भोकले भन्दैन बासी भात
निन्द्राले भन्दैन मसानघाट
मायाले भन्दैन जात र भात ।
गीतको यो टुक्काले अलिखित इतिहास जोगाइराखेको छ । जात व्यवस्थाको जाँतोमा कति प्रेम पिसिए होला । कति प्रेमीप्रेमिकाको हत्या गरियो होला । कति प्रेमीहरूले थातथलो छाडेर दार्जिलिङ, आसाम, मनिपुर, बर्मा र भुटानसम्म महिनौँ यात्रा गरेर आफ्नो प्रेम र ज्यान जोगाए होला । उनीहरूले नै गुनगुनाएको गीत हुनुपर्छ : मायाले भन्दैन जात र भात । तर, एक्काइसौँ शताब्दीमा पनि नवराज विक र सुष्माको प्रेम त्यही जात व्यवस्थाले निर्ममतापूर्वक मा-यो । नवराजसहित ६ जना कलकलाउँदा युवाको हत्या गरेर भेरीमा फाल्यो । कलिली किशोरी अंगिरा पासीलाई बलात्कार गरेर रूखमा झुन्ड्याइयो । अजित मिजारका आँखाले शिक्षण अस्पतालको शवगृहबाट आज पनि चिच्याइचिच्याई प्रेमको परिभाषा मागिरहेका छन् ।
पञ्चायतकालमा दरबारलगायत विभिन्न ठाउँमा दलित नेताहरूसहित सहभोज आयोजना गरिएको थियो । त्यहीवेला रेडियोमा चाहिँ ‘आयो दमाई रमाइरमाई...’ जस्ता हेपाहा गीत बजिरहन्थ्यो ।
संविधान र कानुन मात्रै हेर्दा नेपालमा छुवाछुत, जातीय भेदभाव केही छैन । २०६३ जेठ २१ गते सरकारले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ । त्यहाँदेखि यहाँसम्म १४ वर्ष बित्यो । २०६८ जेठ १० गते संसद्ले ‘छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८’ पारित गरेको थियो । ९ वर्षपछि जेठ १० गते नै जातीय विभेदकै कारण नवराज र उनका ५ जना साथीको हत्या भयो । यो संयोग मात्र हो कि हामीले बाँचिरहेको डरलाग्दो दोहोरो चरित्र हो ? सबै राजनीतिक पार्टीका घोषणापत्र र दस्ताबेजमा जातीय भेदभाव, छुवाछुतमुक्त समाज बनाउने वाचा गरिएको छ । तर, राज्यका निकाय र समाजमा जातीय भेदभावकै राजनीति चलिरहेको छ ।
समाज यो हदसम्मको अमानुषिक छ, तर हामी महानताको गीत गाउन पनि पछि परेका छैनौँ । किताबमा जातीय सद्भाव र सहिष्णुताको पाठ पढाइएको छ, तर पाइलापाइलामा विभेद, छुवाछुत र घृणा छ । देखादेखि दोहोरो चरित्र बाँचिरहेका छौँ हामी । के हामीले दोग्ल्याइँ र दोहोरो चरित्रलाई चुपचाप स्वीकार गरिरहेको हो ? विभेदको सत्य छोपछाप पारेर सद्भावको झुट बढाइचढाइ गरिरहेको हो ? यथार्थमा हामीलाई यो दोहोरो चरित्र बाँचिरहेको तथ्य सधैँ थाहा थियो र छ । युट्युबमा लाखौँपटक हेरिएका लोकदोहोरीहरू यसका साक्षी छन् । झलक संगीतमको शब्द, बीबी अनुरागीको लयमा राजु परियार र कृष्ण परियारले गाएको गीतले भन्छ :
पुरुष : कतै कुनै ठाउँ छ र चोखो
अछुत भन्नी जातले नछोको
रुमाल धोको छु
यो खोलीको पानी कोही नखानु मैले छोको छु
महिला : सक्छौ भने नफेर सास नि
हाम्लाई छोइ चल्छ यो बतास नि
रुमाल धोको छु
यो खोलीको पानी कोही नखानु मैले छोको छु
