• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
विभुति भट्टराई
२०७७ असार १३ शनिबार ०७:४५:००
समाज

कपाल कसको ?

महिलाले कपाल मुण्डन गर्दा समाज किन तर्सिन्छ ?

२०७७ असार १३ शनिबार ०७:४५:००
विभुति भट्टराई


टाउकोमा उम्रिएको कपाल के तपाईंको आफ्नै हो भन्ने लाग्छ ? तपाईंले हुर्काइरहेको, स्याहार गरिरहेको, नुहाइरहेको, तेलले मालिस गरेर घना बनाएको, कन्डिसनरले टल्काएको, हेयर ट्रिटमेन्ट क्रिमले बलियो पारेको, सर्लक्क पारेको लामो, बाक्लो कपाल तपाईंको आफ्नै हो ? प्रिय महिलावृन्द ! त्यो कपाल ‘तपाईं' या ‘मेरो’ हुँदै होइन ।


मैले एकदिन एउटा अति सामान्य काम गरेँ । नङ काटे जस्तो, केटा मान्छेले दाह्री खौरे जस्तो अत्यन्तै मामुली काम । मैले कपाल खौरिएँ । 


मैले कपाल खुर्किनुभन्दा केही बेर अगाडिसम्म मलाई के भ्रम थियो भने मेरो टाउकोमा झाङ्गिएको रौँहरूको समूह नेपाली व्याकरणको प्रथम पुरुषका ‘म’ र ‘हामी’ मध्ये ‘म’ को हो । अर्थात् मेरो शरीरको सबैभन्दा माथिल्लो भागमा अवस्थित केशराशि मेरै हो । किनकि यसको मालिक ‘म’ हो । मालिक यस अर्थमा कि यसलाई खुवाउने, पियाउने, स्यहार्ने, बाँध्ने, छोड्ने म गर्छु । मेरो ‘आफ्नो’ भएकाले कपाललाई ‘आफ्नो’ इच्छाअनुरूप राख्न या फाल्न पाउनु पनि त्यत्तिकै स्वाभाविक हुनुपर्ने हो ।


मलाई कपाल नितान्त व्यक्तिगत विषय लागेको थियो । किनकि कपालका बारेमा कुनै कोणबाट आजसम्म बहस भएका छैनन् । होस् पनि कसरी ? के संसारमा अरू महत्वपूर्ण विषय सकिए ? जाबो कपालका बारेमा लेख्न, पढ्न र चिन्तन गर्न ?


यही सोच हाबी थियो मभित्र । त्यसैले म आफ्नोे कपाललाई कहिले कम्मरसम्म लम्ब्याउँथेँ, कहिले पिठ्युँसम्म छोट्याउँथेँ भने कहिले घाँटीसम्म मठार्थें । हुन त लामो कपाल छोट्याउँदा पनि ‘त्यति राम्रो कपाल किन काटेको ?’, ‘केटीमान्छेलाई त लामै कपाल सुहाउँछ’, ‘झम्म परेको कपाल आइमाई मान्छेको गहना नै हो’ जस्ता प्रतिक्रिया नआएका होइनन् । 


तर कपाल छोट्याउँदा आएका प्रतिक्रिया त्यति खिल गड्ने खालका थिएनन् । त्यसको अर्को कारण छोटो कपाल हुनु सहरका केटीमान्छेको सुन्दरताको मानक बनाइएकाले पनि होला । 


कपाल पूरै मुण्डन गर्दा आएका प्रतिक्रिया भने सामान्य थिएनन् । नचिनेकाले ओझेल नपरुन्जेलसम्म हेरिरहे । चिनेकामध्ये अलि–अलि चिनजान भएकाले सोधे मात्र, ‘के भयो र कपाल खौरनुभयो ?’ अलि बढी चिनेका तर बेस्सरी हिमचिम नभएकाले ‘अति नै कुरूप देखियो’ भनेर अनुहार नै खुम्च्याए । मिल्ने साथी र माया गर्नेहरूको भने मिश्रित प्रतिक्रिया थियो ।

 

