• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
डा.सुरेश तामाङ
२०७७ असार १३ शनिबार ०८:२६:००
समाज

हाम्रो भान्सामा के पाक्दै छ ?

गरिबमा नसर्ने रोगको भार बढ्ने सम्भावना बढी छ

२०७७ असार १३ शनिबार ०८:२६:००
डा.सुरेश तामाङ

 

जनस्वास्थ्यलाई हेर्ने हाम्रो दृष्टिकोण कोभिड-१९ पछि बदलिनु जरुरी छ । यसलाई अस्पताल, औषधि र स्वास्थ्यकर्मीका आँखाले मात्र बुझेर पुग्दैन । यस्तो एकांकी स्वास्थ्यलाई राम्रो मान्न सकिन्न । व्यक्तिको स्वास्थ्य मानसिक अवस्था, भावनात्मक सम्बन्ध तथा समग्र सामाजिक वातावरणमा पनि भर पर्दछ । 


स्वास्थ्य केवल व्यक्तिको वंशाणु र शरीरको कुरा मात्र होइन । यो खानपिन, व्यक्तिगत जीवनशैली, आनीबानी, पारिवारिक सम्बन्ध, सामाजिक वातावरणमा उत्तिकै भर पर्दछ । बिलासी तथा आधुनिक जीवनशैली, खानपानमा आएको परिवर्तनले जनस्वास्थ्यबारे केही आयाम थपिदियो । पश्चिमा औषधि विज्ञानको बढ्दो उपभोगले मात्र मानिसहरूको स्वास्थ्य दैनिक नकारात्मक रूपमा प्रभावित हुँदै गइरहेको छ । 


जनस्वास्थ्यलाई समग्र सामाजिक र पर्यावरणीय दृष्टिकोणबाट हेरिनुपर्दछ । कोभिडले यसको दायरा र महत्व अझ बढाएको छ । हामी स्वास्थ्यका सामाजिक निर्धारकहरूबारे अनविज्ञ मात्र होइन, लापरबाही पनि गर्छौं । बिग्रँदो स्वास्थ्य केवल व्यक्तिको लिंग, उमेर, वैवाहिक स्थिति र वंशाणुबाट मात्र निर्धारण हुँदैन । यो उसको व्यक्तिगत धारणा, विश्वास, जीवनशैली, आचरण, खानपानको प्रकार र सम्मिश्रण हो । दैनिक समयतालिका र व्यायामसहित पारिवारिक सम्बन्ध र समग्र सामाजिक तथा सांस्कृतिक वातावरणको उपज पनि हो । व्यक्तिको शिक्षा, आवास, शैक्षिक स्तर, रोजगारी तथा आम्दानी, स्वास्थ्य सेवामा पहुँच र उपलब्धता पनि स्वास्थ्यका निर्धारकहरू हुन् । समाज, संस्कृति र परम्परागत चालचलन, सफा खानेपानी, सरसफाइयुक्त वातावरण पनि मानिसकोे जीवनमा उत्तिकै महत्वपूर्ण छन् । 

 

वैश्विक अवधारणा र अभ्यास 


अझ राज्यले लिने नीति र कार्यक्रमहरूले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव राख्दछ । आज क्युबाको स्वास्थ्य संसारमा उत्कृष्ट र चर्चित छ । पूर्णत सरकारी नियन्त्रण रहेकाले त्यहाँ निजी अस्पताल र क्लिनिकको नामोनिसान छैन । नर्वे, स्विडेन, बेलायत र क्यानडाको स्वास्थ्य प्रणालीहरू कल्याणकारी मोडेलमा सरकारी नियन्त्रणमा नै छन् । तर, अमेरिकालगायत कतिपय देशको स्वास्थ्य भने व्यापारी र बिमा कम्पनीको हातमा छ । स्वास्थ्य एक बहुआयामिक विषय भएकाले नीति निर्माण गर्दा यसका सामाजिक र पर्यावरणीय निर्धारकहरूमा ध्यान दिनुपर्दछ । स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र औषधि उपकरणमा मात्र लगानी गरेर स्वास्थ्य समाज निर्माण हुँदैन । 

स्वास्थ्य केवल व्यक्तिको वंशाणु र शरीरको कुरा मात्र होइन । यो खानपिन, व्यक्तिगत जीवनशैली, आनीबानी, पारिवारिक सम्बन्ध, सामाजिक वातावरणमा उत्तिकै भर पर्दछ ।

 

