• वि.सं २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
भरत पोखरेल
२०७७ असार २० शनिबार ०८:३०:००
सम्झना

बसाइँ सरेका बा

२०७७ असार २० शनिबार ०८:३०:००
भरत पोखरेल

‘चालिसे लागेर हो कि किन हो पात्रो हेर्न चस्मा नलाइनहुने भयो’ सानोसानो गोलो सिसावाला गान्धी चस्मा लगाएर घुमाउने घरको पिँढीमा पात्रो हेर्दै गरेको खिरिलो ज्यानको मान्छे । बुबासँगको स्मरण यही विम्बबाट सुरु हुन्छ । ४० वर्षको फरक उमेरको बुबालाई सम्झने गरी चिन्दा म ४ वर्षजतिको हुँदो हुँ कि !

 

पहाडको ठाउँ भए पनि पर्वत जिल्लाको सदरमुकाम कुस्माबाट पूर्वउत्तर करिब ४५ मिनेट दूरीमा पर्ने पकुवा खेतीपातीका लागि रसिलै ठाउँ मानिन्छ । आजभन्दा झन्डै ४०–४५ वर्षअघि नै जहरे सिँचाइ आयोजना सञ्चालनमा आएकोे यो ठाउँ सानो भए पनि असाध्यै उर्वर । पूर्वदक्षिण फर्केको समथर जमिन साँच्चै रमाइलो लाग्थ्यो । त्यसको नराम्रो पक्ष के भने घरभन्दा पछाडि डरलाग्दो अग्लो राम्चेको भीर । खेती किसानी ठीकै थियो, धेरै पनि होइन, मिहिनेती परिवार भएकाले एक मानो खान पुगेकै थियो । तर, के कसो भो बुबा मधेस झर्ने हुनुभयो, बर्दिया । 

 

म १२ वर्षजतिको थिएँ, पकुवा छोड्दा । धेरैजसो बाल्यकालका सम्झना पर्वतकै छन् । डोको, डालो, नाम्लो बुन्न मैले यतै सिकेँ । टाउकाका दुई–चारवटा र आँखीभौँमाथिको खत पनि यतैको हो । दुई–चार अक्षरको जग बसाल्ने वीरेन्द्र निमावि (हाल मावि) यहीँकै हो । अनि अलिकति समाज पढ्न खोज्ने भोक पनि यतैबाट सुरु भएको हो । 

 

पहाडी दिनचर्या त्यति सहज कहाँ हुन्छ र ? तर, बुबाआमाले यसलाई सजिलो गरी हिँडाउने कोसिस गर्नुहुन्थ्यो । बिहान झिसमिसै उठेर आमा पानी लिन ठाडाखोलामा जाने (छन त आँगनको डिलमुनिबाट खानेपानीको पाइप लगिएको थियो, तर त्यो पानी हाम्रा चार घरका लागि उपयोगी थिएन), बुबाले भकारो सोहोर्ने, भैँसी दुहुने । भैँसीलाई कुँडोपानी गरेपछि आमा खाना बनाएर घाँस काट्न जानुहुन्थ्यो । बुबा सिल्भरको ट्यामीमा दूध बोकेर दोबिल्ला झर्नुहुन्थ्यो । फर्कनेवेला बुबाको घाँसको भारीमाथि ट्यामी हुन्थ्यो । खेती लगाउने र थन्क्याउने वेलामा बाहेक अरू वेला यही रुटिन चल्थ्यो । खेतीको वेला अतिरिक्त जनशक्ति थपिनेभन्दा पनि बुबाआमाकै एक–एक भारी श्रम थपिने हो ।

 

उज्यालो नहुँदै जुनेली रातमा ठूला गराको धान काटेर सक्ने, असारमा खेतमा रहेका मकैका डाँठ (ढोड) रातमै पन्छाउने त सामान्य कुरा भए । अनि साउनमा स्कुलछेउको खेत रोप्ने वेला कपडा फेरेर स्कुलको कक्षाकोठामा बुबाले भात पकाएको अहिले नै हो जस्तो लाग्छ । त्यसो त गाउँमा कसैको विवाहको भत्केरु जान प-यो भने पहिलो रोजाइ पोखरेल साइँलाकै हुन्थ्यो । पहिला–पहिला भत्केरु जानेले नै जन्तीलाई भतेर पकाएर ख्वाउने चलन थियो । बुबा त्यस्ता कुरामा अगाडि सर्नुहुन्थ्यो । हत्तपत्त भत्केरु मात्रै होइन, जन्ती जान पनि त्यति उत्साहित नहुने बलेवा (बाग्लुङ)मा भत्केरु जाँदा व्यहोर्न परेको झमेला र रमाइला किस्सा पनि सुनाउनुहुन्थ्यो । 