केही साथीले बोल्ड देखिएको छ भनेर प्रशंसा गरे, केहीले भने गम्भीर रूपमा ‘बिचरा ! यो हदसम्म डिप्रेसनमा गइछस् है !’ भन्नसमेत भ्याए । उनले घुमाउरो भाषामा मलाई ‘पागल’ करार गरिरहेका थिए । कतिलाई मैले श्रीमान् या परिवारको कुनै सदस्य गुमाएँ कि भन्ने ‘चिन्ता’ लागेछ । जब मैले केही भएको छैन भन्ने जवाफ दिएँ, तब तुरुन्तै संशयसहितको अनुमान लादे, ‘डिभोर्स होला है !’

 

केश-मुण्डन मात्र होइन, महिलाले गर्ने समाजका परम्परागत र स्थापित आदर्शभन्दा भिन्न हरेक गतिविधि र व्यवहारमा असाधारण प्रतिक्रिया दिनु सामाजिक, सांस्कृतिक एवं आर्थिक व्यवस्थाका परिणाम हुन्

 

अचम्मको कुरा के भने मैले कपाल मुण्डन गर्दा नकारात्मक टिप्पणी गर्ने अधिकांश महानुभावहरू पढेलेखेका र विद्वान् कहलिएका थिए । मलाई पागल घोषणा गर्नेचाहिँ ‘अन्तर्राष्ट्रियस्तर’का कलाकार हुन् । जसले ऋतुपिच्छे कपालको डिजाइन र रंग फेरिरहन्छन् । यसबाहेक सबैभन्दा अनपेक्षित प्रतिक्रिया भने मेरी ७७ वर्षीय हजुरआमाको थियो । उहाँले मेरो केश-मुण्डन देख्नेबित्तिकै खुसी हुँदै भन्नुभयो, ‘आहा ! मेरी छोरीलाई कत्ति राम्रो देखिएको ।’ तब भने म तीन छक परेँ । शिक्षित र बौद्धिक भनिएकाहरू अति सामान्य विषयलाई अतिरञ्जित गरिरहेका थिए भने स्कुल नटेकेकी मेरी हजुरआमाले कसरी यति सकारात्मक रूपमा लिनुभयो ?


केश–मुण्डन मात्र होइन, महिलाले गर्ने समाजका परम्परागत र स्थापित आदर्शभन्दा भिन्न हरेक गतिविधि र व्यवहारमा असाधारण प्रतिक्रिया दिनु सामाजिक, सांस्कृतिक एवं आर्थिक व्यवस्थाका परिणाम हुन् । त्यस्ता परम्परागत मान्यता समाजमा यसरी घुलित भइसकेका छन्, जस्तो कि ती समाजका धु्रवसत्य नियम हुन् । यसका अतिरिक्त त्यसका दुईवटा मुख्य कारण छन् । पहिलो सांस्कृतिक कारण । अर्थात् केटीमान्छेले सामान्य अवस्थामा कपाल काट्नुहुँदैन भन्ने हिन्दू मान्यताले सबैभन्दा बढी प्र्रभाव पारेको छ ।

 

सामान्य रूपमा काटिएको कपालसँग पनि श्रीमान्को आयु जोडिन्छ । यतिसम्म कि, ‘तँलाई लोग्ने धेरै वर्ष बाँचोस् भन्ने पनि लाग्दैन ?’ जस्ता टिप्पणी गरिन्छ । सिन्दुर, चुरा, पोते, विभिन्न तिथिमा बस्ने व्रतजस्तै कपाल मुण्डन गर्नुलाई पनि श्रीमान्कै अस्तित्वसँग जोडिन्छ र भनिन्छ, ‘कपाल खौरिने भनेको लोग्ने मर्दा मात्र हो, जतिवेला महिलाको जिन्दगीका सबै रंग उड्छन् ।’