मानिसहरू खेतीपाती छाडेर सहरमुखी र विलासी भएका छन् । मानिसको जीवनशैली र खानपिन फेरिएको छ । स्थानीय उत्पादनहरू र परम्परागत परिकारहरू लोप हुँदै छन् । बजारमा प्रशोधित खाना (जंकफुड), मदिरा र सुर्तीजन्य पदार्थको बिक्री र उपभोग बढ्दो क्रममा छ । यसले जनताको स्वास्थ्य र वातावरण पनि बिग्रँदै छ । हामी आज स्थानीय किसानहरूको उत्पादनमा भन्दा आयातीत विषाक्त खानेकुरामा भर परेका छौँ । हाम्रो भान्सामा के पाक्दै छ भन्ने कुरामा पनि हामी उत्तिकै सजग हुन जरुरी छ । अर्कोतिर विशिष्ट रोग, शल्यक्रिया तथा अतिकुपोषित बालबालिकालाई दिइने सघन उपचारबाहेक जनस्वास्थ्य धेरै हदसम्म पोषणमा पनि भर पर्दछ । उसो त पोषण भनेको भिटामिनको थोपा वा चक्की खुवाउनु मात्र नभई खेतीबाट उत्पादित विषादीरहित, सफा र ताजा खानेकुरा बारीबाट थाली हुँदै मुखसम्म पुग्नु हो भन्ने कुरा पनि बुझ्नु जरुरी छ । 

 

स्वास्थ्य सेवा र आयामहरू


सामान्यतः स्वास्थ्यका विविध आयाम छन् । हाम्रा स्वास्थ्य सेवाहरू बढी उपचारात्मक छन् । हामी प्रतिकारात्मक र प्रवद्र्धनात्मकतर्फ कम सतर्क रहेका छौँ । रोगीको अवस्था अति नै नाजुक भएपछि मात्र हामी उपचारतर्फ लाग्छौँ । प्रायः ढिलो थाहा पाउने, सहन सकेसम्म उपचार नखोज्ने र खर्च जुटाउन नसक्ने आदि समस्या छ । कोभिडको सन्दर्भमा पनि हामी रोकथाम र प्रसारण नियन्त्रणमा कमजोरै छौँ । 


नेपालमा नसर्ने रोगको बढ्दो क्रम छ । सरुवा रोग र प्राकृतिक प्रकोप तथा सडक दुर्घटना पनि बढिरेहको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर ७१ प्रतिशत मृत्यु केवल नसर्ने रोगहरूबाट हुन्छ । यो हाम्रो दैनिक खानपिन र जीवनशैलीमा बढी निर्भर रहन्छ । नेपालमा पनि करिब ६६ प्रतिशत मान्छे नसर्ने रोगबाट मर्छन् । तर, हाम्रोजस्तो गरिब देशले नसर्ने रोगका लागि करिब २ प्रतिशत मात्र बजेट राख्ने गर्दछ ।

 

हाम्रो देशमा पनि धुमपान, अस्वस्थकर खानेकुराको बढ्दो उपयोग, अस्वस्थ जीवनशैलीबाट मुटु रोग, मधुमेह, श्वासप्रश्वाससम्बन्धी रोग र क्यान्सरजस्ता रोग नै ६६ प्रतिशत मृत्युको कारण रहेको देखिन्छ । जम्मा मर्नेमध्ये करिब ९ प्रतिशत सडक र अन्य दुर्घटनाबाट मर्छन् । त्यसैगरी सहरहरूमा प्रदूषित वातावरण र अव्यवस्थित ढल निकास रहेको छ । देशका धेरै स्थानमा स्वच्छ खानेपानी अभाव र गुणस्तरीय खानेकुराको अभाव छ । विकसित देशसमेत मनोसामाजिक रोग, दीर्घ र कडा तथा नयाँ प्रकारका रोगहरू (जस्तैः इबोला, सार्स, जिका भाइरस र कोभिड)ले ग्रस्त पारेको छ । 


यही अवस्था रहिरहेमा आमनेपालीको स्वास्थ्य अवस्था सुध्रिनेभन्दा पनि बिग्रिने देखिन्छ । त्यसमा पनि गरिब, पिछडिएका र पछाडि पारिएकाहरूमा त विभिन्न सरुवा रोगहरू तथा नसर्ने रोगको भार बढ्ने सम्भावना देखिन्छ । त्यसैगरी अनपेक्षित रूपमा मृत्यु दर बढ्न सक्ने, अपांगताको दर बढ्न सक्ने जसका कारण स्वास्थ्य उपचारमा व्यक्तिगत र सरकारी खर्च बढ्न सक्ने देखिन्छ । अर्कोतर्फ देशमा रोगव्याधी बढ्नाले उत्पादनशील जनशक्ति घट्ने, आर्थिक विकासका गति धीमा हुने र अन्ततः देशमा गरिबी बढ्ने खतरा छँदै छ । 

 