 

उमेरमै बलियाबांगा जेठा दाइ र भाइ गुमाउनुभएका हाम्रा बुबा शारीरिक रूपमा त्यति तगडा भने हुनुहुन्थेन । तैपनि जेठाबुबाको (कान्छा बुबा बिहे भएको वर्ष दिन नहुँदै बितेकाले एक्ली कान्छीआमा अंशसहित जेठी आमाको परिवारसँगै बस्नुहुन्थ्यो) परिवार र हाम्रो गरी दुई परिवारका लागि भोट (मुस्ताङ) र बटौली (बुटवल)बाट नुन बोकेर खुवाउनुभयो । बुबाले औपचारिक अक्षरारम्भ नगरे पनि अलिअलि पुरेत्याइँ पनि गर्नुहुन्थ्यो । मुजुरा राम्रो बजाउने उहाँ भजन गाउन पनि उत्तिकै सिपालु हुनुहुन्थ्यो । म पनि बुबाको पछि लागेर भजन गाउन जान्थेँ । रातभरि भजन गाउँदा बिहानपख दक्षिणा दिँदा मैले दुई रुपैयाँको डबल पाएको अहिले पनि सम्झन्छु । 

 

बुबा सिल्भरको ट्यामीमा दूध बोकेर दोबिल्ला झर्नुहुन्थ्यो । फर्कनेवेला बुबाको घाँसको भारीमाथि ट्यामी हुन्थ्यो । खेती लगाउने र थन्क्याउने वेलामा बाहेक अरू वेला यही रुटिन चल्थ्यो ।

 

कि अत्यधिक सामाजिक बेमेल, कि चरम गरिबी वा भयंकर प्रगति गर्ने अभिलाषा, यस्तै–यस्तै कारण मानिस बसाइँ सर्छन् । तर, हाम्रो हकमा यी कुनै पनि कारण पूर्ण रूपमा मेल खाँदैनन् । समाजसँग बुबाको अलिकति गुनासो थियो, तर जन्मथलो नै छोड्नेखालको भने होइन । सोझो मान्छेलाई ताइ न तुइको मुद्दा (घरको ढोकामा काँडा राखिदियो भन्ने हो क्यार)मा पुलिस प्रशासनको दुरुपयोग गरेको त मैले पनि सम्झन्छु । अर्को एउटा दाइसँग सम्बन्धित सानो झमेलामा समाजले साथ दिएन र अन्याय ग¥यो भन्ने उहाँको बुझाइ थियो । कालान्तरमा त्यो फत्तुर लादिएको मात्रै हो भन्ने कुरा व्यावहारिक रूपमा पनि प्रमाणित भयो, त्यतिवेलासम्म हामी बर्दियाका पुराना बासिन्दा भइसकेका थियौँ । हाम्रो खेती दुई पाइ थियो । एकातिरको बेचेर अर्कोतिर आँठो मिलाएर किन्न मन थियो, बेच्ने कुरा मिल्यो, तर किन्न मिलेन । त्यही तोडमा उता हानिनुभो कि भन्ने पनि लाग्छ । बाहिरका भन्दा भाइ खलकसँगको तोड अलि बढी नै हुन्छ होला ।  

 

पर्वतको मान्छे एक्कासि भारतको बाटो हुँदै बर्दिया किन पुग्नुभएको होला ? भन्ने पनि लाग्छ, तर मास्टरी कामको खोजीमा नेपालगन्जको बाटो डोल्पा गएका ठुल्दाइ बर्दियातिर अलमलिएपछि बुबा पनि त्यतै लाग्नुभयो । केही वर्षअघि मात्रै आफ्नै गाउँले कृष्णबम मल्ल राप्ती दुन विकास समितिको अध्यक्ष भएका वेला चितवनमा निःशुल्क जग्गा पाउने अवसर हुँदा खान पुगेकै छ तराईको औलो खान किन जानु ? भन्ने अडान बर्दियाको घामले भने पगाल्यो । 

 

बर्दिया हामी दुईचोटि बसाइँ स-यौँ ।

 