यो मार्मिक लोकदोहोरीले झैँ उखान, टुक्का, लोककथा र लोकगीतहरूले संविधान, कानुन र दस्ताबेजहरूले जस्तो झुट बोल्दैनन् । महाकवि देवकोटाको ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने भनाइ पढाउने स्कुलमै छुवाछुत र भेदभाव जीवित रहेको यथार्थ लुकाएर लुकेको छैन । नाराले ‘सबैको रगत रातो हुन्छ’ भन्यो, तर व्यवहारले सबै रातो रगत हुनेहरू समान हुँदैनन् भनिरह्यो । भन्न त सबै प्राणी ईश्वरका बराबर सन्तान हुन् भनियो । दलित श्रमिकले बनाएकै मन्दिर सुनपानीले छर्केर चोख्याउने चलन पनि चलिरह्यो । समानताका पक्षधर हौँ भन्नेहरूलाई यो गीत सुन्दा मनमा चिसो पस्छ कि पस्दैन होला :
पुरुष : मान्छेभन्दा ठूलो जात कुन छ र,
मैले छुँदा पानी विष हुन्छ र
जति सक्छ्यौ तर्क मायालु,
मैले छुँदा छोइन्छ भने त
सुनपानीले छर्क मायालु
महिला : तिम्रो नभई मर्दिन मरे नि,
बरु चढ्न फाँसीमै परे नि
म कसरी तर्काैँ मायालु
यो समाजले काँचुली फेर्दै छ
अझै केही दिन पर्खौँ मायालु
(शब्द : रमेश बि.जी., लय : राजु परियार,
स्वर : राजु परियार, विष्णु माझी)
पञ्चायतकालमा दरबारले नै सहभोज आयोजना गथ्र्यो । दरबारलगायत विभिन्न ठाउँमा दलित नेताहरूसहित सहभोज आयोजना गरिएको थियो । त्यहीवेला रेडियोमा ‘आयो दमाई रमाइरमाइ’, ‘किन रोयौ दमिनी भाउजु-दमाई दाइले कुटेर-ट्याम्को फुटेर’ जस्ता हेपाहा गीत निर्वाध बजिरहन्थ्यो । रेडियो नेपालमा बज्ने गरेका दलितलाई हेप्ने र उडाउने गीतहरू थुप्रै छन् ।
पञ्चायतकालमै प्राज्ञ भइसकेका संगीत अन्वेषक रामशरण दर्नालले समेत अनेक विभेद खप्नुपरेको थियो । लोकबाजा, लोकधुन र संगीतकर्ममा रहेका दलितहरूको अध्ययन अनुसन्धानका क्रममा दर्नालले भेटेकै तथ्य आज पनि उत्तिकै सत्य छ । चर्चामा जोजो आए पनि पृष्ठभूमिमा बाजा बजाउने र संगीतलाई कर्मक्षेत्र ठानेर लाग्नेहरू अधिकांश अझैसम्म दलित समुदायकै छन् ।
रेडियो नेपालले लोकगीतको खोजी र रेकर्ड गर्ने काममा प्रशस्त स्रोतसाधन खर्च गरेको थियो । दमाई हुन् वा बादी, लोकगीतका खास रचनाकार, संगीतकार र गायक परापूर्वकालदेखि दलितहरू नै थिए । उनीहरूको रगतमा नै नेपालका अधिकांश धुन, संगीत र गीतमा आउने कवित्व बचेर आएको हो । तर, रेडियो वा रेकर्डजस्ता नयाँ प्रविधि आउनासाथ त्यसमा उच्च जातकै मानिसहरूले कब्जा जमाए । उनीहरू नै हाकिम भए ।
थुप्रै दलित संगीतकारहरूको धुन सुटुक्क रेकर्ड गरेर केही नाम चलेका संकलकहरूले आफ्नो नाममा गाएको किस्सा सुन्न पाइन्छ । मायाप्रेमका लोकगीतझैँ विभेदबाट उब्जेका सुस्केरा पनि लोकगीतमा थियो होला । तर, छुवाछुत भेदभाव हटाउने भन्ने, सहभोजको नाटक गर्ने पञ्चायतमा पनि विभेदको गीत गाउन वर्जित थियो । त्यसैले त्यस्ता गीत सायद दलितहरूको लोकजीवनमै गुन्गुनाइयो र बिस्तारै हराएर गयो होला ।