कोभिडभन्दा भोकमरी डरलाग्दो


कीर्तिपुरमा धादिङका सूर्यबहादुर तामाङ हातमा नाम्लो च्यापेको अवस्थामा मृत भेटिए । सप्तरीका मलर सदा खाना नपाएरै मरे । भक्तपुरमा लकडाउनका कारण पाल्न नसकेको भन्दै एक महिलाले आफ्नै नवजात शिशुको हत्या गरिन् । हजारौँ जनता सीमामा अलपत्र हुँदा पत्रुखाना ख्वाउने र पानीसम्म पनि नपाएको गुनासो गरे । देशभर आत्महत्या बढेको छ । करिब ८ सय माथि मान्छेहरूले देह त्याग गरेका छन् । कतिपय मानसिक तनाव कोभिडको त्रास, पारिवारिक वियोग र भविष्यको चिन्ताले पनि भए होलान्, तर यसको ठूलो हिस्सा खाना खान नपाएर वा भोकमरी पर्ला भनेर पनि मरेका हुन् । मोरङ भाटी गोकुवा गाउँमा भोकले सुत्केरी महिला बेहोस भइन् । वीरेन्द्र यादव सीमावर्ती जटहीमा भोक र उपचार अभावमा मरेका थिए । यो सबै हेर्दा नेपालमा कोरोनाले भन्दा बढी मानिस भोकले मरेको देखिन्छ ।

लकडाउन थपिदै जाँदा भोकले मर्नेहरूको संख्या बढ्ने सम्भावना झन् बढेर गएको छ । खान नै नपाएपछि मानिस बाँच्ने र रोगप्रतिरोध क्षमता हुने कुरै भएन । स्वास्थ्यवद्र्धक खानपान पनि जनस्वास्थ्यको आधारभूत बिन्दु हुन् । 

 

कोरोना भाइरस र प्रतिरोध क्षमता


कोरोनाले दीर्घरोगी, वृद्धवृद्धा र रोगप्रतिरोध क्षमता कम भएकालाई लैजाने देखिएको छ । विदेशमा मर्ने अधिकांश नेपालीमा धेरै पाका र अन्य रोगबाट पीडित नै थिए । टोरान्टो जनस्वास्थ्य विभागले निम्न आय भएका समुदायमा संक्रमण र अस्पताल भर्ना दर उच्च पाइएको (प्रति एक लाखमा १६५ संक्रमित र २६ जना अस्पताल भर्ना भएका तर उच्च आय भएकाहरूमा सोही दर ९० र १२ मात्र) पाइएको छ । युरोपका स्विडेन, बेल्जियम, स्पेन, इटाली र अमेरिकामा अधिकांश मृतकहरू नर्सिङ होम र केयर होममा रहेका वृद्धहरू थिए । हालसम्म ८५,००० बढी वृद्धवृद्धाहरूको ज्यान गइसकेकोे छ ।

 

बेलायतमा अल्पसंख्यक समुदाय कुल जनसंख्याको १९.५ प्रतिशत छ, तर कोरोना संक्रमितमध्ये ३३ प्रतिशत उनीहरू नै छन् । अमेरिकामा कालाजाति, हवाई र अन्य प्रशान्त महासागरीय टापुका आदिवासीहरूमा कोरोना संक्रमण धेरै भएकोे पाइएको छ । यसमा उनीहरूको स्वास्थ्य सेवामा पहुँच र अन्य सामाजिक आर्थिक अवस्था (खानपिन, जीवनशैली र वातावरण) जिम्मेवार भएको देखिन्छ । यसबाट स्वस्थ खानपिन र सरल जीवनशैली आवश्यक रहेको प्रस्ट हुन्छ । स्थानीय र रैथाने खाना खाएमा मानिसमा रोगप्रतिरोधात्मक क्षमता राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले कोभिडबाट बच्न दैनिक रूपमा सन्तुलित आहार सेवन गर्न, ताजा सब्जी, फलफूल र अप्रशोधित खानेकुरा खान सल्लाह दिएको छ ।

०००

स्वास्थ्यलाई भौतिक शरीरका रूपमा मात्र हेर्नु हुँदैन । यो त शरीर, दिमाग र मनको सन्तुलन हो । एक व्यक्तिको स्वास्थ्य उसको मानसिक, सामाजिक र भावनात्मक अवस्थामा भर पर्छ । स्वास्थ्यलाई पर्यावरणीय र बहुआयामिक रूपमा बुझ्नुपर्दछ । तसर्थ हरेक नागरिक आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्दछ । मानिसले आफ्नो दैनिक जीवनशैली, आचरण, खानपिन, पारिवारिक र सामाजिक सम्बन्ध र शिक्षामा जोड दिनुपर्छ । निम्न आर्थिक अवस्था र गरिबीको कुचक्रबाट बाहिर आउने प्रयास गर्नुपर्छ ।