हुन त सुन्दरता र स्त्रीगुणको अनिवार्य तत्वको रूपमा समाजमा महिलाको कपाल महात्म्यको बेग्लै ओज छ । नेपाल मात्र होइन, भारतलगायत मुलुकमा गीत, पेन्टिङलगायत चर्चित साहित्यिक सिर्जना केटीमान्छेको कपालको बयानविना पूरा हुने गरेका छैनन् । नेपाली र हिन्दी भाषामा त कपालका बारेमा यति धेरै हिट गीतहरू गाइएका छन् कि बच्चादेखि वृद्धसम्मका ओठमै झुन्डिएका हुन्छन् । 


‘कालो, लामो नागबेली केश’ले नेपालका स्वर सम्राट नारायण गोपालदेखि भारतका जाबेद अख्तर, गुल्जारसम्मलाई सिर्जनशील ऊर्जा प्रदान गरेको थियो । भर्खर प्रेम व्यक्त गर्न सिक्दै गरेका किशोरहरूको पहिलो सायरी नै प्रेमिकाको कपालको विषयमा हुन्छ ।

 

सिनेमाहरूमा त हिरोइनको कपालका लागि ठूलै लगानी गरिएको हुन्छ । ताकि सिनेमा हेर्ने हरेक जोडीलाई लागोस्, उसको या उसकी प्रियतमाको सुन्दरताको राज त्यही सिनेमाको हिरोइनको जस्तै ‘कपाल’ हो । यदि त्यस्तो कपाल रहेनछ भने दुवैजना युद्ध हारेको सिपाही नै जस्तो हीनताबोध गर्न बेर मान्दैनन् । त्यसैले मनुस्मृतिमा महिलालाई दिइने कडा सजायमध्ये कपाल मुण्डन अग्रपंक्तिमा आउँछ । 


साहित्यका विविध विधामा स्थापित गरिएको कपालको असाधारण वर्णन देख्दा र सुन्दा यस्तो लाग्छ, खासमा महत्वपूर्ण मान्छे कि कपाल ?


दोस्रो कारण हो, महिलाको ‘वस्तुकरण’ । अहिलेको पुँजीवादी बजारले ‘के–के भए मात्र महिला सुन्दर हुन्छे’ भनी यस्तो विश्वव्यापी ‘सुन्दरताको मानक’ स्थापित गरिदिएको छ, त्यसभन्दा कम या तोकिएभन्दा नपुग गुण भएका अन्य सबै महिलालाई (अ)सुन्दर घोषणा गरिदिन्छ । लामो घना कपाल, कोकाकोला फिगर, गोरो मुलायम छाला, लामा-लामा परेला, न धेरै बाक्लो न धेरै पातलो आइब्रो, सर्लक्क परेका हातखुट्टा, रौँरहित शरीर, मसिनो बोली, नम्र लवज, विनम्र व्यवहार, शालीन चाल जस्ता ‘ब्युटी प्याकेज’का आधारमा स्त्री सुन्दरताका लागि फरक-फरक अंकभारसहित पूर्णाङ्क तोकिएको छ । यो सुन्दरताको नापोलाई यसरी अन्तर्राष्ट्रियकरण गरिएको छ, जस्तो कि वस्तुको तौलमा एकरूपताका लागि ढक, तराजु । 


त्यसविपरीत थोरै केश, मोटो शरीर, कालो छाला, कम उचाइ, खस्रा हातखुट्टा, चर्को आवाज, कडा मिजाज, सौन्दर्य प्रशाधन प्रयोग नगर्ने, गहनागुरिया नलगाउने, कामुक पहिरनमा दिलचस्पी नभएका सबै (अ) सुन्दर, (अ)क्षम, (अ)चेतनशील, (अ)ज्ञानी, (अ)समर्थ, (अ)योग्यका रूपमा कित्ताकाट गरिएको छ ।


