• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सङ्गीत
२०७७ असार १३ शनिबार ०७:३१:००
साहित्य

कविता-विराम

२०७७ असार १३ शनिबार ०७:३१:००
सङ्गीत

 

तिम्रा अक्षरहरूको बारीमा आइपुग्न 
हुर्कंदै गरेका वसन्ती नानीहरूलाई
दश हिउँद पनि जिउन नपाउँदै 
बीसपटक बलात्कार गरिसक्यो, यही वेलाले

 

तिम्रा प्रेमपूर्ण शब्दहरूलाई अर्थ दिन
जो नाघ्दै थिए नदीजस्ता पुराना बाधाहरू
गुहार माग्नसमेत नदिई तिनीहरूलाई
नदीमै फ्याँकिदियो, भर्खरै त हो यही वेलाले

 

तिम्रा काव्य अभिव्यञ्जनाहरूको स्वाद लिन
आउन चाहन्थे सौन्दर्यका अनुरागीहरू, तिम्रै सहरतिर
तर, क्रान्तिकारी कागजको बुइ चढेको शासकले
जंगलमै झुन्ड्याइदियो, थितिको केतुकी डोरीले

 

प्रिय कवि !
यो वेला बहुतै बेकुफ छ, बहुतै बेकुफ !
तिम्रा भावी पाठकहरूको युगिन थाप्लोमा
जातको विखालु जाँतो भिराइदिएको छ, यही बेकुफ वेलाले
तिम्रो कविताका समालोचकहरूलाई
गायब पारिसकेका छन् संविधानका पाल्सी पानाहरूले
तिम्रो कविताका सम्पादकहरूलाई
नजरबन्द गरिसकेका छन् विज्ञापन–बजारका जर्नेलहरूले
तिम्रा शान्तिप्रिय कविताका श्रोताहरू
चिच्याइरहेका छन् यतिखेर युद्धग्रस्त सडकमा
उनीहरूका मर्मबोधी छाती ताकी–ताकी
गोली दागिरहेको छ बेरोजगारीको उत्तरआधुनिक बन्दुकले

 

ती पनि तिम्रै पाठकहरू हुन्
जो भित्तामा पोस्टर टाँस्दै हिँडिरहेका छन्, रातभरि
ती पनि तिम्रै पाठकहरू हुन्
जो सडकमा प्लेकार्ड उचालेर दौडिरहेका छन्, दिनभरि
ती पनि त तिम्रा प्रशंसक हुन चाहन्थे
जसका आँखाहरू हिरासतभित्रै निभाइए
ती पनि त तिम्रा गुणगायक हुन चाहन्थे
जसको घाँटीमा जेउराहरू गाँठो पारिए
यो वेला बहुतै बेकुफ छ कविजी, बहुतै बेकुफ !
बाँच्ने अन्तिम बाटो पनि छेकिएपछि, तिम्रा पाठकहरू 
नाराहरूको अघिअघि सडकमा हेलिइसकेका छन् 
बोल्ने नयाँ आखर पनि थुनिएपछि, तिम्रा पाठकहरू
कफ्र्युको हुँकारसँग संवाद गर्न अघि सरेका छन्

 

तिमी खोज्दै छौ सायद प्रतीकहरूबाट बोल्ने नयाँ तरिका
तिमी खोज्दै छौ सायद लोकतन्त्रलाई उपनाम दिन नयाँ बिम्ब
तर, तिम्रा पाठकहरूलाई कविताको ढोकाबाहिरै राख्न 
नयाँ लोकतन्त्रले नै भर्खरै किनेको छ पुराना बन्दुकहरू
तिम्रा पाठकहरूलाई कविताहीन संसारमै थुनिराख्न
प्रधानमन्त्रीले नै पठाइरहेका छन्, बस्तीतिर थोत्रा ट्याङ्कहरू
कविताको आस्वाद लिने परिवेश कहाँ छ यतिखेर ? 
प्रिय कवि !
एक मामुली पाठकको अपिल स्वीकार गर-
र, तुरुन्तै कविता-विराम गर

 

हो, तुरुन्तै कविता-विराम गर
र, कम्तीमा झ्यालबाट झ्यालबाहिर हेर
कम्तीमा ढोका नाघेर ढोकाबाहिर निस्क
आफ्ना पाठकहरूको न्यूनतम मर्यादा राख
र, बाटोमा निस्केर कम्तीमा एउटा मुट्ठी उठाऊ
जो मान्छे बन्ने यात्रामा निस्कँदा
हरेक दिन मारिएका छन् मान्छेकै हातबाट
जो तिम्रा कविताका पारखी बन्नै नपाई 
लास बनाएर फालिएका छन् मान्छेकै बस्तीबाट
तिनको सम्मानमा कम्तीमा एउटा सिट्ठी बजाऊ

 

तिम्रा अक्षरहरूको फूलबारीमा पस्नै नपाई 
जो बलात्कृत भइरहेका छन् हरेक दिन
तिम्रा अनुप्रासहरूको सौन्दर्य परख्नै नपाई 
जो फ्याँकिएका छन् नदीका भँगालामा निष्प्राण
तिनकै सम्झनामा हामी निस्केका छौँ, जुलुसमा
सक्छौ भने आफ्ना खुट्टा मिसाऊ, एक छिन
तिनका सम्मानमा हामीले घन्काइरहेका छौँ, नारा 
सक्छौ भने आफ्नो स्वर मिसाऊ, एक छिन
प्रिय कवि !
कविताको आस्वाद लिने परिवेश कहाँ छ यतिखेर ?
अब केही दिनलाई 
कृपया कविता–विराम गर
हामीलाई तिम्रा कविता पढ्ने उछार छैन, यतिखेर !