कतिपय गलत नीति र सरकारी उदासीनताका कारण जनताको स्वास्थ्यमा विशाल अन्तर रहेको छ । स्वास्थ्य, शिक्षाजस्ता अतिआवश्यक सेवाको असमान वितरण छ । राज्यले आधारभूत स्वास्थ्य सेवामा सबैको पहँुच र अधिकार दिलाउनुपर्छ । हालको परिवर्तित सन्दर्भमा स्थानीय तह तथा प्रादेशिक सरकारहरूले बनाउने सामाजिक विकास र स्वास्थ्यसम्बन्धी नीति तथा कानुनहरूमा यी कुरा समावेश भए राम्रो हुने देखिन्छ । हरेक नीतिमा स्वास्थ्य जोडिनुपर्छ । सबै नीतिमा स्वास्थ्यको सुनिश्चितता आवश्यक छ । स्वास्थ्य नीति र कार्यक्रमहरू रोगव्याधीको रोकथाम, उपचारमा मात्र होइन, सूचना सञ्चार, जनचेतना र व्यवहार परिवर्तनका लागि खोज, अनुसन्धान र तथ्यांक विश्लेषणमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ ।


सुर्तीजन्य पर्दामा जस्तै पत्रुखानामा उच्च कर लगाउनुपर्दछ भने प्लास्टिकजन्य पदार्थमा पनि नियन्त्रण गर्नुपर्छ । वैकल्पिक उपचार विधिहरू जस्तैः संगीत, कला, पशुपक्षी, इकोथेरापी र परिवारकेन्द्रित विधिहरूमा जोड दिनुपर्दछ । परम्परागत औषधि विज्ञान खासगरी जडीबुटीजन्य उपचार, अकुपंचर, अकुप्रेसर, योग, चाइनिज, सिन्ध र आयुर्वेदजस्ता प्राकृतिक उपचार विधिहरूको प्रवद्र्धन गर्नुपर्दछ ।


पृथ्वीमाथिको चरम दोहन, क्रूर अतिक्रमण, तीव्र सहरीकरण, भूमण्डलीकरण र मानव जीवनशैलीले पनि यो महामारी निम्त्याएको हो । हिजो औषधि विज्ञानले मानव स्वास्थ्यलाई पशुपक्षी र वातावरणबाट भिन्न रूपमा हेर्दा यो अवस्था आएको हो । मान्छेलाई पर्यावरण, पशुपक्षी, जल, जमिन, वनस्पतिबाट अलग गर्न सकिन्न । कोभिडपछि यो सिद्धप्रायः भएको छ । हाम्रो खानाको मूल स्रोत पशुपक्षी र वनस्पति नै हो ।

 

मानव जीवनको धर्तीसँग अन्योन्याश्रित सम्बन्ध रहेकाले स्वास्थ्यलाई हेर्ने हाम्रो चस्मा नै फेर्न जरुरी छ । यसलाई आदिवासीवादबाट पनि हेर्न सकिन्छ । संसारका आदिवासीहरू जो प्रकृतिपूजक र सम्भारकर्ता पनि हुन् । विश्वका ७० देशमा ५००० भन्दा बढी आदिवासी समूह छन्, जसले संसारको ७५ प्रतिशत जडीबुटी बचाएका छन् । तर, प्रभुत्वशाली देश र बहुराष्ट्रिय कम्पनीका कारण उनीहरूको भूमि, प्राकृतिक स्रोत, जैविक विविधता, भाषा र संस्कृतिमा विचलन आएको हो । जसको प्रत्यक्ष असर उनीहरूको र आम मानव स्वास्थ्यमा परेको छ ।


कोरोनासँग लड्न उचित खानपान, वैकल्पिक उपचार, सकारात्मक सोचको आवश्यकता छ । स्वास्थ्य र गरिबी एकअर्कासँग अन्तरनिर्भर छन् । मानिसहरूको निम्न आयका कारण शिक्षा, स्वास्थ्य, सफा पिउने पानी र पोषिलो खानेकुरामा कम पहुँच हुन्छ । जसका कारण रोजगारी र आम्दानीको अवस्था भिन्न हुन जान्छ । राज्यले दायित्व नलिँदा आर्थिक विपन्नताको रेखामुनि रहेका जनसंख्या र सम्पूर्ण परिवारको सदस्य नै अस्वस्थ हुन सक्ने सम्भावना हुन्छ । जनस्वास्थ्यको अवधारणामा यसलाई पनि सामेल गर्न आवश्यक छ ।         
तामाङ जनस्वास्थ्यकर्मी र समाज कल्याणविज्ञ हुन् ।