पहिलो कारणले महिलालाई सामाजिक र मनोवैज्ञानिक रूपमा कमजोर मात्र बनाएको छैन, महिलाको ‘अस्तित्व’ नै पुरुषको ‘आयु’सँग प्रतिस्थापन गरिदिएको छ । जसले गर्दा महिलाले स्वयंबारे चिन्तन गर्न, आकांक्षा कार्यान्वयन गर्न, सपना देख्न र योजना बुन्न नै नपाउने गरी प्रतिबन्ध लगाइएका छन् । मनुवाद र शुक्रनीतिमा आधारित सांस्कृतिक सामाजिक संरचनाले समाजका सबै तहलाई ‘पुरुषले स्त्रीहरूलाई कहिल्यै स्वतन्त्रता दिनुहुँदैन, उनीहरू कहिल्यै स्वतन्त्रताका योग्य छैनन्, बालिका, युवती वा वृद्धा हुन्, स्त्रीले स्वतन्त्रतापूर्वक कुनै काम गर्नुहुँदैन’ जस्ता स्त्री बन्धित मूल्य-मान्यतामा आधारित नैतिक शिक्षा पढाइरहेको छ । 


उक्त नैतिक शिक्षाको कोर्स यति भयानक छ कि कुनै पनि केटीमान्छे खुट्टाले उभिन नजान्दै बत्तीसै गुणले युक्त भए-नभएको प्रमाणित गर्न कठघरामा उभिनुपर्छ । के खाने, कति खाने, कति वेला कसकसले खाइसकेपछि मात्र खाने, कसरी खाने, खाने वेला कुन आसनमा बस्ने, खानेकुरा कसरी चपाउने, कति समयभित्र खाइसक्नेदेखि जन्मजात कपाल कस्तो हुनुपर्ने, कत्रो कपाल राख्ने, कपाल कसरी छोप्ने, कस्तो अवस्थामा काट्ने, कस्तोमा खौरिने, कुन पला र घडीमा नुहाउने, कपाल कसका अगाडि खोल्न मिल्ने, कसका अगाडि रौँ पनि नदेखाउनेसम्मका कोड कतिपय समाजमा आजपर्यन्त विद्यमान छन् । अहिले पनि जेठाजुका अगाडि कपाल छोप्नेदेखि लोग्नेको मृत्यु हुँदा मात्र कपाल काट्ने या खौरिने परम्परा ज्युँदा छन् । भलै सहरी क्षेत्र र केही जनजातिमा यस्तो व्यवहारमा केही भिन्नता छ ।


यसको सबैभन्दा खतरनाक पक्ष के हो भने यसले महिलामाथिको दमनलाई वैधानिक बनाइदिन्छ । परिणामस्वरूप महिलाविरुद्धका मसिना ‘कोड अफ कन्डक्ट’देखि विभेद र हिंसालाई समेत स्वाभाविक रूप दिइन्छ । त्यसको विपक्षमा कुनै महिलाले मत राखिन् या व्यवहार गरिन् भने उनले सामाजिक, मनोवैज्ञानिक आक्रमणको सिकार हुनुपर्छ । त्यसैको उदाहरण हो, स्त्रीको केश–मुण्डनमाथिको चोटिलो प्रतिक्रिया ।


दोश्रो कारण झनै खतरनाक छ । विदितै छ, पुँजीवादले महिलालाई कसरी ‘माल’को रूपमा विनिमय गरिरहेको छ । महिलामा निहित ‘प्राकृतिक गुण’का आधारमा मात्र विनिमय सम्भव नहुने भएपछि बजारले महिलालाई ‘चल्ता फिर्ता माल’मा रूपान्तरण गरिदियो । जसले ‘कृत्रिम सौन्दर्य मानक’ निर्धारण गरी गोरो वर्ण, घना कपाल, मुजा नपरेको, दाग धब्बा नलागेको छाला, छत्तीस इन्चको स्तन र नितम्ब, छब्बिस इन्चको छिनेको कम्मरजस्ता नापनक्सा डिजाइन ग-यो ।

 

बजारले एकातर्फ धमाधम ती नाप नक्साबमोजिमका स्त्री प्रसाधन निर्माण गरी नक्कली परेला, नङ, आँखाको नक्कली नानी, स्याम्फु, कन्डिसनर, उमेर घटाउने क्रिमदेखि चाउरी परेको छाला सम्याउने लेजर मेसिनसम्म अत्यावश्यकीय वस्तुको रूपमा प्रस्तुत गर्न थाल्यो । अर्कोतर्फ महिला स्वयंलाई विभिन्न सुन्दरी प्रतिस्पर्धामा सहभागी गराई सोहीमार्फत उपर्युक्त सौन्दर्य प्रशाधनको प्रयोगलाई अनिवार्य बनायो । 