पहिलोपटक ०३६ मंसिरमा गयौँ । जनमतसंग्रहताका विश्वेश्वरप्रसाद कोइरालाको भाषण बर्दियाको सदरमुकाम गुलरियामा सुनेको हुँ मैले । टाउन हलमा मसिनो स्वरको भाषण भए पनि बहुदलको पक्षमा मत अघि पार्न बर्दियाका लागि त्यो बलियो आवाज सावित थियो । 

 

पारिवारिक के कुरा मिलेन, ६–७ महिनापछि असारको सुरुमा हामी पकुवा फक्र्यौँ, ठुल्दाइ बर्दिया नै बस्ने हुनुभयो । फर्कदा स्याङ्जाको गल्याङ पुग्दा बसमै आमा बेहोस हुनुभयो । बसको ढोकाछेउ बाल्टीमा राखिएको पानी छम्केपछि उहाँको होस आयो । पहाडको ठाउँ बर्खामास रित्ता घर जाँदा बालबच्चालाई के खुवाउने भन्ने चिन्ता आमाको मनमा गहिरो गरी गढेछ । बुबाले सम्झाउनुभयो, आमा अलि हलुको हुनुभयो । 

 

पखेटा लागेको चरी र उडेको मन एकठाउँमा किन बस्थ्यो र ? एक वर्षजति पकुवा बसेपछि फेरि डोको बोकेर झरियो मधेस । पकुवाबाट हिँडेर आर्थर, अँधेरीनेटा, चिलाउनेवास, सेतीदोभान हँुदै एक दिन पूरा हिँडेर गाडी चढ्न नाउडाँडा आउनुपथ्र्यो । नाउडाँडा वास बसेपछि भोलिपल्ट बिहानै सुनौलीको गाडी भेटाइन्थ्यो । सुनौलीबाट गोरखपुर पुगेर एउटा रेल चढेर मात्रै सुख थिएन, गौण्डामा अर्को रेल बदली गरेर रुपैडिहा वा मूर्तिहा झरेर बर्दिया पुगिन्थो । रेल यति भिडभाड हुन्थ्यो कि रेलमा बस्ने सिट पनि हुन्छ भन्ने कुरा धेरै पछि मात्रै थाहा भयो । हामी पहाडेहरूको रेल यात्रा ढोका र ट्वाइलेटबीचको खाली जग्गामा डोको राख्यो, त्यसैको वरिपरि उभियो । उभिन नसके थचक्कै त्यतै कतै बस्यो । हिन्दी भाषा पनि राम्रो नबुझ्ने हाम्रा बुबाले के आँटले हामीलाई भारतको बाटो हँुदै नलुटिईकनै बर्दिया उतार्नुभयो होला ? सम्झदा अहिले पनि अत्यास लाग्छ । नेपालैनेपाल बर्दिया जान पाइने भएको त कति भएको छ र ?

 

रैथाने समाजले बसाइँ सरी आउनेलाई गर्ने हेलाहोचो त छँदै छ । पहाडमा हुर्केबढेको मात्रै होइन, आधा जीवन नै चिसो पानी खाएर उकाली–ओरालीमै बिताएको मान्छेलाई तराईको गर्मी, लामखुट्टे, आँधी, हुरी, सर्पको बिगबिगीले कति अत्यास लाग्यो होला ? तर बुबाले कहिल्यै त्यस्तो भाव हामीले बुझ्ने गरी प्रकट गर्नुभएन । बाउ हुनुको कठोर जिम्मेवारी यहाँ देख्छु मैले । चार ठाउँ सरेर साना–ठूला गरी ५–६ वटा त घरै बनाउनुभयो । आज म काठमाडौंरूपी विशाल तलाउमा डुबुल्की मार्दै उत्रँदै गर्दा तपाईंले बर्दियामा कति हन्डर खानुभयो होला भन्ने बल्ल भेउ पाउन थालेको छु बुबा ।   

 

ठूला सपना त धेरै देख्नुभएन होला, तर देखेका सानासाना सपनामा कसरी मलजल र गोडमेल गर्नुपर्छ भन्ने उहाँलाई राम्ररी थाहा थियो । भैँसी पाले पनि नमुना नै बनाउने, गोरु÷राँगा पनि गाउँकै अब्बल बनाउने ध्याउन्न हुन्थ्यो उहाँको । पकुवा छँदा पनि पोख्रेल साइँलाका गोरु, भैँसी भनेपछि अब्बलै हुन्थे । यो विरासत बर्दियामा पनि कायम रह्यो । 

