• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बालकृष्ण कट्टेल
२०७७ असार १९ शुक्रबार ११:२९:००
साहित्य

फलैँचा मास्तिरकी कान्छी मिजार्नी 

२०७७ असार १९ शुक्रबार ११:२९:००
बालकृष्ण कट्टेल

 

कता होलान् 
ती दिलबहादुर 
जो
चिलौनेको हलो बनाएर
फाली पनि ठोकेपछि
भन्थे-
अनौ राखिएन भने यसमा
निहुरेर जोत्नुपर्छ
निहुरेको शरीरले
शिर अग्लो बनाउँदैन ।

 

कता होलिन्
ती फलैँचा मास्तिरकी 
कान्छी मिजार्नी
जो 
पोतेआरीमा
रातो माटो र पानी हालेर
मुछेपछि भन्थिन्-
पोतो राखिएन भने यसमा
हातैले सिकुवा लिप्नुपर्छ
खालि हातले लिपिएको सिकुवा
पोतेको जस्तो सग्लो हुँदैन ।

 

सुनार दाइले नै त हो
चोया काट्न सिकाएको
जुन चोयाले बाँधेर
म फरिका बनाउँथेँ
र, जोगाउँथेँ हिउँदमा
दुम्सीबाट आलुबारी !
मिजार दाइले नै त हो
सिकाएको राँटा सम्याएर
मकै रोप्न
जुन सीप सिकेर
म जगाउँथेँ भदौरेमा
लहर मिलेका मकैघारी !


स्कुलबाट फर्किंदा
तिनै मिजार्नीले
दिन्थिन् भुटेको मकै
म त्यसलाई
माहिला दर्जीले सिइदिएको
कुर्ताको गोजीमा हाल्थेँ
र खाँदै घर फर्कन्थेँ 
गोठालो जाँदा
तिनै दिलबहादुर 
पोलेर ल्याउँथे 
रातो तरुल
र, जिरा मिसाएको 
पिसेको नुनखुर्सानी
हामी सँगै खान्थ्यौँ
खाएपछि 
खुसीले हाम्रा कम्मर मर्किन्थे ।


हुर्किने क्रममा
मेरा गुरु त
तिनै मिजार थिए
तिनै दर्जी थिए
तिनै सुनार थिए
र थिइन् तिनै मिजार्नी
जो 
साँधेको गुन्दु्रकसँग
भुटेको मकै खुवाउँदै 
भन्थिन् मलाई-
साहिँला बाजे
लागे लागोस् पाप
मलाई त
तिमीसँगै बसूँ बसूँ लाग्छ 
लागे लागोस् श्राप
माया गर्ने हक त
जोगीको पनि हुन्छ !


फेरि भेट्न पाए 
कान्छी मिजार्नीलाई
सोध्ने थिएँ-
कान्छी,
म तिम्रा लागि 
मान्छे भएँ कि माया ?
अनुहार भएँ कि ऐना ?
रहरमा पनि पाप हुन्छ र ?
मायामा पनि श्राप हुन्छ र ?
र, भन्ने थिएँ-
मान्छेको जात हुँदैन
जहाँ जात हुन्छ
त्यहाँ मान्छे हुँदैन 
मेरो त कुनै जात छैन 
जात छ भने
म पनि मान्छे हैन !
मिजार्नी,
जातले कसलाई पो माया गर्छ र ?
मायाले जातसँग कहाँ पो हार्छ र ?
माया मरेर 
जात बाँचेको छैन 
जातले जितेर
माया हारेको छैन ।