त्यही कारखानाको आर्किटेक्चरका आधारमा विजित सुन्दरी घोषणा गरी कतै फुटबल, क्रिकेटका चियर गर्ल त कतै पुरुषले प्रयोग गर्ने कन्डमका ब्रान्ड अम्बासडरको रूपमा उता-यो । त्यति मात्र होइन, बजारले महिलालाई खुल्लमखुला ‘यौन–श्रमिक’का रूपमा विश्व बजारमा बिक्री–वितरण नै गर्ने गरेको छ । 


सुन्दरताको मानकभन्दा बाहिर पर्ने महिलालाई यस्तो अनुभूति दिलाइन्छ कि, मानौँ उनीहरूको अस्तित्व नै संकटमा छ । उनीहरूलाई प्रेम र विवाहका लागि समेत अयोग्य भएको भ्रम यसरी प्रस्तुत गरिन्छ, जस्तो कि त्यो स्विकार्नैपर्ने वास्तविकता हो । विभिन्न सिनेमा, टेलिभिजन सिरियल, पत्रपत्रिका र समाचार संवाददाता एवं समाचार वाचकमा समेत (केही अपवाद पनि छन्) सुन्दर भनिएकाहरूलाई मात्र स्थान दिइन्छ र यो जताइन्छ कि यो सारा ब्रह्माण्ड केवल सुन्दरीहरूका लागि मात्र हो । 


यथार्थ भने त्यसको ठीक उल्टो हुन्छ । वास्तवमा बजारले महिलालाई क्षमताअनुरूपको काम दिएको बहानामा उनीहरूलाई प्रयोग गरिरहेको हुन्छ । विभिन्न हवाई कम्पनीले एयर होस्टेजको रूपमा अधिकांशले महिला मात्र लिने (कुनै–कुनैले पुरुष पनि लिन थालेका छन्) र ती महिला कुनै सुन्दरी प्रतियोगितामा भाग लिएजसरी उचाइ, तौल र सबै मापदण्डसहित अविवाहित हुनुपर्ने नियम त्यसैको एउटा उदाहरण हो । वास्तवमा बजारले आफ्नो कुरूप मापदण्डलाई महिलाको क्षमताको आवरणमा झनै मजबुत बनाइरहेको हुन्छ ।


उपर्युक्त दुवै कारण एक-अर्कासँग यसरी अन्तरसम्बन्धित छन् कि एउटा कारण कमजोर भयो भने अर्को कारणले एक्लै महिलामाथि प्रभुत्व जमाउन र दास बनाउन सक्दैन । 


विद्यमान सांस्कृतिक एवं सामाजिक संरचनामा परिवर्तन आउनेबित्तिकै बजारले गर्ने महिलाको विनिमय अन्त्य हुनेछ । यद्यपि बजारको यो प्रभाव पुँजीवादी शोषण व्यवस्थाको अन्त्यविना र नयाँ व्यवस्था अर्थात् समाजवादको स्थापनाविना निमिट्यान्न हुने सम्भावना देखिँदैन । 


वर्तमान समाज महिलाले कपाल मुण्डन गर्नुलाई सामान्य टाउको खुइल्याएको रूपमा मात्र बुझ्न तयार छैन । बरु समाज तर्सिन्छ । यदि महिलाले सबै परम्परागत मान्यतालाई यसैगरी हिर्काउँदै गए भने कतै मनुवाद र पुँजीवादले वर्षौंदेखि निर्विकल्प विस्तार गरेको पितृसत्ताको रंग खुइलिने त होइन ? कहीँ सबैभन्दा बहुमूल्य ‘माल’ले स्वयं बजारमाथि आक्रमण गर्ने त होइन ? यद्यपि आजपर्यन्त महिलाको ‘कपाल’ कम्तीमा ‘ऊ स्वयं’को ‘नियन्त्रणमा’ भने छैन ।