• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
उषा थपलिया
२०७७ असार १३ शनिबार ०८:२१:००
समाज

अब छाडिदिनुस् गोडाको जल पिउन

२०७७ असार १३ शनिबार ०८:२१:००
उषा थपलिया

 

पुरुष र पितृसत्ता एकै होइन । पुरुष भएर पनि कतिपय पुरुष पितृसत्तात्मक सोचभन्दा माथि रहन्छन् । त्यस्ता पुरुषहरू लैंगिक समानतालाई व्यवहारमै रूपान्तरण मात्र हैन, आफ्ना परिवेशका महिलालाई चेतना प्रवाह गर्दै पितृसत्तात्मक सोचका दुष्प्रभावबाट मुक्त गर्न प्रयासरत रहन्छन् । ‘पुरुषवादी व्यवस्था रहेसम्म प्रत्येक नारीले पाएको एक–एक यातनाको हिस्सा हरेक पुरुषले लिनैपर्छ’ भन्ने पुरुषहरू पनि यही समाजमा छन् जो पितृसत्तासँग टाढाको साइनोसम्म राख्दैनन् भने अर्कोतिर, पितृसत्तात्मक सोचलाई शिरोधार्य गरेर सोहीअनुसारको व्यवहार दिनहुँ अवलम्बन गर्ने महिलाहरूकै बाहुल्यता छ समाजमा ।


त्यसैले पुरुष हुँदैमा पितृसत्ता र महिला हुँदैमा मातृसत्ताको वकालत हुन्छ भन्ने छैन । तर, आममहिला यस अवस्थामा रहिरहनु शिक्षा र चेतनाको अभाव त हुँदै हो, साथै विश्लेषण गर्ने तत्परताको अभाव पनि उत्तिकै दोषी छ । शिक्षित र उच्च हैसियत भएका कतिपय महिलाहरूको व्यवहार पितृसत्तात्मक सोचअनुरूपकै रहिरहनु यसैको कारण हो । एउटै रथका दुई पांग्रा भनिने महिला–पुरुषको सामाजिक अवस्थिति आनका तान फरक छ । 


गर्भदेखि नै विभेद झेल्न बाध्य महिलाहरूको हैसियत विवाहपछि अतुलनीय ढंगबाट गिर्न पुग्दछ । पति परमेश्वर, पत्नी दासी । यो आलेख पत्नीले पतिको चरणोदक (चरणामृत) पानको सिलसिलासँग केन्द्रित छ । 


सानैदेखि हामीले एउटा दृश्य देख्दै हुर्कियौँ । आमा कचौरामा पानी लिएर हरेक बिहान बुबाको गोडाको दुवै बुढीऔँला पखाल्नुहुन्थ्यो अनि सोही ‘जल’ शिरमा सेचनसँगै सुरुप्प पारेपछि मात्र उहाँको बिहानी चियानास्ताको ढोका खुल्दथ्यो । विभिन्न कारणले मनमुटाव भएका वेला पनि त्यो उपक्रम नरोकिने यद्यपि दुवैमा एकअर्काप्रतिको आत्मीयता त्योवेला पटक्कै देखिन्नथ्यो । यसबाहेक जाडो महिनामा आमाले पानी लिएर नजिक पर्नासाथ बुबालाई रिस उठेको अनुहारबाटै झल्कन्थ्यो । चिसोको वेला गोडामा पानी पर्ने भयले अतिकष्टसाथ आमालाई गोडा धुन दिएको हामी थाहा पाउँथ्यौँ, तर आफैँलाई झन्झट लाग्दालाग्दै पनि गोडा धुनुपर्दैन भनेर बुबाले आमालाई कहिल्यै भन्नुभएन । त्यस्तै कतिपय वेला बुबा बिहानै घरबाट निस्कनुहुँदा गोडाको जल खान नपाएकै कारण आमाको पेटमा चारा पर्दैनथ्यो ।


यदि पतिपत्नीबीचका सबै व्यवहार निजी मामिला ठहर्ने थियो भने सतीप्रथा उन्मूलनको जरुरत थिएन, किनकी प्रथा हटिसकेपछि पनि पतिकै साथ स्वःस्फूर्त जल्न बिन्ती बिसाउने महिला धेरै थिए समाजमा ।