संगीतकार बी.बी. अनुरागीका अनुसार विभेदलाई स्वर दिने लोकदोहोरीहरू २०६२-०६३ को आन्दोलनपछि मात्र रच्न र गाइन सुरु भएको हो । संविधानले नै छुवाछुत र भेदभावविरुद्धको हक व्यवस्था गरेको पनि त्यही आन्दोलनपछि हो । सबै संवैधानिक र कानुनी व्यवस्थाहरू व्यवहारमा झुट्टा सावित भइरहेका छन् दिनदिनै । गणतन्त्रको शासनमा पनि सार्वजनिक धारोमा पानी छोएकै निहुँमा दलित जनप्रतिनिधि नै मारिएका छन् । रुकुम हत्याकाण्डजस्तो कलंकको धब्बा नेपाली समाजको निधारमै लागेको छ । जीवनको यो सत्यलाई धीरेन्द्र प्रेमर्षीको मैथिली गीतले यसरी उजागर गर्छ :
हमरे डाला पनपथिया सँ
देबतो पितर पूजाई छै
कहु यौ बाबु तैयो हमर
देहिन किया छुवाई छै
मेहेनत हमर चलै छै सगरो,
मुद्दा चलै नै पाइन यौ ।।
(स्वर : रामा मण्डल, रूपा झा)
मधेसका दलितले भोग्ने दैनिक भेदभावजन्य हिंसालाई यो गीतले पीडामा धुन भरेर सुनाउँछ । अंगिरा पासीको हत्या असामान्य लाग्ने, तर दैनिक विभेदको हिंसा सामान्य लाग्ने दोहोरो चरित्र कहिलेसम्म बचाएर राख्ने ? यो प्रश्न संविधान, कानुन, सरकार, दलहरू, अदालत सबैलाई हो । समाजको अगुवाइ गर्ने नेता, धर्मका अगुवा, नागरिक समाज, शिक्षकहरूलाई पनि हो ।
पञ्चायतकालमा प्रतिबन्धित हुँदा कांग्रेस र कम्युनिस्ट नेता, कार्यकर्ताले ‘श्रम चल्छ, सीप चल्छ, पानी चल्दैन’जस्ता बोलका प्रगतिशील गीत गाउने गर्थे । जनयुद्धकालमा माओवादीले त झन् यस्ता अनेकौँ गीत गाएर दलित समुदायलाई आन्दोलनमा तानेको थियो । भेदभाव र छुवाछुतविरुद्ध गरिएका यी सारा विद्रोह केवल शब्दमा मात्र थिए त ? जनयुद्धको आधारक्षेत्र मानिएको रुकुममै त्यत्रो ठूलो नरसंहार हुनुमा हामीले बाँचिरहेको दोधारे चरित्रको भूमिका केलाउनै पर्छ । यशकुमारको गीतले मुटु निचोरेर यसो भन्नुपर्ने कहिलेसम्म : ‘बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन-नआऊ मेरो सामु तिमी- मैले छोएको पानी चल्दैन ।’
यथार्थ आँखाभरि भएपछि ‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ’ बोलको गीत फिक्का हुन्छ । ‘म अछुत रे सधैँ भैँतलामा’, ‘कामी दाईको छोरो’, ‘म मान्छे हैन र’ आदि दर्जनौँ लोकगीत युट्युबमा हिट छन् । यस्ता जुनसुकै गीतले समाजको यथार्थ कहन्छन् । भर्खरै सार्वजनिक आहुतीको गीतले पनि कथित छुत समाजको ज्ञान नै बिरामी भएको यथार्थ सुनाउँछ :
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ
हजारौँ वर्ष हिँडेर तिम्लाई सोध्न आइपुगेँ
ए मन भएको मान्छे
मनलाई सञ्चै छ कि बिरामी
ए ज्ञान भएको मान्छे
ज्ञानलाई सन्चै छ कि बिरामी
(स्वर-संगीत : बी.बी. अनुरागी)
सबै जात समान छन्, भेदभाव छैन, सद्भाव छ भन्नेजस्ता चिल्ला कुरालाई लोक, प्रगतिशील गीतहरूले झुटा सावित गरिरहेका छन् । रोगी र हिंस्रक विचार बदल्ने हो भने यथार्थ स्वीकार गर्नु पहिलो कुरा हो । भुइँ मान्छेले बाँचेको जीवन गीतमै कोरिन्छ । यिनकै जीवनकथाले अनेक धुन र शब्दहरू सिर्जित हुन्छन् ।