 

बुबा ठूला सपनाको बाधक भने कहिल्यै हुनुभएन । गोठभरि गाई भैँसी, खोरभरि बाख्रा, खेतीपाती चलेकै थियो । त्यस्तो वेला जोत्दाजोत्दैको हलो फालेर म काठमाडौं पढ्न जान्छु बुबा भन्दा एकपटक पनि नजा भन्नुभएन । बरु आमाले कसरी बस्ने होला भन्दै सुस्केरा हालेर त्यति टाढा नगए हुन्न र ? भन्नुभयो, तर बुबाले रोक्नुभएन । 

 

०४६ को परिवर्तनको राप र ताप गाउँमा पसिसकेको थियो । कम्युनिस्टहरूले ६० वर्ष पुगेपछि मार्छन् भन्ने कुराले त बुबालाई त्यति छोएको थिएन, तर बिपीका अनुयायी हौँ भन्नेहरूले तिम्रो छोराले किरिया गर्दैन भन्ने लाइदिएछन् । यसले भने बुबाको मनमा अलि बढी चिसो पसेछ । उहाँको यसमा दुःखमनाउ पनि थियो । तर, गाउँको ठुटे राजनीतिले जब एक–दुईपटक घर घेर्ने र ढुंगामुढा गर्ने काम ग¥यो अनि बुबाको चिन्ता हरायो । बुबाले मुट्ठी उठाउनुभयो, पहिलो स्थानीय निर्वाचनमा माल्दाइले वडाध्यक्षमा जित्नुभयो । बुबा, मैले तपाईंको चिन्ताको सम्मान गरेको छु है । 

 

बर्दिया छँदा भैँसी पाल्न नसकेपछि एउटा गाई अनि गाई पनि पाल्न नसकेपछि बाख्रो पाल्नुभयो । अब एउटा बाख्रो पाल्न पनि नसक्ने भएपछि बुबा आमालाई काठमाडौैंले तान्यो । सुरुमा बुबालाई काठमाडौं आउन खासै मन थिएन । एक जुग गाउँघरमा बिताएकाहरूको बुढेसकाल काठमाडौंले पचाउँदैन भन्ने बुबाको सत्य बुझाइ थियो । दुई दाइ र दुई दिदीहरू उतै हुनुहुन्थ्यो । काठमाडौंमा बस्न पनि गाह्रो हुन्छ र कान्छालाई बढी भार पर्छ भन्ने उहाँको सोचाइ थियो । जब काठमाडौं आउनुभयो, त्यसपछि फर्केर बर्दिया जान उति मन गर्नुभएन । पछिल्ला दिनमा बर्दिया जान मन भए लगिदिन्छु भन्दा, भयो अब नजाने भन्नुभयो । 

 

मुटुको समस्या पुरानै भए पनि अन्य रोग खासै थिएन । विगत १२-१५ वर्षदेखि औषधि खाँदै आउनुभएको थियो । ७-८ वर्ष काठमाडौं बसाइका क्रममा अस्पताल आवतजावत त भइरहन्थ्यो, तर गत जेठ अन्तिममा अस्पताल लगेपछि घर फर्काउन सकिएन । मुटुसँगै मिर्गौलामा पनि खराबी देखियो । एक महिनाभन्दा बढी अस्पताल राखियो, तर के–के मिलेन उपचारले काम गरेन । 

 

सुरुमा टिचिङ अस्पताल, त्यसपछि ओम अस्पताल फेरि टिचिङ अस्पतालपरिसरको मनमोहन कार्डियोे भास्कुलर ट्रान्सप्लान्ट सेन्टरको चक्कर काटियो, तर केही सीप लागेन । डाक्टरहरूले यति गरेका छन्, तर मेरो बेथा घटेन भन्नुहुन्थ्यो । पछिल्लो हप्ता बुबाले मलाई अलि बढी माया देखाउन थाल्नुभएको थियो । बाबु हुनुको कर्तव्यबोध मैले यही अवधिमा देखेँ । भएको माया पनि खुलेर देखाउन नमिल्ने यो कस्तो भूमिका ! 