 

केही दिनका लागि बुबा काठमाडौं या घर बाहिर जानुहुँदा भने बुबाको गोडा धोएको जलमा आमा अरू धेरै पानी थपेर धुरीको झ्यालबाहिर राख्नुहुन्थ्यो र बुबा नआइन्जेल त्यही जलले काम चलाउनुहुन्थ्यो । दिदीहरूले बारम्बार आमालाई सम्झाउथे, ‘देखावटी कर्मभन्दा एकआपसको मायाममतालाई पो प्रगाढ बनाउनुपर्छ । अब छोड्दिनुस् बुबाको गोडाको जल खाने काम ।’ तर, धेरैपछिसम्म पनि आमाको त्यो विधि हटेन । पछि लामो समयसम्म आमा आफैँ बिरामी भएर थलिएको वेला टुटेको क्रम फेरि जोडिएनछ । 


अघिल्लो पुस्ताकी मेरी आमा मात्र होइन, शिक्षित र आधुनिक भनेर चिनिने नयाँ पुस्ताका कतिपय महिलाले समेत पतिको चरणोदकका लागि मरिहत्ते गरेका दृष्टान्त सञ्चारजगत्मै छरिए । सुरुमा पुरानै प्रसंग । नेपालको राजनीतिमा कोइराला परिवारको ठूलो योगदान छ । बिपी, मातृका, गिरिजा आफ्ना तीनवटै छोरालाई प्रधानमन्त्री हुन योग्य बनाएकाले मात्र होइन, उनीहरूका पिता कृष्णप्रसाद कोइरालाको नेपालको राजनीतिमा आफ्नै योगदानसमेत छ । छोरा, बुहारी, छोरी सबैलाई समान व्यवहार गर्ने उदार सोचाइका कृष्णप्रसाद पत्नीको पितृसत्तात्मक व्यवहार हटाउन उत्तिकै अग्रसर हुन्थे ।

 

प्रसंग उही चरणोदककै । कृष्णप्रसादको गोडाको जल लिन उनकी पत्नी एकाबिहानै चाँदीको कचौरामा पानी लिएर उभिन्थिन् । त्यो प्रथा हटाउनुपर्छ भन्ने मान्यताका कृष्णप्रसादले एकदिन पत्नीलाई सम्झाउँदै भने, ‘तिमीले मेरो गोडाको पानी खानुपर्दैन, यो प्रथा हामीले हटाउनुपर्छ, म गोडाको पानी दिन्नँ ।’ पत्नीले प्रत्युत्तर गरिन्, ‘नदिने भए मेरो मुखमा अन्नजल पर्दैन ।’ जे गरेर भए पनि पत्नीलाई यो प्रथाबाट मुक्त गर्ने कृष्णप्रसादको धोको थियो, त्यसैले भने, ‘नखाए नखाउ ।’ तीन दिन दुवैका बीच रस्साकस्सी चल्यो, तर पत्नीको उपवास खण्डित भएन । घरभरि त्यही विषयमा चर्चा चल्यो, कृष्णप्रसादले नै नचाहिँदो ढिपी गरेर त्यो स्थिति निम्तिएको निचोड निस्कियो । उनले खुकुलो नभई धरै पाएनन् । चौथो दिन सधैँझैँ कचौरामा पानी लिएर भाउन्न हुँदै पत्नी कृष्णप्रसादको सामुन्ने उपस्थित भइन् र भनिन्, ‘के मैले यसै मर्नुपर्ने भयो त ?’ कृष्णप्रसादले हारेर गोडा सारिदिए । चरणोदक लिएर बल्ल पत्नी भान्सा उक्लिइन् । बिपीको ‘आफ्नो कथा’मा उल्लेखित यस प्रसंगबाट महिलामा रहेको पितृसत्तात्मक सोच कति दर्बिलो हुन्छ त्यो प्रस्टिन्छ । 


