुग्न बाटामा पर्ने खोलै खोला उक्लँदै अघि बढ्दै गरेको देखिन्छ । ताजिक नाम नै ‘तक्षक’ नामबाट बनेको हो । पाकिस्तानको तक्षशिलाले पनि त्यही नाम सम्झाउँछ । काश्मीरको इतिहास (स्टेइन, १९०० इ, ‘...राजतरङ्गिणी’) मा पनि ‘तुरुष्क’, ‘तुखार’, ‘खस’, ‘दरद’ को चर्चासँगै ‘महापद्म नाग’ को पनि नाउँ आउँछ ।

 

सातौँ शताब्दीमा कालीगण्डकी सम्म दिग्विजय गर्दै आएर नेपालका राजा ‘अरमुडि’ सित हार्ने राजा जयापीड पनि ‘कर्कोटक नाग’ कै वंशज थिए । वैदिक आर्य आर्यहरूका असङ्ख्य बगाल मध्ये एउटा मात्र हो । त्यो भन्दा अगाडि पनि अवैदिक आर्यका केही बगाल अघि लागेका थिए र त्यस पछि पनि निरन्तर रूपमा ओइरी रहे । परस्पर हानथाप गर्ने तिनै आर्यहरूले वैरीहरूलाई प्रयोग गर्ने शब्द (असुर, राक्षस, पिशाच, दैत्य, दानव, शूद्र, दस्यु, व्रात्य) आफ्नै गोतीमा पनि प्रयोग गरेको पाइन्छ । काश्मीर, हिमाचल, उत्तराखण्ड र नेपालमा वैदिक आर्यले खसालेका धेरै आर्य फैलेका छन् । 


वैदिक, उत्तरवैदिक, पौराणिक र ऐतिहासिक कालमा पनि आर्यहरूका अनेक बगाल दक्षिण तिरबाट नेपाल पसेको देखिन्छ । वैदिक कालमा उत्तर पाञ्चाल कर्णाली सम्मै थियो, कोसल गण्डकी सम्म थियो, अनि विदेह वा मिथिला कोसी सम्म थियो । सीरध्वज जनककी छोरी सीतासँग कोसलका रामचन्द्रसँग बिहे भएको थियो । उनकै सभापण्डित याज्ञवल्क्य वाजसनेयले ‘शुक्लयजुर्वेद’ बनाएका थिए अनि ‘शतपथब्राह्मण’ र ‘बृहदारण्यक उपनिषद्’ त्यहीँ रचिएको थियो । कोसी किनारमा कौशिक ऋषिको आश्रम थियो ।

 

महाभारतका कर्णले दिग्विजय यात्रामा कोसी पश्चिमका पहाडी भाग (माझकिराँत) जितेका थिए । दक्षिण कोसलका राजा ‘नीप’ र उनका बाबु ‘पार’ को नाम जोडिएर नेपालको नाम बन्यो । हैहयवंशी यादवहरूले मिथिला सम्मै दिग्विजय गरे । नेपालको इतिहासमा आउने ‘गोपाल’ वंश उनीहरूकै दसी हो । थानकोट र चित्लाङका गोपाली तिनैका सन्तान हुन् । बुद्धको जन्म लुम्बिनीमा भयो । वैशालीका लिच्छविहरू विस्थापित भएर नेपालका मात्र होइन, तिब्बतका पनि राजा भए । महाराष्ट्रकी तुलजा भवानी काठमाडौँका नेवारहरूकी इष्टदेवी भइन् ।


भिको (१७२५ इ, ‘द न्यु साइन्स’) के भन्दछन् भने, मानव इतिहास तिन किसिमको पाइन्छ । पहिलो चरणमा देउता मात्र पाइन्छन्, दोस्रो चरणमा देउता र राक्षस पाइन्छन्, अनि तेस्रो चरणमा मात्र मान्छे पाइन्छन् । वास्तवमा सबै चरणका इतिहासले मान्छेकै कुरा गरेका हुन् । खालि हामीले देउता र राक्षसका कुरालाई मान्छेका कुरामा अनुवाद गर्न जान्नु पर्छ । भिकोको इतिहास सिद्धान्तका आधारमा हामीले आफ्ना लोक कथा, गाथा र मिथकहरूमा भएको इतिहासलाई वस्तुगत इतिहासमा बदल्न जान्नु पर्छ ।

 

संसारभरमा इतिहास लेख्नेहरूले आफ्ना मिथक, वंशावली र किंवदन्तिहरूको उपयोग गरेकै हुन्छन् । उत्तर आधुनिक इतिहास दर्शन (फुको, १९७० इ, ‘द अर्डर अफ डिस्कोर्स’) ले त के भन्दछ भने, प्राय मानिसहरू इतिहासलाई चाहिँ साँचो र कथालाई चाहिँ काल्पनिक र असत्य ठान्छन्, तर वास्तवमा संसारभरका इतिहासहरू त राजा महाराजाहरूले तलब दिएर आफुलाई माथि पार्न लेखाएका हुन्छन्, त्यसैले इतिहासमा पात्र चाहिँ साँचो, घटना र तथ्य चाहिँ काल्पनिक र अर्धसत्य हुन्छ भने, कथामा पात्र चाहिँ काल्पनिक कुरो चाहिँ वास्तविक हुन्छ ।

 
यसरी नेपालमा आर्य जाति र संस्कृति बिटुलिएर वा चोखै नङमासु भएर मिलेको छ । त्यो मन नपराएर विदेशी धर्म प्रचार गर्न केही आइएनजिओले फुटको बोट लगाउन जति पैसाको खोलो बगाए पनि नेपालबाट आर्य संस्कृति मटियामेट पार्न सक्तैन !