 

अस्पतालमा पनि बुबालाई सन्तोष नै थियो । पछिल्ला दिनमा हामी तीन भाइ जम्मा भएका थियौँ । एउटा डाक्टर नाति अस्पतालभित्रकै सेवामा थियो, सिभिल इन्जिनियर अर्को नाति बाहिरफेर सेवामै थियो । औषधि चाहियो भने फार्मेसीबाट नातिनी दौडेर आइपुग्थी । छोरी, बुहारी र नातिनीबुहारी खाना लैजाने मात्रै होइन, पालो गरेर रातमा कुर्न पनि बस्थे । डेढ वर्षकी पनातिनी जिजुबाबालाई के भयो ? भन्दै अस्तालको बेडमै पुग्थी । एउटा मध्यम परिवारका मानिसका लागि यतिसम्म देख्न पाउनु सन्तोषकै कुरा हो । बाबुआमाको हातमा छोराछोरी बिग्रन पनि सक्छन्, तर हजुरबा हजुरआमाका साथमा नातिनातिना किमार्थ बिग्रँदैनन् । बुबा, आज तपाईंका नाति–नातिना जे–जे बने र बन्दै छन् त्यो सबै पूर्ण रूपमा हजुरबा–हजुरआमाको देन हो ।

 

अस्पताल भर्ना त पहिला पनि गरिन्थ्यो, हप्ता दिन पनि राखियो, ठीक भएर आउने भएकाले अस्पतालको लापरबाही केही भइहाले पनि गुनासो रहँदैनथ्यो । तर, असफलतामा बढी खोट खोजिन्छ भनेजस्तै यसपटक भने एउटा कुरा खट्कीरह्यो । मनमोहन सेन्टरमा एक दिन डाक्टरले पिसाब खुलाउने औषधि मेटोज २.५ एमजी लेखेर गए । भोलिपल्ट राउन्डमा आउँदा सुधार नभएको रिपोर्ट पाएपछि मात्रा बढाएर त्यही औषधि ५ एमजीको थपियो । मैले अर्को दिन औषधि हेरेको त सुरुमा लेखेको औषधि खुवाइएकै रहेनछ । मैले डिउटीको नर्सलाई भनेँ पनि, तर के गर्नु ? यस्ता लापरबाही कति हुन्छन् होला । उपचारमा जस नपाइने यस्ता कुराले पनि होला ।

 

अरू पछुतो त धेरै छैन बुबा, ५२ ठक्कर खाएको छोराको कमाइ खान त यस्तैउस्तै भयो तपाईंले नै हुर्काएका नातिनातिनाको कमाइ भर्खरै सुरु हुँदै थियो त्यसको परख गर्न नपाउँदै जानुभयो । अनि तपाईंले असाध्यै माया गर्ने पनातिनी, जसले डेढ वर्षमै जिजुबाबा भन्दै हसाउँथी । चार पुस्ताबीचको संवाद अनुपम थियो । आज पनि भित्तामा झुन्डिएको फोटो हेरेर ‘यहाँ कुल्चीमा बत्नुथ किन त्यहाँ बथ्नुभएको’ भनेर तपाईंसँग एकोहोरो संवाद गर्छे र हामीलाई रुवाउँछे । 

 

घर–व्यवहार चलाउने जिम्मेवारी हस्तान्तरण गरेको यत्तिका वर्षपछि छाडेर जाँदा पनि तपाईंको अनुपस्थिति पचाउन हामीलाई असाध्यै गाह्रो भएको छ । सम्पूर्ण जिम्मेवारी पूरा गर्दागर्दैको अवस्थामा धेरैका बुबाआमाले छाडेर गएका देखेको छु । उनीहरूले कसरी पचाउन सकेका होलान् ?

 

चालिसे लागेका वेला मैले बा भनेर चिनेको खिरिलो, शान्त अनुहार नब्बे वर्ष पूरा गर्न तीन दिन बाँकी छँदा अस्पतालको हरियो तन्नामाथि उस्तै शान्त देखेँ । तर, विडम्बना गुरु पूर्णिमा (असार ३१)को अँध्यारो दिन मुटु चलेको थिएन । जब तपाईंको मुटु नचलेको थाहा भयो, मेरो मुटु पनि रोकियो । मेरो मुटु त फेरि चल्यो, तर तपाईंको चलेन बा । बिलौना गर्दै गरेकी ८६ वर्षकी आमालाई हेरेँ अनि वरिपरिको वातावरण, धीत मरुन्जेल रुन पनि पाइनँ । यो एक वर्ष एक्लै बित्यो, अब पनि एक्लै त होला । वार्षिक पुण्यतिथिमा आज कलमबाट अलिकति आँसु चुहियो बा । 

 

[email protected]