पुराना मात्रै होइन, यस्ताखाले नयाँ दृष्टान्त पनि प्रशस्त छन् समाजमा । एक शिक्षित र आधुनिक साथी तिजको भोलिपल्ट पतिको गोडाको जल नखाई केही खाने नगरेको सगर्व सार्वजनिक गर्छिन् । पतिप्रति उनको श्रद्धाबारे अरूले बोल्नुछैन, तर एकआपसमा श्रद्धा र समर्पण अभिव्यक्त गर्न विभेदको पराकाष्ठा मानिने सोही उपक्रमलाई अझै निरन्तरता दिइरहने हो त ? यसबारे न उनी विवेचना गर्छिन् न त तिजमा माइत बसेकी पत्नीलाई गोडाको जल खुवाउन ससुराली पुग्ने नयाँ पुस्ताका उनका पति नै । पतिलाई यो कुरा ठीक नलागेको भए अवस्था बेग्लै हुन सक्थ्यो, तर अहिलेको जमानामा पनि स्वेच्छाले गोडाको जल खाइदिने पत्नी पाउनु उनका लागि गर्वकै विषय बनिरहेको होला, तसर्थ त्यो क्रम निरन्तर चलिरहेको हरेक वर्ष सुन्न पाइन्छ । 


शिक्षित र चेतनशील ठानिएकै पुरुषहरू पत्नीबाट कस्तो अपेक्षा राख्छन्, पत्याइनसक्नुको हुने गर्दछ । एउटा उदाहरण– दुई–तीन विषयमा डिग्री हासिल गरी महिला तथा मानवअधिकारको वकालत गर्ने एनजिओको उच्च पदमै काम गर्ने एक पुरुष सोही हैसियतकी श्रीमतीलाई मन्दिरको प्रसाद ल्याएर प्रायः दिनहुँ लगाइदिन्छन् । त्यसवेला ‘पतिलाई सधैँ उच्च सम्मान् गरिरहेस्’ भन्ने आशिष मात्र दिँदैनन् आफ्ना दुई गोडा एकत्रित गरेर ढोगाउने मेलोमेसो पनि तत्काल मिलाइहाल्छन् । एकाबिहानै श्रीमतीले घरमा पूजाआजा गरेर प्रसाद अर्पणसहित गोडा नढोगेको असन्तुष्टिस्वरूप उनले जारी गरेको त्यो क्रम पत्नीबाहेक अरू कसले थाहा पाउने ? बाहिरी र आन्तरिक छविबीच गहिरो अन्तरविरोध साँध्ने पुरुषहरूका व्यवहारबाट प्रताडित हुने महिलाहरू अनगिन्ती छन् ।


समाजमा देखिने यस्ता अस्वाभाविक व्यवहारलाई पतिपत्नीबीचको निजी मामिला भनेर समर्थन गर्ने परिपाटी पनि देखिन्छ । यदि पतिपत्नीबीचका सबै व्यवहार निजी मामिला ठहर्ने थियो भने सतीप्रथा उन्मूलनको जरुरत थिएन, किनकी प्रथा हटिसकेपछि पनि पतिकै साथ स्वःस्फूर्त जल्न बिन्ती बिसाउने महिला धेरै थिए समाजमा । त्यस्तै घरभित्रको कुरा हो भन्दै पतिपत्नीबीच हिंसात्मक घटना घट्छ भने त्यसले निजी मामिलाको हैसियत गुमाउँछ र कानुनी हस्तक्षेपको विषयवस्तु बन्न पुग्दछ । त्यसैले पतिपत्नीबीच कायम विभेदजन्य व्यवहार पहिलादेखि चलिआएको चलनका रूपमा अवलम्बन गरिरहनेभन्दा अहिलेको सन्दर्भमा त्यो जायज छ कि छैन, विवेचना हुनु जरुरी छ । समाज अग्रगमनतिर लम्कन सबै मानिसले प्रगतिशील कदम चाल्नु जरुरी छ ।

 

समाजलाई अगाडि बढाउने नायकको चरित्र प्रस्तुत गर्ने कि विगतकै अन्धविश्वासी विधि र व्यवहारमा दंग परेर आलोचनाको पात्र बनिरहने रोज्ने आफैँले हो । ढिलोचाँडो जे भए पनि सतीप्रथा अहिलेका पुस्तालाई एकादेशको कथा लागेजस्तै पछिका पुस्तालाई पतिपत्नीबीचको चरणोदक महात्म्य पनि त्यस्तै अविश्वसनीय अनि हास्यास्पद त लाग्छ नै ।